Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 22

स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय

0

जनकपुरधाम । मधेस प्रदेश सरकारले स्वास्थ्य सेवामा आवश्यक जनशक्ति व्यवस्थापन गर्न अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा अत्यावश्यक तथा संवेदनशील सेवा भएकाले मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको टुङ्गो नलागेसम्मका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

हालका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरी स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको प्रस्तावबमोजिम अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको मधेस प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको निजी तथा स्वकीय सचिवालयमा रहेको विद्यमान सङ्गठनात्मक संरचना र कर्मचारी सङ्ख्या पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकार प्रवक्ता भट्टराईका अनुसार सरकारले उक्त अध्ययन प्रतिवेदनमा उल्लिखित सुझाव तथा सिफारिसलाई आवश्यक कानुनी प्रबन्ध मिलाई कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । सचिवालयमा कार्यरत जनशक्तिलाई कार्यबोझ, आवश्यकता र जिम्मेवारीका आधारमा व्यवस्थित गर्दै सार्वजनिक स्रोतको मितव्ययी र प्रभावकारी उपयोग गर्ने उद्देश्यले उक्त निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास तथा सेवा व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था गर्न स्थानीय तह ९गठन तथा सञ्चालन० सम्बन्धी ऐन, २०८१ संशोधनको विधेयक मस्यौदा प्रदेशसभाको आगामी अधिवेशनमा पेस गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा, शर्त, सुविधा तथा वृत्ति विकासका विषयलाई थप स्पष्ट, व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी आवश्यक सुधार गर्न लागिएको सरकारले जनाएको छ ।

मन्त्री भट्टराईका अनुसार स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक जनशक्तिको स्थायित्व, वृत्ति विकासको सुनिश्चितता तथा कर्मचारी व्यवस्थापनमा देखिएका कानुनी र व्यावहारिक जटिलता समाधान गर्ने उद्देश्यले ऐन संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो ।

‘प्रधानमन्त्रीज्यू, वाचा पूरा गर !’ भन्दै राष्ट्रिय मुक्ति पार्टीले देशव्यापी आन्दोलन गर्ने

0

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रधानमन्त्री वालेन्द्र शाहले मधेश तथा देशका उत्पीडित र उपेक्षित समुदायसामु गरेका सार्वजनिक प्रतिबद्धता कार्यान्वयन गराउन सडक संघर्ष गर्ने घोषणा गरेको छ ।

आइतबारदेखि काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा अध्यक्ष राजेन्द्र महतोले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकारलाई दबाब दिन देशव्यापी आन्दोलनका कार्यक्रम अघि सारिएको उल्लेख छ ।

प्रतिवेदनमा प्रधानमन्त्री शाहले जनकपुरधामलगायत विभिन्न मञ्चबाट वास्तविक अधिकारसम्पन्न संघीयता कार्यान्वयन, प्रहरी प्रशासन समायोजन, निजामती सेवा ऐन ल्याउने तथा मधेश र थरुहट आन्दोलनसँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि ती कार्यान्वयन हुन नसकेको दाबी गरिएको छ ।

पार्टीले ‘प्रधानमन्त्रीज्यू, वाचा पूरा गर १’ भन्ने मुख्य नाराका साथ प्रदेश राजधानीहरू तथा काठमाडौंको माइतीघर मण्डलामा सांकेतिक विरोध प्रदर्शन र सिठी जुलुस गर्ने योजना बनाएको छ ।

त्यस्तै, थरुहट तथा मधेश आन्दोलनका क्रममा गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्न तथा लगाइएका मुद्दा फिर्ता लिन प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र र स्मरणपत्र बुझाउने निर्णय गरिएको प्रतिवेदनमा उल्लेख छ ।

मागहरू समयमै सम्बोधन नभए प्रदेश सभा तथा संघीय संसद् घेराउलगायत थप कडा संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि पार्टीले दिएको छ । यसअघि जेठ २२ देखि २६ गतेसम्म बसेको बैठकले अपनाएको ‘रचनात्मक प्रतिपक्ष’को नीति पर्याप्त नभएको निष्कर्ष निकाल्दै सडक दबाबलाई प्राथमिकता दिने नीति लिइएको हो ।

