Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026
Home Blog Page 46

एमाले मधेश प्रदेश कमिटीमा पर्साका ८ जना मनोनित

0

वीरगंज । नेकपा एमाले मधेश प्रदेश सचिवालय बैठकले पर्साका आठ जनालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ । आइतबार बर्दिबासमा बसेको बैठकले पार्टीको संगठनात्मक गतिविधिसहित विभिन्न विषयमा निर्णय गरेको हो ।

बैठकबाट पर्साबाट अमल यादव, राजेन्द्र यादव, बिक्की सिंह, लालबहादुर श्रेष्ठ, प्रदीप जैसवाल, पुरण कुर्मी, अफजल हुसैन र सन्तोष सिंहलाई प्रदेश कमिटी सदस्यमा मनोनित गरिएको छ ।

बैठकले मधेश प्रदेशमा हालसम्म भएका पार्टीका गतिविधिको समीक्षा गर्दै एमालेले आह्वान गरेको ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी बनाउन भदौ २१ गते बर्दिबासमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै, भदौ १० गते तिब्बतमा हिमताल फुटेपछि आएको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा र चितवनमा भएको जनधनको क्षतिप्रति बैठकले दुःख व्यक्त गरेको छ । बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार तथा प्रभावितका लागि राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बाढीपीडितको राहतका लागि प्रदेश कमिटीको तर्फबाट पार्टी केन्द्रमार्फत केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ । बैठकले समसामयिक विषयमा विशेष प्रस्तावसमेत पारित गरेको छ ।

नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, प्रदेश उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेललगायत सचिवालय सदस्यहरूको उपस्थिति रहेको थियो ।

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले आइतबार दिउँसो करिब १२ः१० बजे वीरगंज महानगरपालिका–१६, माईधिया पोखरी अगाडिको सडकखण्डबाट शंकास्पद रूपमा पैदल हिँडिरहेका तीन जनालाई रोकी चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने १०० ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद लागूऔषधसहित भारत बिहार राज्य, पूर्णिया जिल्ला सदर थाना अन्तर्गतका १९ वर्षीय कृष्णा कुजुर, १९ वर्षीय आदित्य राज तिगा र १८ वर्षीय आशिष कुँजुरलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरूमाथि लागूऔषध खरिद–बिक्री तथा ओसारपसार सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

जगरनाथपुर गाउँपालिकाले बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने

0

वीरगंज । रसुवा र नुवाकोटमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार विपद् व्यवस्थापन कोषको रकमसँगै गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरूको एक महिनाको तलबभत्ता तथा सुविधा बराबरको रकम र कर्मचारीबाट नेपाल सरकारले तोकेबमोजिमको रकम संकलन गरी कुल १५ लाख रुपैयाँ सहयोग गरिनेछ ।

विपद्का बेला प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष यादवले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवका अनुसार बोर्ड बैठकबाट निर्णय भएको रकम संकलन गरी दुई–तीन दिनभित्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र उद्धार तथा स्वास्थ्यलाभको कामना गरिएको छ ।

त्यस्तै, गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीबाट समेत थप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । निर्वाचित जनप्रतिनिधिले एक महिनाको सुविधाबराबरको रकम सहयोग गर्नेछन् ।

स्थायी कर्मचारीको हकमा नेपाल सरकारको निर्णयबमोजिम सहयोग गरिने तथा करार कर्मचारीमध्ये अधिकृतस्तरका कर्मचारीबाट सुरुआती तलब स्केलबराबर पाँच दिन र सहायक तथा श्रेणीविहीन कर्मचारीबाट तीन दिनबराबरको रकम कट्टा गरी सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।

‘८४ मा महिला पहिला’ विषयमा प्यानल छलफल गर्दै मध्य नेपालकाे ११औँ वार्षिकोत्सव सम्पन्न

0

वीरगंज । वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा ‘२०८४ को निर्वाचनमा महिला पहिला’ विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगंजस्थित क्लासिक ब्याङ्क्वेटमा आयोजित कार्यक्रमको उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य (सांसद) हरि पन्तले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्तले सञ्चारमाध्यम लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै नागरिकका समस्या, गुनासा र आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पत्रकारिताले सत्य, तथ्य र निष्पक्षतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

सांसद पन्तले मिडियामाथि अंकुश लगाएर विश्वका कुनै पनि सरकार सफल हुन नसक्ने भन्दै सरकारको प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय नरहेको दाबी गरे । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन केही समय रोक्नुको उद्देश्य पत्रकारितामा देखिएका विकृति नियन्त्रण गर्नु रहेको उनको भनाइ थियो । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने सरकारको कुनै नीति नरहेको उनले दाबी गरे ।

