Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 171

प्याब्सन जुनियर फुटबलः गौतम, मुनलाईट, सफल र ठोरी एकेडेमी विजयी

0

वीरगंज । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन पर्सा अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन चार खेलहरू सम्पन्न भएका छन्। सम्पन्न खेलहरूमा गौतम माध्यमिक विद्यालय, मुनलाईट माध्यमिक विद्यालय, सफल एकेडेमी र ठोरी एकेडेमीले शानदार जित हात पारेका छन्।

पहिलो खेलमा गौतम माध्यमिक विद्यालयले सेन्ट जेभियर्स स्कुललाई ४–० गोलअन्तरले पराजित गर्‍यो। गौतमको जितमा राज कर्णले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि जिते।

दोस्रो खेलमा मुनलाईट माध्यमिक विद्यालयले सूर्योदय स्कुलमाथि एकतर्फी खेल प्रदर्शन गर्दै १०–० गोलको फराकिलो जित निकालेको छ। मुनलाईटका प्रिन्स आले मगर उत्कृष्ट खेल प्रस्तुत गर्दै म्यान अफ द म्याच घोषित भए।

तेस्रो खेलमा सफल एकेडेमीले श्री आदर्श माध्यमिक विद्यालयलाई ७–० गोलअन्तरले पराजित गर्‍यो। सफल एकेडेमीका लक्की चौधरी उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच बने।

चौथो तथा अन्तिम खेलमा ठोरी एकेडेमीले न्यु वेभ एकेडेमीलाई ६–० गोलअन्तरले हराउँदै प्रभावशाली जित दर्ता गर्‍यो। ठोरी एकेडेमीका यवेश राई म्यान अफ द म्याच घोषित भए।

धोबिनी–१ भिखमपुरस्थित ने.रा.मा.वि.मा झडप, दुई शिक्षकसहित पाँच घाइते

0
याे तस्बिर एआईबाट तयार गरिएकाे हाे ।

सेढवा । पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं. १ भिखमपुरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (ने.रा.मा.वि.) मा साेमबार दुई पक्षबीच झडप भएको छ। झडपमा दुई जना शिक्षकसहित पाँच जना घाइते भएका छन्।

घटनापछि आक्रोशित स्थानीयले केही शिक्षकलाई कालो मोसो दल्नुका साथै विद्यालयभित्र रहेका फर्निचरहरू तोडफोड गरेको जनाइएको छ।

प्राप्त जानकारीअनुसार, घटनाको मुख्य कारण सामाजिक सञ्जालमा अपलोड गरिएको एक अश्लील भिडियो रहेको छ। माघ ९ गते शुक्रबार सरस्वती पूजाको राति पूजा व्यवस्थापन समिति र विद्यालय प्रशासनको सहमतिमा विद्यालय परिसरमै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा तेस्रोलिंगी समूहलाई आमन्त्रण गरिएको र उनीहरूसँग अश्लील गीतमा अश्लील प्रदर्शन तथा अनैतिक क्रियाकलाप भएको आरोप स्थानीयले लगाएका छन्।

सो कार्यक्रमका दृश्यहरू भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट भएपछि स्थानीय बासिन्दा तथा अन्य विद्यार्थीहरूको समूह आक्रोशित बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। विद्यालय प्रशासनको लापरवाहीका कारण यस्ता गतिविधि भएको भन्दै उनीहरूले विरोध जनाउँदा स्थिति तनावग्रस्त बनेर झडपको रूप लिएको हो।

घटनापछि सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था नियन्त्रणमा लिइएको जनाइएको छ। यस विषयमा विद्यालय प्रशासन तथा स्थानीय प्रशासनबाट थप अनुसन्धान भइरहेको छ।

पर्सा १ का उम्मेदवार सरार्फद्वारा वीरगंजमा–१६ मा घरदैलो

0

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिकाकाे वडा नम्बर–१६ इनर्वा दक्षिण टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमको क्रममा स्थानीयहरूले उम्मेदवार सरार्फलाई भव्य स्वागत एवं सम्मान गरेका थिए । सरार्फले निकास र विकासका लागि जनमत पार्टी र हर्न छापमात्र विकल्प रहेको भन्दै सबै मतदातालाई पार्टीमा गोलबन्द हुन आग्रह गरे ।

कार्यक्रममा नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, दिनानाथ साह, सुनिल गुप्ता, सहनवाज राकि, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, तुलसी राम लगायत सयौं स्थानीयले सहभागिता जनाएका थिए।

