Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
Home Blog Page 23

सिमराको होटलमा विवाद हुँदा चक्कु प्रहारबाट एकजनाको मृत्यु

0

बारा । बाराको सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा शनिबार साँझ खाजा खाने क्रममा भएको विवादका क्रममा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्जस्थित अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार होटलमा खाजा खाने क्रममा विवाद भएपछि भान्सामा प्रयोग हुने चक्कुले खड्कामाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्ति घटनापछि फरार भएका छन्। उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्याब्सन वाणी प्रतिभा २०८३ सम्पन्न, गौतम माविकी रीत रौनियार प्रथम

0

वीरगंज । संविधान दिवस २०८३ को अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) वीरगंज, पर्साको आयोजनामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ सम्पन्न भएको छ ।

असोज ३ गते डीएभी स्कूल, परवानीपुरमा आयोजित प्रतियोगितामा पर्साका २८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्यार्थीहरूले संविधान, राष्ट्र र समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी रीत रौनियार १६२ अंक प्राप्त गर्दै प्रथम हुनुभयो । त्यस्तै, विद्यासदनकी अफ्रिना खातुन १५८ अंकसहित द्वितीय र द रोयल एकेडेमीकी नलिष्का प्रजापति १५७ अंकसहित तृतीय हुनुभयो ।

यसैगरी, मुनलाइट माध्यमिक विद्यालयकी मनीषा चौधरी १५६ अंकसहित चौथो र डीएभी आरबी केडिया स्कूलकी सान्वी गुप्ता १५४ अंकसहित पाँचौँ हुनुभयो । उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र र मेडलसहित पुरस्कार प्रदान गरिएको थियो ।

डीएभी स्कूलका प्रिन्सिपल राकेश मिश्राको संयोजनमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्षद्वय पुरन प्रधान र इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय तथा सल्लाहकार हरिश्याम ठाकुर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव तथा प्याब्सन वीरगंजका सचिव अमित आलोकलगायतको पनि उपस्थिति थियो ।

प्रतियोगिताको निर्णायकमा ठाकुराम बहुमुखी क्याम्पस तथा हरिखेतान बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्राध्यापक कविराज सुवेदी र सिमरास्थित विभिन्न कलेजमा नेपाली विषय अध्यापन गराउने शिक्षक हरिप्रसाद प्याकुरेल रहनुभएको थियो । दुवै निर्णायकले प्रदान गरेको १००–१०० अंक गरी कुल २०० पूर्णाङ्कका आधारमा प्रतियोगिताको नतिजा निर्धारण गरिएको थियो ।

बाढीपीडितलाई सहयोग गर्ने ५३ विद्यालय सम्मानित

कार्यक्रमकै अवसरमा रसुवामा बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि केन्द्रीय प्याब्सनको आह्वानमा प्याब्सन पर्साको समन्वयमा सहयोग गर्ने ५३ वटा विद्यालयलाई सम्मान गरिएको थियो ।

बाढीपीडितका लागि सहयोग रकम उपलब्ध गराउने विद्यालयका सञ्चालक, अभिभावक, विद्यार्थी तथा विद्यालय परिवारलाई सम्मानपत्रसहित सम्मान गर्दै मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र विपद्का समयमा एकताबद्ध भएर सहयोग गर्ने संस्कृतिको प्रशंसा गरिएको थियो ।

प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्ग्रौलाद्वारा जारी जानकारीअनुसार, संविधान दिवसका अवसरमा आयोजित प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा संवैधानिक ज्ञानको विकासमा योगदान पुर्‍याएको छ । प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्दै सार्वजनिक वक्तृत्वकलामा प्रतिभा प्रदर्शन गर्ने अवसरसमेत प्रदान गरेको थियो ।

असहमतिलाई सम्मान गर्न सकिए संविधानका सङ्कल्प पूरा हुन्छन् : राष्ट्रपति

1

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिहरूलाई सम्मानसहित आलोचनाबाट सिक्दै राज्यलाई जनताप्रति सकिए संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुने बताउनुभएको छ ।

संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अनेकौँ सङ्घर्ष र बलिदानबाट प्राप्त संविधान बमोजिम नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि आफ्नो राज्यसँग याचना गर्नुपर्ने अवस्था आउन नहुनेमा जोड दिनुभयो ।

“राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक छ, जसले नागरिकमा आशा जगाउन सकोस् नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ न त व्यवस्था, किनभने, हामी सबैले बुझ्नुपर्छ शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हँुदैनन्”, राष्ट्रपति पौडेलले भन्नुभयो, “संविधान कागजमा लेखिएका शब्द वा वाक्य सङ्ग्रहको लिखित दस्तावेज मात्र होइन यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा पनि हो । यसको महत्त्व त्यतिबेला प्रकट हुन्छ, जब राज्य नागरिकको आर्तनादसँगै उभिन्छ्, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नुपर्दैन संविधान दिवसले सबै राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउनेछ भन्ने मैले विश्वास लिएको ।”

उहाँले देशको मूल कानुन संविधानप्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आमजनताको जीवनमा स्थापित सक्नुपर्नेमा जोड दिँदै प्राकृतिक विपत्तिले विकास केवल सडक, पुल र भवन होइन मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो भन्ने सोच्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वोपरि हितमा जोडिएकाले अब जलवायु परिवर्तनका चुनौतीबीच हाम्रा विकासका ढाँचाहरू अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बन्नुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

“मुलुकको संवैधानिक विकासक्रममा यस जननिर्मित संविधानले हामीलाई लोकतन्त्र दिएको छ, हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौँ, यो संविधानले हामीलाई प्रदेशहरू दिएको छ, हामीले आफ्नो प्रदेशलाई शान्त, भव्य र व्यवस्थित बनाउने अवसर प्राप्त गरेका छौँ, एकात्मक र केन्द्रीकृत शासनप्रणालीको बदलामा प्राप्त सङ्घीयता हाम्रा लागि संविधानले दिएको महत्वपूर्ण उपहार हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले यो संविधानले बहुलवादमा आधारित समावेशी नेपाल बनाउने अवसर दिएको छ, हामीले यो संविधानमार्फत राज्यको शासकीय संरचनालाई नयाँ ढङ्गले स्थापित गरिएकाले संविधानले प्रदान गरेका यी महान् उपलब्धिका जगमा नै हाम्रो भविष्यको सुखद यात्रा सुनिश्चित हुन्छ विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संवैधानिक इतिहासमा आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ११ वर्ष पूरा भएको अवसरमा आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त पनि गर्नुभएको छ ।

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, एक जना घाइते

0

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। गोली लागेर एक जना घाइते भएको प्रहरीले जनाएको छ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काका अनुसार गोली लागेर एक जनाको तिघ्रामा चोट लागेको खबर प्राप्त भएको छ। घाइतेको अवस्था र पहिचानबारे भने थप विवरण खुल्न बाँकी छ।

गोली के कारणले चलेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। स्थानीयवासीले गोली चलेको खबर गरेपछि प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।

घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे थप अनुसन्धान तथा जानकारी संकलन गरिरहेको छ। गोली चलाउने व्यक्ति तथा घटनाको कारणबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

करेन्ट लागेर मर्‍यो जङ्गली हात्ती ‘रोनाल्डो’

0

चितवन ।  जङ्गली हात्ती ‘रोनाल्डो’ मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका अवस्थामा हात्ती आज मृत भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार टिकौली गेटबाट बरन्डाभार पोष्टमा लगिएको विद्युतीय तारमा परेर हात्ती मरेको अवस्थामा फेला परेको हो । उहाँका अनुसार १६ फिट माथिबाट तानिएको प्लास्टिकले बेरिएको (कोटेट) हात्तीको मुखमा देखिएको छ । गएराति कुनैबेला हात्तीले हिँड्ने क्रममा सूँडले तारमा लागेर करेन्ट लागेको प्रारम्भक अनुमान छ ।

अन्दाजी ४५ वर्षीय जङ्गली हात्ती केही वर्षअघिसम्म रिसाहा भए पनि पछिल्ला वर्षमा शान्त थियो । थापामगरका अनुसार एकीन तथ्याङ्क नभए पनि पाँच/छ जनालाई यसले रिसाउँदा आक्रमण गरेर मारेको अनुमान छ ।

