Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 39

‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

0

काठमाडौँ । सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गर्नुभयो ।

त्यसक्रममा गृहमन्त्री गुरुङले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागिरहेको बताउनुभयो । “हामीले जे कसम खाएका छौँ । त्यसलाई पूरा गर्छौं”, उहाँले भन्नुभयो ।

गत वर्ष भदौ २३ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि वर्तमान सरकार गठन भएको हो । यही भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते नेपाल मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

0

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् ।

शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा वीरगंज महानगरपालिकाको गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट गाउँपालिका अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले अध्यक्ष यादवसहित आठ जनालाई क्यासिनो परिसरबाट नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले क्यासिनोको पार्किङबाट सखुवाप्रसौनी गाउँपालिकाको नाममा रहेको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको उनले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका अन्य व्यक्तिमा क्यासिनोका कर्मचारीसमेत रहेका छन् । उनीहरूको पहिचान खुलाउने तथा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो परिसरमा पुगेको अवस्थामा फेला परेपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ ।

नेपालको प्रचलित कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश तथा जुवाखेलमा सहभागिता जनाउन रोक लगाइएको छ । कानुनको जानकारी हुँदाहुँदै पनि गाउँपालिका अध्यक्ष यादव क्यासिनो पुगेको देखिएको प्रहरीको भनाइ छ ।

डीएसपी मल्लले घटनासम्बन्धी विस्तृत विवरण तथा पक्राउ परेकाहरूको पहिचानबारे प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले वताए ।

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

0

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त प्रहरी टोलीले पकहामैनपुर गाउँपालिका–१ अन्तर्गत तिलाईपुल–भिष्वा सडकखण्डमा चेकजाँच गर्ने क्रममा ११४ किलो २५ ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीले तिलाईपुलतर्फबाट आउँदै गरेको बा १८ च ३६५७ नम्बरको निशान कारलाई रोकी चेकजाँच गर्दा कारको डिकीभित्र १२ वटा पोकामा राखिएको गाँजा फेला परेको थियो।

गाँजासहित कारका चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ निवासी २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ परेका चेपाङमाथि लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

0

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ ।

वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष क. लियाकत अलीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगर इन्चार्ज एवं वीरगंजका प्रथम मेयर विजयकुमार सरावगी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

त्यस्तै, नेकपा एमाले मधेस प्रदेश कमिटीका उपाध्यक्ष तथा वीरगंज इन्चार्ज क. विचारी यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

बैठकले वीरगंज महानगर कमिटीमा रिक्त रहेका पदहरूमा क्रमशः लियाकत अलीलाई अध्यक्ष, सञ्जीवबहादुर छतकुलीलाई उपाध्यक्ष तथा जलन्धरप्रसाद कुर्मीलाई सचिव पदमा मनोनयन गरेको छ ।

नवनियुक्त पदाधिकारीहरूलाई नेकपा एमाले वीरगंज महानगर कमिटीको लेखा समितिका संयाेजक अजय साहले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै जानकारी दिएक हुन् ।

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

0

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै पुरिएको अवस्थामा मृत फेला परे ।

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४ वर्षीया चन्द्रीकाको आज अपराह्न जीवितै उद्धार गरेको हो ।

प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको प्रहरीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा आवश्यक खोजी जारी राखेको थियो । सोही क्रममा आनन्दलालको चारतले घरको छतमा पुगेपछि भित्रबाट आवाज आएको सुनिएको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो ।

पर्खालमा सानो प्वाल बनाएर खोजी गर्दा भित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज सुनिएको थियो । “त्यसपछि पर्खाल फुटाएर उहाँको उद्धार गर्न सफल भएका हौँ”, प्रहरी निरीक्षक दर्नालले भन्नुभयो ।

उद्धार गरिएकी चन्द्रीकालाई नेपाली सेनाको हेलिकप्टरद्वारा वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ । अहिले उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

0

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका २५ वर्षीय शेख कलीमुल्लाह रहेका छन्।

भारत–नेपाल सीमावर्ती क्षेत्रमा सवारीसाधन जाँच गर्ने क्रममा झरोखर थाना प्रहरीले शुक्रबार छितरौली गाउँनजिकबाट कलीमुल्लाहलाई नियन्त्रणमा लिएको हो।

भारतीय प्रहरीका अनुसार नियमित जाँचका क्रममा एचएचडी मेसिनमार्फत मोटरसाइकलको चेसिस नम्बर र दर्ता नम्बर परीक्षण गर्दा दुवै विवरणमा भिन्नता भेटिएको थियो। त्यसपछि प्रहरीले मोटरसाइकलको थप विवरण रेकर्डसँग मिलान गर्दा उक्त मोटरसाइकल चोरीसम्बन्धी घटनामा मुद्दा दर्ता भएको खुलेको थियो।

