Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
Home Blog Page 231

जेन-जि आन्दोलनमा क्षति पुगेको गण्डक प्रहरी चौकीलाई संस्थाहरूको सामग्री सहयोग

0

वीरगंज । जेन एन्ड जेड आन्दोलनका क्रममा क्षति पुगेको वीरगञ्ज–गण्डक प्रहरी चौकीलाई आवश्यक सामग्रीहरू सहयोग गरिएको छ। उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र वीरगञ्ज पब्लिक कलेजको संयुक्त प्रयासमा चौकीलाई दैनिक सञ्चालनका लागि अति आवश्यक समानहरू उपलब्ध गराइएको हो।

सहयोग स्वरूप चौकीलाई कुर्सी, टेबल, पानी तान्ने इलेक्ट्रिक मोटर, चालकला, बेडसिट, डसना, तकिया, खाना पकाउने भाँडाकुडा लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको हो। यसले प्रहरी चौकीको सेवा प्रवाहलाई सहज बनाउन र कानून–व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

यो योगदानमा उपकार सेवा नेपालको अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया, संरक्षक पद्मा देवी सरावगी, वीरगञ्ज पब्लिक कलेजका दीपक शाक्य तथा उत्कर्ष नेपालको सम्पूर्ण टिमको सक्रिय भूमिका रहेको थियो।

जिराभवानीमा भएको नकआउट फुटबल प्रतियोगिताको उपाधि एभरेष्ट क्लब परसवाको पोल्टामा

0

सेढवा । जिराभवानी गाउँपालिकामा आयोजित गाउँपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि एभरेष्ट क्लब परसवाले जितेको छ।

सेढवाको खेलमैदानमा भएको फाइनल खेलमा एभरेष्ट क्लब परसवाले ब्रह्मबाबा युवा स्पोर्ट्स सहजानपुरलाई रोमाञ्चक टाई ब्रेकरमा पराजित गरेको हो।

बिजेता बनेको एभरेष्ट क्लब परसवालाई आयोजक प्रगतिशील युवा समाज सेढवाले नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो भने उपविजेता सहजानपुरलाई नगद ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल टाई ब्रेकरमा पुगेको थियो। सो खेलमा परसवाको जर्सी नं १७ का आदित्य चौधरी म्यान अफ द म्याच घोषित भए भने सहजानपुरका जर्सी नं ७ का राजेश माझी म्यान अफ द सिरिज बने।

गाउँपालिकाभित्रका १० वटा टिम सहभागी रहेका सो प्रतियोगितामा पालिकाभित्रका खेलाडी मात्र सहभागी हुने मापदण्ड तय गरिएको आयोजकले जनाएको छ।

वीरगंजका पाँच स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

0

वीरगंज । दसैं, तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूको चाप असामान्य रूपमा बढ्ने भएकाले पर्सा प्रहरीले यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न विशेष पहल थालेको छ।

यसै सन्दर्भमा आजदेखि वीरगञ्जका पाँच प्रमुख स्थानहरूमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टको संयुक्त पहलमा यो सेवा सुरु गरिएको हो।

डिएसपी लम्सालका अनुसार यात्रु सहायता कक्षहरूले यात्रुलाई टिकट, गन्तव्य र यातायात सम्बन्धी जानकारी, हराइपत्ता, सवारी व्यवस्थापन तथा आपतकालीन सहयोग प्रदान गर्नेछन्।

स्थापना गरिएका सहायता कक्षहरू घन्टाघर, वीरगञ्ज भन्सार क्षेत्र (शंकराचार्य गेट), बसपार्क चौक, परवानीपुर चौक र अन्य रणनीतिक स्थानहरूमा छन्। यस पहलले यात्रुहरूको सुरक्षामा सुधार ल्याउने र दुर्घटना वा अन्य सम्भावित समस्या कम गर्ने अपेक्षा गरिएको छ।

ट्राफिक प्रहरी प्रमुख भट्टले भने, “चाडपर्वको समयमा यात्रुहरूको भीड अत्यधिक हुने भएकाले हामीले यो विशेष पहल गरेका हौं। यो सेवा निरन्तर सञ्चालन हुनेछ र यात्रुलाई सजिलो, सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ।”

पिक्स लेन्सद्वारा नव दुर्गा पूजा सेवा समितिलाई टि–शर्ट सहयोग

0

वीरगंज । बडा दशैंकाे पहिलाे दिन घटस्थापनाको अवसरमा पिक्स लेन्स वीरगंजले नव दुर्गा पूजा सेवा समितिलाई ३५ वटा टि–शर्ट सहयोग गरेको छ। वीरगंजका श्रद्धालु भक्तजनलाई ३५ वटा टिसर्ट सहयोग गरिएको पिक्स लेन्सका संचालक सौरभ अग्रवालले जानकारी दिए ।

उनका अनुसार घटस्थापनाकाे दिन वीरगंजमा निस्केकाे कलश यात्रामा ५ सय भन्दा बढी भक्तजनहरू सहभागी भएका थिए । दुर्गा पूजा सेवा समितिले आफ्नो क्षेत्रमा दुर्गा माताको मूर्ति स्थापना गरी सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गरेको छ ।

