Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 546

होटल व्यवसायलाई उद्योग सरह मान्यता दिन माग

0

वीरगञ्ज ।  होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले होटल तथा पर्यटन व्यवसायलाई पनि उद्योगसरह मान्यता दिन माग गरेको छ । संघका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको होटल व्यवसायीको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर उक्त माग गरेको हो ।

देशको आर्थिक विकासमा ‘होटल तथा पर्यटन व्यवसाय’ क्षेत्रको महत्वपूर्ण भूमिका भएको भन्दै व्यवसायीहरुले यस क्षेत्रलाई तंग्रिन र विकास गर्नमा सघाउनका लागि पनि उद्योग सरह मान्यता दिनुपर्ने उनीहरुको माग छ । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल व्यवसाय भएको उनीहरुको भनाइ छ ।

‘होटल तथा पर्यटन व्यववसाय’लाई उद्योग सरह मान्यता दिने कुरा हामीले यसअघि पनि उठाउँदै आएको विषय हो । यस्तो मान्यताले उद्योगहरुलाई प्राप्त हुने सहुलियत र सुविधाहरु हामीले पनि पाउने आधार बन्छ । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको स्थापित माध्यम भएको र देशको आर्थिक विकासको राज्यद्वारा नै चिन्हित गरिएको महत्वपूर्ण क्षेत्र रहेको ‘होटल तथा पर्यटन व्यवसाय’लाई तंग्रिन र विकास गर्नमा यसले मद्धत मिल्ने छ’ मन्त्री रिजाललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।’

होटललाई उद्योग सरह मान्यता दिएको खण्डमा व्यवसायीले राज्यबाट विभिन्न सुविधा प्राप्त गर्ने भएको हुनाले व्यवसायीलाई प्रोत्साहन मिल्ने होटल व्यवसायी हरि पन्त बताउँछन् । होटल व्यसायीलाई उद्योगमा दर्ता गराउने तर नाफामूलक व्यवसायको रूपमा मात्रै हेर्नु ठिक नभएको उनले बताए ।

मन्त्री रिजालले छिट्टै  नितिगत र प्रक्रियागत अड्चनहरुलाई सच्याएर  होटल तथा पर्यटन क्षेत्रलाइ पनि   उद्योग सरह मान्यता दिने बताएका छन् । होटल व्यवसायीहरुले उठाएको विषय जायज भएको बताउँदै मन्त्री रिजालले मागको सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । 

मिटरब्याज पीडितको न्यायका लागि सरकार अगाडि बढ्छ : गृहमन्त्री

0

जनकपुरधाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन(मिटरब्याज) सम्बन्धी पीडितहरुको न्यायका लागि सरकार निर्ममतापूर्वक अगाडि बढ्ने बताउनुभएको छ ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, केन्द्रीय कार्यालयको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले मिटरब्याज समस्यालाई सामन्तवादको अवशेषको संज्ञा दिँदै यस्तो समस्या समाधान र पीडकहरुलाई कानुनको कठ्घरामा ल्याउन सरकार निर्ममतापूर्वक प्रस्तुत हुने बताउनुभयो ।

मिटरब्याजीहरुले विभिन्न बहाना, शक्ति र कागजको आधार देखाउँदै शोषण गरिरहेको भन्नुहुँदै गृहमन्त्री श्रेष्ठले वर्तमान सरकारलाई कुनै प्रकारका अनुचित कारोबार सह्ैय नहुने स्पष्ट पार्नुभयो । “लाखौ शोषित पीडत जनताको योगदानबाट देशमा परिवर्तन आएको छ तर पनि समाजमा विभिन्न नामका उत्पीडन, शोषण र सामन्तवादका अवशेषहरु बाँकी छन्, त्यसैको एउटा स्वरुप मिटरब्याज समस्या पनि हो । वर्तमान सरकारको प्रमुख प्राथमिकता सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न संविधानले परिकल्पना गरेको सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु हो र यसमा हामी प्रतिवद्ध छौँ ।”