विकास गोयलको गोदाममा प्रहरीको छापा, ३० लाख बराबरका अवैध सामान बरामद

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रूपमा भण्डारण गरिएका करिब ३० लाख रुपैयाँ बराबरका खुद्रा सामान बरामद गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा आइतबार साँझ करिब ८ बजे वीरगंज महानगरपालिका–७ रेल्वे सडकखण्डमा रहेको एस.बी. ट्रेडिङ्ग नामक गोदाममा छापा मारिएको थियो । उक्त गोदाम वीरगंज महानगरपालिका–५ निवासी विकास गोयलले सञ्चालन गर्दै आएको र बिन्दु गोयलको नाममा दर्ता रहेको जनाइएको छ।

छापामारीका क्रममा भन्सार चोरी पैठारी तथा राजस्व छलि गरी अवैध रूपमा स्टक गरी राखिएका अनुमानित मूल्य ३० लाख रुपैयाँ बराबरका स्टेशनरी, किराना तथा अन्य खुद्रा सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानमा पेन्सिल, इरेजर, कटर, तास, टेप, बेलुन, लाइटर, रबर, जिविया, गुच्चा लगायतका मालवस्तु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी ती सामानहरू बरामद गरेको हो । बरामद मालवस्तुहरू आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जारी दिए ।

बालेनप्रति भरोसा, पर्सामा रास्वपा उम्मेदवारमै प्रश्न

0

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर देशभर जस्तै पर्सा जिल्लामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति चासो र आकर्षण बढेको देखिएको छ। विशेषगरी काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र साह (बालेन) लाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेपछि पर्सामा समेत पार्टीप्रति उत्साह बढेको हो।

तर, पर्सामा रास्वपाले उम्मेदवार छनोट गर्दा अपेक्षाअनुसार निर्णय नगरेको भन्दै केही निर्वाचन क्षेत्रमा मतदाता अन्योलमा परेका छन्। रास्वपाले पर्सा क्षेत्र नम्बर–१ मा जिल्ला सभापति हरि पन्त, क्षेत्र नम्बर–२ मा वीरगंज–१० का निवर्तमान वडाध्यक्ष सुशील साह कानु, क्षेत्र नम्बर–३ मा निर्माण व्यवसायी रामाकान्त चौरसिया र क्षेत्र नम्बर–४ मा नवप्रवेशी टेक बहादुर शाक्यलाई उम्मेदवार बनाएको छ।

मतदाताका अनुसार विशेषगरी पर्सा क्षेत्र नम्बर–३ र ४ का उम्मेदवारप्रति असन्तुष्टि देखिएको छ । क्षेत्र नम्बर–३ मा स्थानीय विकास, लगानी र सामाजिक योगदान स्पष्ट नभएका व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै मतदाता सन्तुष्ट छैनन् । एक मतदाताले भने, “बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपालाई मतदान गर्न मन छ, तर उम्मेदवार ठीक नहुँदा प्रत्यक्षतर्फ मत दिन सक्ने अवस्थामा छैनौं । समानुपातिकतर्फ मात्रै मतदान गर्छौं।”

उनका अनुसार क्षेत्र नम्बर–३ का उम्मेदवार निर्माण व्यवसायी हुन् र उनी अचानक आएर पैसाको बलमा चुनाव लड्न खोजेको आरोप मतदाताबीच व्यापक छ । “विगतमा यसै क्षेत्रमा निर्माण व्यवसायी हरिनारायण रौनियारलाई जिताएर पठाउँदा उनले पूरा कार्यकाल काम गर्न नसकेको हामीले बिर्सेका छैनौं,” अर्का मतदाताले भने, “अब त्यही गल्ती दोहोर्याउन चाहँदैनौं।”

त्यस्तै पर्सा क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार टेक बहादुर शाक्य विगत पाँच वर्ष काठमाडौंमा बसोबास गर्ने र चुनावको बेला मात्रै क्षेत्रमा आएर उम्मेदवारी दिएको आरोप पनि मतदाताले लगाएका छन्। स्थानीय मतदाताका अनुसार यस्ता उम्मेदवार चयन हुँदा पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गर्ने चाहना हुँदाहुँदै पनि अन्योल सिर्जना भएको हो ।

समग्रमा बालेन साहप्रति रहेको विश्वास र परिवर्तनको चाहनाका कारण रास्वपाप्रति आकर्षण बढे पनि केही क्षेत्रमा उम्मेदवार चयनकै कारण पार्टीले अपेक्षित समर्थन गुमाउने जोखिम देखिएको छ ।

पर्सामा ५५ केजी गाँजा सहित एक जना पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ठोरी गाउँपालिका–४ स्थित विशाल चोकबाट ५५ केजी लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार साँझ करिब ८ः३० बजे ठोरी गाउँपालिका–४ निवासी ३४ वर्षीय सुरेश श्रेष्ठको एकतले घरमा लागुऔषध बिक्री, वितरण तथा भण्डारण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरभित्र लुकाइ–छिपाइ राखिएको प्लास्टिकसहित ५ पोका लागुऔषध गाँजा जस्तो देखिने पदार्थ ५५ केजी फेला परेको प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित सुरेश श्रेष्ठलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि लागुऔषध ओसारपसार तथा भण्डारणसम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

पर्सा–१ बाट १० हजारभन्दा बढी मतान्तरले जित्छु : एमाले उम्मेदवार प्रदीप यादव

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले यसपालिको निर्वाचनमा आफू १० हजारभन्दा बढी मतान्तरले विजयी हुने दाबी गरेका छन्।

शनिबार जनकपुरमा नेकपा एमालेद्वारा आयोजित मधेस प्रदेशभरका उम्मेदवारहरूको परिचयात्मक तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उम्मेदवार यादवले अघिल्ला निर्वाचन परिणामलाई स्मरण गर्दै यसपटक फराकिलो मतान्तरसहित जित सुनिश्चित हुने दाबी गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका यादवले भने, “२०७४ सालको निर्वाचनमा करिब ५ हजार मतान्तरले जितें, २०७९ मा करिब १ हजार ७ सय मतान्तरले विजयी भएँ। अब यसपालि १० हजारभन्दा बढी मतान्तरले जित्छु।”

यादवले पर्सा–१ मा नेकपा एमालेको संगठनात्मक अवस्था दिनप्रतिदिन मजबुत बन्दै गएको जिकिर गरे। “पर्सा–१ मा एमालेको अवस्था एकदमै राम्रो छ,” उनले भने, “महानगरका मेयर, जिल्ला समन्वय समितिका प्रमुख, महानगरका ७ वटा वडाका वडाध्यक्षलगायत थुप्रै जनप्रतिनिधि र नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। यसले पार्टीलाई थप बलियो बनाएको छ।”

उनले पार्टीका सबै पंक्ति एकजुट भएर लागेकाले कार्यकर्ता तथा समर्थकहरूमा नयाँ ऊर्जा र उत्साह थपिएको बताए। पर्सा–१ मा अब एमालेको जितमा कुनै शंका नरहेको उनको दाबी थियो।

कार्यक्रममा पर्सा–२ की उम्मेदवार रिमा यादव, पर्सा–३ का उम्मेदवार रुपेश पाण्डे तथा पर्सा–४ का उम्मेदवार जालिम मियाँ मन्सुरीको समेत सहभागिता रहेको थियो।

वीरगंज–२४ मा रास्वपा उम्मेदवार कानुले भेटघाट गर्दै भने– ‘परिवर्तन सम्भव छ’

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२४ मा स्थानीय युवाहरूसँग भेटघाट तथा छलफल गरेका छन्।

भेटघाटका क्रममा युवाहरूले रास्वपाप्रति बढ्दो विश्वास र समर्थन व्यक्त गर्दै चुनावी अभियानमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आगामी निर्वाचनमा घण्टी छापलाई जिताउन जनसम्पर्क, जनमत निर्माण र घरदैलो अभियानमा जुट्ने बताएका हुन्।

कार्यक्रममा बोल्दै उम्मेदवार कानुले युवाहरूको उत्साह र साथले राजनीतिक परिवर्तन सम्भव भएको बताए। “निराशा र पुरानो राजनीतिक शैलीबाट मुक्त हुन युवाहरू अघि बढिरहेका छन्,” उनले भने, “युवाको साथ र विश्वासले नै अब देशमा परिवर्तन सम्भव छ।”

स्थानीय युवाहरूले रास्वपाले नयाँ सोच, पारदर्शिता र जिम्मेवार राजनीतिलाई अघि बढाएको उल्लेख गर्दै यही कारण पार्टीसँग जोडिएको बताएका छन्। उनीहरूले अब पुरानै प्रवृत्तिको राजनीतिलाई विस्थापित गर्दै नयाँ विकल्प रोज्ने समय आएको धारणा राखे।