आगामी दशैंमा नागवा दुर्गा पूजा समितिद्वारा विशेष कार्यक्रम आयोजना गरिनेछ । साथै, पिक्स लेन्सले दशैंको समयमा निःशुल्क फोटोग्राफी तथा भिडियो ग्राफी सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

स्वर्गीय रामबहादुर श्रेष्ठ स्मृति “ठोरी गोल्ड कप” फुटबल प्रतियोगिता असोज १३ देखि

0

सेढवा । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा स्वर्गीय समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने चौथो “ठोरी गोल्ड कप” फुटबल प्रतियोगिता यस वर्ष निर्धारित समयमै असोज १३ गते फुलपातीको दिनदेखि सुरु हुने भएको छ।

प्रतियोगितामा उद्घाटन खेलमा कलकत्ता र झापाको टोली आमनेसामने हुने हुँदा पहिलो दिनको खेल विशेष रोचक हुने अपेक्षा गरिएको आयोजक प्रतिभा यूवा क्लब बिजयबस्तीका अध्यक्ष गोपी श्रेष्ठले बताए । प्रतियोगितालाई व्यवस्थित गर्न करिब दुई महिनादेखि तयारी भइरहेको छ ।

मैदानको एक भागमा करिब ४०० दर्शक बस्ने प्याराफिट निर्माण गरिएको छ, जसको टिकट लिएर खेल हेर्न सकिनेछ भने बाँकी भागबाट निःशुल्क अवलोकन गर्न सकिनेछ । प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख ५० हजार रुपैयाँ र द्वितीय पुरस्कार १ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

चितवन, हेटौंडा, लालबन्दी, वीरगञ्ज, बारा, झापा र भारतको कलकता लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र आकर्षक हुने आयोजक समितिले जानकारी दिएको छ। फाइनल खेल कार्तिक ४ गते आयोजना गरिनेछ।

पर्साका ग्रामीण भेगमा दशैं–तिहार नजिकिँदै जुवा–तासमा वृद्धि

0
तस्बिर एआईबाट

सेढवा । बडा दशैं प्रारम्भ भइसकेको र तिहार तथा छठ पर्व नजिकिँदै जाँदा पर्साको ग्रामीण भेगमा तास–जुवामा संलग्न हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ ।

ग्रामिण भेगकाे ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका विभिन्न स्थानमा पछिल्लो समय जुवाको लत तीव्र बनेको स्थानीयहरूले बताएका छन्।

स्थानीयका अनुसार मुख्यतः युवाहरू तास–जुवामा संलग्न भए पनि अन्य उमेर समूहका मानिसहरू पनि उत्तिकै आकर्षित हुने गरेका छन् । जुवाडेहरूले गोप्य तथा सुरक्षित ठाउँमा रातभर खेल सञ्चालन गर्ने, होहल्ला र अपशब्द प्रयोग गर्ने भएकाले वरपरका बासिन्दाले असहज र असुरक्षित महसुस गरिरहेको गुनासो छ।

जुवामा ठूलो रकमको हारजित हुने भएकाले कतिपय परिवारमा कलह बढेको छ भने ऋणको बोझ सहन नसक्दा आत्महत्यासम्म गर्ने घटना सार्वजनिक भएका छन्।

यसैबीच, जुवा सञ्चालन गर्ने गिरोहलाई प्रहरी प्रशासनकै संरक्षण रहेको आरोप स्थानीय बुद्धिजीवीहरूले लगाएका छन्। स्रोतका अनुसार जुवाखेल सम्बन्धी गिरोहले साप्ताहिक रूपमा प्रहरीलाई नजराना बुझाउने गरेका छन्।

अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार : थप चार मन्त्रीले लिए शपथ

0

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराए ।

नवनियुक्त मन्त्रीहरूमध्ये अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महाविर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनकुमार परियारले कृषि तथा पशुपन्छी मन्त्रालय र जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति थियो।

राष्ट्रपति पौडेलले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार यी मन्त्रीहरूलाई नियुक्त गरेका हुन्। कानुन व्यवसायी पृष्ठभूमिका मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् भने महाविर पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा दुर्गम क्षेत्रमा इन्टरनेट सेवा विस्तारका अभियन्ता हुन्। यसैगरी मन्त्री परियार कृषि विज्ञ र मन्त्री खरेल वरिष्ठ पत्रकार हुन्।

यसअघि गत भदौ ३० गते रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनेका थिए भने बाँकी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले सम्हाल्दै आएकी छन्।

जेन–जी समूहको आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच राष्ट्रपति पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

लेखा प्रमुख कार्की एक लाख घुससहित पक्राउ

0
ghus rakam_kalikatimes

दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई घुससहित पक्राउ गरेको छ।

गाउँपालिकाका सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट आइतबार राति अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । उनी सेवाग्राहीसँग रु १ लाख घुस लिएको अवस्थामा पक्राउ परेका हुन् ।