त्यसैगरी उहाँले लामो संघर्ष र बलिदानबाट प्राप्त पछिल्लो उपलब्धीको वकालत र संविधानको कार्यान्वयन गर्दा त्यसलाई राजनीतिक मात्र नभई आम जनताको सामाजिक, आर्थिक रुपान्तरणसँग जोड्न अपरिहार्य रहेको बताउनुभयो ।

‘न्यायका लागि सहयोग गर्न अपिल’

कार्यालय उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग विशेष प्राथमिकता र उद्देश्यसहित स्थापना गरिएकाले सबै तहका सरकार, सुरक्षा अङ्ग र राजनीतिक दलहरुलाई सहयोगका लागि अपिल गर्नुभयो ।

“विगतमा पनि यस्ता आयोग बनेका छन् । ति अयोगले समस्या पहिचान गर्ने तर त्यसको समाधान नहुने कारणले जनविश्वास आर्जन गर्नसकेका छैनन्”, उप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “अहिले बनेको मिटरब्याजसम्बन्धी आयोग विशेष ठहर र योजनासहित बनेको छ । यसले समस्या पहिचान मात्रै होइन, हरेक पीडितहरुको उजुरी र गुनासो लिएर समस्या समाधान गर्छ । त्यसमा आश्वस्त हुन म आग्रह गर्न चाहन्छु ।”

मिटरब्याज पीडित संघर्ष समितिसँग भएको पाँच बुँदे समझदारीअनुसार सरकारले विशेष संकल्पसहित पाँच वटा काम गर्न लागेको श्रेष्ठले जानकारी दिनुभयो । “अनुचित लेनदेनलाई फौजदारी अपराध मानेर नयाँ कानुन आउँदैछ त्यो मन्त्रिपरिषद्बाट पारित भइसक्यो । पीडितसँगको समझदारीअनुसार जाँचबुझ आयोग बनेर काम सुरु भयो । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आयोगलाई सहजीकरण गर्ने गरी संयन्त्र बनेको छ । पीडितले बन्दगी राखेका सम्पत्ति फुकुवा र प्रमाणको अभाव देखाउँदै अदालतबाट पनि न्याय नपाउने अवस्था अन्त्यका लागि सरकारले समन्वय गरिरहेको छ”, श्रेष्ठले भन्नुभयो ।

यसैगरी पीडकको कुनै पार्टी नभए पनि विभिन्न बाहनामा राजनीतिक संरक्षण गर्ने, प्रहरी, प्रशासनले पनि पीडितका मुद्दालाई गम्भीरतापूर्वक नलिने परिपाटीलाई पनि वर्तमान सरकारले भत्काउने भन्दै श्रेष्ठले सहयोगका लागि सबै राजनीतिक दल एवं सरकारका संयन्त्रलाई अपिल गर्नुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष बद्रीबहादुर कार्कीले पनि मधेश प्रदेशको राजधानी जनकपुरधाममा केन्द्रीय कार्यालय स्थापना गरेर काम सुरु भइसकेकाले सबै सरोकारवालालाई सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले आयोगले सुक्ष्मरुपमा समस्याको अध्ययन अनुसन्धान गरी त्यसको समाधान हुने गरी काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

घण्टामा पीडकलाई कठ्घरामा ल्याउँछौ : मुख्यमन्त्री यादव

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अधिकारको अभावमा प्रदेश सरकारले चाहेर पनि मिटरब्याजलगायत प्रदेशका समस्या समाधान गर्न नसकेको गुनासो गर्नुभयो ।

प्रहरी र कर्मचारी समायोजन भएमा आफूले २४ घण्टामा पीडकहरुलाई कानुनको कट्घरामा ल्याएर देखाउँने भन्दै मुख्यमन्त्री यादवले त्यसका लागि संघीय सरकारले तत्काल आफ्नो मागको सुनुवाई गर्नुपर्ने बताउनुभयो ।