विसं २०६५/६६ देखि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा आउनेजाने गरेको यो हात्तीबाट ३३ वटा बच्चा जन्मिएको केन्द्रका मणिपुरण चौधरी बताउनुहुन्छ । पछिल्ला वर्षमा निकै शान्त यस हात्तीले अधिकांश केन्द्रका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको थियो ।

चौधरीले भन्नुभयो, “विसं २०५० यता हालसम्म केन्द्रमा ७१ वटा छावा जन्मिएकामा ३३ वटाको बाउ रोनाल्डो हो ।” केन्द्र विसं २०४४ मा स्थापना भएको हो । विसं २०५० बाट त्यहाँ बच्चा जन्मिन सुरु गरेका हुन् ।

चौधरीका अनुसार यस वर्ष बच्चा जन्माउन लागेका ऐश्र्यमाला र कर्णालीकलीलाई रोनाल्डोले नै प्रजनन गराएको हो । त्यस्तै, गर्भवती भएका तमोर, तीर्थमान, हिमाली र चितवनकलीलाई पनि रोनाल्डोले नै प्रजनन गराएको चौधरीले बताउनुभयो । खोरसोरमा रहेका सात वटा छावामध्ये छ वटा रोनाल्डो को हुन् भने एउटा ध्रुवेको हो । खोरसोरमा नौ वटा माउ छन् । तीमध्ये माउसमेत अधिकांश रोनाल्डोको बच्चा भएको उहाँ बताउनुहुन्छ ।

विगत दुई महिनायतादेखि खोरसोर क्षेत्रमा रोनाल्डो आएको थिएन । चौधरीले भन्नुभयो, “त्यतिको शान्त जङ्गली हात्ती अरु हुँदैनन । यो मर्दै गर्दा खोरसोरको नाकै गयो ।” रोनाल्डो आउन छाडेपछि हिजोआज गोविन्दे हात्ती प्रजनन केन्द्रमा आउने जाने गरेको छ । यो निकै रिसाहा रहेको उहाँ बताउनुहुन्छ ।

नेपाली क्रिकेट टोलीको बिदाइ

0

काठमाडौँ । जापानमा आयोजित बीसौँ संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल क्रिकेट सङ्घ (क्यान) सचिव पारस खड्कालगायतले बिदाइ गर्नुभएको हो ।

बिदाइ समारोहमा राखेपका सदस्य सचिव मेहताले टोलीलाई शुभकामना दिनुभयो । प्रतियोगितामा टोलीले राम्रो प्रदर्शन गर्ने उल्लेख गर्दै पदकको आशा राखेको बताउनुभयो ।

नेपालले प्रतियोगिताको समूह चरणमा आगामी शुक्रबार अफगानिस्तान र आज जापानविरुद्ध खेल्ने तालिका छ । नेपाली क्रिकेट टोलीले चौथोपटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले क्रिकेटतर्फ हालसम्म एसियाली खेलकुदमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको छ । यसपालि प्रतियोगितामा स्वर्णपदक जित्ने लक्ष्य रोखेको टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले बताउनुभयो ।

एसियाली खेलकुदका लागि नेपालको टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, गुलशनकुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।

प्रभु साहको खुलासा : प्रधानमन्त्री बालेन शाहलाई रास्वपाभित्रैबाट असफल बनाउन खोजिँदैछ

0

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाईको शक्तिशाली सरकार बन्दापनि व्यवहारमा सरकार शक्तिहीन लाचार बनेको टिप्पणी गरेका छन् । सरकार जनतासँगको सम्पर्क टुटाएर लिकभन्दा बाहिर गएको कारण अहिलेपनि देश अन्त्यहीन संकटमा रहेको साहको टिप्पणी छ ।

