Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
Home Blog Page 264

नेशनल मेडिकल कलेज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

0

बीरगञ्ज । नेशनल मेडिकल कलेज प्रा. लि., बीरगञ्ज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्स लिमिटेडबीच एक वर्षे स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरिएको छ।

सम्झौता अनुसार, आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका बीमित ग्राहकहरूले नेशनल मेडिकल कलेजमा स्वास्थ्य उपचार गर्दा बीमा सुविधा प्राप्त गर्नेछन्। साथै, दुवै पक्षले विरामीहरूको सहज पहुँचका लागि आपसी समन्वय, शुल्क तालिका आदान–प्रदान, सेवा गुणस्तर अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेका छन्।

कार्यक्रममा नेशनल मेडिकल कलेजकी एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ यासमिन र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका सहायक महाप्रबन्धक अमरबहादुर गौतमले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

समारोहमा नेशनल मेडिकल कलेजको तर्फबाट प्रमुख सूचना अधिकृत प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कान्त, प्रशासन अधिकृत प्पु सिंह तथा आईजीआई प्रुडेनशियल इन्स्योरेन्सको तर्फबाट सहायक प्रबन्धक धनञ्जय कुमार ठोकरको उपस्थिती रहेको थियो।

दुवै संस्थाले यस सहकार्यले बीमित ग्राहकलाई गुणस्तरीय, छिटो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।

प्रस्तावित शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको आपत्ति, ज्ञापन पत्र बुझाउँदै सच्याउन माग

0

वीरगंज । प्रस्तावित “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०” का केही प्रावधानले निजी शैक्षिक संस्थाहरूमा गम्भीर असर पार्ने भन्दै निजी विद्यालयका चार छाता संगठन — हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सन — ले वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णलाई बिहीवार संयुक्त ज्ञापन पत्र बुझाएका छन्।

सङ्गठनहरूले विधेयकमा उल्लेख गरिएका निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, शिक्षण शुल्क, पाठ्यपुस्तक, पोसाक र यातायात निःशुल्क प्रदान गर्नुपर्ने प्रावधानप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, यस्ता व्यवस्था २०५८ सालको कम्पनी ऐनअनुसार सञ्चालित निजी विद्यालयहरूको कानुनी अधिकारविरुद्ध र अव्यवहारिक छन्।

प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले यी प्रावधानले निजी क्षेत्रको अर्बौँको लगानीलाई जोखिममा पार्ने र शैक्षिक प्रणालीलाई धराशायी बनाउने चेतावनी दिए। उनले पूर्ण निःशुल्क शिक्षाको अवधारणा व्यवहारिक नभएको उल्लेख गर्दै राज्यले आफ्नो जिम्मेवारी निजी क्षेत्रमा थोपर्न खोजेको आरोप लगाए।

ज्ञापन पत्रमा हाल निजी विद्यालयहरूले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको र त्यसलाई निरन्तरता दिन तयार रहेको तर पूर्ण छात्रवृत्ति र गैरनाफामूलक प्रावधान हटाउनुपर्ने माग गरिएको छ। साथै, छात्रवृत्तिमा भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क मात्र समावेश गर्नुपर्ने सुझाव पनि राखिएको छ।

निजी विद्यालयहरूले अव्यवहारिक प्रावधान सच्याइएन भने उचित मुआब्जासहित राष्ट्रियकरण वा विद्यार्थीलाई भौचर प्रणालीमार्फत विद्यालय छान्ने अधिकार दिनुपर्ने विकल्प प्रस्तुत गरेका छन्। उनीहरूले नेपालको संविधानले सुनिश्चित गरेको पेसा, व्यवसाय र लगानीको सुरक्षामा सरकारको कदम विपरीत भएको बताएका छन्।

सङ्ग्रौलाका अनुसार, निजी क्षेत्रले पछिल्ला तीन दशकमा करिब ६ खर्ब रुपैयाँ लगानी गर्दै ४ लाख रोजगारी सिर्जना गरेको र हाल ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यसले वार्षिक २ खर्बभन्दा बढीको आर्थिक चक्र र देशको जीडीपीमा ७.२ प्रतिशत योगदान गरेको दाबी गरिएको छ।

यो मुद्दा देशव्यापी बनेको छ। काठमाडौँ, पोखरा, चितवनलगायतका शहरहरूमा पनि यस्तै ज्ञापन पत्र बुझाइएको छ। तर, शिक्षा मन्त्रालयले यसबारे छलफल मात्र जारी राखेको र निजी क्षेत्रको माग सम्बोधनमा ठोस कदम नचालेको सञ्चालकहरूको गुनासो छ। विज्ञहरूले माग सम्बोधन नभए शैक्षिक क्षेत्रमा गम्भीर सङ्कट आउन सक्ने चेतावनी दिएका छन्।