“समाजमा भ्रष्टाचार, अनियमितता र मिटरब्याज पीडितजस्ता थुप्रै समस्या छन् तर प्रहरी र कर्मचारी प्रशासन हामीसँग नभएकाले प्रदेश सरकार मूकदर्शक मात्रै भइरहेको छ । त्यो समस्या समाधानका लागि पहल होस्, त्यो नहुँदासम्म हामीसँग समन्वय मात्रै भए पनि धेरै समस्या समाधान हुन्छ । त्यसैले प्रदेश सरकारसँग समन्यव नभएमा कुनै आयोगले पनि काम गर्नसक्दैन”, मुख्यमन्त्री यादवले भन्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुर, नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले अनुचित लेनदेनसम्बन्धी समस्या समाधानका लागि पार्टीको तर्फबाट सम्पूर्णरुपमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मिटरब्याज पीडितको तर्फबाट मनोज पासवानले पाँच बुँदे समहति कार्यान्वयनका लागि सरकारले देखाएको तत्परताका लागि धन्यवाद दिनुभयो । उहाँले करिब ९० प्रतिशत पीडितहरु ठोस् प्रमाणको अभावमा थप अन्यायमा परेकाले यसलाई गम्भीरतापूर्वक समाधानका लागि आयोगले ध्यानदिनुपर्ने बताउनुभयो ।

यसअघि न्यायका लागि मधेश प्रदेशका विभिन्न जिल्लाबाट पदलै राजधानी काठमाडौँ गएका मिटरब्याज पीडितसँग चैत १८ गते सरकारले पाँच बुँदे सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार प्रशासकीय अदालतका पूर्वअध्यक्ष बद्रीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ । रासस

फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्

0

वीरगंज । बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् ।

वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायतका पदाधिकारी बचतकर्ताको रु १० करोडभन्दा बढी रकम लिई फरार भएका छन् । सहकारीमा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवालगायतका क्षेत्रका बचतकर्ताले बचत गर्दै आएका थिए ।

आफूले बचत गरेको रकम लिएर सहकारीका सञ्चालक फरार भएपछि बचतकर्ता चिन्तित बनेका छन् । यस विषयमा वीरगञ्ज महानगरपालिकादेखि जिल्ला प्रहरी कार्यालयसम्म धाए पनि आफूहरूले न्याय नपाएको बचतकर्ताको गुनासो छ ।

“हामीले सहकारी संस्थाका पदाधिकारी बचत रकम लिई फरार भएको विषयमा महानगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्सामा गत २०७९ चैत ८ गते नै जाहेरी दियौँ”, वीरगञ्ज रानीघाटका बचतकर्ता कुन्दनकुमार गुप्ताले भन्नुभयो, “तर अहिलेसम्म सहकारी संस्थाका कुनै पनि पदाधिकारी तथा कर्मचारी पक्राउ पर्न सकेका छैनन्, जसका कारण हाम्रो पैसा फिर्ता आउने कुनै सुनिश्चिता छैन ।”

सहकारी सञ्चालक फरार भएको सन्दर्भमा उजुरी लिएर प्रहरीमा जाँदा महानगरपालिकामा जानु भन्छ, महानगर पुग्दा प्रहरीमै निवेदन दिनुस् भनिरहेको उहाँको गुनासो छ । “दुःख गरेर भविष्यको सपना बुनेर बचत गरेको रकम लिएर सहकारी सञ्चालक फरार भएपछि जमिन नै भाँसिएको महसुस भइरहेको छ”, प्रियान्सुकुमार गुप्ताले भन्नुभयो, “बचत रकम डुब्दा यतिबेला न खाना खान मन लाग्छ, न कोहीसँग बोल्न पनि मन मान्दैन ।” जतिबेला पनि चिन्ताले सताइरहेको छ, उहाँले दुःखेसो पोख्नुभयो । उहाँले सहकारीमा रु २० लाख बचत गनुभएको छ ।

“करिब तीन–चार महिनादेखि नै सहकारीमा शङ्कास्पदरूपमा कार्य भइरहेको थाहा पाएपछि बचत भएको रु १० लाख रकम झिक्न सहकारीमा गएको थिएँ”, लिलमदेवी दासले भन्नुभयो, “कोषाध्यक्ष साहले बचत फिर्ता पाउनुहुन्छ हामी भाग्ने होइन भन्दै विश्वास दिलाउनुभयो । अहिले उहाँहरू सम्पर्कमा हुनुहुन्न ।”

