Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 170

पर्सा–१ मा फागुन २१ को चुनावी भिडन्त तीव्र, प्रमुख दलबीच कडा प्रतिस्पर्धा

0

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा प्रमुख राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। यस क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, उज्यालो नेपाल पार्टी, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारहरू मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा उत्रिएका छन्।

नेकपा एमालेले यस क्षेत्रबाट पूर्व मन्त्री एवं निर्वतमान प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई पुनः उम्मेदवार बनाएको छ। उनी मनोनयन दर्ताको एक दिनअघि मात्र जनता समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेपछि उम्मेदवार बनेका हुन्। अघिल्लो निर्वाचनमा पनि उनी एमाले–जसपा गठबन्धनको तर्फबाट विजयी भएका थिए।

नेपाली कांग्रेसले संविधान सभा सदस्य एवं उद्योगपति अनिल रुंगटालाई उम्मेदवार बनाएको छ । रुंगटा यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि कांग्रेसकै तर्फबाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी हालका एमालेका उम्मेदवार प्रदिप यादवसँग पराजित भएका थिए ।

यसैगरी, प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले सिए अजय चौरसियालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सभापति एवं होटल व्यवसायी हरि पन्तलाई उम्मेदवार बनाएको छ । जनता समाजवादी पार्टी नेपालले जिल्ला अध्यक्ष रामनरेश यादवलाई उम्मेदवार बनाएको छ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले वीरगंज महानगरपालिका वडा नम्बर २० का निर्वतमान वडाध्यक्ष रामकिशोर सिंह (पराग)लाई उम्मेदवार बनाएको छ भने जनमत पार्टीले जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र राष्ट्रिय प्रजातन्त्र पार्टीले नन्दु श्रीवास्तवलाई उम्मेदवार बनाएको छ ।

यसका अतिरिक्त प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट विश्वराज पटेल, हर्क सम्पाङ नेतृत्वको श्रम सांस्कृतिक पार्टीबाट वषिम शेष तथा पिपुल फस्ट पार्टीबाट जावेद एकवाल हैदर उम्मेदवार बनेका छन्।

अघिल्लो निर्वाचनमा एमाले–जसपा गठबन्धनका तर्फबाट प्रदिप यादव विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका नेपाली कांग्रेसका अजय द्विवेदी रहेका थिए । यसपटक भने प्रमुख दलहरू अलग–अलग रूपमा प्रतिस्पर्धामा उत्रिँदा पर्सा क्षेत्र नम्बर १ को चुनावी माहोल थप रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको छ।

रास्वपा उम्मेदवार ई. अरविन्द साहको कलैयामा घरदैलो, परिवर्तनका लागि घण्टीमा मतदानको आग्रह

0

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।

मङ्गलबार बिहानैदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत उहाँले वडा नम्बर २१, २२ र २६ मा पुगेर स्थानीयसँग संवाद गर्नुभएको हो। अभियानका क्रममा उहाँले विगतका जनप्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै अब परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो।

वडा नम्बर २१ को मडील्वामा आयोजित भेटघाट कार्यक्रममा ई. साहले यस क्षेत्रबाट निर्वाचित भइसकेका जनप्रतिनिधिहरूको कार्यसम्पादनको समीक्षा गर्दै जनताको समस्या समाधान हुन नसकेको बताउनुभयो। “अब सुरक्षित भविष्य र वास्तविक परिवर्तन चाहियो भने घण्टी छापमा मतदान गरेर रास्वपालाई जिताउनुहोस्,” उहाँले आग्रह गर्नुभयो।

त्यसैगरी वडा नम्बर २२ को मटीरीयामा उहाँले मतदाता, स्थानीय, विद्यार्थी तथा बुद्धिजीवीहरूसँग छलफल गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित समस्याहरूको जानकारी लिनुभयो। स्थानीयहरूले दैनिक जीवनसँग जोडिएका समस्या उम्मेदवारसमक्ष राखेका थिए।

अभियानकै क्रममा वडा नम्बर २६ को सिस्वा र बकुलहरमा पुग्नुभएका साहले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन र जनताको जीवनस्तर उकास्ने कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले लामो समयदेखि निर्माण हुन नसकेको कलैया–मानमत–मटीअर्वा सडक खण्डको उदाहरण दिँदै विगतका सत्तारूढ दलहरूले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको आरोप लगाउनुभयो।