विद्यालय शिक्षा विधेयकका निजी विद्यालय विरूद्धका ४ वटा प्रावधान विरुद्ध स्थानीय तहमा ज्ञापन पत्र बुझाउने देशव्यापी कार्यक्रम अन्तर्गत पर्सा जिल्लाका स्थानीय तहहरू वीरगञ्ज महानगरमा प्याब्सन वीरगञ्ज अध्यक्ष राहुल श्रीवास्तवको नेतृत्वमा, धोबिनी गापामा जिल्ला सह-कोषाध्यक्ष सुदिल पटेलको नेतृत्वमा र ठोरी गापामा फोकल पर्सन सुरेश पन्तको नेतृत्वमा ज्ञापन पत्र बुझाइको प्याब्सनले जनाएको छ ।

फेटा गाउँपालिकामा आजपाको समिति पुनर्गठन

0

वीरगंज । आम जनता पार्टी, मधेश प्रदेश कमिटीले बारा जिल्लाको फेटा गाउँपालिकाको कार्यसमिति पुनर्गठन गरेको छ। पार्टीका जिल्ला अध्यक्ष राजकिशोर साहद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अध्यक्षमा राकेश बैढ नियुक्त भएका छन्।

पुनर्गठित कार्यसमितिमा ४ उपाध्यक्ष, १ सचिव, ३ सह–सचिव, १ कोषाध्यक्ष र ६७ सदस्य रहेका छन्। उपाध्यक्षमा मदन साह, मुकेदार आलम, उपेन्द्र कुशवाहा र टिकेश साह कानु चयन भएका छन्। सचिवमा उमेश कुमार साह, सह–सचिवमा मनोज राम, संजय कुमार गुप्ता र अजय पटेल रहेका छन्। कोषाध्यक्षमा हसनुर मेस्त्रा जिम्मेवारी पाएका छन्।

यसैगरी, विभिन्न क्षेत्रका ६७ जनालाई सदस्य पदमा चयन गरिएको छ। पुनर्गठन भएको कार्यसमितिले पार्टीको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्थानीय स्तरमा संगठन सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पार्टीले सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

रास्वपा पर्सा क्षेत्र १ मा राम आर्य र क्षेत्र २ मा फैयाज मिया सभापति चयन

0

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. १ र २ का क्षेत्रीय सभापतिमा क्रमशः राम सुन्दर आर्य र फैयाज मिया चयन भएका छन्।

बुधबार वीरगञ्जको गेटवे होटलमा सम्पन्न क्षेत्रीय भेलाले क्षेत्र नं. १ मा आर्यको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ। समितिमा उपसभापति पम्फा गिरि र श्याम बाबू गुप्ता, सचिव कासिम मिया तथा सदस्यहरू रामहरी उपाध्याय, बबिता कुमारी धोबी र नन्दन बानियाँ रहेका छन्।

त्यस्तै, क्षेत्र नं. २ मा फैयाज मियाको अध्यक्षतामा गठित क्षेत्रीय समितिको उपसभापति परितोश द्विबेदी र शान्ति ढकाल, सचिव किशन साह तथा सदस्यहरू विजय कुमार यादव, अमित शाह र प्रमोद कुमार उपाध्याय चयन भएका छन्।

रास्वपा पर्साका सभापति हरि पन्तले छिट्टै बाँकी रहेका क्षेत्र नं. ३ र ४ का समितिहरू पुनःगठन गरी चारै क्षेत्रलाई पूर्णता दिने बताए । उनले जिल्लाका शिक्षित र बौद्धिक वर्गको रास्वपाप्रति आकर्षण तीव्र भइरहेको उल्लेख गरे ।

पर्सामा भदौ १ गते मिटरब्याज साहु विरुद्ध आन्दोलन हुने

0

वीरगञ्ज । मिटरब्याजको अवैध गतिविधि रोक्न माग गर्दै किसान मजदुर आन्दोलन पर्साले भदौ १ गते वीरगञ्जको घण्टाघरमा आन्दोलन गर्ने भएको छ ।

मजदुर आन्दोलन पर्साका अध्यक्ष कृष्ण ठाकुरको अध्यक्षतामा बुधबार सम्पन्न कार्यसमितिको बैठकले आन्दोलनसँगै जिल्ला सम्मेलन पनि गर्ने निर्णय गरेको हो। वीरगञ्जस्थित रानिसती अतिथिसदनमा बसेको बैठकमा केन्द्रिय पदाधिकारी विशाल क्षेत्रीको विशेष उपस्थिती रहेको थियो।

