Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
Home Blog Page 196

जनकपुरधाममा पत्रकारमाथि आक्रमण, पत्रकार महासंघको भर्त्सना

जनकपुरधाम । नेपाल पत्रकार महासंघले जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको कडा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।

महासंघका अनुसार, मधेश प्रदेश समिति कार्यालय भवन निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिका–१ श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न गरिएको प्रयासप्रति आपत्ति जनाउँदै पत्रकारहरू पुगेका बेला साउन २७ गते साँझ भएको घटनामा प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र झा, पत्रकार दिवाकर साह, विनिता यादव लगायतलाई लक्षित गर्दै आक्रमण गरिएको हो।

घटनामा मधेश प्रदेशका महासचिव कान्तिलाल खुट्टा भाँचिएको र पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको महासंघले जनाएको छ। महासंघले घाइते पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रेस स्वतन्त्रतामाथि भएको यस आक्रमणलाई लोकतान्त्रिक मूल्य–मान्यतामाथिको धक्का भनेको छ।

महासंघले विज्ञप्तिमा दोषीलाई तत्काल कारबाही गर्न, घाइते पत्रकारको उपचार सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने ग्यारेन्टी गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

कैदी मृत्यु प्रकरणमा ७ सदस्यीय छानबिन समिति गठन

वीरगंज । नारायणी अस्पतालमा वीरगन्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे छानबिन गर्न पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।

मंगलबार बिहान करिब १०ः३० बजे वीरगन्ज–२८ निवासी २८ वर्षीय कैदी राहुल साह तुराहाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि कैद भुक्तान गरिरहेका साहलाई बिहान कारागारभित्र शारीरिक व्यायाम गर्ने क्रममा हर्ट अट्याक आएपछि तुरुन्त अस्पताल लगिएको थियो। सुरुमा आइसियु वार्डमा शैया खाली नभएपछि अन्यत्र लैजान सुझाव दिइए पनि पछि अस्पतालकै आइसियुमा उपचार सुरु भएको तर त्यस क्रममा उनको मृत्यु भएको हो।

मृतकका आफन्तले उपचारमा लापरवाही भएको र अन्यत्रको अस्पतालमा लैजान नदिएको आरोप लगाउँदै अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका थिए।

विवादपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोहबरमा जिल्ला प्रशासन कार्यालयमा मृतक पक्ष, जनप्रतिनिधि, प्रहरी, मानवअधिकारकर्मी, चिकित्सक संघ र पत्रकार महासंघका प्रतिनिधिहरूको सहभागितामा छलफल भएको थियो। छलफलले सत्यतथ्य पत्ता लगाउन सात सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चर्तुवेदी, मृतक पक्षका प्रतिनिधि, एक मानवअधिकारकर्मी, नेपाल चिकित्सक संघ र नेपाल पत्रकार महासंघ पर्साका प्रतिनिधि रहेका छन्।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। सहमति पश्चात मृतकको शव नारायणी अस्पतालमै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता लम्सालले जानकारी दिए।

ढेँडु खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु

वीरगंज । पर्साको ठोरी गाउँपालिका–२ स्थित ढेँडु खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। मृतकहरू ठोरी गाउँपालिका–२ बस्ने मनोज कठायतका छोरा ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयांस कठायत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, घटना मंगलबार बिहान करिब १० बजे भएको हो । नुहाउने क्रममा अचानक खोलामा डुबेका दुवै बालकलाई स्थानीयवासीले पानीको सतहमा तैरिरहेको अवस्थामा देखेपछि उद्दार गरी तत्काल ठोरीस्थित स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो । तर, स्वास्थ्यकर्मीले दुवैलाई मृत घोषणा गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक मुन्ना साहको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। साथै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खडकाको नेतृत्वमा SOCO सहितको मुचुल्का टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

गाउँपालिका अध्यक्ष यादवको प्रयासले रंग्यायो मुसहर बस्ती, ८३ घरमा बत्ती बल्यो

वीरगंज । पर्साको जागरनाथपुर गाउँपालिका–४ सोहपुरस्थित मुसहर बस्तीमा पहिलोपटक विद्युत जडान भएपछि स्थानीयवासीको अनुहारमा खुशी झल्किएको छ। प्रविधिको युगमा अझै टुकीको उज्यालामा जीवन बिताउँदै आएका ८३ दलित परिवारका घरघरमा गाउँपालिका कार्यालयले निःशुल्क मीटर जडानसहित विद्युत पुर्‍याएको हो।

