Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 20

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

0

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT) ले स्वागत तथा शुभकामना व्यक्त गरेको छ ।

सामाजिक तथा मानवीय सेवामा सक्रिय सर्राफलाई केन्द्रीय कार्यसमितिमा जिम्मेवारी दिइएको अवसरमा आयोजित कार्यक्रममा RCAT ले उनको सफल कार्यकालको शुभकामना दिएको हो ।

व्यवसायसँगै सामाजिक सेवामा सक्रिय सर्राफले विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा योगदान पुर्‍याउँदै आएका छन् । उनको व्यावसायिक यात्रा भने वीरगंजको सडक पेटीमा कपडा व्यापारबाट सुरु भएको थियो । निरन्तरको मेहनत र लगनशीलताबाट व्यवसाय विस्तार गर्दै उनले अहिले स्थापित व्यवसायीका रूपमा पहिचान बनाएका छन् ।

सडक पेटीबाट सुरु भएको उनको व्यावसायिक यात्रा रेडक्रसको केन्द्रीय कार्यसमितिको सदस्यको जिम्मेवारीसम्म पुग्नु उल्लेखनीय रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए ।

वीरगंजस्थित होटल गेट्वेमा आयोजित कार्यक्रम RCAT संयोजक राहुल पटेलको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, जिल्ला सदस्य शिवनाथ यादवसहित अमन पटेल, राजु साह, रुचि कुमारी, कुबेर कार्की, अरविन्द पटेल, आर्या ओली, लक्ष्मीनारायण राउत, मिना क्षेत्री, सन्तोष पटेल र राजन श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो ।

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

0

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाएको हो।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उत्तर अण्डमान सागर तथा आसपास बनेको न्यून चापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भागमा पुगेको छ। उक्त प्रणाली थप शक्तिशाली हुँदै गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुने क्रममा पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको महाशाखाले जनाएको छ।

यसको प्रभावका कारण बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

भारी वर्षाका कारण नदी, खोला तथा नालामा पानीको बहाव बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने जनाइएको छ।

यस्तै, हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

0

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत हुनुहुन्छ । प्रधानमन्त्री शाह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४:१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहने छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कनुुहुने कार्यक्रम छ । प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो ।

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

0

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका छन्। प्रहरी स्रोतका अनुसार लामाको सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालका अनुसार लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक लामाले आफैँ बसमा आगो लगाएको आशंका गरिएको छ।

घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग जरिवानाको विषयमा विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

0
673357900

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङ्कङसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।

हङकङले नेपालमाथि पहिलो सेटमा २५–२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५–१९ ले आफनो पक्षमा पा¥यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि २८–२६ को जित निकाल्यो । अब नेपालले ११औँ स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल भोलि हुनेछ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

0

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायत विषयमा विचारविमर्श भएको हो ।

उपराष्ट्रपति यादवले भोटेकोशी बाढीमा नेपाली, चिनियाँ तथा अन्य विदेशी नागरिकको मृत्यु, सम्पत्ति र पूर्वाधारमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

उहाँले बाढीमा घाइते नेपालीसहित चिनियाँ नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालस्थित चीनका राजदूत माओमिङमार्फत उपराष्ट्रपति हान झेङलाई सहानुभूति प्रकट गर्नुभयो । भेटमा उपराष्ट्रपति यादवले चीनको ७७औँ स्थापना दिवसको अवसरमा उपराष्ट्रपति झेङलाई बधाई दिँदै उहाँको सुख, सुस्वास्थ्य तथा चिनियाँ जनताको शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “भोटेकोशी बाढीले जीवन, सम्पत्ति मात्र नभई हजारौँ परिवारको सपना, संस्कृति तथा प्राकृतिक सम्पदालाई प्रभावित बनाएको छ । पूर्वाधार पुनःनिर्माण सम्भव भए पनि प्रभावितको विश्वास पुनःस्थापित गर्न दशकौँ लाग्न सक्छ ।” उहाँले यस विपत्तिले जलवायु परिवर्तनमा नगन्य योगदान हुँदाहुँदै पनि नेपाल अत्यन्त प्रभावित मुलुक भएको तथ्यलाई पुनः पुष्टि गरेको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, परम्परागत मित्रता तथा आपसी सम्मानमा आधारित रहेको स्मरण गर्दै नेपाल ‘एक चीन सिद्धान्त’प्रति प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । उहाँले आकस्मिक विपत्तिपछि चीनबाट पाँच चरणमा प्राप्त मानवीय राहत सहयोग, नौ सदस्यीय सुरुङ उद्धार टोली तथा मृतकको पहिचानका लागि सहयोग पु¥याइरहेका १५ जना फरेन्सिक विशेषज्ञप्रति आभार व्यक्त गर्नुभयो ।