एक सफल उद्यमीको परिचय दिँदै साहले आफूले विभिन्न परियोजनामार्फत हजारौँलाई रोजगारी दिएको दाबी गर्नुभयो। “म सांसदमा निर्वाचित भएँ भने कलैया र समग्र बारा जिल्लाका युवाहरूका लागि उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्नेछु,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

पर्सा २ का कांग्रेस उम्मेदवार चौरसिया घाइते, १५ दिन आराम गर्न डाक्टरकाे सल्लाह

0
तस्बिर एआई

वीरगंज । नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अजयकुमार चौरसिया आफ्नै घरमा लडेर घाइते भएका छन्। वीरगंज–१२ ओमआश्रम टोलस्थित आफ्नै घरको भ¥याङबाट ओर्लने क्रममा चिप्लिएर लड्दा उनको देब्रो खुट्टामा चोट लागेको हो।

आइतबार घरकै भ¥याङबाट झर्ने क्रममा लडेर घाइते भएका चौरसियाले सुरुआतमा दुखाइ कम हुने औषधि सेवन गरेका थिए। सोमबार उनले पर्सा क्षेत्र नम्बर–३ मा आयोजित कांग्रेसको क्षेत्रीय भेलामा समेत सहभागिता जनाएका थिए।

कार्यक्रम सकेर फर्कने क्रममा दुखाइ झन् बढेपछि चौरसिया वीरगंजको वीर्तास्थित सीता हस्पिटल पुगेका थिए। अस्पतालमा एक्स–रे गर्दा देब्रो खुट्टाको हड्डी क्रेक (भाँचिएको) देखिएपछि सोमबार साँझ चिकित्सकले प्लाष्टर गरेका छन्।

प्लाष्टरपछि चौरसिया घर फर्किएर घरमै आराम गरिरहेको पारिवारिक स्रोतले जनाएको छ। चिकित्सकले कम्तिमा १५ दिन वेड रेस्ट गर्न सल्लाह दिएको पारिवारिक स्रोतको भनाइ छ। यसका कारण उम्मेदवार चौरसियाको करिब १५ दिनसम्म घरदैलो अभियान तथा प्रत्यक्ष चुनावी गतिविधि प्रभावित हुने देखिएको छ।

संकटमा साथ दिने नेतृत्व छान्ने समय आएको छ : एमाले उम्मेदवार प्रदीप यादव

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले संकटका बेला जनताको साथमा उभिने नेतृत्वलाई नै अबको निर्वाचनमा मतदाताले रोज्नुपर्ने समय आएको बताएका छन्।

चुनावी प्रचार–प्रसार, घरदैलो अभियान तथा कार्यकर्ता भेटघाट एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यादवले वीरगंजमा चरम सुख्खा परेका बेला नगरवासीहरू खानेपानीको अभावमा भौतारिइरहेका अवस्थामा आफूले ठूलो जोखिम मोलेर केन्द्र सरकारसँग बजेटको व्यवस्था गरी धारा, बोरिङ, ट्युबवेल तथा रिजर्भ ट्याङ्कीमार्फत सहज खानेपानी वितरण गराएको स्मरण गराए।
“संकटको घडीमा कसले काम गर्छ र कसले भाषण मात्रै गर्छ भन्ने कुरा जनताले प्रत्यक्ष देखिसक्नुभएको छ,” यादवले भने।

पूर्व मन्त्रीसमेत रहेका यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मन्त्रालय कस्तो हुनुपर्छ भन्ने कुरा काम गरेर प्रमाणित गरेको दाबी गरे। उनले विकास निर्माणका बाँकी कार्यहरू पूरा गर्नका लागि फेरि एकपटक अवसर दिन मतदातासँग आग्रह गर्दै जनताको समस्या समाधान गर्ने क्षमता र इच्छाशक्ति दुवै एमालेसँग रहेको बताए।

यादवले सुख्खाग्रस्त अवस्थाबाट सिर्जित समस्याहरू समाधान गर्न कुनै कसर बाँकी नराखी अघि बढेको र कोरोना महामारीका बेला वीरगंज तथा आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेलेकोसमेत स्मरण गराए।

शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक क्षेत्रका सुधारका कामहरूले नै आफ्नो राजनीतिक प्रतिबद्धता पुष्टि गर्ने उनको भनाइ थियो। कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पनि संकटका बेला साथ दिने, काम गरेर देखाउने र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्व आवश्यक रहेको बताउँदै एमालेजस्तो राष्ट्रवादी शक्तिलाई मतदान गर्न आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

