Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 21

पकाहाँ मैनपुर–२ को वडाध्यक्षमा दिपेन्द्र चौहानको उम्मेदवारी घोषणा

0

वीरगंज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ का वडाध्यक्ष पदका लागि दिपेन्द्र चौहानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

चौहानले वडा विकास, स्थानीय आवश्यकता र युवा पुस्ताको सहभागितालाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

उनको उम्मेदवारी घोषणासँगै स्थानीयस्तरमा युवा पुस्ताको राजनीतिक सहभागिता र वडा विकासका विषयमा चर्चा सुरु भएको छ । वडाबासीका अनुसार चौहानले स्थानीय आवश्यकता पहिचान गरी विकास निर्माण तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राख्ने धारणा जनतामाझ प्रस्तुत गर्दै आएका छन् ।

स्थानीयहरूले चौहानको उम्मेदवारीलाई वडा विकासमा युवाको सहभागिता बढाउने प्रयासका रूपमा लिएका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै उनले वडाबासीसँग भेटघाट तथा स्थानीय समस्या र आवश्यकताबारे छलफललाई समेत अघि बढाउने तयारी गरेका छन् ।

पर्सागढी–६ काे कांग्रेस सभापतिमा जवाहिर लाल

0

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार पर्साको पर्सागढी नगरपालिका–६ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहिर लाल राउत अहिर निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी वडा समितिको उपसभापतिमा हिरालाल प्रसाद यादव र फुलमति देवी साह, सचिवमा पनव कुमार सहनी तथा सहसचिवमा उमेश कुमार यादव र काेषाध्यक्षमा हरेश कुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी वडा समितिको सदस्यमा हरिनारायण प्रसाद यादव, तपसि साह तेली, प्रेमा देवी, धनमती देवी, पतिया देवी दुसादिन, भोज प्रसाद यादव, सुरेश गिरी, डोमा राउत अहिर, दशरथ सहनी, प्रयाग हजारा दुसाद, राजेश्वर प्रसाद यादव, धनसुनर सहनी र शंकर राउत सर्वसम्मत चयन भएका छन् ।

पर्सागढी नगरपालिकाका पूर्व मेयर लाेकनारायण यादवकाे समन्वय र प्रयासले सर्वसहमत वडा अधिवेशन सम्पन्न भएकाे हाे । अधिवेशनले वडा समितिलाई सर्वसम्मत रूपमा चयन गर्दै पार्टी संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

पर्साको धोबिनीमा ५५ वर्षीया महिलाको हत्या, लाखौँका गरगहना चोरी

0

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा ५५ वर्षीया महिला घरभित्र मृत अवस्थामा फेला परेकी छन् । मृतक स्थानीय श्रीनिवास तुराहाकी श्रीमती लखराव देवी हुन् ।

आइतबार राति तीन तल्ले पक्की घरमा श्रीनिवास र उनकी श्रीमती छुट्टाछुट्टै तल्लामा सुतेका थिए । श्रीनिवास पहिलो तल्लामा र लखराव देवी दोस्रो तल्लामा सुतेकी थिइन् । रातिको समयमा अज्ञात समूह छिमेकीको घरतर्फबाट झ्याल तोडेर दोस्रो तल्लामा प्रवेश गरेको र घरभित्र दराज फाेडेर गरगहना चाेरी गरि लगेकाे स्थानीयले बताएका छन् ।

सोमबार बिहान नियमित रूपमा पूजा गर्न श्रीमती नआएपछि श्रीनिवास माथिल्लो तल्लामा पुग्दा लखराव देवी मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लंगडी, इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाएको छ ।

स्थानीयले घरमा चोरीसमेत भएको र लाखौँ रुपैयाँ मूल्य बराबरका गरगहना चोरी भएको बताएका छन् । तर प्रहरीले भने चोरी भएको विवरण अहिलेसम्म प्राप्त नभएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले धोबिनीस्थित एक घरमा ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताए । उनका अनुसार घरको झ्याल र दराज तोडिएको जानकारी प्राप्त भए पनि चोरी भएको विवरण प्राप्त भइसकेको छैन ।