आजपासम्मिलित ९ दलीय मोर्चाको मधेश प्रदेश समन्वय समितिद्धारा आज (शनिबार) मधेश प्रदेशको वीरगञ्जको टाउन हलमा आयोजित बृहत्त कार्यकर्ता भेला तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले सरकार विपक्षीहरूको कारण कमजोर देखिएको हैन, रास्वपाभित्रैबाट असहयोगको कारण लाचार देखिएको दाबी गरे । उनले संसद्मा रहेको संख्याको कारण वर्तमान सरकार शक्तिशाली देखिएपनि उसले लिएको नीति र गरिरहेको व्यवहारको कारण बिचारा अवस्थामा पुगेको टिप्पणी गरे । उनले प्रधानमन्त्री शाहलाई एम्बिशन पूरा गर्ने हो भने एक्शनमा उत्रिन सुझाव दिए ।

प्रधानमन्त्री बनेलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकमार्फत एक सय दिनमा एक सय वटा शासकीय सुधारको कार्यक्रम ल्याउँदा जनतामा प्रधानमन्त्री शाहप्रति उत्साह देखिएपनि अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम ल्याउँदा त्यो उत्साह घटेको र बजेट ल्याउँदासम्म सबै निराश हुने अवस्था आएको कुरा पनि पूर्वमन्त्री साहले स्मरण गराए । उनले अहिलेपनि समय घर्किनसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई जंगी अड्डातिर नभएर जनताको भर पर्न सुझाव दिएका छन् । यस्तै, उनले प्रधानमन्त्रीलाई संख्या होईन सत्य, बल होईन विधि र सेना होईन संविधानको साथमा हिँड्न पनि सुझाए ।

उनले मुलुकमा पछिल्लो समय देखापरेका धार्मिक सद्भाव विथोलिएको सुनसरी देवानगञ्जको घटनादेखि दुई साताअघि रसुवा भोटेकोशी बाढीको कारण निम्तिएको विपत्तिको संकटको समयसम्म रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई बाईपास गरेर सक्रियता देखाएको घट्नाको स्मरण गराउँदै सरकारलाई नसघाएको गम्भीर आरोप लगाए । विदेश सम्बन्ध र कुटनीतिक अभ्यासको सवालमा पनि रास्वपाका सभापति रवि लामिछाने एकातिर र प्रधानमन्त्री शाह अर्कोतर्फ उभिएको र सोहीअनुसार समानान्तर अभ्यास गरिएको साहको आरोप छ ।

साहले रास्वपाका सभापति लामिछानेले समानान्तर सरकार चलाउन खोज्दा सरकारको कार्यसम्पादनमा असर परिरहेको कुरा सचेत नागरिकले गुनासो पोख्न थालेको पनि टिप्पणी गरे । उनले रास्वपाले भागबण्डाको राजनीति गरेको र नेतातन्त्रको अभ्यास गरेको कुरा पछिल्लो समय सरकारका मन्त्रीहरु र रास्वपाका नेताहरुबीच भएको छेडखानी र आरोपप्रत्यारोपबारे सार्वजनिक भएको घट्नाले पनि पुष्टि गर्ने बताए ।

सरकार सामान्य डेलिभरी दिन नसकेर आलोचित बन्ने अवस्था आउनु दुःखद् भएको उनको टिप्पणी छ । ग्याँसको अभावमा जनतको चुलो निभ्ने अवस्था आएको यति दिन बित्दापनि समस्या समाधान नभएको र सेवामा लाईन घट्नुको साटो बढ्नुले पनि सरकारको असफलता देखाईसकेको साहले जिकिर गरे ।
उनले वर्तमान सरकार बनेपछिका नियुक्तिमा पनि सरकारले समावेशीताको सिद्धान्तलाई धज्जी उडाउँदै महिला, मधेशी, दलितहरुलाई उपेक्षा गरेको आरोप लगाए । ती नियुक्तिहरुमा कर्णाली र दलितको प्रतिनिधित्व शून्य बनाईएको भन्दै उनले सरकारलाई समावेशी प्रतिनिधित्वको मूल मर्मलाई ख्याल गर्न पनि सुझाए ।

सो क्रममा उनले आफूहरु देशलाई दिशा दिनको लागि एक ठाउँमा उभिएको र संघर्षको सहयात्रा सुरु गरेको सुनाए । उनले आफूहरु सत्ताको कुनै खेलमा नलागी संघर्षको बाटोमा उभिएकोले राष्ट्रिय राजनीतिमा पनि सोहीअनुसार हस्तक्षेप गरिने नेता तथा कार्यकर्ताहरुलाई विश्वास दिलाए । उनले व्यवस्था बिकृत भएको कारण देशको अवस्थामा बदलाव नआएको र झनै संकट गहिरिँदै गएको दाबी गरे । अहिलेको राजनीतिक व्यवस्थामा सुधार नगरेसम्म देशले निकास नपाउने उनको दाबी छ ।