चीन सरकारद्वारा उपलब्ध गराइएको २० लाख अमेरिकी डलर बराबरको सहयोग तथा चिनियाँ रेडक्रस सोसाइटीमार्फत प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको थप दुई लाख अमेरिकी डलर सहयोगका लागि उपराष्ट्रपति यादवले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हिमनदी, जलविज्ञान तथा मौसमसम्बन्धी वास्तविक समयको तथ्याङ्क उपलब्ध गराएकामा चीन सरकारप्रति आभार व्यक्त गर्दै यस किसिमको आदान–प्रदान भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

चीनका राजदूत माओमिङले बाढीपहिरोले गरेको क्षतिप्रति दुःख प्रकट गर्दै प्राकृतिक विपत्ति नेपाल र चीनको साझा विषय भएको बताउनुभयो । “नेपाललाई यस सङ्कटको घडीमा चीनले आर्थिक, स्वास्थ्य र मानवीय सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार पुनःनिर्माणमा चीनको सहयोग र समर्थन रहनेछ । नेपालबाट सूची प्राप्त भएबमोजिम सहयोग गर्न चीन तयार छ ।”

राजदूत माओमिङले बाढीपहिरोबाट प्रभावित क्षेत्रका विद्यार्थीका लागि रु एक करोड ३० लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा चीन सरकारले गरिसकेको पनि जानकारी दिनुभयो ।

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

0
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा मन्त्री सस्मित पोखरेलले स्थलगत निरीक्षण गरेपछि विद्यालयको पुरानो शैक्षिक पहिचान पुनःस्थापित हुने आशा स्थानीय, अभिभावक तथा विद्यालय परिवारमा जागेको हो।

विसं २००४ सालमा स्थापना भएको यस विद्यालय कुनै समय सिरहा जिल्लाकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा परिचित थियो। तीन दशकअघिसम्म यहाँ तीन हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने गरेकोमा अहिले विद्यार्थी संख्या घटेर ८०२ मा सीमित भएको विद्यालयले जनाएको छ।

लहान नगरपालिका–१४ का वडाध्यक्ष धनिकलाल यादवका अनुसार पछिल्लो समय निजी विद्यालयप्रतिको आकर्षण र अंग्रेजी माध्यममा पढाउने प्रवृत्ति बढेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको हो। विद्यालयले पनि विद्यार्थी आकर्षित गर्न अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ।

सिरहा–१ का सांसद बब्लु गुप्ताको पहलमा गत भदौ २७ गते शिक्षा मन्त्री पोखरेलले विद्यालयको निरीक्षण गर्नुभएको थियो। निरीक्षणका क्रममा मन्त्री पोखरेलले विद्यालयलाई जस्तापातामुक्त बनाउँदै आधुनिक प्रविधिसहितको शैक्षिक वातावरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको विद्यालय पक्षले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण यादवका अनुसार मन्त्रीको निरीक्षण र सुधारका लागि व्यक्त प्रतिबद्धताले विद्यालयको अवस्थामा परिवर्तन आउने अपेक्षा बढाएको छ।

“विद्यालयको पुरानो गौरव फर्काउन भौतिक पूर्वाधारसँगै शिक्षाको गुणस्तर सुधार आवश्यक छ,” यादवले भन्नुभयो, “मन्त्रीको निरीक्षणपछि विद्यालय विकासका लागि नयाँ आशा पलाएको छ।”

करिब आठ दशक पुरानो विद्यालय भवन जीर्ण बन्दै गएकाले नयाँ तथा सुविधासम्पन्न भवन निर्माण गर्नुपर्ने आवश्यकता रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। लहान नगरपालिकाले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि अंग्रेजी माध्यममा कक्षा सञ्चालनमा सहयोग गरे पनि भौतिक संरचनाको सुधार अझै चुनौतीका रूपमा रहेको अध्यक्ष यादवको भनाइ छ।

विद्यालयको इतिहास स्थानीय समुदायसँग पनि जोडिएको छ। नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिका पिता मित्रलाल गिरी तथा पण्डित विश्वरञ्जन बारालले विद्यालय स्थापनामा भूमिका निर्वाह गरेको स्थानीयको भनाइ छ। विगतमा पहाडे समुदायको सक्रिय सहभागिता र संरक्षणका कारण विद्यालयले शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाएको बताइन्छ।