सहकारीका सञ्चालक फरार भएको भन्दै १० जना पीडित बचतकर्ता निवेदन लिएर महानगरपालिका आएको र पीडितलाई न्याय दिलाउन कसरी अघि बढ्नेमा आफूहरू पनि अन्योलमा रहेको वीरगञ्ज महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिलकुमार कर्णले बताउनुभयो ।

“सर्वसाधारणको रकम डुब्दा हामी अत्यन्तै दुःखी छौँ”, प्रमुख कर्णले भन्नुभयो, “तर हामीसँग न त प्रहरी छ, न फरार भएकालाई खोजी गर्ने कुनै उपाय छ, त्यसैले हामी पीडितको निवदेनसहित जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाइदिएका छौँ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितबाट जाहेरी आएदेखि नै सहकारीका फरार सञ्चालकको खोजी भइरहेको जानकारी दिनुभयो । पीडितको जाहेरी सन्दर्भमा के सम्बन्धी मुद्दा प्रभावकारी हुनसक्छ त्यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयसँग पनि छलफल भइरहेको जानकारी दिनुहुँदै प्रहरी नायब उपरीक्षक गिरीले सरकारी वकिलसँग सल्लाह लिएर मुद्दा अघि बढाइने बताउनुभयो । रासस

बर्दिवास नगरपालिकाका मेयर कार्की कांग्रेसमा प्रवेश

0

वीरगंज । महाेत्तरीकाे बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत स्थानीय तहकाे निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका कार्की बर्दिवास नगरपालिकाकाे मेयरमा निर्वाचित भएका थिए ।

शनिबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवासमा कार्की देउवाकै हातबाट खादा र टीका लगाएर कांग्रेसमा प्रवेश गरेका हुन् ।

त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्य एंव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल,कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, मधेस प्रदेश सभापति कृष्ण यादव, सांसद महेन्द्र राय यादव लगायतको पनि उपस्थिति थियाे ।

बढुवामा नपरेका एसपी आभुषण तिम्सिनाले दिए राजिनामा

0

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिनाले राजिनामा दिने भएका छन् ।

केहिदिन अघि भएको एसएसपी बढुवा सिफारिसमा छुटेपछि आफुमाथि अन्याय भएको भन्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर एसपी तिम्सिनाले राजीनामा दिने निर्णय लिएको बताएका छन् ।

आफु अन्यायमा परेका व्यक्तिले अन्यायमा परेकालाई न्याय दिलाउन गाह्रो हुने भएकाले राजीनामा दिएको उनले लेखेको फेसबुक स्टाटसमा उल्लेख  छ ।

हेर्नुस् एसपी तिम्सिनाको फेसबुक स्टाटस:

