Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

राष्ट्र बैंकको चेतावनी : वीरगंजमा डिजिटल ठगी बढ्दो, सतर्कता अपनाउन जरुरी

spot_img
spot_img

वीरगंज । नेपाल राष्ट्र बैंकले वीरगंज क्षेत्रमा डिजिटल ठगी तथा साइबर स्क्यामका घटनाहरू तीव्र रूपमा बढ्दै गएको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंक वीरगंज शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत पछिल्लो समय विभिन्न माध्यम प्रयोग गरी हुने ठगीका घटनामा उल्लेख्य वृद्धि भएको जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा शाखा व्यवस्थापक सुशील पौडेलले सम्बन्ध (रिलेसनसिप), लगानी, रोजगारी, अनपेक्षित रकम, किनबेच तथा नक्कली पहिचान (इम्पर्सोनेसन) जस्ता बहानामा हुने डिजिटल स्क्याम तीव्र रूपमा बढिरहेको बताए । उनका अनुसार यस्ता स्क्याम प्रायः एसएमएस, फोन कल, इमेल, सामाजिक सञ्जाल, वेबसाइट तथा प्रत्यक्ष सम्पर्कमार्फत हुने गरेका छन्।

राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकअनुसार सजिलो पैसा कमाउने प्रलोभन देखाउने, अस्वाभाविक भाषा प्रयोग गर्ने, शंकास्पद लिंक वा फाइल पठाउने, छिटो निर्णय गर्न दबाब दिने, अनधिकृत वा असामान्य भुक्तानी माग्ने तथा नयाँ Pay ID माग गर्ने व्यवहारहरू डिजिटल ठगीका प्रमुख ‘रेड फ्ल्याग’ हुन् । यस्ता संकेतलाई बेवास्ता गर्दा व्यक्तिगत सूचना चुहावट, आर्थिक क्षति र मानसिक तनावसम्म भोग्नुपर्ने अवस्था आउन सक्ने बैंकले चेतावनी दिएको छ।

शाखा व्यवस्थापक पौडेलका अनुसार हाल डिजिटल स्क्यामका कारण डाटा चोरी, डिजिटल अरेस्ट, रिमोट एक्सेसमार्फत मोबाइल वा कम्प्युटर नियन्त्रणमा लिने तथा बैंक खाताबाट रकम निकाल्ने घटनाहरू समेत बढ्दै गएका छन् । यस सन्दर्भमा उनले प्रयोगकर्तालाई आफ्नो युजरनेम, पासवर्ड, पिन तथा ओटीपी कसैसँग पनि साझा नगर्न आग्रह गरे।

नेपाल राष्ट्र बैंकले सुरक्षित इमेल, एसएमएस, उपकरण, नेटवर्क तथा एप्लिकेसन प्रयोग गर्न, बलियो पासवर्ड र मल्टि–फ्याक्टर प्रमाणीकरण अपनाउन तथा एपहरूले माग्ने अनुमति (Permissions) सम्बन्धी जोखिमबारे सचेत रहन सुझाव दिएको छ।

डिजिटल ठगीबाट जोगिन राष्ट्र बैंकले ‘Stop–Check–Protect’ सूत्र अपनाउन आग्रह गरेको छ । जसअनुसार शंका लागेमा कुनै पनि रकम वा व्यक्तिगत जानकारी नदिनु, प्राप्त सन्देश वा फोन नक्कली हुनसक्ने सम्भावना जाँच गर्नु र ठगी भइसकेको अवस्थामा तुरुन्त सम्बन्धित बैंक, प्रहरी तथा नियामक निकायमा जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ।

वित्तीय अनुशासन र डिजिटल सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने पनि राष्ट्र बैंकले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...