मृतक लखराव देवीका दुई छोरा र दुई छोरी रहेका छन् । उनका छोराहरू व्यवसायको सिलसिलामा काठमाडौंमा बस्दै आएको स्थानीयले बताएका छन् । घटनापछि गाउँमा त्रासको वातावरण सिर्जना भएको छ ।

जिराभवानीकाे दुई विद्यालयमा शिक्षक नियुक्तिमा आर्थिक चलखेलको आरोप, निष्पक्ष छानबिनको माग

2

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाका दुई विद्यालयमा राहत करार शिक्षक नियुक्तिका क्रममा आर्थिक चलखेल भएको आरोप लागेको छ । शिक्षक नियुक्तिका लागि परीक्षार्थीसँग रकम लेनदेन भएको दाबी गर्दै जिराभवानी गाउँपालिकाका युवा समाजले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

जिराभवानी गाउँपालिका–स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा बिर्तामा निम्न माध्यमिक तह (नि.मा.वि.) राहत करार शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालन गरिएको थियो । परीक्षार्थीहरूले सम्बन्धित निकायमा दिएको निवेदनमा विद्यालयका प्रधानाध्यापक खेमराज प्रसाद महतोले परीक्षा हुनुभन्दा करिब तीन महिनाअघि नै एक परीक्षार्थीसँग शिक्षक नियुक्तिका लागि ६ लाख रुपैयाँ लिएको दाबी गरिएको छ ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक महतोबाट समेत १ लाख रुपैयाँ रकम लिइएको जानकारी आफूहरूले पाएको जिराभवानी गाउँपालिकाका युवा समाजले जनाएको छ । शिक्षक नियुक्तिका लागि रकमको लेनदेन भएको दाबी गर्दै युवा समाजले नियुक्ति प्रक्रिया प्रभावित हुन सक्ने भन्दै छानबिनको माग गरेको हो ।

युवा समाजले दिएको निवेदनमा शिक्षक नियुक्तिका क्रममा रकम लिइएको वा नलिइएको विषयमा अनुसन्धान गर्न, सम्भावित आर्थिक कारोबारको विवरण परीक्षण गर्न तथा आरोप पुष्टि भएमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।

त्यसैगरी, शिक्षक नियुक्तिका लागि सञ्चालन गरिएको परीक्षाको प्रक्रिया, परीक्षा सञ्चालनसम्बन्धी निर्णय, उत्तरपुस्तिका, मूल्याङ्कन प्रक्रिया तथा नियुक्तिसँग जोडिएका आर्थिक कारोबारसमेत निष्पक्ष रूपमा छानबिन गर्न माग गरिएको छ ।

युवा समाजले शिक्षक नियुक्ति प्रक्रियामा पारदर्शिता कायम गर्दै योग्य उम्मेदवारको निष्पक्ष छनोट सुनिश्चित गर्न स्थानीय तह तथा सम्बन्धित शिक्षा निकायको ध्यानाकर्षण गराएको जनाएको छ ।

यस्तै, जिराभवानी गाउँपालिका–३ स्थित बितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा पनि राहत करार शिक्षक नियुक्तिका क्रममा आर्थिक लेनदेन भएको आरोप लगाइएको छ । स्रोतका अनुसार माध्यमिक तह राहत नेपाली विषयको करार शिक्षक नियुक्तिका क्रममा ७ लाख रुपैयाँसम्म रकम लेनदेन भएको दाबी गरिएको छ ।

उक्त रकम विद्यालयका प्रधानाध्यापक रामाशंकर प्रसाद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम राय थारु, गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी तथा शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रतिनिधिबीच बाँडफाँट भएको स्रोतको दाबी छ । यद्यपि, यस सम्बन्धमा स्वतन्त्र रूपमा पुष्टि हुने प्रमाण सार्वजनिक भएको छैन ।

जिराभवानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिवराज फ्यूयालले शिक्षक नियुक्तिमा आर्थिक लेनदेन भएको सम्बन्धमा गाउँपालिकाको कार्यालयमा कुनै निवेदन वा उजुरी नआएको बताएका छन् ।

उनले अनुमानका आधारमा आरोप लगाउन नहुने भन्दै आर्थिक लेनदेन भएको तथ्य र प्रमाण फेला परे सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने बताए । फ्यूयालले आफूलाई त्यस्तो गुनासो प्राप्त नभएको समेत स्पष्ट पारे ।