मैले राजीनामा दिने निर्णय किन लिए?
म, प्रहरी उपरीक्षक आभुषण तिम्सिना मिति २०५६ साल असार ३ गतेबाट जनसेवा गर्ने उत्कृष्ट संस्थाको रुपमा दरिएको नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई हालसम्म नेपाल प्रहरीमा कार्यरत छु। मैले नियुक्तिको प्रमाणपत्र पाउने समयमा म लोकसेवा पास गरेर लोकसेवाको वरीयतामा पहिलो नम्बरमा नाम निकालेर भर्ना हुँदा म मा देशप्रतिको जुन अगाढ निष्ठा, जनसेवा गर्ने जुन प्रगाढ भावना थियो त्यसलाई बोकेर नेपाल प्रहरीमा मेरा सहकर्मी साथीहरुसँगै सेवा प्रवेश गरेको थिए। तर आज मिति २०८० साल बैशाख १७ गतेबाट म मैले लगभग २५ बर्ष पुरा हुन ४९ दिन बाँकि रहँदा नेपाल प्रहरी जस्तो जनस्तर सम्म जोडिएको पबित्र संस्थाबाट राजीनामा दिएर अलगिने निर्णय गरेको छु। नेपालको संबिधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, बिभेद, नातावाद, कृपावादको माखेसाङ्लोबाट नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरु कहिले मुक्त हुने र कानूनले नचिनेका शक्तिकेन्द्रहरु धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरु कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने? अन्यायको शिकार भएका यी तिन दिन र रातहरुमा मैले अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रबृत्तीलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने बिश्वब्यापक धारणालाई गहिरिएर मनन गरेको छु । आफ्नै मानव अधिकारको हरण पटक पटक ब्यहोरेको व्यक्तिले आम नागरिकका  मानव अधिकारहरुलाई कसरी रक्षा गर्ला भन्ने चिन्ताले म यी ३ रात सुत्न सकिन। चन्द्र शमशेरले राणा कालमै अन्त्य गरेको दासप्रथालाई निरन्तरता दिने पक्षमा म सार्बभौम नेपाली नागरिकको हैसियतमा कदापी छैन। पदबाट राजीनामा दिएर अलगिएको  आजैका मितिबाट म सार्बभौम र कानूनको सम्मान गर्ने पुर्ण नेपाली नागरिकमा रुपान्तरित भएकोमा गौरवान्बित महसुस गरेको छु। म आजैका दिनबाट नेपालको प्रत्यक्ष र समानुपातिक मतदाताको रुपमा दरिने आधारभुत योग्यतालाई पूर्ण विवेकका साथ प्रयोग गर्न पाउने हैसियतमा पुगेको गौरानुभुती भइरहेछ। अन्याय, बिभेद, अत्याचार, भेदभाव, थिचोमिचो जस्ता मत्स्यन्यायको शिकार भएका आम नेपाली सर्वसाधारण नागरिकलाई न्याय दिलाउने संबैधानिक उद्धेश्य लिएर स्थापना भएको नेपाल प्रहरी जस्तो पबित्र संस्थामा म आफैं अन्यायमा परेको कृत्रिम सुखानुभुति गरेर आफैं अन्यायमा परेको भावनाले पिडीत व्यक्तिको रुपमा कसरी नागरिकका हक अधिकारको संरक्षण गर्न सक्छु र कसरी देश प्रतिको प्रगाढ आस्थालाई जीबन्त राख्न सक्छ भनेर मैले मेरो जागिरलाई निरन्तरता दिएर आम करदाता नेपाली नागरिकको काँधमा बोझको रुपमा रहिरहनु उचित नलागेर मैले मेरो जवानी लुटाएको संस्थाबाट अलग्गीने निर्णय गरेको छु। आफु अन्यायको शिकार भएको र आफु प्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारिले जागिरमा रहँदाबस्दा आफु माथि भएको अन्यायको बिलौना मात्रै गरेर बस्ने; अन्यायको व्यक्त गर्न नसक्ने तर भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर संगठनमा अडेको व्यक्तिको रुपमा आफु समक्ष आउने आम नेपाली नागरिकहरुलाई कसरी न्यायको भरोसा दिलाउन सक्छु भन्ने कुरोको बोध पश्चात मैले यो संगठनमा रहिरहनु उचित मानिन। मैले यो संगठनमा रहँदा बस्दा मँसँग काम गरेका मेरा सहकर्मी, सहयोद्धा प्रहरी कर्मचारीहरुले मलाई गरेको सहयोग मेरो जीवनमा मार्गदर्शक सिद्धान्तको रुपमा रहिरहनेछन। “Injustice Anywhere is threat to justice everywhere” भन्ने मार्टिन लुथर किङ्गको भनाइलाई आज मेरो अन्यायको बिरुद्ध लडिरहने आदर्श मुल मन्त्र बनाएर मेरो जागिरे जीवनलाई यहिँबाट पुर्णबिराम लगाउदै न्याय दिलाउने संस्था आफ्नै सदस्यहरुलाई न्याय गर्न सक्दैन भने त्यो संस्थाको औचित्य बिस्तारै समाप्त हुदै जाने तर्फ समेत नेपाल प्रहरीका साथिभाई र अग्रजलाई समेत सुझाब दिन चाहन्छु। मैले जागिरे जीवनमा के कस्ता अन्याय सहनु पर्यो भन्ने कुरा म क्रमश: मेरा आफन्त, साथीभाइ र इष्ट मित्रले पाउने गरी यहि सार्बजनिक मञ्च मार्फत राख्नेछु।

