Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
Home Blog Page 206

पर्सामा १५ लाख हुण्डीको रकम सहित एक जना पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको १५ लाख रुपैयाँ बराबरको हुण्डी रकमसहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले पकाहाँ मैनपुर गाउँपालिका–१ धोरे चेकपोस्ट नजिकबाट उक्त रकम बरामद गरिएको जनाएको छ।

आइतबार दिउँसो करिब २:३० बजे चेकजाँचका क्रममा बिआर२२एएफ४१२६ नम्बरको मोटरसाइकलमा सवार पकाहाँ मैनपुर–१ का ३४ वर्षीय अवधेश पटेललाई रोकेर चेक गर्दा मोटरसाइकलको लेगगार्डमा राखिएको ‘पंकज मसाला’ लेखिएको झोलाभित्र कालो प्लास्टिकमा बेरिएको अवस्थामा नगद फेला परेको प्रहरीले जनाएको छ।

बरामद भएको नगदमा १ हजार दरका ७९० थान, ५०० दरका १,३२१ थान, १०० दरका ५६९ थान, ५० दरका ५० थान र २० दरका ५ थान गरी जम्मा १५ लाख रुपैयाँ रहेको छ। साथै प्रयोग भएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाइ छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) बमोजिम हुण्डी कारोबारसम्बन्धी कसूरमा अवधेश पटेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

वीरगंजमा सुदन गुरुङ र पर्साका युवाबीच भेटघाट, नेतृत्व र संगठनात्मक योजनाबारे छलफल

0

वीरगंज । जेन जी नेपालका संयोजक सुदन गुरुङ र जेन जी पर्साका संयोजक विशेष साहसहित पर्सा जिल्लाका विभिन्न वडाहरू तथा पालिकामा सक्रिय युवा नेतृत्वबीच आज वीरगंजमा विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
भेटघाटका क्रममा पर्साको युवा नेतृत्व, सामाजिक मुद्दा तथा आगामी संगठनात्मक योजनाबारे विस्तृत रूपमा छलफल गरिएको जेन जी पर्साले जानकारी दिएको छ।

कार्यक्रममा अभियन्ता रणधीर वर्णावाल, राजा गुप्ता, अजीत सिंह, अमर सराफ, आँशु सिंह, सागर सर्राफ, र रिशु वर्मासहितको टोली सहभागी थियो। टोलीले भेटघाटअघि वीरगंजस्थित ऐतिहासिक माईस्थान मन्दिरमा पूजा–पाठ गर्दै देश तथा प्रदेशको शान्ति, समृद्धि र युवाको उज्ज्वल भविष्यको कामना गरेको बताइएको छ।

युवाको भूमिकालाई मजबूत बनाउँदै पर्साको विकासका मुद्दाहरूलाई प्राथमिकता दिने र जेन जी युवाहरू एकीकृत रूपमा अघि बढ्ने सहमति समेत भेलाबाट व्यक्त गरिएको छ।

सर्लाहीमा ट्रान्सफर्मरको तामाको तार चोरी गर्ने गिरोह पक्राउ

0

सर्लाही । कृषि ट्रान्सफर्मरभित्र जडान गरिने तामाका तार चोरी गर्दै आएका एक संगठित गिरोहलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको छ। मिति २०८२।०७।२८ र २९ गते विभिन्न प्राविधिक बिधि तथा सूचनाको प्रयोग गर्दै खटिएको प्रहरी टोलीले चोरीमा संलग्न नौ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले इलाम माईजोगामाई–४ का दुर्गा अधिकारी, सिन्धुपाल्चोक पाखर–१ का सोनम लामा, महोत्तरी बर्दिवास–३ का बुधे माझी, भारत बिहार चिरैया–६ का सुखाडी सहनी र उनका छोरा सरोज कुमार सहनी, भारत बिहार मोतिहारी हरदियाका मो. रयाजुल, वीरगंज महानगर–१६ का दिलिप कुमार ओझा, भारत बिहार समस्तीपुर मोहरी टोलका संजित पदार्थ, तथा जितपुर–सिमरा उ.म.न.पा.–६ स्थित गढीमाई मेटल प्रा.लि.का संचालक कृष्ण श्रीवास्तवलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट चोरीमा प्रयोग गरिएका दुई थान ई–रिक्सा, ५१ थान विभिन्न औजार, ११ थान मोबाइल फोन तथा १०३.८ केजी तामाका तार बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।