अख्तियारका अनुसार गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको रकमसहित उनलाई पक्राउ गरिएको हो ।

अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ परेका कार्कीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

व्यवस्था परिवर्तनका लागि छठपछि आन्दोलनमा जाने आजपाको निर्णय

0

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले प्रदेश नेतृत्व हेरफेर गर्दै व्यवस्था परिवर्तनका लागि जनदबाबसहित निर्वाचनमा सहभागी हुने घोषणा गरेको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा असोज ४ र ५ गते बसेको केन्द्रीय कमिटी र पदाधिकारी बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले पार्टी छठपर्वपछि व्यवस्था परिवर्तनका लागि आन्दोलनसहित निर्वाचनमा सहभागी हुने जानकारी दिएका हुन्।

बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरूमा हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको छ । कोशी प्रदेशमा तिलक थापा मगर (इन्चार्ज), जुरीलाल मोची (सहइन्चार्ज) र खगेन्द्र भण्डारी (अध्यक्ष), मधेस प्रदेशमा त्रिभुवन साह (इन्चार्ज), श्रीचन मुखिया (सहइन्चार्ज), उमेश कुशवाहा (अध्यक्ष), उपत्यका विशेष कमिटीमा चन्द्रभुषण साह (इन्चार्ज) र देवी पण्डित रेग्मी (अध्यक्ष) नियुक्त भएका छन्।

त्यस्तै सुदूरपश्चिममा सुमिना हुसेन (इन्चार्ज) र राम विष्ट (अध्यक्ष), बागमतीमा धनकुमारी मगर (इन्चार्ज), देवी पण्डित रेग्मी (सहइन्चार्ज) र पासाङ तामाङ (अध्यक्ष), गण्डकीमा तिलक थापा मगर (इन्चार्ज) र भोजराज त्रिपाठी (अध्यक्ष), लुम्बिनीमा त्रिभुवन साह (इन्चार्ज) र बिजय यादव (अध्यक्ष) तथा कर्णालीमा समिना हुसेन (इन्चार्ज) र आशा संजेल (अध्यक्ष) रहेका छन्।

आजपाले दशैं, दिपावली र छठ पर्वसम्म शुभकामना आदान–प्रदान, भेला, कमिटी गठन एवं पुनर्गठन गर्ने र छठपर्वपछि आन्दोलन र निर्वाचनमा सक्रिय रूपमा जाने निर्णय गरेको छ। पार्टीको मूल नारासहित अध्यक्ष प्रभु साहले पेश गरेको राजनीतिक प्रतिवेदन बैठकले सर्वसम्मतिले पारित गरेको छ।

बैठकले संविधानमा तत्काल सुधारको माग राख्दै १६ बुँदे प्रस्ताव जनतामाझ लैजाने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था संविधानमा गर्नुपर्ने लगायतका विषयमा जनदबाब सिर्जना गर्ने निर्णय गरेको छ।

त्यस्तै जेन–जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी, ऐतिहासिक धरोहर र सम्पदाको विध्वंस तथा अबोध विद्यार्थीको हत्याप्रति दुःख व्यक्त गर्दै जिम्मेवार निकाय र अपराधीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेको छ।

संगठन विस्तार र एकताको अभियानलाई अघि बढाउँदै पार्टीले विचार र सिद्धान्त मिल्ने समूह तथा व्यक्तिसँग सहकार्य गर्न तिलक थापा मगरको नेतृत्वमा वार्ता समिति गठन गरेको छ। समितिमा चन्द्रभुषण साह, सुभाष साह, बिजय यादव र राम विष्ट सदस्य रहेका छन्।

चिनिमिल आवास क्षेत्रबाट बेवारिसे पुरुषलाई मानवसेवा आश्रमद्वारा उद्धार

0

वीरगंज । पर्साकाे वीरगंज महानगरपालिका–१४ स्थित चिनिमिल आवास क्षेत्र पर्यटन विकास कार्यालय अगाडिबाट एक जना पुरुषलाई मानवसेवा आश्रम वीरगंज शाखाले उद्धार गरेको छ।

२०८२ असोज ६ गते सोमबार दिउँसो २:४५ बजे उद्धार गरिएको उक्त पुरुषको उमेर अन्दाजी ३५ वर्षको छ भने उनले आफ्नो नाम र थर प्रष्ट बताउन नसकेको आश्रमले जानकारी दिएको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, बिर्गञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, आश्रमका केन्द्रीय सदस्य विवेक महतो, प्रहरी चौकी गण्डकका प्रहरी हवल्दार लाल बाबु प्रसाद कुशवाहा तथा आश्रमका स्वयंसेवक दिपान्सु पटेल, सरोज बी.के. र दिपेन्द्र चौधरी सहभागी थिए।

आश्रममा लगेर नुहाइधुहाइ र सरसफाइ गरिएको उक्त पुरुषको स्वास्थ्य परीक्षण तथा उपचार डा. भरत गोइको निगरानीमा गरिने आश्रमले जनाएको छ।