यो पहल गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको दीर्घ प्रयास र विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रको सहयोगमा सम्भव भएको हो। विद्युत विस्तारसँगै मुसहर बस्ती अँध्यारोबाट मुक्त भई उज्यालो र आशाको बस्तीमा परिणत भएको अध्यक्ष यादवले बताए।

“यो केवल उज्यालो मात्र होइन, अवसर र विकासको नयाँ ढोका हो,” अध्यक्ष यादवले कालिका टाईम्ससँग प्रतिक्रिया दिंदै भने। स्थानीयवासीले पनि विद्युतले आफ्नो दैनिकी सजिलो हुने र बालबालिकाको पढाइमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

स्वास्थ्य र शिक्षामा सरकारको प्राथमिकता छैन : सांसद डा. सिंह

वीरगञ्ज । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारको प्राथमिकतामा राखिएको छैन भन्दै कडा आलोचना गरेका छन्। वीरगञ्ज डाक्टर्स एसोसिएसन र अपन हेल्थद्वारा नगरसभा गृहमा आयोजित कार्यक्रममा बोल्दै सांसद सिंहले संवेदनशील क्षेत्रको उपेक्षा हुनु दुःखद भएको बताए।

“डाक्टरको मूल्य छैन, तर तस्करको मूल्य धेरै छ। यहाँका बिरामी वीरगञ्ज छोडेर काठमाडौं जानुपर्ने अवस्था आउनु राम्रो होइन। मन्दिर–मस्जिदमा होइन, शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्छ,” सिंहले भने।

उनका अनुसार दातृ निकायबाट लिइएको ऋण मन्त्रीको क्वार्टर, गाडी खरिद वा भ्युटावर बनाउन प्रयोग हुने गरेको छ, तर त्यो रकम शिक्षा र स्वास्थ्यमा लगानी हुनुपर्ने हो। वीरगञ्ज आर्थिक नगरी भएर पनि राष्ट्रिय नेता उत्पादन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले टिप्पणी गरे।

सिंहले शेरबहादुर देउवालाई सुदूरपश्चिमको मात्र नेता भएको आरोप लगाउँदै नेताहरूको प्राथमिकता भौगोलिक क्षेत्र र व्यक्तिगत स्वार्थमा सीमित रहेको बताए। उनले पोखरा विमानस्थल र नयाँ संसद भवन निर्माणलाई भ्रष्टाचारका लागि गरिएको प्रोजेक्टको उदाहरणका रूपमा प्रस्तुत गरे।

नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज गुप्ताले पनि सरकारले चिकित्सकका समस्यालाई गम्भीरतापूर्वक नलिएको उल्लेख गर्दै, ३५ वर्षदेखि अस्पतालको दरबन्दी नबढेको र एक जना चिकित्सकलाई ओपिडीमा १०० भन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था रहेको बताए।

वरिष्ठ चिकित्सक डा. श्याम सुन्दर दासले एमबीबीएस वा एमडी पढ्न डेढदेखि दुई करोड रुपैयाँसम्म खर्च हुने तर सेवा–सुविधा न्यून भएकाले लगानी नै नउठ्ने अवस्था रहेको बताए। कार्यक्रममा विभिन्न स्वास्थ्यकर्मी र चिकित्सकहरूले क्षेत्रका समस्या तथा जिज्ञासा राखेका थिए।

कार्यक्रमको सञ्चालन नारायणी अस्पतालका फिजिसियन डा. उदय नारायण सिंहले गरेका थिए।

“४ लाखको बिललाई १० लाख भन्दै झूटो प्रचार, एल.एस. न्युरो हस्पिटलको आपत्ति

वीरगंज । एल.एस. न्युरो हस्पिटलमा करिब १२ दिनअघि सडक दुर्घटनामा गम्भीर घाइते भएका दीपक मालि उपचारका लागि भर्ना गरिएका थिए । अस्पताल प्रशासनका अनुसार  दुर्घटनापछि अत्यन्तै गम्भीर अवस्थामा रहेका उनलाई दक्ष चिकित्सक टोलीले दिनरात १२ दिनसम्म निरन्तर उपचार गरे पनि, दुर्भाग्यवश उनको ज्यान बचाउन सम्भव भएन।

मृतकको परिवारलाई उपचार खर्चको हिसाब–किताब स्पष्ट पारिएको र मानवीय दृष्टिले अस्पतालले केही छुट समेत उपलब्ध गराएको अस्पताल प्रशासनले जनाएको छ। उपचार खर्च जम्मा रु. ४,०२,४८० भए पनि, केही व्यक्तिहरूले पैसा नतिर्ने बहानामा भीड जम्मा गरी अस्पताल परिसरमा हुलहुज्जत र झगडा गर्ने प्रयास गरेका थिए।

