Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
Home Blog Page 270

भोजपुरी फिल्म ‘सइयां जी की जय हो’ को ट्रेलर सार्वजनिक

0

वीरगंज । भोजपुरी फिल्मका चर्चित अभिनेता विक्रांत सिंह राजपूत फेरि एकपटक नयाँ धमाकेदार फिल्म लिएर दर्शकमाझ आएका छन् । हालै सार्वजनिक गरिएको फिल्म ‘सइयां जी की जय हो’ को ट्रेलरले चार मिनेटको छोटो अवधिमै प्रेम, रोमाञ्च र हास्यव्यंग्यको पूर्ण मनोरञ्जन दिने संकेत दिएको छ।

ट्रेलरको सुरुवातमै विक्रांतको दमदार इन्ट्री र मजेदार शैलीले दर्शकलाई तान्ने काम गरेको छ । ट्रेलरमा देखिएअनुसार, फिल्ममा उनी तीन सुन्दर नायिकाहरू चाँदनी सिंह, जोया खान र प्रीति मौर्यसँग रोमान्स गरिरहेका छन्, जसले चलचित्रलाई मसालेदार रोमान्टिक कमेडीको रुप दिएको छ।

फिल्ममा विक्रांत र नायिकाहरूबीचको राेमान्स, आकर्षक संवादहरू र हल्का हास्यले दर्शकलाई हँसाउने र रोमाञ्चित गराउनेछ भन्ने अनुमान गर्न सकिन्छ।

भोजपुरी फिल्म उद्योगमा लामो समयदेखि सक्रिय विक्रांत सिंह राजपूतको यो फिल्म दर्शकमाझ कत्तिको प्रभाव पार्छ भन्ने हेर्न बाँकी नै छ, तर ट्रेलरले भने उत्सुकता बढाइदिएको छ।

मधेस प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण गर्दै

0
जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो ।
धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिनुभयो । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार दुई सय स्यालो ट्युबवेल वितरण गरिने उहाँको भनाइ छ ।
एउटा स्यालो ट्युबवेल जडान गर्न रु एक लाखदेखि तीन लाखसम्म खर्च हुने मन्त्रालयको अनुमान  छ । साथै सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा  पानीको सतह (गहिराई) कति छ त्यसको आधारमा खर्च लाग्ने उहाँको भनाइ रहेको छ ।
स्यालो ट्युबवेल वितरणका लागि अहिले सातदिने सूचना जारी गरिएको छ । एउटा ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने छ ।
मन्त्रालयले पानीको अभावमा मधेस प्रदेशमा अहिलेसम्म ५० प्रतिशत धानखेती भएको जनाएको छ । रासस

वीरगंजका एक युवककाे शव दुई वर्षदेखि साउदीमा अलपत्र

0

वीरगंज । मधेश प्रदेशकाे वीरगंज महानगरपालिका–३२ का लोकबहादुर सुनुवारको शव विगत दुई वर्षदेखि साउदी अरबमा अलपत्र अवस्थामा रहेको छ। सुनुवारको सन् २०२१ सेप्टेम्बर (२०७८ भदौ) मा करेन्ट लागेर मृत्यु भए पनि हालसम्म उनको शव नेपाल ल्याउन सकिएको छैन।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मृतकका परिवारले शव नेपाल ल्याइदिन, क्षतिपूर्ति उपलब्ध गराइदिन तथा दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

मृतकका परिवारका अनुसार लोकबहादुर सुनुवार साउदीको जेहामा रहेको मोर्डन कार वास कम्पनीमा कार्यरत थिए। काम गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर गम्भीर घाइते भएका सुनुवारको उपचारको क्रममा बेश जनरल जी–जान अस्पतालमा मृत्यु भएको हो।

पीडित परिवारले साउदीस्थित नेपाली महाबाणिज्य दूतावासलाई जिम्मेवारी बहन नगरेको आरोप लगाएका छन्। परिवारका अनुसार दूतावासले नेपाली नागरिकको सरोकारका विषयमा चासो देखाउनुभन्दा उल्टै कम्पनीको पक्षपोषण गरिरहेको छ।