परम्परागत दलप्रति तीव्र आलोचना

राजनीतिक प्रतिवेदनमा मुलुकमा देखिएको राजनीतिक अलमल, अविश्वास र जनवितृष्णाको कारण परम्परागत तथा नयाँ राजनीतिक शक्तिहरूको असफलता रहेको दाबी गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलको कार्यशैलीप्रति आलोचना गर्दै प्रतिवेदनमा उनीहरूले नागरिकको अपेक्षाअनुसार राजनीतिक परिवर्तन र सेवा प्रवाह गर्न नसकेको उल्लेख छ ।

मधेश आन्दोलनबाट उदाएका मधेशकेन्द्रित दलहरू पनि सत्तामा पुगेपछि पदीय बार्गेनिङ, भ्रष्टाचार र आन्तरिक विभाजनमा फसेको आरोप प्रतिवेदनमा लगाइएको छ । त्यसैगरी, सुशासन र डेलिभरीको नारासहित उदाएका नयाँ राजनीतिक शक्तिहरूमा समेत संस्थागत परिपक्वता, वैचारिक स्पष्टता र संगठनात्मक कमजोरी देखिएको दाबी गरिएको छ ।

प्रतिवेदनले नेपालको राजनीतिक समस्या केवल नेतृत्व परिवर्तनसँग मात्र सम्बन्धित नभई राजनीति सञ्चालन गर्ने पुरानो संरचना र प्रतिनिधित्वको संकटसँग समेत जोडिएको विश्लेषण गरेको छ ।

संविधान संशोधनमा जोड

संविधान जारी भएको १० वर्ष पूरा हुँदा पनि राजनीतिक, सामाजिक तथा आर्थिक स्थायित्व कायम हुन नसकेको पार्टीको निष्कर्ष छ । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था संविधानमा उल्लेख भए पनि व्यवहारमा केन्द्रीकृत शासन प्रणाली कायम रहेको र प्रदेशलाई पर्याप्त अधिकार नदिइएको आरोप प्रतिवेदनमा छ ।

वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा असफल भएको दाबी गर्दै प्रतिवेदनमा गिरीबन्धु, ललिता निवास, सहकारी ठगी तथा सुन प्रकरणलगायतका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ । आर्थिक मन्दी, व्यापार–व्यवसायमा आएको समस्या, महँगी तथा युवा पलायन रोक्न सरकारले स्पष्ट आर्थिक रूपान्तरणको नीति ल्याउन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ ।

‘चुरे बचाऊ, मधेश र जीवन जोगाऊ’ अभियान

राष्ट्रिय मुक्ति पार्टीले आगामी दिनमा ‘चुरे बचाऊ, मधेश र जीवन जोगाऊ’ नारासहित तराई–मधेशका जिल्लामा पदयात्रा तथा धर्नालगायतका दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन संवैधानिक तथा कानुनी संशोधनका लागि देशव्यापी राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । स्थानीय सरकारलाई दलगत गुटबन्दी र भ्रष्टाचारबाट मुक्त गर्न स्थानीय निर्वाचन गैरदलीय हुनुपर्ने पार्टीको धारणा छ ।

संगठन विस्तारका क्रममा परम्परागत पार्टी कमिटीको विकल्पमा नागरिक संवाद मञ्च गठन गर्ने, डिजिटल स्वयंसेवक परिचालन गर्ने र नयाँ पुस्तालाई आन्दोलनमा जोड्ने योजना पनि प्रतिवेदनमा अघि सारिएको छ ।

त्यसैगरी, उत्पीडित राष्ट्रियता तथा अधिकारकर्मीहरूसँग सहकार्य गरी राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने र देशका प्रमुख शहरमा वृहत् नागरिक संवाद आयोजना गर्ने पार्टीले जनाएको छ।

चक्कु प्रहारबाट युवक हत्या प्रकरणमा मुख्य आरोपीसहित ६ जना पक्राउ

0

वीरगंज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक युवककाे मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य आरोपीसहित ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ करिब ५ः३० बजे होटलमा जितपुरसिमरा–१६ का २२ वर्षीय आयुष राईले सोही ठाउँ बस्ने ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगंजस्थित बयोधा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा साँझ ६ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार भएका राईलाई प्रहरीले राति करिब १० बजे जितपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको थियो ।

घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले अन्य पाँच जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–१ घर भई जितपुरसिमरा–२ बस्ने ३४ वर्षीया बिन्दु तामाङ, जितपुरसिमरा–२ का ३० वर्षीय रामबहादुर तिमिल्सिना, सोही ठाउँका २३ वर्षीय रत्न पाख्रिन तामाङ, जितपुरसिमरा–१६ की ४३ वर्षीया शान्ति राई र सोही ठाउँकी ४० वर्षीया सिता थापा मगर रहेका छन् ।