यसका साथै नेपाल प्रहरीमा कार्यरत रहँदा मलाई सकारात्मक कार्यको लागि प्रेरणा दिने सम्पुर्ण अमर प्रहरीहरु, संगठनमा कार्यरत हुँदा अशक्त भएका अशक्त प्रहरी कर्मचारीहरु,देशको लागि प्राणको आहुती दिन तयार भएका सम्पुर्ण पुर्व तथा कार्यरत प्रहरी कर्मचारीहरु प्रती हार्दिक नमनका साथ नागरिक समाजका मार्गदर्शकहरु प्रति कृतज्ञता व्यक्त गर्दै सम्पुर्ण प्रहरी कर्मचारीको सहज बृत्तीबिकास, सकारात्मक कार्यवातावरणको प्राप्ति एवम् आगामी दिनमा सफलता र सुस्वास्थ्यको कामना गर्दछु। धन्यवाद
 जयनेपाल
आभूषण तिम्सिना
  प्रहरी उपरीक्षक

छिपहरमाई गाउँपालिकाका शिक्षकहरु आन्दाेलित

0

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाका शिक्षकहरु आन्दाेलित भएका छन् । गाउँपालिका अन्तर्गतका विद्यालय र शिक्षकहरुकाे समस्या समाधानकाे माग गर्दै शिक्षकहरु आन्दाेलित भएका हुन् । 

गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय र शिक्षकहरुकाे समस्या समाधान लागि पटक पटक गाउँपालिकाकाे ध्यानाकर्षण गराउँदा पनि गाउँपालिकाकाले कुनै चासाे नदेखाएकाे भन्दै आन्दाेलित भएका शिक्षकहरु आइतबार गाउँ कार्यापलिका कार्यालयमा तालाबन्दी समेत गरेका थिए । पछि गाउँपालिका अध्यक्ष मनाेज गुप्ताले शिक्षहरुकाे माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि तालाबन्दी खुलेकाे जनाइएकाे छ । 

गाउँपालिका अन्तर्गतका सम्पर्ण शिक्षकहरुकाे तलब भत्ता र पाेसाककाे रकम अबिलम्ब व्यवस्था गर्न, सम्पूर्ण विद्यालयहरुमा माघ महिनामा संचालन भएकाे दिवा खाजा खर्च रकम यथासिघ्र फर्छाैट गर्न, नयाँ शैक्षिक सत्र २०८० देखि नियमित दिवा खाजा कार्यक्रम संचालनकाे लागि अबिलम्ब व्यवस्था मिलाउन, मावि स्वयम् सेवक शिक्षकहरुकाे तलब भत्ताकाे व्यवस्था गरि २०८० बैशाखदेखि म्याद थप गर्न शिक्षकहरुले माग रहेकाे छ ।

साथै १० प्लस २ र प्राविधिक धारका (कम्युटर इन्जिनियरिङ) कक्षा संचालनका लागि आर्थिक सहयाेग र शिक्षक व्यवस्था गर्न, विद्यालयमा जान वाकी रहेका सम्पूर्ण निकासा रकमहरु यथासिघ्र विद्यालयकाे खाता पठाएर बजेट कार्यन्वयन गर्न, राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता संचालन गरी सम्पन्न गर्न व्वस्था मिलाउन, विद्यार्थी संख्याकाे आधारमा र अपग्रेडिङ गरिएकाे विद्यालयमा आवश्यक पुर्वधार र शिक्षककाे व्यवस्था गर्न लगायतकाे माग गर्दै आफुहरु आन्दाेलित भएकाे नेपाल शिक्षक संघका अध्यक्ष सुरेश साहले वताए ।

नेपाल शिक्षक महासंघ छिपहरमाई गाउँपालिकाकाे अगुवाईमा भएकाे तालबन्दीकाे कार्यक्रममा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र समाजवादी शिक्षक संगठनहरुकाे पनि एकवद्धता रहेकाे थियाे ।

अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा शिक्षा क्षेत्रमा याेग्दान दिएका ४ जना सम्मानित