नापी कार्यालय वीरगंजका सर्भेक्षक र सहयोगी एक लाख घुससहित पक्राउ

0

वीरगंज । नापी कार्यालय बिरगंज पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा परेका छन्।

छुट जग्गा दर्ताको नाममा सेवाग्राहीसँग विभिन्न बहाना बनाएर घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो।

मंगलबार आयोगको टोलीले वीरगंज महानगरपालिका–३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालयबाट दुबै जनालाई सेवाग्राहीबाट लिइसकेको अवस्थामा एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पक्राउ परेका दुवै जनामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ र थप अनुसन्धान जारी रहेको छ।

ठोरी गाउँपालिका यस वर्ष पनि स्वास्थ्य क्षेत्रमा पर्सा जिल्लामा प्रथम

0

वीरगंज । पर्सा जिल्लामा ठोरी गाउँपालिकाले यस वर्ष पनि स्वास्थ्य क्षेत्रमा प्रथम स्थान हासिल गर्न सफल भएको छ। स्वास्थ्य सेवामा सुधार, प्रभावकारी कार्यक्रम कार्यान्वयन तथा सर्वसाधारणलाई समयमै सेवा प्रवाहमा देखिएको सक्रियता र समर्पणका आधारमा ठोरी गाउँपालिका पुनः जिल्लामा उत्कृष्ट ठहरिएको हो।

यो उपलब्धि हासिल गर्न गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सहकर्मीहरूको निरन्तर परिश्रम र लगनशीलताले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। दिनरात खटेर स्वास्थ्य सेवा उपलब्ध गराउने सबै स्वास्थ्यकर्मी तथा स्थानीय तह सरकारप्रति हार्दिक आभार व्यक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत सराेज चाैधरीले वताए ।

ठोरी गाउँपालिकाले आगामी दिनमा पनि जनस्वास्थ्यका कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

इन्टर–कलेज वाद–विवाद प्रतियोगिता वीरगंजमा सुरु

0

वीरगंज । वीरगंज लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब बिरगंज कुटुम्ब तथा लायन्स क्लब बिरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा इन्टर–कलेज वाद–विवाद प्रतियोगिता सुरु भएको छ। बिरगंजका १० वटा कलेजको सहभागितामा आयोजना गरिएको प्रतियोगितामा प्रत्येक कलेजबाट एक–एक जना उत्कृष्ट वक्तालाई फाइनल राउन्डका लागि छनोट गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको पहिलो छनोट चरण अन्तर्गत आज ग्लोबल बिजनेस कलेजमा “सामाजिक सञ्जाल – उपयुक्त कि जञ्जाल?” विषयमा वाद–विवाद प्रतियोगिता सम्पन्न भयो। महिला तथा पुरुष गरी ८ जना विद्यार्थीबीच प्रतिस्पर्धा हुँदा महिला समूहबाट अनुस्का बस्नेत र पुरुष समूहबाट बिनिता कुमारी विजेता बने। उनीहरू दुबैजना फाइनल राउन्डका लागि छनोट भएका छन्।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साहले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ लायन वासु तिमल्सिना, विशिष्ट अतिथि डिस्ट्रिक्ट एक्जिक्युटिभ–को–चिफ लायन अशोक कुमार बेरिवाल, विशिष्ट अतिथि लायन सन्दीप गुप्ता कानु, लायन्स परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता, कुटुम्बकी अध्यक्ष लायन रचना प्याकुरेल, फ्रेन्डजोनका अध्यक्ष लायन सर्वन साह, एक्सिलेन्सका जोन चेयरपर्सन लायन मनोज उपाध्याय, मेट्रो सिटीका कोषाध्यक्ष लायन अंकित चौरसिया, कलेज निर्देशक अशोक सर्राफ, हेड अफ नेपाली शिक्षक सन्दीप राज साहलगायतको उपस्थिति थियो। विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