तर समयक्रममा बस्तीपुरबाट पहाडे समुदायका धेरै परिवार अन्यत्र बसाइँ सर्नु तथा निजी विद्यालयप्रतिको आकर्षण बढ्नुले विद्यालयको विद्यार्थी संख्या घट्दै गएको स्थानीय जोगी यादवले बताउनुभयो।

उहाँका अनुसार विद्यालयको पुरानो शैक्षिक वातावरण कायम गर्न समुदाय, स्थानीय सरकार र विद्यालय प्रशासनबीच थप सहकार्य आवश्यक छ।

स्थानीय मानव अधिकारकर्मी राजकुमार राउतले शिक्षा मन्त्रीको स्थलगत अनुगमन र सांसदको पहलले विद्यालय सुधारको वातावरण तयार भएको बताउनुभयो। उहाँले विद्यालयको भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

विद्यालयका प्रधानाध्यापक शोभानन्द चौधरीले पनि मन्त्रीको प्रतिबद्धताले विद्यालय परिवारमा उत्साह थपिएको बताउनुभयो। उहाँका अनुसार विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, आधुनिक प्रविधिको प्रयोग र भौतिक संरचना सुधार गर्न सके विद्यार्थी तथा अभिभावकको विश्वास पुनः बढाउन सकिनेछ।

विद्यालयको पुरानो साख फर्काउन अब प्रतिबद्धता कार्यान्वयनलाई मुख्य विषय मानिएको छ। भवन निर्माण, प्रविधिमैत्री कक्षा, गुणस्तरीय शिक्षण, अंग्रेजी माध्यमको प्रभावकारी सञ्चालन तथा विद्यार्थीमैत्री वातावरण निर्माण गर्न सके बस्तीपुर माविले आफ्नो पुरानो पहिचान पुनः कायम गर्न सक्ने अपेक्षा गरिएको छ।

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

0

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको पाइएको छ । नजिकैको जङ्गलबाट आएका स्यालका हूलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते तुल्याउने क्रम बढेको छ ।

स्यालको टोकाइबाट बितेको २० दिन यता नगरपालिका विभिन्न क्षेत्रमा १० जना घाइते  भएको वडा नं ६ का वडाध्यक्ष सन्तलाल घिसिङले जानकारी दिनुभयो ।

गएको शुक्रबार साँझ मात्रै सोही वडामा एक बालिकासहित चार जनालाई स्यालले आक्रमण गरेको हो । स्यालको आक्रमणबाट  हालसम्म तीन दर्जनभन्दा बढी पशुचौपाया घाइते भएका छन् ।

स्यालको आक्रमणबाट पछिल्लो समय स्थानीय ३० वर्षीया शर्मिला मैनाली, ३५ वर्षीया सावित्रा कुमारी मैनाली, ५७ वर्षीया देवमाया शिवाकोटी र दुई वर्षीया बालिका गोपिकाकुमारी महतो घाइते हुनुभएको छ । उहाँहरूलाई साँझ घर वरपर काम गरिरहेको अवस्थामा स्यालले आक्रमण गरेको थियो । उहाँहरूको हात, खुट्टासहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।  स्यालको आक्रमणबाट त्यस नगरपालिका–१, ६ र ८ बढी प्रभावित रहेको पाइएको छ ।

वनक्षेत्र नजिकै भएकाले मानव बस्तीमा पसी दिउँसो नै स्यालले मानिस र पशु चौपायालाई आक्रमण गर्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कन समेत डर मान्न पर्ने स्थिति बनेको स्थानीय रमेश लामा बताउनुहुन्छ ।

स्यालको आक्रमणका घटना बढेपछि स्याल नियन्त्रणका लागि  डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको नगरप्रमुख रमेश बुडाथोकी बताउनुभयो । “केही दिनयता स्यालले नगर क्षेत्रका केही गाउँमा आतङ्क मच्चाएको छ,” उहाँले भन्नुभयो, “हामीले वन कार्यालय र  पुलिस प्रशासनलाई समेत खबर गरी स्याल नियन्त्रण गर्न आग्रह गरेका छौँ ।”

स्यालको आक्रमणबाट घाइते मानिस र पशु चौपायालाई रेबिज  सङ्क्रमण नहोस् भनी पालिकाले प्रदेश सरकारसँग समन्वय गरी आवश्यक खोप लगाउने काम गरिरहेको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार, पछिल्ला दिनमा स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोली गाउँ–गाउँमै पुगेर घाइतेको उपचार गरिरहेको छ ।

