वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् ।
रोटर्याक्ट क्लब अफ नेशनल मेडिकल कलेजको आयोजनामा तथा नेशनल मेडिकल कलेज ब्लड बैंकको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा १९ महिलासहित ६८ जनाले रक्तदान गरेका हुन् ।
रसुवामा बाढीबाट प्रभावित नागरिकहरूको उपचार तथा आवश्यक रक्त सहयोगका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप कुमार चौधरीले जानकारी दिए ।
कार्यक्रमबाट सङ्कलित सम्पूर्ण रगत नेशनल मेडिकल कलेज ब्लड बैंकमार्फत रसुवा बाढीपीडितहरूको उपचार तथा आवश्यक रक्त सहयोगका लागि प्रयोग गरिने उनले बताए ।
रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, स्वयंसेवक, पत्रकार तथा विभिन्न क्षेत्रका सहभागीहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए ।
कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी, प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, अस्पताल निर्देशक डा. ईशरत जहान, प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप कुमार चौधरी, प्रमुख वित्तीय अधिकृत, मार्केटिङ म्यानेजर तथा प्रशासन विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।