आगामी दिनमा प्रतियोगिताका अन्य चरणहरू क्रमशः विभिन्न कलेजमा सञ्चालन गर्दै अन्तिम फाइनल राउन्डमा १० कलेजका उत्कृष्ट वक्ताबीच प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको छ।

जेनजी आन्दोलनका दोषी एमाले नेता–कार्यकर्ता पार्टीबाट निष्कासन

0

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्ला कमिटीले गत भदौ २३ र २४ गते वीरगञ्जमा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी घटनामा संलग्न आफ्ना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। सोमबार वीरगञ्जमा सम्पन्न एमाले पर्सा जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठकले उक्त निर्णय गरेको जिल्ला सचिव महेश दासले जानकारी दिए।

जिल्ला अध्यक्ष डा. विश्वम्भर कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले आन्दोलनपछि विभिन्न माध्यमबाट राजीनामा दिएका तथा तोडफोड–आगजनीमा संलग्न रहेका व्यक्तिहरूको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको छ। बैठकले सुन्दर प्रसाद कुर्मीलाई जिल्ला प्रचार विभाग प्रमुखमा समेत मनोनयन गरेको छ।

यस्तै, मङ्सिर १३ गते महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट गर्ने तथा मङ्सिर २७ गते काठमाडौँमा हुने पार्टी महाधिवेशन उद्घाटन समारोहमा पर्साबाट व्यापक जनसहभागिता गराउने निर्णय पनि बैठकले गरेको छ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पार्टीभित्रका आपसी द्वन्द्व हटाएर एकताबद्ध रूपमा संगठन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जनताको बहुदलीय जनवाद (जबज) सफलतापूर्वक कार्यान्वयन हुँदै आएको भन्दै आगामी निर्वाचनमा पनि एमाले ओलीकै नेतृत्वमा अघि बढ्ने दाबी गरे।

महासेठले भने, “राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिहरू अध्यक्ष ओलीलाई कमजोर बनाउन प्रयासरत छन्, तर आगामी महाधिवेशनपछि पनि पार्टीको नेतृत्व उहाँमै रहनुपर्छ।”

बैठकमामा केन्द्रीय सदस्यद्वय प्रभु हजरा, निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार जालिम मियाँ, मुन्नी श्रीवास्तव, ठाकुर प्रसाद न्यौपाने, प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारु, प्रदेश सभा सदस्य विना शर्मा, पोखरिया नगरपालिकाका मेयर प्रधुम्न चौहान, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादव, छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो।

जगरनाथपुरमा १० किलो अवैध गाँजा बरामद

0

सेढवा । पर्साको जगरनाथपुर गाँउपालिका–१ बिसुनपुर्वा नजिकबाट सशस्त्र प्रहरीले आइतबार बिहान १० किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (BOP) पिडारिगुठीबाट नायब निरीक्षक दिलबहादुर गुरुङको नेतृत्वमा खटिएको गस्ती टोलीले सीमास्थित बगर क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि चेकजाँच गर्ने क्रममा तस्करहरूले फालेर भागेको गाँजा फेला पारेको हो।

गस्ती टोलीलाई देखेपछि तस्करहरू भारतीयतर्फ फरार भएकाले कसैलाई पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको १० किलो गाँजा आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विश्वराज योन्जनले जानकारी दिए ।

पटेर्वा सुगौली गाउँपालिकाकाे तीन तल्ले नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

0

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले नवनिर्मित आफ्नै प्रशासनिक भवनबाट सोमबारदेखि औपचारिक रूपमा सेवा सञ्चालन सुरु गरेको छ। विगत साढे ३ वर्षदेखि वडा नं. ४ दापासुगौलीस्थित गुदरीबाबा मन्दिरको सामुदायिक भवनबाट सञ्चालन हुँदै आएको गाउँपालिका कार्यालय अब आफ्नै आधुनिक सुविधा सम्पन्न भवनमा सारिएको हो।