उनले अहिले फेक शासनको कारण जनतामा एक किसिमको भय र त्रास देखिएको भन्दै मोर्चाले भय र त्रासको अवस्थालाई चिर्ने स्पष्ट पारे । उनले नयाँका नाममा आएकाहरुले अहंकारयुक्त नेपाल बनाउन चाहेको भएपनि आफूहरु अहंकारमुक्त नेपालको पक्षमा उभिएको बताए । उनले भने,“उनीहरू एकांकी र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, तर हामी सहअस्तित्व र सहकार्य चाहन्छौं । हामी उनीहरुजस्तो सिण्डिकेट होईन सोलिडारिटी चाहन्छौं । सर्वसत्तावाद होईन, सर्वस्विकार्य बहुलवाद हाम्रो चाहना हो ।” साहले नयाँहरुले सामाजिक सञ्जालमात्र बुझेको तर आफूहरु समाज बुझेको नेता भएको पनि टिप्पणी गरे ।

मोर्चामा आवद्ध नेताहरुले सरकारमा सहभागी भएर सेवा गर्ने अवसर पाउँदा छोटो समयमा पनि प्रभावकारी काम गरेर अमिट छाप छोडेको साहको दाबी छ । उनले भने,“अहिले यो मञ्चमा उभिएका हामी नेताहरुले सरकारमा बसेर काम गर्ने अवसर एकदमै छोटो समयको लागि पाएको छौं, तर पाएको अवसरको सही सदुपयोग गरेका छौं । चाहे उपेन्द्रजीले विदेश नीतिको सम्बन्धमा खेलेको भूमिका होस वा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा हुँदा बनाएको मानक होस, वा जनार्दन शर्माले लोडसेडिङ अन्त्य गरेर लगाउनुभएको गुण नै किन नहोस, वा मैले जम्मा पाँच महिना सहरी विकास मन्त्रालयको नेतृत्व हुँदा इतिहासमै छाप छोड्ने गरी काम गरेको छु, आज मधेशका स्मार्ट सिटीको कुरा गर्नुहोस, वा ठूला ठूला सभाहलको कुरा होस, मैले अवसर पाउँदा सही सदुपयोग गरेको छु ।”

फरक प्रसंगमा देशलाई दुख्दा मधेशको पनि मन दुख्ने गरेको र मधेशी जनता सधैं देशको दुःखमा साथै उभिने गरेको भन्दै भूकम्प, कोभिड महामारीदेखि हालैको रसुवाको भोटेकोशी बाढीको वितण्डाले निम्त्याएको महाविपत्ति र पीडाको घडीमा मधेशले साथ दिएर महानता देखाएको पनि साहले सुनाए । आफूहरु देश जोड्ने अभियानमा रहेको उल्लेख गर्दै उनले अग्रगामी मोर्चाले देशलाई एकताको सूत्रमा बाँध्ने विश्वास दिलाए ।

वीरगंजमा रक्तदान कार्यक्रम, २५ युनिट रगत संकलन

0

वीरगंज । लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्ड, लायन्स क्लब अफ वीरगंज मेट्रोसिटी र तेरापन्थ युवक परिषद् वीरगंजकाे संयुक्त आयोजनामा शुक्रबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा २५ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा रक्तदानको महत्वबारे जानकारी दिँदै नियमित रक्तदानले आकस्मिक तथा जटिल अवस्थामा बिरामीका लागि आवश्यक रगतको उपलब्धता सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको थियो ।

संकलित रगत आवश्यकताअनुसार बिरामीको उपचारमा प्रयोग गरिने आयोजक संस्थाहरूले जनाएका छन् । कार्यक्रममा सहभागी भई रक्तदान गर्ने रक्तदाता, स्वयंसेवक तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकहरूले आभार व्यक्त गरेका छन् ।