0
 

वीरगंज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता बलियो हुने बताएका छन् । अम्बिका ममता स्मृति प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले दुई ठूला जनसंख्या भएको देशको बीचमा रहेको नेपालमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदायहरुको बसोबास रहेकोले एक अर्काप्रतिको सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता मजबुद हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपाध्यक्ष पाेखरेलले व्यावसायिक केन्द्रको रुपमा विस्तार गरिएको सभ्यता, संस्कृति जीवनसँग जोडिएको वीरगंजमा शिक्षामा योगदान गर्ने शिक्षकहरुलाई सम्मान गर्नु प्रशंसनीय रहेको बताए । उनले नेपालको संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा लेखिएपनि अहिले शिक्षा र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउने चुनौती देखिएको बताए । देशलाई आर्थिक विकास गर्न सामाजिक सदभाव आवश्यक रहेको औल्याउदै बीचमा अनेक खालका विग्रहको गतिविधिले नोक्सान धेरै भएको पनि बताए ।

अमेरिकलाई आप्रवासीहरुको देश भनेर चिनिने र नेपाल अल्पसंख्यकहरुको देश रहेको उल्लेख गर्दै उनले संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतसँगको खुला सीमाना र प्राकृतिक रुपमा हिमालको सीमा भएको दोश्रो ठूलो जनसंख्या भएको चीनको बीचमा रहेको नेपालमा सामाजिक सदभाव सहितको राष्ट्रिय एकताले मात्रै देशको अस्तित्व रहन सक्ने बताए ।

कुनै फौजी ताकतको बलमा सुरक्षित रहन नसकिने तर्क गर्दै उनले देशको अस्तित्व कायम राख्न सामाजिक सदभाव कायम राख्नु नै मुख्य भूमिका रहेकोमा जोड दिए । देश सुरक्षित हुनका लागि सामाजिक सदभाव लागि निर्णायक क्षमता भएको उनको भनाई थियो । कहिलेकाहीँ सामाजिक सदभाव खल्बल्याउने तत्वहरु सक्रिय भईराख्ने सिलसिला देखिने गरेकोले यस्ता तत्वहरुलाई परास्त गर्न सकिएमा मात्रै सामाजिक सदभाव कायम रही राष्ट्रिय एकता कायम रहने बताए । सबैजाति, भाषा, भेषभूषा, धर्म संस्कृति र पहिचानले नै हाम्रो भाग्य र भविष्यको फैसला गर्ने उल्लेख गरे ।

प्रतिष्ठानकी सदस्य मलिका ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका चार जनालाई सम्मान गरेको थियाे ।

कार्यक्रममा झण्डै ३८ बर्ष विद्यालयमा सेवा गर्नु भएका सेवा निवृत्त प्रधानाध्यापक जीवबच्छ मिश्र, त्यस्तै ३८ बर्ष नै शिक्षा क्षेत्रमा सेवा गर्नुभएका पूर्व प्रधानाध्यापिका मूना बदन राजभण्डारी, विद्यालय व्यावस्थापन समितिका पूर्व अध्यक्ष रामनारायण कुर्मी र संस्थागत विद्यालयको स्थापना र स्तर कायम राख्न सफल गौतम माध्यामिक विद्यालयकी प्रिन्सिपल उर्मिला लामालाई नगद, सम्मापत्र र दोसल्लाले सम्मान गरिएको  थियाे ।

दिवंगत शिक्षिका अम्बिकादेवी सिंह–ममता राजकर्णिकारको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षक, विद्यालय व्यावस्थापन समिति र प्रधानाध्यापकहरुलाई हरेक बर्ष सम्मान गर्दै आएको छ । २०७६ सालदेखि रोकिएको सम्मान यसबर्ष २०६९ सम्म शिक्षा क्षेत्रमा उत्कृष्ट सेवा गरेकाहरुलाई सम्मान गरिएको हो ।

सम्मान योग्य व्यक्तिहरु छनोट गर्नका लागि प्रतिष्ठानले भूतपुर्व प्रधानध्यापक शंकर कर्णको संयोजकत्वमा पूर्व शिक्षक सीताराम प्रसाद र लक्ष्मण थापा गरी तीन सदस्यीय छनो समिति गठन गरेको थियो ।  

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंह प्रधान, प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीरगंज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगी, नेकपा एमाले पर्साका संयोजक विश्वम्भर शर्मा लगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष अरविन्द सिंहले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार केसी लामिछानेले गरेका थिए ।