त्यसैबीच कतिपय व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यममार्फत “बिल १० लाख पुगेको” भनी आधारहीन दाबी गर्दै अस्पतालको प्रतिष्ठामा धक्का पुर्याउने असत्य प्रचार गरेका थिए। अस्पतालले यसलाई पूर्णरूपमा गलत भन्दै यस किसिमको भ्रम फैलाउनेहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

अस्पताल प्रशासनका अनुसार, एल.एस. न्युरो हस्पिटलको पहिलो प्राथमिकता बिरामीको जीवन र स्वास्थ्य हो र सेवामा इमानदारी र नैतिकता कायम राख्ने प्रतिबद्धता अटल छ। भ्रामक हल्ला र अस्पतालको गरिमा हानी पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने अस्पतालको स्पष्ट भनाइ छ।

वीरगंज–१४ बौद्धीमाई टोलमा महिनौँदेखि खानेपानी संकट

वीरगंज । वीरगंज महानगरका अधिकांश क्षेत्रमा डिप बोरिङ जडान गरेर खानेपानीको समस्या समाधान भए पनि वीरगंज–१४ पिपरा क्षेत्रअन्तर्गत पर्ने बौद्धीमाई टोलमा भने महिनौँ बित्दा पनि समस्या यथावत रहेकाे छ । धार्मिक स्थल बौद्धीमाई मन्दिर र नयाँ वसती रहेको यो क्षेत्रमा पानीको अभावले दर्जनौँ घरपरिवार निरन्तर त्रस्त बनेका छन् ।

स्थानियका अनुसार खाना पकाउने, नुहाउनेदेखि दैनिक कर्मकाण्डसम्म गर्न समस्या हुने गरी यहाँको पानीको कमी चर्को छ । सयौँको संख्यामा मानिसहरू दिनहुँ दिउँसो मन्दिर परिसरमा बस्ने गर्छन्, तर तिर्खा मेटाउनका लागि मिनरल वाटर पसलबाट किन्ने वा ५०० मिटर टाढा गएर बोतलमा पानी ल्याउनु पर्ने बाध्यता छ ।

मन्दिरका पुजारी र टोलबासीले खानेपानी मन्त्रीको राधेमाईस्थित निवासमा समस्या राखेका थिए । वार्ड समितिमा पनि जानकारी गराइएको छ । तर अहिलेसम्म यहाँ डिप बोरिङ जडान गरेर समस्या समाधान गर्ने काम भएको छैन ।

वार्ड कार्यालयको पहलमा वीरगंज महानगरपालिकाबाट कहिले दिउँसो २ बजे त कहिले बिहान ८ बजे पानी ट्यांकर ल्याएर वा ट्यांकीमार्फत घर–घरमा पानी आपूर्ति गर्ने गरिएको छ । तर यो व्यवस्था अनियमित र अस्थायी भएको कारण स्थानीयमा असन्तुष्टि बढेको स्थानिय नेता अनिल पटेलले जानकारी दिए ।

पानीको कमीका कारण मन्दिरमा पूजा–पाठ गर्न आउने भक्तजन समेत असुविधामा परेको बौद्धीमाई टोलका बासिन्दाहरूले बताएका छन् । स्थानीयले चाँडै स्थायी समाधान गर्न महानगर र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

पर्सामा चार वर्षमा ६७ जना हुन्डी कारोबारमा पक्राउ

वीरगंज । पर्सा प्रहरीले गत असार १७ गते एकैदिन वीरगंजका विभिन्न स्थानबाट स्रोत नखुलेको ठूलो रकमसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगन्ज–३ आदर्शटोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपकप्रसाद सोनार रहेका छन् ।

प्रहरीका अनुसार मकालु चोकमा वर्णवालको कालो ब्यागभित्र ९ लाख ४७ हजार रुपैयाँ फेला परेको थियो । कृषि विकास बैंक लिंकरोडमा श्रीवास्तवको कालो ब्यागभित्र १५ लाख ८१ हजार रुपैयाँ बरामद भयो । यस्तै, वीरगन्ज–१६ रजतजयन्ती चोकमा ना.१६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार सोनारबाट ३ लाख रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

डीएसपी लम्सालका अनुसार पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम ‘हुन्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरी तथ्यांकअनुसार पर्सामा पछिल्लो चार आर्थिक वर्षमा अवैध तथा वित्तीय (हुन्डी) कारोबारमा ६७ जना पक्राउ परेका छन्। तीमध्ये ४६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरूको साथबाट चार करोड ८६ लाख ७८ हजार ६ सय २० रुपैयाँ बरामद भएको छ।