प्रहरीले पक्राउ परेकाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरेको जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सिमराले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका ६ परिवारलाई महानगरले सहयोग गर्ने

0

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका ६ जनाका परिवारलाई वीरगंज महानगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ ।

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अचानकको बाढीपछि जगरनाथपुरको एउटै टोलका ६ जना सम्पर्कविहीन भएका थिए । बाढी आएको लामो समय बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ । टिमुरेबाट पाँच जना र बेत्रावतीबाट एक जना गरी एउटै टोलका ६ जना बेपत्ता भएका हुन् ।

आइतबार वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादव जगरनाथपुर पुगेर बेपत्ता व्यक्तिका परिवारसँग भेट गरेका छन् । उनीहरूले परिवारका सदस्यसँग भेट गरी बेपत्ताको अवस्था, खोजीका क्रममा भएका प्रयास तथा परिवारले भोगिरहेको समस्याबारे जानकारी लिएका थिए ।

भेटका क्रममा नगरप्रमुख सिंहले बेपत्ता परिवारको पीडामा महानगरपालिका साथमा रहेको बताउँदै तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । बेपत्ताको खोजी, पहिचान तथा परिवारलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनले बताए ।

“आफ्नो परिवारको सदस्यको अवस्थाबारे अनिश्चित भएर बस्नुपर्दाको पीडा निकै गम्भीर हुन्छ । यो दुःखको घडीमा वीरगंज महानगरपालिका बेपत्ता परिवारसँगै छ । महानगरपालिकाको तर्फबाट तत्काल गर्न सकिने सहयोग उपलब्ध गराउनेछौँ र आवश्यक समन्वय पनि गर्नेछौँ,” सिंहले भने ।

बाढीमा बेपत्ता हुनेमा २१ वर्षीय साहबुद्दिन मन्सुरी, २० वर्षीय राहुल मियाँ, १४ वर्षीय सरताज मियाँ, १७ वर्षीय समिम आलम, २० वर्षीय सर्फराज मियाँ र १६ वर्षीय रिजवान अन्सारी रहेका छन् ।

साहबुद्दिन, राहुल, सरताज, समिम र सर्फराज टिमुरेस्थित मोटरसाइकल ग्यारेजमा काम गर्न पुगेका थिए । रिजवान भने बेत्रावती–१० स्थित अन्सारी मोटरसाइकल वर्कसपमा काम गर्न पुगेका थिए । भदौ १० गते बिहान बाढी आएपछि उनीहरू परिवारको सम्पर्कमा आएका छैनन् ।

समिम आलमका बुवा तैयब मियाँ मन्सुरीका अनुसार छोराको खोजीका लागि परिवारका सदस्य टिमुरेसम्म पुगे पनि कुनै जानकारी पाउन सकेका छैनन् । “छोरा भेटिन्छ कि भनेर टिमुरेसम्म पुग्यौँ । शव राखिएको ठाउँमा समेत पुगेर खोज्यौँ, तर छोराको कुनै अत्तोपत्तो भएन,” उनले भने ।

तैयबका दाजु उजिर मियाँ मन्सुरीका छोरा सर्फराज पनि बेपत्ता छन् । एउटै परिवारका दुई दाजुभाइका एक–एक छोरा बाढीमा बेपत्ता भएका छन् । उनीहरूकै आफन्त अहमद मियाँका छोरा २० वर्षीय राहुल मियाँसमेत बेपत्ता छन् ।

बेपत्ताको पहिचानका लागि भेटिएका शवसँग डीएनए परीक्षणमार्फत मिलान गर्न परिवारले रगतको नमुनासमेत बुझाएका छन् । तर अहिलेसम्म आफ्ना परिवारका सदस्यबारे कुनै निश्चित जानकारी प्राप्त हुन नसकेको उजिरले बताए ।

१४ वर्षीय सरताज मियाँ मोटरसाइकल बनाउने काम सिक्न बाढी आउनुभन्दा करिब दुई महिनाअघि मात्रै टिमुरे पुगेका थिए । साहबुद्दिन र सर्फराज पनि टिमुरे गएको करिब दुई साता मात्रै भएको परिवारजनले बताएका छन् ।