पाेखरियामा कानु समाजकाे नगर कार्य समिति गठन

0

पाेखरिया । पर्साकाे पोखरिया नगरपालिकामा कानु समाज नेपालको पोखरिया नगर कार्यसमिति गठन गरिएको छ ।

शनिबार सम्पन्न कानु जातिकाे स्वजातिय भेलाले लक्ष्मण साह कानुकाे अध्यक्षतामा नगर कार्य समिति गठन गरेको हाे । समितिकाे उपाध्यक्ष शिवपुजन साह, सचिवमा मुखी साह कानु र कोषाध्यक्षमा शैलेश साह कानु रहेका छन् ।

कानु समाज नेपालका केन्द्रीय अध्यक्ष हरिहर प्रसाद साह कानुकाे प्रमुख आतिथ्यमा भएको भेलामा कानु समाजका जिल्ला अध्यक्ष रामबाबु साह कानु, किशोरी साह कानु, शम्भु साह कानु, पदार्थ साह कानु, लक्ष्मी साह कानु, रामदयाल साह कानु लगायतकाे पनि उपस्थिति रहेको थियाे।

भेलामा हनुमान फर्निचर उद्योगका सञ्चालक लक्ष्मी साह कानुले कानु समाजकाे पोखरिया नगर कार्य समितिको नाममा कोष स्थापना तथा बैंक खाता संचालनका निम्ति ५ हजार १०५ रुपैयाँको चेक नगर अध्यक्ष लक्ष्मण साह कानुलाई प्रदान गरेकाे काेषाध्यक्ष शैलेश साह कानुले जानकारी दिए ।

बाराकाे इतिहासमा शान्तिपूर्ण चुनाव सम्पन्न भएको छ : पूर्वमन्त्री यादव

0

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का सांसद् प्रदीप यादवले बारा क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा कुनै किसिमको धाँधली नभएको दावी गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले केहि दिन अगाडि संसद्मा बारा-२ मा सम्पन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनद्वारा धाँधली गरिएको भनी लगाएको आरोपलाई खण्डन गर्दै सांसद् यादवले कुनै किसिमको धाँधली नभएको दावी गरे ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका सांसद् यादवले बारा जिल्लाको इतिहासमा यसपटकको जस्तो शान्तिपूर्ण निर्वाचन सम्पन्न नभएको बताउँदै भने, ‘अघिल्लो सदनको बैठकमा एकजना मनानानियाज्यूले बारा-२ को निर्वाचनमा धाँधली भयो, बुथ कब्जा भयो, फर्जी मतपत्र बाँडीयो, फर्जी भोट खसाइयो जस्तो आरोप लगाउनु भएको छ । बारा जिल्लाको इतिहासमा यसपटकको जस्तो शान्तिपूर्ण निर्वाचन कहिल्यै भएको थिएन् । विश्वास नलगाए बारा जिल्लाको जनतालाई सोधे हुन्छ । त्यहाँका जनता खुशी छन् ।’

जनमतका अध्यक्ष डा. राउतलाई लक्षित गर्दै उनले हार स्विकार गर्न नसकेपछि बाहिर आएर नाटक गरेको भनेर टिप्पणी पनि गरे । यादवले भने, ‘केही जना पार्टीका मानानानिय जीले बाहिर नाटक गर्ने, ड्रामा गर्ने र चुनावमा धाँधली भयो, सरकारले प्रहरीको बल प्रयोग गर्‍यो र बुथ कब्जा गरेको जस्तो जुन आरोप लगाउनु भएको छ त्यो सबै बेबुनियाद र झुठो हो ।’

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दल र स्वतन्त्र उम्मेदवारले हार स्वीकार गरेर निष्पक्ष चुनाव भएको बताइरहँदा डा. राउत हारेर पनि हार स्विकार गर्न पक्षमा नरहेको उनले बताए । उनले जसपा र नेपाली कांग्रेसको बढी मतदाता भएको बुथमा जनमत पार्टीले रौतहटबाट पार्टीका कार्यकर्ता ल्याएर बुथमा हल्ला गर्ने र बुथ कब्जाको हल्ला चलाए आरोप लगाए ।

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

0

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभाग केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना छ ।

शनिबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । रासस