‘रक्तदान जीवनदान’ भन्ने भावनासहित आयोजित कार्यक्रमले सामाजिक सेवाप्रति युवाहरूको सक्रिय सहभागिता र मानवीय उत्तरदायित्वलाई थप बलियो बनाएको लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुदिन शमानीले वताए ।

वीपी उद्यानमा रेल्वे पार्क बनाउने योजना पुनः अघि बढ्यो

0

वीरगंज । वीरगंज महानगरपालिकाले घण्टाघरस्थित वीपी उद्यानभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गरी ‘रेल्वे पार्क’का रूपमा विकास गर्ने योजना पुनः अघि बढाएको छ । योजनाअनुसार पार्कभित्र झाडी र फोहोरले अस्तव्यस्त बनेको रेल्वे क्षेत्रमा शनिबारदेखि पुनः सरसफाइ तथा व्यवस्थापनको काम सुरु गरिएको हो ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा रेल्वे क्षेत्रको सरसफाइ गरिएको महानगरले जनाएको छ । करिब तीन महिनादेखि झाडी र फोहोरका कारण अस्तव्यस्त बनेको उक्त क्षेत्रलाई सफा गरी आगामी दिनमा रेल्वे पार्क निर्माणको काम अघि बढाउने तयारी गरिएको छ ।

वीपी उद्यानलाई वीरगंजको प्रमुख हरित तथा सार्वजनिक मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजनाअन्तर्गत पार्कभित्रका विभिन्न संरचना तथा क्षेत्रलाई व्यवस्थित गर्ने काम हुँदै आएको छ । सोही क्रममा पुरानो रेल्वे क्षेत्रलाई वीरगंजको ऐतिहासिक पहिचान झल्किने गरी रेल्वे पार्कका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको हो ।

रेल्वे पार्क निर्माणको प्रारम्भिक तयारीस्वरूप यसअघि क्षेत्रको सरसफाइ, झाडी हटाउने तथा खाली स्थान व्यवस्थित गर्ने काम सुरु गरिएको थियो । तर, गत जेठ २५ गते प्रमुख सिंह निलम्बनमा परेपछि पार्कभित्रको सरसफाइ तथा व्यवस्थापनको काम रोकिएको थियो । काम रोकिएपछि रेल्वे क्षेत्र पुनः झाडी र फोहोरले ढाकिँदै गएर अस्तव्यस्त बनेको थियो ।

विशेष अदालतबाट सोमबार सफाइ पाएपछि प्रमुख सिंहले महानगरका रोकिएका कामलाई पुनः गति दिन थालेका छन् । त्यसक्रममा वीरगंजको सरसफाइ अभियानलाई तीव्रता दिनुका साथै वीपी उद्यानमा रोकिएको कामसमेत अघि बढाउन निर्देशन दिइएको महानगरले जनाएको छ ।

रेल्वे क्षेत्रको सरसफाइसँगै अब उक्त स्थानलाई थप व्यवस्थित बनाउँदै रेल्वे पार्क निर्माणको योजना अघि बढाइने भएको छ । पार्कलाई हरियाली, मनोरञ्जन र वीरगंजको ऐतिहासिक पक्षसँग जोडेर विकास गर्ने महानगरको तयारी छ ।

घण्टाघर नजिकै मुख्य तथा व्यस्त क्षेत्रमा रहेको वीपी उद्यानलाई व्यवस्थित र आकर्षक सार्वजनिक पार्कका रूपमा विकास गरी सर्वसाधारणका लागि मनोरञ्जन तथा विश्रामको उपयुक्त स्थल बनाउने महानगरको लक्ष्य रहेको छ ।

सरसफाइ कार्यक्रममा महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानलगायतको सहभागिता रहेको थियो ।

मूर्ति विसर्जनका क्रममा पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

0

महोत्तरी । महोत्तरीको जलेश्वरमा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१० का इन्दल यादवका १५ वर्षीय छोरा लव यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार राति करिब ८:३० बजे जलेश्वर नगरपालिका–१० स्थित सारीको पोखरीमा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा लव डुबेका थिए।

पोखरीमा डुबेका लवलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। तर, अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमै राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।