डीएसपी लम्सालका अनुसार हुन्डी कारोबार विदेशी मुद्राको अवैध लेनदेन र कर छलीमा संलग्न हुने भएकाले यसले मुलुकको आर्थिक प्रणालीमा नकारात्मक असर पारिरहेको छ, जसलाई नियन्त्रणका लागि प्रहरीको निगरानी बढाइएको छ।

वीरगंजमा डिप बोरिङ अनियमितता रोक्न एमालेको माग, तालाबन्दीको चेतावनी

वीरगंज । नेकपा (एमाले)ले वीरगंजसहित पर्सा जिल्लामा डिप बोरिङ जडानमा अनियमितता भइरहेकाे भन्दै त्यसलाई रोक्न माग गरेको छ । एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवको नेतृत्वमा एमालेबाट वीरगंज महानगरका विभिन्न वडामा निर्वाचित वडाध्यक्षहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग आइतबार भेट गरी यस्ताे गुनासो राखेका हुन् ।

टोलिले विपद्‌को बेला स्थानीय जनप्रतिनिधिहरूको समन्वयबिना खानेपानी तथा सरसफाई डिभिजन कार्यालय वीरगंजबाट बोरिङ जडान भइरहेको भन्दै यसलाई तत्काल रोक्न माग गरेको हाे । साथै, डिभिजन कार्यालय प्रमुखले हालसम्म भएका बोरिङ जडानका तथ्यांक र अनुमानित लागत विवरण (इस्टिमेट) उपलब्ध नगराएकाे प्रमुख जिल्ला अधिकारीसंग गुनासाे गर्दै दुई दिनभित्र उपलब्ध नगराए लिखित रूपमा सूचना माग्ने र तैपनि उपलब्ध नगराए कार्यालयमा तालाबन्दी गर्ने टाेलीले चेतावनी पनि दिएको छ ।

उपाध्यक्ष यादवले भने, “संघ सरकारबाट भइरहेको बोरिङ जडान हचुवाको तालमा भइरहेको छ। जहाँ आवश्यकता छ, त्यहाँ भएको छैन, बरु मन्त्रीका कार्यकर्ताको घर अगाडि मात्र भइरहेको छ । स्थानीय जनप्रतिनिधिसँग कुनै समन्वय भएको छैन, जसका कारण समस्या अझै बढेको छ।”

प्रमुख जिल्ला अधिकारी अर्याल कहाँ डिलेगेसन गएकाे टोलीमा एमालेबाट निर्वाचित वीरगंजका वडाध्यक्षहरू प्रदीप चौरसिया, सुरेश साह कानु, विजय प्रसाद कुर्मी, संजु छतकुली, रामकिशोर सिंह (पराग), जितेन्द्र यादव, हिरा गिरि, अवधकिशोर कुशवाहा लगायतको सहभागिता थियो ।

प्रसौनी गाउँपालिकामा आजपाकाे संगठन विस्तार, नयाँ पदाधिकारी घोषणा

बारा । आम जनता पार्टी (आजपा)ले बारा जिल्लाकाे प्रसौनी गाउँपालिकामा आफ्नो संगठन विस्तार गर्दै नयाँ पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी तोकेको छ । पार्टीको निर्णयअनुसार विभिन्न पदमा नियुक्त भएका सम्पूर्ण जिम्मेवारहरूलाई पार्टीले हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्राप्त विवरणअनुसार मनोज कुशवाहा अध्यक्षमा चयन भएका छन् । त्यस्तै, हरिनारायण प्रसाद कुशवाहा, दिपेन्द्र साह, हृदय चौधरी र उमेश कुशवाहा उपाध्यक्षमा नियुक्त भएका छन् । सचिवमा रोशन कुशवाहा, सह–सचिवमा मुकेश कुशवाहा, सुशील कुशवाहा र साहिन मिया रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी बन्दना गुप्ता कानुलाई दिइएको छ।

यसैगरी, समितिमा सदस्यका रूपमा नित्यानन्द प्रसाद कुशवाहा, विवेक कुशवाहा, मोहनर्सी चौधरी, अरुणर्सी चौधरी, नागोरार चौधरी, राम अजोखा कुशवाहा, रामु साह, दिपक साह, विपिन साह, देब कुमार कुशवाहा, सत्तन साहनी र विवेक कुशवाहा रहेका छन् ।

पार्टीले नयाँ नेतृत्वलाई जनतासँग निकट रहि संगठन सुदृढ पार्न र पार्टीको नीति–कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आह्वान गरेको पार्टीका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले वताए ।