मृतक सुनुवारको शव तत्काल नेपाल ल्याइदिने, परिवारलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउने तथा रोजगारदाता कम्पनीमाथि छानबिन गरी दोषी ठहरिएमा कारबाही गर्नुपर्ने माग परिवारले सार्वजनिक रूपमा राखेको हो।

सरकार, सम्बन्धित निकाय र साउदीस्थित दूतावासको गम्भीर ध्यानाकर्षण गराउँदै परिवारले न्यायको आशामा देशभरका नागरिक तथा सञ्चारकर्मीहरूलाई साथ दिन अपील गरेका छन्।

बोलबम संस्कृतिको संरक्षणमा सरकार उदासीन : आजपा अध्यक्ष प्रभु साह

0

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बोलबम संस्कृतिले नेपाली समाजलाई गहिरो रूपमा जोड्दै आएको बताउँदै यसको संरक्षणमा सरकार उदासीन रहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंको कालिमाटीमा भोलेनाथ बोलबम काँवरिया संघद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले हिन्दु धर्म र संस्कृतिको जर्गेनामा सरकारको भूमिका कमजोर देखिएको बताए । उनले बोलबम संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न राज्यले पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

साहले भने, “बोलबम काँवरियाहरूले आफ्नै खर्चमा हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्दै आएका छन्, तर सरकारले बजेट विनियोजनसमेत गर्न चासो देखाएको छैन । सरकार अपवाह र प्रचारबाजीमै केन्द्रित भएको देखिन्छ ।”

कार्यक्रममा उनले हिन्दु धर्म जोगाउने काम स्वयं धर्मावलम्बीहरूले गरिरहेको उल्लेख गर्दै धर्म र संस्कृतिमा सरकारले गम्भीरता देखाउनुपर्ने बताए । प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेका नेताले हावादारी गफ गरेर हिन्दु धर्मको रक्षा नहुने टिप्पणी गर्दै साहले यस्ता विषयमा तथ्य, प्रमाण र इतिहासका आधारमा प्रस्तुत हुनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीमाथि हिन्दु धर्म र संस्कृतिसँग खेलवाड गरेको आरोप पनि साहले लगाए ।

भोलेनाथ बोलबम कावरिया संघका अध्यक्ष राजकुमार साह कलवारको अध्यक्षतामा भएकाे कार्यक्रममा सन्तोष अग्रवाल, त्रिभुवन साह, विपिन जयसवाल, चन्द्रभुषण साह लगायतको विशेष सहभागिता रहेको थियो ।

‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ क्रान्ति शाहलाई प्रदान गरिने

0

वीरगंज । वीरगंजका क्रियाशील पत्रकार क्रान्ति शाहलाई यस वर्षको स्व. ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । फोटो पत्रकार स्व. सुबोध सिंहको सम्झनामा प्रतीक प्रकाशन समूहले स्थापना दिवसका अवसरमा वार्षिक रूपमा प्रदान गर्दै आएको ५१ हजार रुपैयाँ राशिको यो पुरस्कार शाहलाई दिने निर्णय गरिएको हो ।

शनिबार बसेको प्रतीक प्रकाशन समूहको बैठकले अन्नपूर्ण पोस्टका पर्सा जिल्ला संवाददाता तथा मधेस खबर अनलाइन पत्रिकाका अध्यक्ष शाहलाई पत्रकारितामा पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले उत्कृष्ट स्तम्भकारको रूपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल र उत्कृष्ट संवाददाताको रूपमा प्रतीक दैनिकका ग्रामिण संवाददाता प्रमोद यादवलाई सम्मान गर्ने निर्णयसमेत गरेको छ।

प्रतीक प्रकाशन समूहका अनुसार आगामी भदौ १ गते हुने प्रतीक दैनिकको वार्षिकोत्सवका अवसरमा तीनै जना पत्रकारलाई औपचारिक रूपमा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।