सोमबार हिन्दु धार्मिक विधिअनुसार गाउँपालिका अध्यक्ष दिनेश चौधरीले भवनको पूजा–पाठ गरेपछि सबै दैनिक प्रशासनिक कामकाज नयाँ भवनबाटै सुरु गरिएको उपाध्यक्ष ममता महत्तो चौधरीले जानकारी दिइन्।

वडा नं. ४ दापासुगौलीमै ६ करोड ९ लाख खर्चमा निर्माण गरिएको तीन तल्ले भवनमा २० कोठा, दुई सभाकक्ष, एक न्यायिक इजलास, शौचालय तथा अन्य आवश्यक संरचना समेटिएको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए। २०८० फागुनमा शिलान्यास गरिएको भवन निर्माणमा संघ सरकारको शहरी विकास मन्त्रालयको ६० प्रतिशत (करिब ३ करोड ६० लाख) तथा गाउँपालिकाको ४० प्रतिशत लागत रहेको उनले जानकारी दिए।

उपाध्यक्ष चौधरीका अनुसार, सामुदायिक भवनबाट सेवा प्रवाह गर्दा आवत–जावत, कागजी प्रक्रिया तथा प्रशासनिक काममा धेरै समस्या हुने गरेको थियो। अब भने आफ्नै भवनमा सरेपछि सेवाग्राहीलाई सहज, छरितो र व्यवस्थित सेवा उपलब्ध हुने बताइन्।

भवनको पूजा–पाठ गरी सेवा सुरु गरिए पनि यसको औपचारिक उद्घाटन भने बाँकी रहेको गाउँपालिका अध्यक्ष चौधरीले बताए। सम्भवत यही मंसिर महिनाभित्रै भव्य समारोह गरी भवनको औपचारिक उद्‌घाटन गर्ने तयारी भइरहेको उनले उल्लेख गरे।

सोमबार आयोजित पूजा–पाठ कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडा नं. २ का वडा अध्यक्ष विजय गैरे, विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो।

मधेसका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

0

वीरगञ्ज । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच जना प्रदेशसभा सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश दिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशमार्फत सभामुख रामचन्द्र मण्डल र प्रदेशसभा सचिवालयलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन रोक्न निर्देशन दिएको हो।

कात्तिक २७ गते प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालका मनीषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार, शारदा शङ्कर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई लगातार १० बैठक अनुपस्थित भएको आरोप लगाउँदै पदमुक्त गरेको थियो। उक्त निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित गरिएको थियो।

पदमुक्त सांसदहरूले सभामुख मण्डलले राजनीतिक पूर्वाग्रहका आधारमा सचिवालयका मुख्यसचिव वासुप्रसाद कोइरालालाई दबाब दिई आफूहरूलाई पदमुक्त गराएको दाबी गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्। उनीहरूले तत्काल पदबहालीको मागसहित अन्तरिम आदेशको माग गरेका थिए।

सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउँदै ‘कारण देखाऊ आदेश’ जारी गरेको छ। अदालतले पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन भएमा अपूरणीय क्षति पुग्ने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गर्न आवश्यक देखिएको उल्लेख गरेको छ।

यसअघि कात्तिक २७ गते सात दलीय गठबन्धनले सभामुखमाथि ‘पदअनुकूल आचरण नगरेको’ भन्दै अविश्वास प्रस्ताव दर्ता गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। सोही दिन पाँच सांसदलाई पदमुक्त गरिएको सूचना सार्वजनिक गरिएको थियो।

पदमुक्त सांसदहरूले आफूहरू नियमित रूपमा बैठकमा उपस्थित भएकै भए पनि सचिवालयले गलत अभिलेखका आधारमा निर्णय गरेको आरोप लगाएका छन्। अब सर्वोच्च अदालतमा तोकिएको मिति र बहसपछि मात्र यो विवादको टुङ्गो लाग्नेछ।