नेकपा पर्सा–४ को क्षेत्रीय भेला सम्पन्न, ‘नारा होइन नीति र व्यवहारबाट परिवर्तन’ को प्रतिबद्धता

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय भेला जिराभवानी गाउँपालिका–४ भवानीपुरमा सोमबार सम्पन्न भएको छ । नारा मात्र होइन, नीति र व्यवहारबाटै परिवर्तन गर्ने प्रतिबद्धतासहित आयोजित भेलामा वक्ताहरूले मुलुकको वर्तमान समस्याको समाधानका लागि नेकपाको विकल्प नरहेको दाबी गरेका छन्।

नेकपाका केन्द्रीय सदस्य नगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा बोल्ने नेताहरूले अन्य दलको तुलनामा नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा अझ सुदृढ हुँदै गएको बताएका थिए।

कार्यक्रममा बोल्दै नेकपा पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जयप्रकाश थारुले जेन–जी पुस्ताको माग र चाहना नेकपाले मात्र पूरा गर्न सक्ने बताए । उनले जेन–जीको भावना नारामा सीमित नभई पार्टीको नीति र व्यवहारमै प्रतिबिम्बित हुनुपर्ने धारणा राख्दै सबै नेता तथा कार्यकर्ता इमान्दारीपूर्वक चुनावी प्रचार–प्रसारमा जुटे विजय सुनिश् हुने दाबी गरे।

नेता बलिराम साहले सबैले इमान्दारिताका साथ सहयोग गरे यसपटकको निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने दृढ विश्वास व्यक्त गरे। मुलुक अहिले विषम परिस्थितिमा रहेकाले नेकपाको विकल्प नरहेको उनको भनाइ थियो ।

त्यसैगरी, पार्टीकी केन्द्रीय सदस्य सावित्री पोख्रेलले आफूलाई नयाँ र देशभक्त पार्टीका रूपमा प्रस्तुत गर्ने दलहरू मात्र नभई जनताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको नेपाली कम्युनिष्ट पार्टीप्रति ढुक्क भएर मतदान गर्न आग्रह गरिन् ।

भेलामा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, रामबाबु बैठासहित पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

एमाले केन्द्रीय सदस्य सरावगीसहित ३ नेतालाई पर्सामा चुनावी कमाण्डरको जिम्मेवारी

0

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्सा जिल्ला कमिटीले तीन जना केन्द्रीय सदस्यलाई निर्वाचन समन्वयको जिम्मेवारी दिएको छ।

सोमबार वीरगंजमा सम्पन्न पार्टीको बैठकले निर्वाचनलाई प्रभावकारी र सफल बनाउन क्षेत्रगत रूपमा जिम्मेवारी बाँडफाँड गरेको हो। बैठकको निर्णयअनुसार, पर्सा क्षेत्र नम्बर १ को समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य निर्मला देवकोटालाई दिइएको छ। पर्सा क्षेत्र नम्बर २ को जिम्मेवारी केन्द्रीय सदस्य तथा पूर्व महानगरप्रमुख विजय कुमार सरावगीलाई दिइएको छ भने पर्सा क्षेत्र नम्बर ३ र ४ को समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य प्रभु हजरालाई प्रदान गरिएको छ।

पार्टीले अनुभवी र संगठनमा बलियो पकड भएका नेताहरुलाई जिम्मेवारी दिई निर्वाचन तयारीलाई थप सुदृढ बनाउने जनाएको छ। बैठकले आगामी दिनमा जनसम्पर्क, संगठन विस्तार तथा चुनावी प्रचारलाई तीव्रता दिने निर्णयसमेत गरेको छ।

यसपटक पर्सा क्षेत्रमा एमालेले नयाँ र अनुभवी उम्मेदवारलाई टिकट दिएको छ। पर्सा–१ मा प्रदीप यादव, पर्सा–२ मा रिमा कुमारी यादव, पर्सा–३ मा रुपेश पाण्डे, र पर्सा–४ मा जालिम मियाँ चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्।

बालेका दाई कौशलेन्द्रसँग गढीमाई मन्दिर दर्शन गर्दै बारा–३ मा अरविन्द साहले सुरु गरे चुनावी अभियान