भेटघाट कार्यक्रम युवाहरूलाई पार्टीमा स्वागत गर्ने, एकता सुदृढ गर्ने र परिवर्तनको साझा संकल्प व्यक्त गर्दै सम्पन्न भएको थियो।

पर्सा–१ मा जनमत पार्टीको चुनावी चहलपहल, बुथ इन्चार्जहरूको अभिमुखीकरण सम्पन्न

0

वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ।

“आपन बुथ सब से मजबुत” अभियानअन्तर्गत पर्सा क्षेत्र नम्बर–१ का ३४ वटै बुथका बुथ इन्चार्ज, महिला इन्चार्ज तथा युवा इन्चार्जहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनमत पार्टी पर्साको आयोजनामा सम्पन्न भएको हो।

अभिमुखीकरण कार्यक्रममार्फत बुथस्तरको संगठनलाई थप मजबुत बनाउँदै मतदाता केन्द्रित अभियान अघि बढाउने रणनीति तय गरिएको पार्टीले जनाएको छ। कार्यक्रममा बुथ व्यवस्थापन, मतदाता सम्पर्क, संगठनात्मक समन्वय र चुनावी रणनीतिबारे छलफल गरिएको थियो।

उक्त अवसरमा पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन्। उनले निर्वाचन जितको आधार बुथस्तर नै हुने उल्लेख गर्दै पार्टी संगठनलाई एकताबद्ध, सक्रिय र जिम्मेवार बनाएर मैदानमा उत्रिन कार्यकर्तालाई आग्रह गरे।

जनमत पार्टीले आगामी दिनमा घरदैलो कार्यक्रम, जनसम्पर्क अभियान तथा विभिन्न चुनावी गतिविधिलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ। २१ फागुनको निर्वाचनलाई निर्णायक रूपमा लिएको पार्टीको भनाइ छ।

अन्तरविद्यालय खेलकुद प्रतियोगितामा क्रिकेट र फुटबलतर्फ रोमाञ्चक प्रतिस्पर्धा, सात खेल सम्पन्न

0

वीरगंज । प्याब्सन पर्साको आयोजनामा जारी अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताअन्तर्गत आज क्रिकेटतर्फ ३ तथा फुटबलतर्फ ४ गरी जम्मा ७ खेल सम्पन्न भएका छन्।

प्रतियोगितामा सहभागी विद्यालयस्तरीय खेलाडीहरूले उत्साहजनक, अनुशासित र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका छन्।

क्रिकेटतर्फ, मुनलाईट स्कुलले मिनील्याण्ड स्कुललाई ८४ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित हात पार्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको मुनलाईटले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको मिनील्याण्ड पूरै ओभर खेले पनि ६१ रनमै समेटियो। खेलमा ४५ रनको योगदान दिएका दिलराज यादव म्यान अफ द म्याच घोषित भए।

यस्तै, दोस्रो खेलमा फुर्कान एकेडेमीले नेपाल काभेरीलाई ८ विकेटले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको नेपाल काभेरीले ६ विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सकेको थियो। उक्त लक्ष्य फुर्कान एकेडेमीले २ विकेटको क्षतिमा १२.२ ओभरमै पूरा गर्‍यो।

तेस्रो खेलमा सेन्ट जेभियर्स विजयी भयो। सेन्ट जेभियर्सले टस जितेर ब्याटिङ गर्दै १५ ओभरमा ८ विकेटको क्षतिमा १५२ रन बनाएकोमा आचार्य एकेडेमी पूरै ओभर खेल्दा पनि ८४ रनमै सीमित रह्यो।

फुटबलतर्फ, गुरुकुल एकेडेमीले गोल्डेन फ्युचर माविलाई पराजित गर्दै विजयी सुरुआत गर्‍यो। गोल्डेन फ्युचरका खेलाडीबाट भएको आत्मघाती गोल निर्णायक बन्यो भने गुरुकुलका युहान राई म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा ज्ञानदा एकेडेमीले नेपाल काभेरीलाई ३–२ गोल अन्तरले पराजित गर्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका ज्ञानदा एकेडेमीका अनुरन्जन साह म्यान अफ द म्याच बने।

तेस्रो खेलमा बिकन माविले वीरगञ्ज पब्लिक ई–स्कुललाई ८–० को फराकिलो अन्तरले पराजित गर्‍यो। बिकनका अंश थारु म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी चौथो तथा अन्तिम खेलमा साउथ जोनले डिएभीलाई ५–० ले पराजित गर्दै शानदार जित दर्ता गर्‍यो। साउथ जोनका आयुष चौधरी म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।