Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्

वीरगंज । बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् ।

- Advertisement -

वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायतका पदाधिकारी बचतकर्ताको रु १० करोडभन्दा बढी रकम लिई फरार भएका छन् । सहकारीमा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवालगायतका क्षेत्रका बचतकर्ताले बचत गर्दै आएका थिए ।

आफूले बचत गरेको रकम लिएर सहकारीका सञ्चालक फरार भएपछि बचतकर्ता चिन्तित बनेका छन् । यस विषयमा वीरगञ्ज महानगरपालिकादेखि जिल्ला प्रहरी कार्यालयसम्म धाए पनि आफूहरूले न्याय नपाएको बचतकर्ताको गुनासो छ ।

“हामीले सहकारी संस्थाका पदाधिकारी बचत रकम लिई फरार भएको विषयमा महानगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्सामा गत २०७९ चैत ८ गते नै जाहेरी दियौँ”, वीरगञ्ज रानीघाटका बचतकर्ता कुन्दनकुमार गुप्ताले भन्नुभयो, “तर अहिलेसम्म सहकारी संस्थाका कुनै पनि पदाधिकारी तथा कर्मचारी पक्राउ पर्न सकेका छैनन्, जसका कारण हाम्रो पैसा फिर्ता आउने कुनै सुनिश्चिता छैन ।”

सहकारी सञ्चालक फरार भएको सन्दर्भमा उजुरी लिएर प्रहरीमा जाँदा महानगरपालिकामा जानु भन्छ, महानगर पुग्दा प्रहरीमै निवेदन दिनुस् भनिरहेको उहाँको गुनासो छ । “दुःख गरेर भविष्यको सपना बुनेर बचत गरेको रकम लिएर सहकारी सञ्चालक फरार भएपछि जमिन नै भाँसिएको महसुस भइरहेको छ”, प्रियान्सुकुमार गुप्ताले भन्नुभयो, “बचत रकम डुब्दा यतिबेला न खाना खान मन लाग्छ, न कोहीसँग बोल्न पनि मन मान्दैन ।” जतिबेला पनि चिन्ताले सताइरहेको छ, उहाँले दुःखेसो पोख्नुभयो । उहाँले सहकारीमा रु २० लाख बचत गनुभएको छ ।

“करिब तीन–चार महिनादेखि नै सहकारीमा शङ्कास्पदरूपमा कार्य भइरहेको थाहा पाएपछि बचत भएको रु १० लाख रकम झिक्न सहकारीमा गएको थिएँ”, लिलमदेवी दासले भन्नुभयो, “कोषाध्यक्ष साहले बचत फिर्ता पाउनुहुन्छ हामी भाग्ने होइन भन्दै विश्वास दिलाउनुभयो । अहिले उहाँहरू सम्पर्कमा हुनुहुन्न ।”

सहकारीका सञ्चालक फरार भएको भन्दै १० जना पीडित बचतकर्ता निवेदन लिएर महानगरपालिका आएको र पीडितलाई न्याय दिलाउन कसरी अघि बढ्नेमा आफूहरू पनि अन्योलमा रहेको वीरगञ्ज महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिलकुमार कर्णले बताउनुभयो ।

“सर्वसाधारणको रकम डुब्दा हामी अत्यन्तै दुःखी छौँ”, प्रमुख कर्णले भन्नुभयो, “तर हामीसँग न त प्रहरी छ, न फरार भएकालाई खोजी गर्ने कुनै उपाय छ, त्यसैले हामी पीडितको निवदेनसहित जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाइदिएका छौँ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितबाट जाहेरी आएदेखि नै सहकारीका फरार सञ्चालकको खोजी भइरहेको जानकारी दिनुभयो । पीडितको जाहेरी सन्दर्भमा के सम्बन्धी मुद्दा प्रभावकारी हुनसक्छ त्यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयसँग पनि छलफल भइरहेको जानकारी दिनुहुँदै प्रहरी नायब उपरीक्षक गिरीले सरकारी वकिलसँग सल्लाह लिएर मुद्दा अघि बढाइने बताउनुभयो । रासस

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० बुँदे ‘सहिदनगर घोषणा’ जारी गर्दै पैरालिगल तालिम

धनुषा । राष्ट्रिय दलित नेटवर्क, नेपालको आयोजना तथा सहिदनगर नगरपालिकासँगको समन्वयमा हरवाचरवा समुदायका १५ जना एक्टिभिस्टहरूका लागि दुई दिने पैरालिगल तालिम सम्पन्न भएको छ...

ड्राइपोर्ट–परवानीपुर सडकमा अव्यवस्थित कोइला डिपो: धुलो प्रदूषणले स्थानीय जनजीवन प्रभावित

वीरगंज । वीरगंजको ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका कोइला डिपोका कारण स्थानीय बासिन्दा गम्भीर समस्यामा परेका छन् । ड्राइपोर्ट चोकदेखि परवानीपुर प्रहरी चौकीसम्म...

“१०० रुपैयाँभन्दा माथि सामानमा भन्सार: कडाइले सीमा क्षेत्रको दैनिकी कष्टकर”

वीरगंज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सीमा क्षेत्रमा लागू गरिएको “१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने” व्यवस्थाप्रति कडा असन्तुष्टि जनाएका छन् ।...