पटेर्वा सुगौलीबाट लागुऔषध गाँजासहित एक युवक पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ९ एकटांगा निवासी ३४ वर्षीय जगमोहन यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार बिहान ७:१० बजेको समयमा पटेर्वा सुगौली गाउँपालिका–४, करबोला चोक नजिक चेकजाँचको क्रममा यादव पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको नियमित चेकिङ टोलीले बलुवाबाट देउरवाना जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर०५एजि ६८०५ भएको मोटरसाइकल रोकी जाँच गर्दा सिटमुनी तथा शरीरमा बाँधिएको अवस्थामा ८ किलो ४४० ग्राम गाँजा फेला पारेको हो ।

पक्राउ परेका यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइ लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षमा असेश्वर पटेल

0

वीरगंज । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ पर्साको प्रथम जिल्ला अधिवेशनबाट असेश्वर पटेल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् ।

शनिबार वीरगंज–२४ स्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले पटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सुबोध श्रीवास्तव र महिला उपाध्यक्षमा रोशनी श्रेष्ठ चयन भएका छन् । सचिवमा राजेश पटेल, सहसचिवमा पुष्पराज यादव र कोषाध्यक्षमा सोनालाल मण्डल रहेका छन् ।

सदस्यहरूमा दिलिप दास, अरवाज हुसेन, सन्दीप यादव, रामविनय ठाकुर, महमद मन्सुर, आकाश पटेल, फिरोज अन्सारी, दिपीका पटेल, आशीष बैठा, सोनु पटेल लगायत रहेका छन् ।

कार्यक्रम संघका निवर्तमान कार्यवाहक अध्यक्ष एवं नव-निर्वाचित अध्यक्ष असेश्वर पटेलको अध्यक्षता तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अधिवेशनमा कांग्रेसका नेताहरू प्रेम बहादुर थापा, प्रकाश उपाध्याय, महमद साहबुदिन, अनिल सिंह, दिलीपराज कार्की, हिरा श्रेष्ठ, बिटु पटेल, राहुल पटेल, पर्सा तेक्वान्दो संघका अध्यक्ष गणेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

मधेशमा सुख्खा संकट चुलिँदै, पाँच विपक्षी दलद्वारा मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण

0

जनकपुरधाम । मधेश प्रदेशमा लामो समयदेखि वर्षा नहुँदा उत्पन्न भएको सुख्खा संकट र कृषकहरूको बढ्दो समस्याप्रति प्रदेश सरकार उदासीन भएको आरोप लगाउँदै पाँच विपक्षी दलले मुख्यमन्त्री सतिशकुमार सिंहलाई संयुक्त रूपमा १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

ध्यानाकर्षण पत्र बुझाउने दलहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादी पार्टी रहेका छन् ।

नेताहरूले बुझाएको ध्यानाकर्षण पत्रमा किसानहरूले खेत सुक्दै गएकाले खेती गर्न नपाएको, मल र बीउको अभावले कृषि कार्य ठप्प भएको, तथा पिउने पानीको अभावले आम जनजीवन प्रभावित भएको उल्लेख गरिएको छ । तराई–मधेशलाई प्रदेश सरकारले सुख्खा संकटग्रस्त क्षेत्र घोषणामात्र गरे पनि राहत कार्य भने केवल कागजमै सीमित रहेको उनीहरूको आरोप छ ।

विपक्षी दलहरूले सरकारसमक्ष तत्काल सिँचाइको आपूर्ति सुनिश्चित गर्न, कृषि ऋणमा छुट दिन, मल र बीउको न्यायसंगत वितरण गर्न, खानेपानी समस्या समाधान गर्न, दीर्घकालीन रूपमा चुरे क्षेत्रको संरक्षण गर्न र नदी-नालाहरूको पुनर्निर्माण एवं संरक्षण गर्न आग्रह गरेका छन्।