0

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गर्दै आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका छन् ।

सफल उद्यमी तथा व्यवसायीका रूपमा परिचित साह ‘खल्ती’ डिजिटल वालेट एपका सञ्चालकसमेत हुन्, जसबाट हजारौँ युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । यस निर्वाचनमा उनले रोजगारी सृजना, स्वास्थ्य सेवा सुधार, शिक्षा सुधार र समग्र समृद्धिलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।

अभियानको सुरुआतका क्रममा साहसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का दाजु कौशलेन्द्र शाहको समेत सहभागिता रहेको थियो । मन्दिर दर्शनपछि स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्दै कौशलेन्द्र शाहले विकास, परिवर्तन र समृद्धिका लागि रास्वपालाई जिताउन आग्रह गर्दै इतिहासमै पहिलो पटक मधेसी समुदायका व्यक्तिलाई प्रधानमन्त्री पदसम्म पुर्‍याउने अवसर दिनुपर्ने बताए ।

उनले काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाहले तीन वर्षको कार्यकालमा विभिन्न अवरोधका बाबजुद उल्लेखनीय परिवर्तन ल्याएको उदाहरण प्रस्तुत गर्दै भने, “प्रधानमन्त्री बनेपछि देशले नै काँचुली फेर्नेछ।”

उम्मेदवार अरविन्द साहले बाराको समृद्धिका लागि आफू उम्मेदवार बनेको स्पष्ट पार्दै भने, “कुनै समय बारा जिल्लाको नाम इतिहासमा सुवर्ण अक्षरमा लेखिएको थियो, तर अहिले त्यो पहिचान क्रमशः ओझेलमा पर्दै गएको छ।”

विश्वप्रसिद्ध महागढीमाई मन्दिर क्षेत्रको विकासका लागि अहिलेसम्म ठोस योजना नआएकोप्रति दुःख व्यक्त गर्दै उनले मन्दिरको प्रचार–प्रसार, प्रवर्द्धन र संरक्षण गर्दै यस क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिने बताए । यसले जिल्लाको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने उनको धारणा थियो ।

यसैबीच, सोही दिन उम्मेदवार साहले बारा जिल्लाको कलैया उपमहानगरपालिका–२६ मा स्थानीय बाबा कवरथुवा बाबाबाट आशीर्वाद ग्रहण गर्दै आफ्नो चुनावी गतिविधिलाई थप निरन्तरता दिएका छन् ।

कालिकामाईका सि.अ.हे.व. अधिकृत चौरसियाद्वारा जागिरबाट राजिनामा

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा सि.अ.हे.व. अधिकृत (छैठो) तहमा कार्यरत तथा गाउँपालिकाका स्वास्थ्य संयोजक योगेन्द्र प्रसाद चौरसियाले पदबाट राजिनामा दिएका छन्।

चौरसियाले सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई लिखित रूपमा राजिनामा बुझाएका हुन्। उनले स्वास्थ्य सेवा समूह हे.ई. तह अन्तर्गत सि.अ.हे.व. अधिकृत पदमा वि.सं. २०५३/०५/२५ गते स्थायी नियुक्ति पाएदेखि हालसम्म निरन्तर तथा अविछिन्न रूपमा सेवा गर्दै आएको उल्लेख गरेका छन्।

राजिनामापत्रमा चौरसियाले घरायसी समस्याका कारण सेवामा निरन्तरता दिन नसक्ने अवस्था आएको जनाउँदै आफ्नो इच्छाअनुसार खुसीराजीका साथ राजिनामा दिएको स्पष्ट पारेका छन्। राजिनामा दिँदा आफू मानसिक तथा शारीरिक रूपमा पूर्ण रूपमा सक्षम रहेको र कुनै किसिमको डर, त्रास वा दबाबबिना स्वतन्त्र निर्णय गरेर राजिनामा दिएको पनि उनले उल्लेख गरेका छन्। भविष्यमा यस विषयलाई लिएर कुनै उजुरी वा गुनासो नगर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

चौरसियाले राजिनामा दिएको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले पनि पुष्टि गर्दै हाल राजिनामा स्वीकृतिको प्रक्रियामा रहेको जानकारी दिएका छन्।

यसैबीच, राजिनामा दिएका चौरसिया अब सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ। आगामी स्थानीय तहको निर्वाचनमा कालिकामाई गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीका लागि उनले पदबाट राजिनामा दिएको बताइएको छ।

