वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको संख्या पूरा भएपछि पुर्जा लिन लाममा बसेका बिरामी उपचार नै नगरी फर्किनुपर्ने अवस्था देखिएको छ।
बाराको कलैया उपमहानगरपालिका–२१ का शिवपुजन चौरसिया सोमबार बिहान दिदीको उपचारका लागि नारायणी अस्पताल पुगे। बिहान साढे ९ बजे अस्पताल पुगेकी उनकी दिदी करिब ११ बजेसम्म स्वास्थ्य बीमाको ओपीडी पुर्जा लिन लाइनमा बसिन्। तर काउन्टरमा पुग्नुअघि नै निर्धारित कोटा पूरा भएको भन्दै टिकट बन्द भएपछि उनी उपचार नगराई घर फर्किनुपर्यो।
शिवपुजनका अनुसार स्वास्थ्य बीमाअन्तर्गत जनरल मेडिकल ओपीडीका लागि दैनिक ३२५ जनाको मात्र पुर्जा काट्ने व्यवस्था छ। संख्या पूरा भएपछि लाइनमा बसेका बिरामीले समेत उपचार सेवा पाउन सक्दैनन्।
बाराको सुवर्ण गाउँपालिका–४ का सत्रुधन यादवले पनि यस्तै समस्या भोगे उनी बिहान सवा ९ बजे आमालाई लिएर अस्पताल पुगेका थिए। करिब ११ बजेसम्म लाइनमा बसेपछि काउन्टर बन्द हुँदा आमाको उपचार हुन नसकेको उनले बताए।
अस्पतालमा ज्येष्ठ नागरिक, अशक्त तथा टाढाबाट आएका बिरामीका लागि छुट्टै सहज व्यवस्था नहुँदा समस्या थपिएको बिरामीको गुनासो छ। एउटै लाममा ठूलो संख्यामा बिरामी बस्नुपर्ने र कोटा सकिएपछि उपचारबाटै वञ्चित हुनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
स्वास्थ्य बीमाबाट पाइने औषधिसमेत पर्याप्त नभएको बिरामीको गुनासो छ। केही महँगा औषधि अस्पतालबाहिरबाट खरिद गर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले भने जनशक्ति र भौतिक पूर्वाधारको अभावका कारण ओपीडीमा कोटा निर्धारण गर्नुपरेको बताए। उनका अनुसार स्वास्थ्य बीमाअन्तर्गत जनरल मेडिकलतर्फ दैनिक ३२५, हृदय रोगतर्फ ५० र डायलाइसिसतर्फ ४० जनाको पुर्जा काट्ने गरिएको छ।
‘पर्याप्त चिकित्सक भएको भए कोटा तोक्नुपर्ने अवस्था आउँदैनथ्यो,’ साहले भने, ‘तर सीमित जनशक्तिका कारण अहिलेको व्यवस्थापन गर्नुपरेको हो।’
अस्पतालमा ओपीडीसहित दैनिक करिब १ हजार ४ सय नयाँ बिरामी आउने गरेका छन्। तर स्वीकृत दरबन्दीअनुसार पर्याप्त जनशक्ति नहुँदा सेवा व्यवस्थापनमा कठिनाइ भइरहेको अस्पताल प्रशासनको भनाइ छ।
अस्पतालका सूचना अधिकारी डा. उदय सिंहका अनुसार हाल अस्पतालमा ३२८ शय्या सञ्चालनमा छन्। तर जनशक्ति संरचना पुरानै दरबन्दीअनुसार रहेको छ। पछिल्लो समय आईसीयू, डायलाइसिस, एनआईसीयू, पीआईसीयूलगायत सेवा थपिए पनि त्यसअनुसार जनशक्ति थप हुन सकेको छैन।
पूर्वाधारको अवस्थासमेत कमजोर रहेको अस्पताल प्रशासनले जनाएको छ। कतिपय सेवा तथा काउन्टर टहराबाट सञ्चालन गर्नुपर्ने अवस्था छ। मेडिकल ओपीडीमा ४५ शय्या रहे पनि दैनिक ६० देखि ७० जना नयाँ बिरामी थपिने गरेका छन्। त्यसका कारण भर्नाका लागि बिरामीले तीन दिनसम्म कुर्नुपर्ने अवस्था रहेको सिंहले बताए।
अस्पताल प्रशासनले जनशक्ति तथा भौतिक पूर्वाधार थपका लागि स्वास्थ्य मन्त्रालयमा पटकपटक पत्राचार गरे पनि अपेक्षित प्रगति हुन नसकेको जनाएको छ। अस्पतालमा बढ्दो बिरामीको चापअनुसार जनशक्ति, शय्या र पूर्वाधार विस्तार नगरेसम्म स्वास्थ्य बीमामार्फत उपचार लिन आउने बिरामीको समस्या समाधान हुन कठिन देखिएको छ।