मुलुक अहिले संकटको अवस्थामा रहेकाले सबैले आ–आफ्नो ठाउँबाट बाढी प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न पनि उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केशी लामिछानेले वर्तमान सरकारको मन्त्रिमण्डलमा अधिकांश युवा सहभागी हुनु सकारात्मक भए पनि सरकारको नियत भने ठीक नरहेको आरोप लगाए । बालेन्द्र साह नेतृत्वमा सरकार गठन भएलगत्तै मिडिया तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप सुरु भएको उनको दाबी थियो ।

लामिछानेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्नेदेखि लामो समयदेखि पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत पाउँदै आएको रकमसमेत घटाएर सरकारले मिडिया तथा प्रेसमाथिको हस्तक्षेपलाई निरन्तरता दिएको आरोप लगाए ।

पत्रिकाकी सम्पादक कविता खड्काले सहजीकरण गरेको ‘८४ मा महिला पहिला’ विषयक प्यानल छलफलमा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, जनमत पार्टीकी नेतृ रम्भा मिश्रा, सामाजिक अभियन्ता बबिता जयसवाल र प्राध्यापक उमा मिश्रा सहभागी थिए ।

छलफलमा आगामी निर्वाचनमा महिलाको राजनीतिक सहभागिता, प्रतिनिधित्व र नेतृत्वका विषयमा विचार–विमर्श गरिएको थियो ।

यसै अवसरमा पत्रिकाले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधेश प्रदेशका उत्कृष्ट महिला पत्रकार सम्मान’ यस वर्ष सर्लाहीकी पत्रकार बन्दना झालाई प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सांसद पन्तले पत्रकार झालाई सम्मानपत्र तथा ११ हजार रुपैयाँ नगदसहित सम्मान गरेका थिए ।

झा मधेश प्रदेश सरकारअन्तर्गतको मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्षसमेत हुन् ।

पत्रिकाकी सम्पादक खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव केशी लामिछाने, मधेश प्रदेशका सचिव दीपक गौतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, संघका पूर्वअध्यक्ष सुबोध गुप्ता, अधिवक्ता कमलमोहन पोखरेललगायतको उपस्थिति थियो ।

कार्यक्रमकाे संचालन संचारकर्मी सुर्यानारायण विकले गरेका थिए भने स्वागत मन्तव्य गिता भण्डारीले राखेकी थिइन ।

रसुवा बाढीपीडितका लागि जेन जि पर्साको राहत सामग्री संकलन अभियान

0

वीरगंज । रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि जेन जि युथ फोर्स पर्साले राहत सामग्री संकलन अभियान सुरु गरेको छ ।

जेन जि पर्साले आजदेखि वीरगंजस्थित माइस्थान मन्दिरको प्राङ्गणमा राहत सामग्री संकलन अभियान सञ्चालन गरेको हो । अभियानमार्फत बाढीपीडितका लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्री संकलन गरिने जेन जि युथ फाेर्स पर्साका अध्यक्ष विशेष साहले जानकारी दिए ।

उनका अनुसार बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बिस्कुट, चाउचाउ, पानी, चिउरा, जुस तथा ड्रिङ्क पाउडर, औषधि लगायतका आवश्यक खाद्य तथा राहत सामग्री संकलन गरिनेछ ।

जेन जि पर्साले मानवीय सेवाको यस अभियानमा वीरगंज तथा पर्सावासीसहित सम्पूर्ण सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार राहत सामग्री सहयोग गर्न अपिल गरेको छ ।

संकलित राहत सामग्री रसुवा बाढीबाट प्रभावित परिवारसम्म पुर्‍याइने जनाइएको छ ।

रुङ्टा ग्रुपद्वारा विपद् प्रभावितका लागि २ करोड १ लाख सहयोग

0

वीरगंज । वीरगंजका उद्योगपति तथा समाजसेवी मुरलीधर रुङ्टा अध्यक्ष रहेको रुङ्टा ग्रुपले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

रुङ्टा ग्रुपअन्तर्गत सञ्चालित विभिन्न उद्योग तथा प्रतिष्ठानबाट सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको हो ।

यसअघि शनिबार हरिखेतान बहुमुखी कलेजमा आयोजित कार्यक्रममा कलेज व्यवस्थापन समितिका कोषाध्यक्षसमेत रहेका सुरेशकुमार रुङ्टाले बाढी तथा पहिरो प्रभावित नागरिकको राहतका लागि ३० देखि ४० लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका थिए । तर, घोषणाको भोलिपल्टै रुङ्टा ग्रुपले प्रतिबद्धताभन्दा करिब ६ गुणा बढी रकम अर्थात् २ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

रुङ्टा ग्रुपका सञ्चालक सुरेशकुमार रुङ्टाले विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए । उनले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा आवश्यकता र परिस्थितिअनुसार सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेको अवस्थामा रुङ्टा ग्रुपको सहयोगलाई सामाजिक उत्तरदायित्व र मानवीय भावनाबाट प्रेरित महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

विपद् कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै फर्जी स्टेटमेन्ट बनाउने पक्राउ

0

वीरगंज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक व्यक्ति रामेछापमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिइएको हो ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै कार्कीले ChatGPT को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेको प्रहरीको भनाइ छ ।