साहबुद्दिनका बुवा अली मियाँले छोराको मोबाइल नम्बरमा अझै पनि फोन गरिरहेको बताए । “बाढी आएको दिनदेखि नै नम्बरमा फोन गरिरहेको छु । कतै फोन लागिहाल्छ कि, छोरा फर्केर आउँछ कि भन्ने आशा अझै छ,” उनले भने ।

भेटका क्रममा पूर्वमन्त्री यादवले विपद्का कारण आफन्त बेपत्ता भएका परिवारलाई राज्यका सबै तहबाट सहयोग र समन्वय आवश्यक रहेको बताए । उनले पीडित परिवारको अवस्था बुझेर राहत तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।

वीरगंज महानगरपालिकाले जगरनाथपुरका ६ परिवारसँगै भोटेकोशी बाढीमा परी बेपत्ता भएका वीरगंजका अन्य परिवारलाई समेत आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ ।

२३ दिनसम्म खोज्दा पनि नमोनारायणको अत्तोपत्तो भएन, कुशको शव बनाएर अन्तिम संस्कार

0

वीरगंज । लाङटाङ लिरुङ हिमाल क्षेत्रमा गएको हिम–चट्टान पहिरोपछि भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढी तथा पहिरोमा परी बेपत्ता भएका बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलका ३६ वर्षीय नमोनारायण पटेलको २३ दिनसम्म खोजी गर्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवारले हिन्दु संस्कारअनुसार कुशको शव बनाएर शनिबार अन्तिम संस्कार गरेको छ ।

प्रभु पटेलका जेठा छोरा नमोनारायण बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र गाउँलेले घटनाको दिनदेखि नै उनको खोजी गर्दै आएका थिए । प्रहरी प्रशासन, स्थानीय तह तथा सम्भावित विभिन्न स्थानमा निरन्तर खोजी गरिए पनि उनको अवस्था वा शवबारे कुनै जानकारी प्राप्त हुन सकेन ।

२३ दिनसम्म खोजतलास गर्दा पनि जीवित वा मृत अवस्थामा फेला नपरेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको हो ।

अन्तिम संस्कारका क्रममा बहुअरी टोल शोकमग्न बनेको थियो । आफन्त, छिमेकी तथा स्थानीयवासी भावुक बनेका थिए । नमोनारायणका बुवा प्रभु पटेलले जेठो छोरा यसरी बेपत्ता भएर अन्ततः कुशको शवमार्फत अन्तिम संस्कार गर्नुपर्ने अवस्था आउला भन्ने आफूले कहिल्यै कल्पना नगरेको बताए ।

२३ दिनसम्म छोरा फर्किने आशामा बसे पनि निरन्तर खोजी गर्दा कुनै खबर नआएपछि भारी मनका साथ अन्तिम संस्कार गर्नुपरेको उनले बताए ।

नमोनारायणका भाइ धरमेश पटेलले दाइको खोजीका लागि सम्भव भएसम्म सबै ठाउँमा पुगेर खोजतलास गरेको बताए । प्रहरी प्रशासनसँग समन्वय गर्नुका साथै बाढी प्रभावित विभिन्न स्थानमा पुगेर खोजी गरे पनि दाइको कुनै अत्तोपत्तो नलागेको उनको भनाइ छ ।

“२३ दिनदेखि दाइको खोजीमा हामीले धेरै ठाउँ धायौँ । प्रहरी प्रशासनसँग समन्वय गर्‍यौँ, स्थानीय निकायलाई जानकारी गरायौँ, घटना भएको ठाउँदेखि सम्भावित अन्य स्थानसम्म पुग्यौँ, तर दाइको कुनै खबर पाएनौँ,” धरमेशले भने, “जीवित छन् कि छैनन् भन्ने समेत थाहा नपाई बस्नुपर्ने अवस्था भयो। अन्ततः हिन्दु रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न बाध्य भयौँ ।”

परिवारका अनुसार लामो समयसम्म खोजी गर्दा समेत कुनै सुराक नपाएपछि धार्मिक परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो । शव फेला नपरे पनि अन्तिम संस्कार गर्नुपरेको अवस्थाले परिवारलाई शोकसँगै अनिश्चितताको पीडा थपिएको छ ।

अन्तिम संस्कारमा स्थानीय राजनीतिकर्मी, सामाजिक अगुवा, आफन्त तथा ठूलो संख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो । दाहसंस्कारका क्रममा उपस्थित धेरै स्थानीयवासी भावुक बनेका थिए ।