साथै, किसानका लागि बोरिङ जडान प्रक्रिया सहज बनाउने व्यवस्था गर्न र स्थायी समाधानको पहल नगरे स्थिति गम्भीर बन्ने भन्दै जनआन्दोलनको चेतावनीसमेत दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा जसपा नेपालका नेता सरोज कुमार यादव, नेकपा माओवादी केन्द्रका युवराज भट्टराई, नेकपा (एकीकृत समाजवादी)का कनिष पटेल, राप्रपाका कञ्चन विच्छा, तथा नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरन्नुम सहभागी थिए।

वीरगंज कपडा बैंकद्वारा ६ सय थान नि:शुल्क कपडा वितरण

0

वीरगंज । गरीब तथा असहाय वर्गलाई लक्षित गर्दै वीरगंज कपडा बैंकले शुक्रबार वीरगंजको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नयाँ तथा पुराना गरी करिब ६०० थान कपडा वितरण गरिएको हो ।

कार्यक्रम वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा तथा संस्थाका संरक्षक एवं वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी सतिश सिंह राजपूत, हुकुम सिंह राजपूत, युवा अभियन्ता केदार गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, राजनाथ मिश्र, उपाध्यक्ष मोनिका सिंह सहित विभिन्न पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिवक्ता कुर्मीले वीरगंज कपडा बैंकले पछिल्ला ६ वर्षदेखि विपद्, बाढी, आगलागी तथा अन्य संकटग्रस्त अवस्थामा कपडासहित राहत सामग्री पीडितको घरमै पु‍र्‍याउँदै आएको उल्लेख गरे । उनले भने,
“जो संग धेरै कपडा छ, हामिलाई दिएर जानुहोस् । जसलाई आवश्यक छ, हामीसँग लिएर जानुहोस् ।”

कपडा बैंकका सचिव कन्हैया पटेलका अनुसार बैंकले नियमित रूपमा आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजे देखि साँझ ५ बजे सम्म वीरगंज–८ स्थित कार्यालयबाट नि:शुल्क कपडा वितरण गरिरहेको छ ।

सल्लाहकार अधिवक्ता प्रकाश उपाध्यायले “कोही पनि नाङ्गो नरहोस्” भन्ने भावनाका साथ विशेषगरी चाडपर्वमा प्रयोगयोग्य कपडा दान गर्न सबैलाई अनुरोध गरे।

अध्यक्ष सिंहले कपडा वितरण कार्यक्रम मानव धर्मको उत्कृष्ट अभ्यास भएको भन्दै सबैलाई यस अभियानमा सहयोग गर्न आग्रह गरे । उनले सबै दाताहरू, शुभेच्छुकहरू, सञ्चारकर्मी, र स्वयंसेवकप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा संजय मण्डल, जानकी देवी, नवराज भट्टराई, अभिलाष गुप्ता, प्रकाश थारु, अजित भुजेल, राजेन्द्र भट्टराई, राज सराफलगायतको समेत सहभागिता रहेको थियो ।

इप्रका पाेखरियाद्वारा परालमा लुकाएर राखिएको ४० किलो गाँजा बरामद

0

वीरगंज । इलाका प्रहरी कार्यालय पाेखरियाले शुक्रबार दिउँसो ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएकाे प्रहरी टाेलीले पकाहाँ मैनपुर गाउँपालिका–२, सुर्जाहाबाट परालभित्र लुकाएर राखिएको अवस्थामा ४० किलोग्राम गाँजा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक स्वरुप शर्माकाे नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त गाँजा परालभित्र तीनवटा बोरामा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । बारामद भएकाे लागु औषध गाँजा बारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

यसअघि असार ३२ गते पनि सोही गाउँबाट प्रहरीले करिब २०० किलोग्राम गाँजा बरामद गरेको थियो । गाँजा लुकाउने वा संलग्न व्यक्तिको खोजी पनि तीव्र पारिएको प्रहरीले जनाएकाे छ ।

पर्सा प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणमा विशेष ध्यान दिँदै कडाइका साथ निगरानी बढाएको जनाएको छ ।