उनले उक्त नक्कली स्टेटमेन्टमा आफ्नै QR कोडसमेत राखी सामाजिक सञ्जालमा पोस्ट गरेर भ्रम सिर्जना गरेको प्रहरीले जनाएको छ । प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले सामाजिक सञ्जालमा विपद्का नाममा हुने यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन् ।

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

0

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड (PIN), Accountability Lab Nepal, National Campaign for Education Nepal (NCE Nepal), नेपाल अपांग महिला संघ र दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत तालिम सुरु भएकाे हाे ।

पटेर्वा सुगौली गाउँपालिकाको सभाहलमा सुरु भएको तालिममा पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकाका ६ वटा विद्यालयका २४ जना शिक्षक–शिक्षिकासहित दुवै पालिकाका शिक्षा शाखा प्रमुख गरी २६ जनाको सहभागिता रहेको छ ।

तालिममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रंगपुर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दा.प., नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कठकुइया–बसन्तपुर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा र श्री बितो महतो जनता माध्यमिक विद्यालय नौकाटोलाका शिक्षक–शिक्षिकाहरू सहभागी छन् ।

दिव्य विकास स्रोत केन्द्र, पर्साका अध्यक्ष उमेश प्रसाद चौहानकाे अध्यक्षतामा तालिमकाे उद्घाट कार्यक्रम भएकाे थियाे। कार्यक्रममा पहुँच परियोजनाको उद्देश्य तथा तालिमको आवश्यकता र महत्वबारे दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले प्रकाश पार्नुभएको थियो ।

तालिमको सहजीकरण दिव्य विकास स्रोत केन्द्र, पर्साका गणेश बहादुर ठकुरीले गरिरहनु भएकाे छ । उहाँले डिजिटल युगमा शिक्षण–सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग बढ्दै गएकाले शिक्षकहरूमा डिजिटल साक्षरता, डिजिटल उपकरणको सुरक्षित तथा प्रभावकारी प्रयोग र अनलाइन सुरक्षासम्बन्धी ज्ञान तथा सीप विकास आवश्यक रहेको बताउनुभयो ।

तालिममा डिजिटल प्रविधिको प्रयोगमार्फत शिक्षण–सिकाइलाई प्रभावकारी, समावेशी र गुणस्तरीय बनाउने उपायका साथै शिक्षक तथा विद्यार्थीलाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने, व्यक्तिगत तथा शैक्षिक सूचना संरक्षण गर्ने, साइबर जोखिम पहिचान गर्ने, सुरक्षित पासवर्ड तथा गोपनीयता कायम गर्ने र जिम्मेवार डिजिटल व्यवहार अपनाउने विषयमा जानकारी तथा व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।

सहजीकरणका क्रममा ठकुरीले डिजिटल प्रविधि सूचना प्राप्त गर्ने माध्यम मात्र नभई शिक्षण–सिकाइलाई सहज, पहुँचयोग्य, सहभागितामूलक र प्रभावकारी बनाउने महत्वपूर्ण साधन भएको बताउँदै यसको सुरक्षित र जिम्मेवार प्रयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

0

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका बैठकले बाढीपीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । बैठकले सहयोग रकम महानगरपालिकाका विभिन्न आन्तरिक स्रोतबाट जुटाउने निर्णय गरेको छ ।

निर्णयअनुसार महानगरपालिकाअन्तर्गतका प्रत्येक वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइनेछ । त्यस्तै, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलब तथा सेवा–सुविधाबापतको रकम सहयोग गर्ने भएका छन् ।

महानगरपालिकामा कार्यरत कर्मचारीहरूको तलबबाट पनि मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोगमा उपलब्ध गराइने जनाइएको छ ।

भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति व्यहोरेका नागरिकलाई विपद्को कठिन अवस्थामा राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आकस्मिक बैठक बोलाएर सहयोग गर्ने निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले जानकारी दिए ।

महानगरपालिकाले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनरुत्थानका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

0

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित ८८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा चित्रञ्जना पटेल, हिना बेगम, रेन्जु पटेल, रामपुर्ती साह कानु, निरज पटेल, लोकनाथ पटेल, रामानन्द ठाकुर, सुलतान मियाँ, रामबाबु पटेल, पशुराम पटेल, राजन गुप्ता, रोशन चौरसिया, उमेश साह कानु, अमन पटेल, प्रशान्त गुप्ता, अलियास मियाँलगायतले रक्तदान गरेका थिए ।

मानवीय प्रेम परोपकार कोषका अध्यक्ष डा. इम्रान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष अबास मियाँ, मनाउर अहमद, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल र कार्यपालिका सदस्य दिनेश कलवारको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको महत्वपूर्ण सेवामध्ये एक भएको बताए । रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिए । साथै, युवाहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नियमित रक्तदान अभियानमा सहभागी हुन आग्रह गरे ।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा आएको प्राविधिक टोलीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।