यसैबीच, पीडित परिवारले विपत्तिको यस्तो कठिन अवस्थामा स्थानीय सरकारबाट अपेक्षित साथ र सहयोग प्राप्त हुन नसकेको गुनासो गरेको छ । परिवारले आफूहरूले भोगिरहेको पीडा र समस्याप्रति स्थानीय सरकारले आवश्यक चासो र सहयोग गर्नुपर्ने अपेक्षा राखेको जनाएको छ ।

बाढीमा बेपत्ता भएको २३ दिन बितिसक्दा पनि नमोनारायणको वास्तविक अवस्थाबारे आधिकारिक जानकारी नआउनुले परिवारमा पीडा र अन्योल कायमै छ । शवसमेत फेला नपरी अन्तिम संस्कार गर्नुपर्ने बाध्यताले परिवारलाई शोकसँगै अनिश्चितताको पीडामा छोडेको छ ।

घरमा आगलागी हुँदा ७० वर्षीय वृद्धको मृत्यु

0

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार आगलागीमा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो।

आगलागीबाट घरायसी सामानसहित करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। गएराति भएको आगलागी विद्युत् सर्ट भएर लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

स्थानीय तहको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिमरा होटल हत्याकाण्ड : मुख्य अभियुक्तसहित चार जना प्रहरी नियन्त्रणमा

0

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा मेनरोडस्थित एक होटलमा साथीको हत्या गरेको आरोपमा प्रहरीले मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जीतपुरसिमरा–२ पाँचधुरेका २५ वर्षीय आयुष राई रहेका छन्। शनिबार साँझ ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार गरी फरार भएका राईलाई प्रहरीले सोही राति जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानखेतबाट पक्राउ गरेको हो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएको छ। होटल सञ्चालिकालाई भने घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले जानकारी दिएका छन्।

प्रहरीका अनुसार खाजा खान होटलमा बसेका समूहबीच विवाद भएपछि होटलको किचेनमा रहेको मासु काट्ने चक्कुले खड्काको घाँटीमा प्रहार गरिएको थियो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि वीरगञ्ज लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक खड्काको शव वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

सर्पदंशको जोखिम बढ्यो : नारायणी अस्पतालमा दुई महिला भेन्टिलेटरमा

0

वीरगंज । पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएसँगै वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पले टोकेका दुई महिला भेन्टिलेटरमा उपचाररत रहेका छन्।

अस्पतालका अनुसार रौतहटको लौकाहा पोखरियाकी १७ वर्षीया किरण कुमारी र बाराको विश्रामपुर गाउँपालिकाकी ३५ वर्षीया रिना देवी सर्पदंशपछि गम्भीर अवस्थामा उपचाररत छन्। दुवै जनाको उपचार नारायणी अस्पतालका मेडिकल अफिसर डा। दीपक चौरसियाको समूहले गरिरहेको छ।

चिकित्सकका अनुसार सर्पदंशबाट बच्न राति तथा खेतबारीमा हिँड्दा टर्च वा बत्तीको प्रयोग गर्ने, जुत्ता लगाउने तथा घरवरपर झाडी र फोहोर नराख्ने जस्ता सावधानी अपनाउन आवश्यक छ।

सर्पले टोकेमा घाउ चिर्ने, विष चुस्ने, कडा गरी बाँध्ने वा घरेलु उपचार गर्ने जस्ता कार्य नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन चिकित्सकले सुझाव दिएका छन्।

समयमै उचित उपचार पाएमा सर्पदंशबाट ज्यान जोगाउन सकिने भएकाले सर्पले टोकेको शंका लाग्नेबित्तिकै ढिला नगरी अस्पताल लैजान चिकित्सकको आग्रह छ।

वर्तमान संवैधानिक व्यवस्थाले मुलुकलाई निकास दिन सकेन : प्रभु साह

0

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधानका व्यवस्थाका कारण मुलुकले अपेक्षित निकास र विकासको बाटो समात्न नसकेको बताएका छन्।

वीरगंजस्थित टाउन हलमा आयोजित अग्रगामी मोर्चाको भेलालाई सम्बोधन गर्दै साहले वर्तमान संविधानलाई ‘सपनाको संग्रह’ र ‘झुटा आश्वासनको पुलिन्दा’को संज्ञा दिए। संविधान निर्माणका क्रममा जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर बनाइएको आरोप लगाउँदै उनले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरूलाई दण्डित गर्नुपर्ने धारणा व्यक्त गरे।