वीरगंजको मुख्य सडक विस्तारमा धार्मिक संरचना नहटाइने

1

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभएको छ।

मुख्य सडक विस्तारबाट प्रभावित घरधनी तथा उनीहरूका प्रतिनिधिसँग सोमबार भएको भेटमा मेयर सिंहले धार्मिक तथा ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षण गर्दै सडक विस्तारको काम अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरिसकेको जानकारी दिनुभयो। सोहीअनुसार धार्मिक संरचनाको संरक्षणलाई समेत ध्यानमा राखेर सडक विस्तारको डीपीआर तयार गरिएको उहाँले बताउनुभयो।

सडक सीमामा पर्ने महावीरस्थान मन्दिर, बिर्ता मन्दिर, अलखियामठ तथा छपकैयास्थित इदगाह र कबरगाहलगायतका धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने मेयर सिंहले स्पष्ट पार्नुभयो।

सडक विस्तारबाट प्रभावित घरधनीका समस्या र गुनासोबारे छलफल गर्दै उहाँले सडक सीमा छाडेर नयाँ संरचना निर्माण गर्दा कायम गर्नुपर्ने ५ फिट सेडब्याकको व्यवस्थाका सम्बन्धमा पनि पुनर्विचार गरिने बताउनुभयो। मुख्य सडक क्षेत्रमा आवश्यक सुविधा र सहजता हुने गरी महानगरपालिकाले सहजीकरण गर्ने उहाँको भनाइ थियो।

त्यस्तै, सडक विस्तारका क्रममा प्रभावित भई नयाँ संरचना निर्माण गर्नुपर्ने घरधनीलाई नक्सापासमा आवश्यक छुट तथा सहुलियत उपलब्ध गराउन महानगरपालिका तयार रहेको मेयर सिंहले जानकारी दिनुभयो। यसका लागि आगामी नगरसभाबाट आवश्यक निर्णय गराउने तयारी रहेको उहाँले बताउनुभयो।

भेटमा सडक विस्तारबाट प्रभावित घरधनीका प्रतिनिधिहरूले आफूहरूले भोग्नुपरेका समस्या, क्षति तथा नयाँ संरचना निर्माणका क्रममा देखिन सक्ने व्यावहारिक कठिनाइबारे मेयर सिंहको ध्यानाकर्षण गराएका थिए।

छलफलमा सज्जन घिरैया, ओमप्रकाश सिकारिया, सुमन क्याल, निरञ्जन चौधरी, प्रमोद सर्राफलगायत प्रभावित घरधनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

रसुवा बाढीमा बेपत्ता भएका परिवारको घरमा सांसद अन्सारी

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले रसुवाको भोटेकोशी बाढीबाट बेपत्ता भएका परिवारमा पुगेका छन् । बारा क्षेत्र नम्बर ४ का सांसद अन्सारी सोमबार बिहान गाडी सहचालक परवानीपुर गाउँपालिका १ रहरिया निवासी २४ बर्षिय निरज कुशवाहाको घरमा पुगेका हुन ।

उनले बेपत्ता भएका कुशवाहाका परिवारलाइ भेट्दै बाढी प्रभावित परिवारको यो दुखमा सरकारको उपस्थिति रहेको बताए । सरकारी तथ्यांकअनुसार रसुवा बाढीमा अझै ५ हजार १३० जना बेपत्ता रहेको उल्लेख गर्दै उनले आफ्नो गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रबाट बेपत्ता भएकाहरुको सुची सरकारी निकायमा रहेको बताए ।

बाढी प्रभावित परिवारसँग भेट्न आफ्नो निर्वाचन क्षेत्रमा पुगेको उल्लेख गर्दै अन्सारीले प्रभावित परिवारलाई साथ दिने र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रसुवाको बाढीमा परवानीपुर गाउँपालिकाका मात्रै चार जना बेपत्ता भएका छन ।

सांसद अन्सारी आइतबार परवानीपुर गाउँपालिका ५ निवासी नमोनारायण सिंहको पनि घरमा पुगेका थिए । सरकारी तथ्यांकअनुसार रसुवा बाढीमा अझै ५ हजार १३० जना बेपत्ता रहेको उल्लेख गर्दै उनले आफ्नो गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रबाट बेपत्ता भएकाहरुको सुची सरकारी निकायमा रहेको बताए ।