प्रहरीका अनुसार मुजफ्फरपुरको सदर थाना काण्ड नम्बर ७९१/२१ मा उक्त मोटरसाइकल चोरीसम्बन्धी मुद्दा दर्ता रहेको छ। सवारीसाधनको विवरण सत्यापन गर्दा मोटरसाइकल चोरीको भएको पुष्टि भएपछि कलीमुल्लाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा चोरीका मोटरसाइकलको नम्बर तथा चेसिस परिवर्तन गरी नेपाल–भारत ओसारपसार हुने गरेको आशंकाबीच पछिल्लो पक्राउलाई प्रहरीले सीमा क्षेत्रमा बढाइएको निगरानीको परिणामका रूपमा लिएको छ।

यद्यपि, पक्राउ परेका कलीमुल्लाह मोटरसाइकल चोरीमा प्रत्यक्ष रूपमा संलग्न थिए वा थिएनन् तथा चोरीको मोटरसाइकल उनीसम्म कसरी पुगेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

पक्राउ परेका कलीमुल्लाहमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

0

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।

मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताउनुभयो ।

उहाँका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी खोप परीक्षणका लागि ४०० भन्दा बढी चिम्पान्जी प्रयोग गरेका थिए । तीमध्ये धेरैलाई सानै उमेरमा जङ्गलबाट समातिएको थियो ।

पश्चिम अफ्रिकामा गिनीपछि सबैभन्दा धेरै चिम्पान्जी लाइबेरियामा पाइन्छन् । सङ्ख्यामा आएको तीव्र गिरावटका कारण पश्चिम अफ्रिकी चिम्पान्जीलाई अत्यन्त सङ्कटापन्न प्रजातिका रूपमा वर्गीकरण गरिएको छ ।

रिकोटेका अनुसार ती चिम्पान्जीलाई शरीरभित्रै हस्तक्षेप हुने खालका अनुसन्धानमा प्रयोग गरिएको थियो र उनीहरूले लामो समयसम्म विभिन्न परीक्षण तथा पीडा सहनुपरेको थियो ।

‘ह्युमेन वल्र्ड फर एनिमल्स’ का अनुसार सन् २०१५ मा अनुसन्धान कार्यक्रम समाप्त हुँदा बाँकी रहेका ६० चिम्पान्जीको स्थायी हेरचाहको जिम्मेवारी संस्थाले लिएको थियो । हाल ती चिम्पान्जी म्यान्ग्रोभ वनले ढाकिएका टापुहरूको समूहमा रहेको संरक्षण केन्द्रमा  बस्दै आएका छन् ।

एनेस्थेसिया दिएर गरिएको स्वास्थ्य परीक्षणमा चिम्पान्जीको टाउकोदेखि खुट्टासम्म परीक्षण गरिएको थियो । संस्थाका अनुसार परीक्षणको उद्देश्य दीर्घकालीन स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नु, रोगका प्रारम्भिक लक्षण पहिचान गर्नु र उमेर बढ्दै जाँदा प्रत्येक चिम्पान्जीका लागि आवश्यक हेरचाह योजना तयार गर्नु हो ।

परीक्षणमा दाँत, मुटु, फोक्सो, स्नायु प्रणाली र रगतको जाँच गरिएको थियो । उनीहरूलाई बुस्टर खोप दिइनुका साथै नङसमेत काटिएको संस्थाले जनाएको छ । बाँकी चिम्पान्जीको पनि स्वास्थ्य परीक्षण गर्ने योजना रहेको छ ।
संरक्षण केन्द्रकी पशु चिकित्सक बेलेन पेरेज हर्नान्डोले लामो समयसम्म पीडा र कठिनाइ भोगेका चिम्पान्जीको स्वास्थ्य जाँच उनीहरूको हेरचाहको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।

हाल ती चिम्पान्जीको औसत उमेर ३० देखि ३५ वर्ष रहेको छ । विगतमा गरिएको अनुसन्धानले उनीहरूको स्वास्थ्यमा पारेको दीर्घकालीन प्रभावबारे परीक्षणको विस्तृत नतिजा आउन बाँकी रहेको बताइएको छ ।

रिकोटेका अनुसार अनुसन्धानका क्रममा भोग्नुपरेको पीडाको प्रभाव अझै देख्न सकिन्छ । उहाँले ती चिम्पान्जीलाई सम्मानजनक जीवन जिउने दोस्रो अवसर प्रदान गर्न पाउँदा आफू खुसी भएको बताउनुभयो । रासस

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

0

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको बताउँदै यो सङ्गठित अपराधका रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ आज दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताउनुभयो ।

उहाँले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको जानकारी दिनुभयो । यसका लागि तीनै तहको सरकार र सम्बन्धित सबै सरोकार भएका निकायको समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई ‘पालेर्मो प्रोटोकल’अनुकूल हुने गरी संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । यसबाट मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको अन्तरराष्ट्रियस्तरमा मानव अधिकार संरक्षणका लागि राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई सङ्घीय संरचनाअनुरूप बनाउने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो । उहाँले मानव बेचबिखनविरुद्धको अभियानमा सङ्घीय सरकारका अतिरिक्त प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकार भएका निकायको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

“हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ”, प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नेपाल सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सरकारको प्रतिबद्धतामा साथ, सहयोग र ऐक्यबद्धताका लागि आग्रह गर्नुभयो ।

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

0

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको लुप्र०१–००१ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना३७प ७०९६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका–७ निवासी ३८ वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिनुभयो । प्रहरीले मिनी ट्रक र चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ निवासी ४० वर्षीय रामेश्वर खरविन्द्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

मानव–बाघ सहअस्तित्वका लागि बाघ–मित्र अभियान प्रभावकारी

0

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव–बाघ सहअस्तित्व प्रवद्र्धनका लागि सञ्चालन गरिएको ‘बाघ–मित्र अभियान’ प्रभावकारी बन्दै गएको  छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाका विषयमा आयोजित कार्यशालामा सहभागी सरोकार भएका निकायका प्रतिनिधिले मानव सुरक्षा, जोखिम पहिचान, प्रारम्भिक सूचना प्रणाली तथा समुदायको सहभागितालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जमा आयोजित कार्यशालामा निकुञ्ज, डिभिजन वन कार्यालय बारा र पर्साका अधिकारी, साझेदारी तथा सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, निकुञ्ज सुरक्षार्थ खटिएको गणका प्रतिनिधि तथा संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यशालामा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको सङ्ख्या बढ्नु मात्र संरक्षणको सफलता नभई बाघसँगै बस्ने समुदाय सुरक्षित र संरक्षणप्रति सकारात्मक हुनु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार सन् २०२२ मा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वयस्क बाघ रहेकामा सन् २०२६ मा उक्त सङ्ख्या बढेर ७१ पुगेको छ । बाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापन र मानव सुरक्षाको जिम्मेवारीसमेत बढेको उहाँले बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत खतिवडाले पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय मापदण्डअनुकूल बनाउन ‘संरक्षण सुनिश्चितता बाघ संरक्षण मापदण्ड ९क्याट्स०’ अन्तर्गत मान्यता प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । त्यसका लागि निकुञ्जको संरक्षण व्यवस्थापन प्रणालीको मूल्याङ्कन, विद्यमान अवस्थाको समीक्षा तथा आवश्यक सुधारका काम अघि बढाइएको उहाँले बताउनुभयो ।

“बाघ–मित्र अभियानलाई जनचेतनामूलक कार्यक्रमका रूपमा मात्र सीमित नगरी जोखिम पहिचान, प्रारम्भिक सूचना, समुदाय परिचालन, सुरक्षित व्यवहार र द्वन्द्व न्यूनीकरणसँग जोड्नुपर्छ”, उहाँले भन्नुभयो । मानव–बाघ द्वन्द्व न्यूनीकरण निकुञ्जको मात्र जिम्मेवारी नभई वन कार्यालय, स्थानीय तह, समुदाय, सुरक्षा निकाय तथा संरक्षण साझेदार सबैको साझा दायित्व भएको उहाँले उल्लेख गर्नुभयो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सीताराम अर्यालले संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा, सहभागिता र संरक्षणबाट प्राप्त लाभ सुनिश्चित गर्नुपर्ने बताउनुभयो । निकुञ्ज र समुदायबीच निरन्तर संवाद तथा स्थानीय ज्ञानको उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जुलोजिकल सोसाइटी अफ लण्डन ९जेडएसएल० नेपालका क्षेत्रीय अधिकृत प्रचण्ड महर्जनले मानव–बाघ द्वन्द्वको जोखिम, समुदायको सचेतना, प्रारम्भिक सूचना प्रणाली तथा सरोकार भएका निकायबीचको समन्वयका विषयमा प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरी निकुञ्जका संरक्षण अधिकृत सन्तोष भगतले बाघ–मित्र अभियानको स्थलगत अनुभव, बाघको गतिविधि तथा जोखिमयुक्त क्षेत्रबारे जानकारी गराउँदै समयमै सूचना प्रवाह, नियमित निगरानी र तत्काल प्रतिक्रिया संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

कार्यशालामा सहभागी वन कार्यालय, वन उपभोक्ता समूह, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिले मानव सुरक्षा, सूचना आदानप्रदान, जोखिम पहिचान, समुदायको सहभागिता तथा द्वन्द्वको अवस्थामा तत्काल प्रतिक्रिया संयन्त्रलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि हुँदै गएको अवस्थामा बाघसँगै मानिसलाई सुरक्षित राख्दै दीर्घकालीन सहअस्तित्व कायम गर्नु संरक्षणको प्रमुख चुनौती बनेको छ ।