बैठकले मिटरब्याज साहुहरूको मनपरी र शोषणविरुद्ध संगठित आन्दोलन गर्न सबैलाई आह्वान गरेको मजदुर आन्दोलन पर्साका सचिव रामानन्द चौहानले जानकारी दिए ।

रक्सौलमा मानव तस्करीको प्रयास असफल, भारतीय नाबालिग युवतीको उद्धार

0

रक्सौल । भारतको पश्चिम चम्पारणका तीन व्यक्तिबाट एक  नाबालिग युवतीलाई उद्धार गरिएको छ। युवतीलाई वैदेशिक तस्करी गर्ने उद्देश्यले नेपालतर्फ लैजाने क्रममा रक्सौल नजिक पक्राउ गरिएको हो।

सूचनाका आधारमा सशस्त्र सीमा बल (SSB) को मानव तस्करी विरोधी इकाई (AHTU) ले प्रयास juvenile aid center, पूर्वी चम्पारण र स्वच्छ रक्सौल (एनजीओ) सँगको सहकार्यमा खोज तथा अनुसन्धान अभियान सञ्चालन गरेको थियो।

मैत्री पुल, रक्सौल नजिक भारतबाट नेपालतर्फ गइरहेका पश्चिम चम्पारणका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरेन आलमलाई युवतीसहित नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानमा युवतीलाई सामाजिक सञ्जालमार्फत मोहम्मद फरहानले प्रेमजालमा फसाई विवाहको प्रलोभन देखाएर घरपरिवारलाई नबताई नेपालतर्फ ल्याइएको खुलेको छ।

तस्करहरूले युवतीलाई हाजीपुरबाट रक्सौल ल्याई पहिलो चरणमा बीरगञ्जको होटलमा राख्ने र दुई दिनपछि पोखरा हुँदै देहरादून (भारत) लैजाने योजना बनाएको खुलेको छ। युवतीको परिवारले गुमशुदगीको उजुरी भारतको पटना स्थित रामकृष्ण नगर प्रहरीमा दर्ता गराएको थियो।

उद्धारपछि नाबालिग युवती र तीनै जना तस्करलाई थप कारबाहीका लागि पूर्वी चम्पारण, बिहारको हरैया प्रहरी चौकीमा बुझाइएको छ।

रेस्क्यु अभियानमा AHTU र SSB बाट निरीक्षक विकास कुमार, स.उ.नि. खेमराज, हवल्दार अरविन्द द्विवेदी, महिला प्रहरी नीतू कुमार, सेतू लक्ष्मी, प्रयासबाट आरती कुमारी, राज गुप्ता र स्वच्छ रक्सौलका रणजीत सिंह, साबरा खातुन सहभागी थिए।

वीरगंजमा सशस्त्र प्रहरीको आत्मरक्षा तालिम सुरु, ३५ जना सहभागी

0

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा बिरगञ्ज तेक्वान्डो डोजाङ्गको विशेष सहयोगमा आजदेखि “Self-Defence/UAC अनुशिक्षण तालिम” औपचारिक रूपमा सुरु गरिएको छ।

गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यमा बिहान १० बजे विशेष समारोहबीच तालिम उद्घाटन भएको हो । कार्यक्रममा गणका अधिकृत, जुनियर अधिकृत, बिल्लादार/जवान, बिरगञ्ज तेक्वान्डो डोजाङ्गका प्रमुख प्रशिक्षक तथा 4th Dan Black Belt एशियन प्लेयर महमद वेशसहित ९ जना प्रशिक्षकहरूको सहभागिता थियाे।

तालिमको उद्देश्य र कार्ययोजनाबारे सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लले प्रस्तुतिकरण गर्दै आत्मरक्षाको परिचय, व्यवहारिक अभ्यास, सुरक्षा उपाय, लैङ्गिक हिंसा तथा दुर्व्यवहारबाट बच्ने उपाय, कानुनी सहायता प्रणाली, डेमो प्रदर्शन र शारीरिक व्यायामजस्ता विषयहरू समावेश गरिएको जानकारी दिए।

३५ जना सशस्त्र प्रहरी कर्मचारी (१० महिला र २५ पुरुष) सहभागी रहेको तालिम १० कार्यदिनसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ।