बाढी प्रभावित परिवारसँग भेट्न आफ्नो निर्वाचन क्षेत्रमा पुगेको उल्लेख गर्दै अन्सारीले प्रभावित परिवारलाई साथ दिने र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रसुवाको बाढीमा परवानीपुर गाउँपालिका का मात्रै चार जना बेपत्ता भएका छन ।

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

0

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई छुट्टाछुट्टै रक्तदान शिविर आयोजना गरेको छ ।

‘सेवा, संस्कार र संगठन’को भावनाअनुसार आयोजित पहिलो रक्तदान शिविर हुलास हिपको–लालपर्साको सहयोगमा सम्पन्न भएको थियो । उक्त शिविरमा ५० जनाले रक्तदान गरेका छन् । शिविरमा हुलास हिपकोका कमर्शियल जनरल म्यानेजर रवि सिन्हाको उपस्थिति रहेको थियो ।

त्यसैगरी, तेरापन्थ जैन भवनमा विशेष महिला रक्तदान शिविर आयोजना गरिएको थियो । नेपाल अग्रवाल महिला मञ्चसँगको सहकार्यमा आयोजित उक्त शिविरमा १५ जना महिलाले रक्तदान गरेका छन् । शिविरमा मञ्चकी अध्यक्ष नूतन सरावगीसहित उनको टोलीको सहभागिता रहेको थियो ।

दुवै शिविरमा गरी कुल ६५ जनाले रक्तदान गरेका छन् । आयोजकका अनुसार रक्तदानमार्फत बिरामीको उपचारमा आवश्यक रगतको आपूर्ति सहज बनाउन तथा समुदायमा सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा तेरापन्थ युवक परिषद्का अध्यक्ष सुनील दुगड, रक्तदान संयोजक सौरभ भुटोरिया, ‘रक्तदान अन कल’का आशीष चोरडिया, पंकज बैद र अनिल बैदलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

1

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको आर्थिक कारोबारको विवरण र नयाँ कार्यसमिति गठनको प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि सभा एक साताका लागि स्थगित गरिएको हो ।

साधारणसभामा समितिका अध्यक्ष सत्यनारायण साहले विगतका वर्षमा भएका आर्थिक कारोबारको लेखापरीक्षणअनुसारको आय–व्यय विवरण प्रस्तुत गर्ने क्रममा सहभागी उपभोक्ता तथा युवाहरूले आर्थिक कारोबारसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न उठाएका थिए । त्यसक्रममा युवा समूह, उपभोक्ता तथा समितिका पदाधिकारीबीच भनाभन भएपछि सभाको वातावरण विवादित बनेको थियो ।

सहभागी उपभोक्ताहरूले समितिको लामो समयदेखि साधारणसभा हुन नसकेको विषयसमेत उठाएका थिए । उनीहरूले विगतका वर्षहरूको आर्थिक कारोबार पारदर्शी बनाउन बैंक स्टेटमेन्ट, बिल–भर्पाइ, आय–व्यय विवरणलगायत आर्थिक कारोबारसँग सम्बन्धित सम्पूर्ण कागजात सार्वजनिक गर्न माग गरेका थिए ।

आर्थिक गतिविधिबारे स्पष्ट जानकारीका लागि आवश्यक कागजात उपलब्ध गराउनुपर्ने माग उपभोक्ताहरूले राखेपछि सभामा विवाद थप चर्किएको थियो। लामो समयसम्म छलफल र विवाद चलेपछि तत्काल नयाँ कार्यसमिति गठनको प्रक्रिया अघि बढाउन कठिन भएपछि साधारणसभा स्थगित गर्ने निर्णय गरिएको बताइएको छ ।

नयाँ कार्यसमिति गठनमा पनि विवाद

साधारणसभामा नयाँ कार्यसमिति गठनको विषयमा समेत विवाद भएको थियो। अध्यक्ष पदका लागि प्रस्ताव गरिएको नाम विधानमा उल्लेखित मापदण्डअनुसार योग्य नभएको भन्दै सहभागीहरूले प्रश्न उठाएका थिए ।