देशको वर्तमान अवस्था बिग्रनुको मुख्य कारण संवैधानिक व्यवस्था नै रहेको साहको दाबी थियो। सरकार परिवर्तन गरेर मात्र मुलुकको अवस्थामा सुधार ल्याउन नसकिने भन्दै उनले संवैधानिक व्यवस्थामै सुधार आवश्यक रहेको बताए।

साहले वर्तमान संविधानका विभिन्न प्रावधानप्रति प्रश्न उठाउँदै सातवटा विषय प्रस्तुत गरे। गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्था, संघीय संरचनामा तीन तहका सरकार, राजनीतिक दलको संसदीय संस्थामाथिको प्रभाव, समानुपातिक प्रतिनिधित्वमा खस–आर्यको समावेश, भाषा तथा संस्कृतिसम्बन्धी संवैधानिक व्यवस्था, मौलिक हकको कार्यान्वयन तथा राजनीतिक प्रतिस्पर्धामा दलीय प्रभावबारे उनले आलोचना गरे।

नेपालको संघीय संरचनामा तीन तहका सरकार रहे पनि अधिकार र पहिचानको प्रश्न समाधान हुन नसकेको साहले बताए। निर्वाचित संस्थामाथि राजनीतिक दलहरूको नियन्त्रण रहेको दाबी गर्दै उनले यस्तो अभ्यास लोकतन्त्रको मर्मविपरीत भएको टिप्पणी गरे।

संविधानमा सुनिश्चित गरिएका मौलिक हकहरू व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउँदै साहले कार्यान्वयन गर्न नसकिने अधिकार सुनिश्चित गर्नुको औचित्यमाथि प्रश्न उठाए।

संविधान निर्माणका क्रममा भएका कमजोरी सच्याउनुपर्नेमा जोड दिँदै उनले वर्तमान संवैधानिक व्यवस्थामा सुधार नगरेसम्म मुलुकले सही दिशा लिन नसक्ने बताए।

उनले भने, “गलत संवैधानिक प्रावधानलाई समयमा सच्याइएन भने देशले सही दिशा लिन सक्दैन। यसर्थ विकृत व्यवस्थालाई बिदा गरेर सिस्टम सुधारको दिशामा अघि बढ्नुपर्छ।”

साहले संविधान निर्माणका क्रममा भएका निर्णय र त्यसमा संलग्न राजनीतिक नेतृत्वको भूमिकामाथि पुनरावलोकन आवश्यक रहेको बताउँदै संविधान निर्माणका ‘तक्मा’ लिनेहरूलाई समेत दण्डित गर्नुपर्ने धारणा व्यक्त गरे।

कांग्रेसका छिपहरमाई गाउँपालिका सचिव रुपेश उपाध्यायले पार्टी छाडे, रास्वपा प्रबेश गर्ने

0

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिका समितिका सचिव रुपेश कुमार उपाध्यायले पार्टी परित्याग गरेका छन् ।

उपाध्यायले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले आजकै मितिदेखि नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । उनले कांग्रेसमा रहँदा आफूले इमानदारीपूर्वक काम गरेको उल्लेख गर्दै पार्टीका नेता तथा आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उपाध्यायले फेसबुकमा आफूले कांग्रेसको झन्डा बोकेर अन्य दललाई कहिल्यै मत नदिएको उल्लेख गर्दै अब आफू कुनै राजनीतिक दलको दबाब र आदेशमा नरही स्वतन्त्र नागरिकका रूपमा रहने बताएका छन् । उनले पार्टीमा रहँदा आफूलाई माया तथा सहयोग गर्ने नेता रमेश पाण्डे, रमेश रिजाल र किशोरी साहप्रति विशेष धन्यवादसमेत व्यक्त गरेका छन् ।

‘अब सकेनँ’ भन्दै पार्टी परित्याग गरेका उपाध्यायले आफूलाई लामो समयदेखि रहेको राजनीतिक बोझ हटेको महसुस भएको र पार्टीबाट अलग भएपछि आफू हलुका तथा खुसी भएको बताएका छन् ।

स्थानीय तहमा भने उपाध्यायले आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीस्वरूप कांग्रेस परित्याग गरेको चर्चा चलेको छ । तर, उनले आफ्नो फेसबुक पोस्टमा रास्वपामा प्रवेश गर्नेबारे भने औपचारिक घोषणा गरेका छैनन् ।