बहुदरमाई–६ मा रास्वपाको वडा भेला सम्पन्न, युवाहरू घण्टी छापको पक्षमा एकजुट

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुको उपस्थितिमा बहुदरमाई नगरपालिका वडा नं. ६ भौराटारमा सोमबार साँझ रास्वपाको वडा भेला सम्पन्न भएको छ।

विभिन्न पृष्ठभूमिबाट आएका स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको भेलामा उनीहरू स्वतःस्फूर्त रूपमा रास्वपासँग जोडिँदै आगामी निर्वाचनको चुनावी अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भेलामा सहभागी युवाहरूले पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै घण्टी छापको पक्षमा जनमत निर्माण गर्ने जिम्मेवारी आफैं लिने बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले युवाहरू नै देश परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पुरानो राजनीति, निराशा र अवसरको अभावबाट दिक्क भएका युवाहरू आशा र विश्वासका साथ रास्वपासँग जोडिनु भएको छ। यो केवल समर्थन मात्र होइन, परिवर्तनको स्पष्ट संकेत हो।” जिल्लाभर युवाहरूको समर्थन दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै उहाँले नयाँ राजनीतिक संस्कार युवाहरूसँगै स्थापित गरिने विश्वास व्यक्त गर्नुभयो।

भेलामा रास्वपाका नगर अध्यक्ष चन्दन यादवले युवाहरूको सक्रिय सहभागितालाई स्वागत गर्दै पारदर्शी, जवाफदेही र जनमुखी राजनीतिका लागि रास्वपा एक मजबुत विकल्प बनेको धारणा राख्नुभयो।

भेलामा सहभागी स्थानीय युवा विकास कुशवाहले विगतमा धेरै नेताहरू देखिए पनि अपेक्षित काम नभएको अनुभव सुनाउँदै अबका युवाहरू सचेत भइसकेको बताए। “हामीले धेरै भाषण सुन्यौँ, तर काम देखेनौँ। अब युवाले नेतृत्व खोजेको हो, र त्यो विकल्प रास्वपामा देखेका छौँ,” उनले भने।

सफा राजनीति र जवाफदेही नेतृत्वको अपेक्षासहित बहुदरमाई–६ का अधिकांश युवाहरूले घण्टी छापमा मतदान गर्ने निर्णय गरेको उनले जानकारी दिए।

वडा भेलाले युवाहरूको मनोभाव, परिवर्तनप्रतिको चाहना र नयाँ राजनीतिक विकल्पप्रतिको बढ्दो विश्वासलाई स्पष्ट रूपमा उजागर गरेको सहभागीहरूको भनाइ रहेको छ।

वीरगंजमा भारतको ७७औँ गणतन्त्र दिवस भव्य समारोहसहित मनाइयो

0

वीरगंज । भारतको ७७औँ गणतन्त्र दिवस वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले सोमबार भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ।

समारोहको सुरुआत भारतका महावाणिज्यदूत डी. एस. मीनाले राष्ट्रिय झण्डा तिरंगा फहराएर तथा भारतका राष्ट्रपतिको सन्देश वाचन गर्दै गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले भारतका लोकतान्त्रिक मूल्य, संविधानको महत्व तथा राष्ट्रिय एकताको भावनाबारे प्रकाश पार्नुभयो।

गणतन्त्र दिवसको अवसरमा शिक्षा विद्यालयसहित १२ विभिन्न विद्यालयका विद्यार्थीहरूले गीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रस्तुतिले उपस्थित दर्शकहरूलाई आकर्षित गर्नुका साथै देशभक्तिको भावना अभिव्यक्त गरेको थियो।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश दाहाल, प्रहरी उपरीक्षक सुदिप राज पाठक, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, वीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

दूतावासका अनुसार समारोहमा कवि, स्थानीय व्यापारी, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरू सहित विभिन्न क्षेत्रका करिब पाँच सय जनाको सहभागिता रहेको थियो।

गणतन्त्र दिवस समारोहसँगै दूतावास परिसरभित्र भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय गीत प्रदर्शनीसमेत आयोजना गरिएको थियो। प्रदर्शनीमा विद्यार्थी, शिक्षक–शिक्षिका तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको थियो।

दूतावासले यस्ता कार्यक्रमहरूले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध तथा जनस्तरको आपसी समझदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।