समितिका अध्यक्ष सत्यनारायण साहका अनुसार विधानमा कुल उपभोक्तामध्ये ५१ प्रतिशत उपभोक्ताको उपस्थिति भएपछि मात्र नयाँ कार्यसमिति गठन गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार उपभोक्ताको उपस्थिति र प्रतिनिधित्व सुनिश्चित गरेर मात्र नयाँ कार्यसमिति गठन गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष पदका लागि नाम प्रस्ताव तथा सिफारिस गरिए पनि विधानमा उल्लेखित मापदण्ड पूरा भए–नभएको विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया तत्काल अघि बढ्न सकेन ।

तीन वर्षमा हुनुपर्ने साधारणसभा वर्षौँदेखि भएन

आदर्श विद्युत उपभोक्ता समितिको विधानमा प्रत्येक तीन वर्षमा साधारणसभा गरी कार्यसमितिको पुनर्गठन गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ । तर समितिको साधारणसभा विगत ७/८ वर्षदेखि नियमित रूपमा हुन नसकेको विषयसमेत सभामा उठेको थियो ।

लामो समयसम्म साधारणसभा नहुँदा समिति सञ्चालन, आर्थिक कारोबार, उपभोक्ताको सहभागिता तथा कार्यसमितिको वैधानिकतासम्बन्धी विषयमा प्रश्न उठ्न थालेको सहभागीहरूको भनाइ छ ।

उपभोक्ताहरूले नियमित रूपमा साधारणसभा गर्नुपर्ने, आर्थिक कारोबार पारदर्शी बनाउनुपर्ने तथा विधानअनुसार कार्यसमिति गठन गरिनुपर्ने माग गरेका छन् । उनीहरूले उपभोक्ताको सहभागिता र सहमतिमा समिति सञ्चालन हुनुपर्ने बताएका छन् ।

आगामी शनिबार निर्वाचनमार्फत नयाँ समिति गठन गर्ने सहमति

शनिबारको साधारणसभाबाट नयाँ कार्यसमिति गठन हुन नसकेपछि आगामी शनिबार पुनः प्रक्रिया अघि बढाउने सहमति भएको छ । आवश्यक प्रक्रिया पूरा गरी निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्ने विषयमा सहमति जुटेको बताइएको छ ।

आगामी बैठकमा उपभोक्ताको उपस्थिति, विधानमा उल्लेखित मापदण्ड तथा कार्यसमिति गठनसम्बन्धी प्रावधानलाई आधार बनाएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। त्यसअघि विगतको आर्थिक कारोबारसम्बन्धी विवरण र आवश्यक कागजातबारे समेत स्पष्टता ल्याउनुपर्ने माग उपभोक्ताहरूले राखेका छन् ।

लामो समयदेखि रोकिएको साधारणसभा सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने तथा उपभोक्ताको सहभागितामा विद्युत सेवा र समितिको व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

स्थानीय उपभोक्तालाई विद्युत सेवा उपलब्ध गराउँदै आएको आदर्श विद्युत उपभोक्ता समितिमा लामो समयदेखि साधारणसभा र कार्यसमिति पुनर्गठन हुन नसकेको विषय अहिले मुख्य चर्चामा आएको छ । आगामी शनिबार हुने भनिएको निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयनसँगै समितिमा देखिएको विवाद समाधान हुने अपेक्षा गरिएको छ ।

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

0

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ ।

देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उहाँको आज शल्यक्रिया गरी गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो ।

यादवको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको छ । उहाँ हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि गोली प्रहारबाट घाइते हुनु भएको थियो । घटनापछि प्रहरीले देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको थियो । उक्त  घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी खड्काले बताउनुभयो ।

युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवादबाट उत्पन्न रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी

0

काठमाडौँ । जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।

नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो । नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ तथा तेस्रो सेट २५–२० अङ्कले जितेको हो ।

नेपालले यसअघि समूह चरणका दुवै खेलमा पराजय व्यहोरेको थियो । नेपाली टोली समूह चरणमा जापान र इन्डोनेसियासँग ३–० सोझो सेटमा पराजित भएको थियो ।