स्काईलाइन मलमा ८ महिलासहित ६६ जनाले गरे रक्तदान

0

वीरगंज । तेरापन्थ युवक परिषद् वीरगंजले आयोजना गरेको सप्ताहव्यापी वृहत् रक्तदान अभियानअन्तर्गत आदर्शनगरस्थित स्काईलाइन मल वीरगंजमा आयोजित रक्तदान कार्यक्रममा ८ महिलासहित ६६ जनाले रक्तदान गरेका छन् ।

राउन्ड टेबल वीरगंज–३ को सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका युवायुवती तथा सामाजिक अभियन्ताहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेमा अदिती अग्रवाल, सन्ध्या चौधरी, कविता केडिया, श्रेया चाचान, खुशी शर्मा, दिपाञ्जली बरनवाल, मृदुला चाचान, सीता शर्मा, मेराज आलम, अनमोल साह, बिपिन ठाकुर, मोहम्मद बेलाल, कृष्ण पासवान, जोशन श्रेष्ठ र रोबिन बिकलगायत रहेका छन् ।

कार्यक्रम तेरापन्थ युवक परिषद् वीरगंजका अध्यक्ष सुनिल दुगड र राउन्ड टेबल वीरगंज–३ का अध्यक्ष अनुज क्यालको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा परिषद्का रक्तदान संयोजक सौरभ भुटोरिया, रक्तदान अन–कलका आशीष चोरडिया, पंकज बैद, अनिल बैद, राउन्ड टेबलका सचिव अमन मित्तल, दिपक बैद, पीयूष चाचान, अनमोल छपरियालगायतकाे सहभागिता रहेको थियो ।

कार्यक्रममा सामाजिक अभियन्ता लालबाबु सिंहले वीरगंज आसपासका क्षेत्रमा रगतको अभाव भइरहेको जानकारी पाएपछि तेरापन्थ युवक परिषद्ले गत वर्षझैँ यस वर्ष पनि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सप्ताहव्यापी वृहत् रक्तदान अभियान सञ्चालन गर्नु सराहनीय कार्य भएको बताए ।

तेरापन्थ युवक परिषद् वीरगंजले शुक्रबार ब्योधा हस्पिटल वीरगंजमा रक्तदान कार्यक्रम आयोजना गर्दै सप्ताहव्यापी वृहत् रक्तदान अभियानको शुभारम्भ गरेको थियो । अभियानअन्तर्गत स्काईलाइन मलमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो भने मंगलबार किरण आँखा अस्पताल वीरगंजको सहयोगमा अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिने परिषद्ले जनाएको छ ।

अभियानअन्तर्गत आगामी दिनमा विभिन्न कलकारखाना, अस्पताल, क्लिनिक, संघसंस्था तथा विद्यालयलगायतका स्थानमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गरी बढीभन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको परिषद्का अध्यक्ष सुनिल दुगडले बताए । यस अभियानले रक्तसञ्चार केन्द्र वीरगन्जमा हुने रगतको अभाव केही हदसम्म पूर्ति गर्न सहयोग पुग्ने उनले बताए ।

रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक श्रीराम ठाकुरको नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको स्वयंसेवक टोलीले रक्तदाताहरूलाई रक्तदान गर्न सहजीकरण गरेको थियो ।

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढाउने बताउनुभएको छ । ललितपुरको भनिमण्डलमा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै उहाँले लोकतन्त्रका संस्थागत रक्षा गर्नु एमालेको पनि प्रमुख जिम्मेवारी भएकाले नयाँ योजनासहित राष्ट्र, जनताका पक्षमा निरन्तर लाग्ने बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टीको पुनःनिर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अहिले बसिरहेका बैठक केवल निर्वाचन परिणामको समीक्षा गर्ने थलो नभई पार्टीको अवस्था, कमजोरी र भावी दिशाबारे गम्भीर आत्मसमीक्षा गर्ने अवसर भएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले निर्वाचनबाट प्राप्त नतिजाबाट शिक्षा लिँदै पार्टीभित्रका कमजोरी पहिचान गर्न, जनतासँगको सम्बन्ध अझ बलियो बनाउन तथा सङ्गठनलाई सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो उहाँले भन्नुभयो, “गत फागुनमा सम्पन्न भएको निर्वाचनमा एमाले कमजोर भएको छ, तर यसको जरा सुकेको छैन ।”

अध्यक्ष ओलीले राजनीतिक स्थिरता नरुचाउने शक्ति अझै सक्रिय रहेका आरोप लगाउँदै सरकार र नेतृत्वविरुद्ध अफवाह, गलत सूचना, घृणा र अविश्वास फैलाउने प्रयास भइरहेकाले यसतर्फ सबै सचेत भई स्थायीत्व कायम गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा विभिन्न नौ कार्यसूचिमाथि छलफल हुने छ । बैठक यही असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।