प्रहरी उपरीक्षक भट्टका अनुसार, तालिमले सशस्त्र प्रहरी कर्मचारीहरूको आत्मरक्षा सीप, शारीरिक र मानसिक सशक्तिकरण तथा जोखिम अवस्थामा तत्काल प्रतिक्रिया दिन सक्ने क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

फेटामा आजपाको बैठक : मल–खाद आपूर्ति र करमुक्त सेवाका लागि संघर्षको घोषणा

0

वीरगंज । किसानलाई समयमा मल–खाद उपलब्ध गराउने र मल–खाद छिनछोर बन्द गर्ने उद्देश्यले आम जनता पार्टी फेटा गाउँपालिकाको बैठक सम्पन्न भएको छ।

फेटा पार्टी इन्चार्ज अमिका साहको अध्यक्षता तथा पार्टी मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको विशेष उपस्थितिमा भएको बैठकमा किसानका समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकले फेटा गाउँपालिका कमिटी पुनर्गठन गर्ने निर्णयसँगै बिजुली र पानी कर फ्री गर्नका लागि संघर्ष गर्ने रणनीति तय गरेको पार्टीले जनाएको छ।

पार्टीका नेताहरुले किसानका लागि समयमै मल–खाद आपूर्ति सुनिश्चित गर्न सरकारलाई दबाब दिने र आवश्यक परे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

जनकपुरधाममा पत्रकारमाथि आक्रमणप्रति समाजवादी प्रेस संगठनको कडा आपत्ति

0

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार भएको पत्रकारमाथिको नियोजित आक्रमणप्रति समाजवादी प्रेस संगठन नेपाल, मधेश प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ।

संगठनका अनुसार २०८२ साउन २७ गते नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय, अनिलकुमार गिरी लगायतका सञ्चारकर्मीहरू कानुन व्यवसायीहरूको समूहको आक्रमणमा परी घाइते भएका हुन्। घाइतेमध्ये महासचिव ‘क्रान्ति’को खुट्टा भाँचिएको र पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

संगठनका सचीव प्रमोद चालिसेद्वारा हस्ताक्षरित विज्ञप्तीमर्फत घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संगठनले घटनामा संलग्न सबैलाई तत्काल कानुनी कारबाहीमा ल्याउन आग्रह गरेको छ। प्रेस संगठनले पत्रकारमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रता मात्र नभई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको खुला चुनौती भनेको छ।

“पत्रकारको पेशागत कर्तव्य निर्वाहमा अवरोध गर्ने, डर त्रास फैलाउने वा शारीरिक आक्रमण गर्ने कुनै पनि प्रयासलाई समाजवादी प्रेस संगठन कदापि सहने छैन,” विज्ञप्तिमा चेतावनी दिइएको छ। साथै, दोषीलाई उन्मुक्ति दिने प्रवृत्ति दण्डहीनतालाई बढावा दिने भएकाले त्यसविरुद्ध निरन्तर प्रतिरोध गर्ने अडान पनि दोहोर्याइएको छ।

संगठनले घटनाको निष्पक्ष र छिटो छानबिन, दोषीलाई कानुनी दायरामा ल्याउने र प्रदेशभरका पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न ठोस योजना तथा कार्यान्वयन सुरु गर्न माग गरेको छ।

यस कठिन घडीमा संगठनले सम्पूर्ण सञ्चारकर्मीहरूसँग ऐक्यबद्धता जनाउँदै आवश्यक परे सामूहिक आन्दोलनको बाटो अपनाउने चेतावनी समेत दिएको छ।

बहुदरमाईमा आगलागी : घर–गोठ जलेर नष्ट, एक जना घाइते

0

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–२ मा मंगलबार साँझ आगलागी हुँदा एक घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ५:१० बजे स्थानीय राजु रामको फुसको घरमा भैंसीको खोले पकाउन चुलोमा बालेको आगोबाट अचानक आगलागी भएको प्रहरीले जनाएको छ। आगोले फुसको घरसँगै टाँसिएको गोठ समेत जलेर पूर्णरूपमा नष्ट गरेको छ।

घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, अन्नपात र गोठमा राखिएका चौपायामध्ये भैंसीको बच्चा र बाख्रा समेत जलेर मरेका छन्। यस आगलागीमा एक भैंसी पनि मारिएको छ। आगो निभाउने क्रममा घरधनी राजु रामको शरीरका विभिन्न भागमा जलन भएको र उनलाई उद्धार गरी एम्बुलेन्समार्फत नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। उनका अनुसार उनको तत्कालको अवस्था मध्यम छ।

आगो नियन्त्रणका लागि स्थानीयवासी र प्रहरीको टोली खटिएको थियो। आगो साँझ ६:०० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। यस आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ।