Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 169

रुपेश पाण्डेयको चौधरीमाथि कडा प्रहार, ‘दूषित राजनीति तत्काल त्याग्न’ चेतावनी

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश पाण्डेयले आफ्ना प्रतिस्पर्धी तथा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीमाथि गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

पाण्डेयले केही दिनअघि चौधरीले दिएको अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफूलाई बौद्धिक र विद्वान दाबी गर्ने नेताबाट निरन्तर झुटा आश्वासन, मिथ्या आरोप र अशोभनीय भाषा प्रयोग भएको बताएका छन् । यस्तो अभिव्यक्तिले व्यक्तिगत छविमात्र होइन, समग्र समाजमै नकारात्मक सन्देश जाने उनको भनाइ छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पोस्टमा पाण्डेयले केही समयअघि चौधरी आफ्नै मानिकपुर–२ स्थित घरमा आएर चिया–नास्ता गरेको विषय उल्लेख गर्दै उक्त घटनालाई प्रत्यक्ष देखेको हुँदाहुँदै पनि ‘सुनेको छु’ भनेर सार्वजनिक कार्यक्रममा प्रस्तुत गरिएको आरोप लगाएका छन्। यसले चौधरीको इमानदारीमाथि गम्भीर प्रश्न उठ्ने पाण्डेयको दाबी छ।

पाण्डेयले २०४६ सालदेखि नै चौधरीलाई सकारात्मक सोच भएका व्यक्ति ठानेको उल्लेख गर्दै पछिल्ला पाँच वर्षयता भने उनले ‘झुटको राजनीति’ गर्दै आएको आफूले नजिकबाट नियालेको बताएका छन्। चौधरीका बोली, व्यवहार र गतिविधिसम्बन्धी प्रमाणहरू सुरक्षित रहेको जनाउँदै अझै पनि सुधारको अवसर दिन चाहेको उनले बताएका छन्।

उनले चौधरीले विभिन्न व्यक्तिहरूमाथि धम्की दिने, झुटा आरोप लगाउने, सार्वजनिक कार्यक्रममा अशोभनीय भाषा प्रयोग गर्ने तथा व्यक्तिगत रिसइबी र राजनीतिक स्वार्थबाट प्रेरित व्यवहार गर्दै आएको आरोप समेत लगाएका छन्। पाण्डेयले यस्तो ‘दूषित र नकारात्मक राजनीति’ तत्काल त्याग्न आग्रह गरेका छन्।

यसअघि चौधरीले एक सार्वजनिक कार्यक्रममा बोल्दै पाण्डेयमाथि व्यङ्ग्य गर्दै उनलाई ‘राजनीतिक संस्कार नभएको नयाँ नेता’को संज्ञा दिएका थिए। अध्ययन र बौद्धिकता बिना नेतृत्व सम्भव नहुने टिप्पणी गर्दै चौधरीले आफ्नो निजी पुस्तकालयमा ४–५ हजार पुस्तक रहेको र नियमित अध्ययन गर्ने दाबी गरेका थिए।

त्यसको प्रत्युत्तरमा पाण्डेयले विद्वान हुन पुस्तक पढ्नु मात्र पर्याप्त नहुने भन्दै ज्ञानलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताएका छन्। आफू स्वावलम्बी जीवनशैलीमा विश्वास गर्ने र इमानदारीपूर्वक कमाएको पैसाले जीवनयापन गर्दै आएको उनको भनाइ छ।

पोस्टको अन्त्यमा पाण्डेयले सत्य–असत्यको छिनोफानो गर्न गहवामाई मन्दिरमा सँगै कसम खानसमेत चौधरीलाई चुनौती दिएका छन्।

परवानीपुरमा आमाछोराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

0

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, रहरिया टोलमा गएराति आमाछोराको हत्या भएको घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ । अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।

घटनासँग सम्बन्धित शंकाका आधारमा २८ वर्षीया बुहारी मनिता देवीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । “घटना कसरी र किन भएको हो भन्ने विषयमा बुहारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ। उनको बयानपछि थप तथ्य खुल्नेछ,” प्रहरी उपरीक्षक कुँवरले बताए।

प्रहरीका अनुसार बुधबार राति करिब २ बजेको समयमा अज्ञात व्यक्ति घरभित्र प्रवेश गरी सुतिरहेको अवस्थामा आमाछोरामाथि धारिलो हतियारले आक्रमण गरिएको थियो। आक्रमणपछि सुमित्रा देवी र रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको र उनीहरूको शव घरमै फेला परेको प्रहरीले जनाएको छ।

यसै घटनामा आक्रमणबाट घाइते भएका ५० वर्षीय जगरूप महतोको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। घटनाको कारण र संलग्न व्यक्तिबारे यकिन गर्न प्रहरी टोली घटनास्थलमै पुगेर थप अनुसन्धान तथा प्रमाण संकलनमा जुटिरहेको प्रहरीले जनाएको छ।

विन्दवसनीमा रास्वपा उम्मेदवार कानुकाे घरदैलो, स्थानीयसँग प्रत्यक्ष संवाद

0

वीरगंज । पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल साह कानुको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनसमुदायको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको पार्टीले जनाएको छ।

स्थानीय तहमा पार्टी संगठन विस्तार तथा जनसम्पर्क सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने नारासहित सम्पन्न कार्यक्रममा युवाहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।

कार्यक्रमका क्रममा पार्टी प्रतिनिधिहरूले विन्दवसनी क्षेत्रका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले विकाससम्बन्धी चुनौती, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधारका विषयमा आफ्ना समस्या र सुझाव खुलस्त रूपमा राखेका थिए । पार्टी प्रतिनिधिहरूले ती गुनासा र सुझावहरूलाई गम्भीरतापूर्वक सुन्दै आगामी दिनमा नीतिगत तथा कार्यक्रमगत रूपमा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस अवसरमा रास्वपाले आफ्नो नीति, सिद्धान्त तथा भावी योजनाबारे स्थानीय जनतालाई जानकारी गराउँदै पारदर्शी शासन, सुशासन, जवाफदेही राजनीति र जनअपेक्षाअनुसारको विकास नै पार्टीको मुख्य लक्ष्य रहेको स्पष्ट पारेको थियो।

पार्टीका अनुसार यस्ता घरदैलो कार्यक्रमहरूले जनताको वास्तविक समस्या बुझ्न र समाधानमुखी प्रभावकारी नीति निर्माण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको रास्वपाले जनाएको छ।

एमाले उम्मेदवार रूपेश पाण्डे भन्छन् : पर्सा–३ को मुहार फेर्छु

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले)बाट उम्मेदवारी दिएका रूपेश पाण्डे फरक शैली र आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएकाे वताएका छन् । काठमाडौंमा स्थापित व्यवसाय छाडेर पछिल्ला करिब चार वर्षदेखि गाउँ–गाउँ घुम्दै आएका पाण्डे आफूलाई ‘नेता’भन्दा पनि जनताको सुख–दुःखको साथी र विकासको अगुवा पात्रका रूपमा प्रस्तुत गर्दै आएका छन्।

पाण्डेले व्यवसायमा सफलता पाए पनि आफ्नो जन्मभूमिको अवस्था देख्न नसकेर राजनीतिमा सक्रिय भएको बताउँछन्। उनले विगत करिब चार वर्षमा क्षेत्रका सबै वडामा पुगेर समस्या पहिचान गरिसकेको दाबी गर्दै अब समाधानका स्पष्ट योजनासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।

पर्सा–३ का मुख्य समस्यामध्ये कृषि उपजले बजार नपाउनु प्रमुख रहेको पाण्डेको भनाइ छ। किसानले उत्पादन गरेको तरकारी, दूध र अन्डाले उचित बजार नपाउँदा त्यसको असर युवा पलायनमा परेको उनको ठहर छ। यस समस्याको समाधानका लागि उनले क्षेत्रमा चारवटा कोल्ड स्टोर स्थापना गरी उत्पादनदेखि बजारसम्मको शृंखला व्यवस्थित गर्ने योजना अघि सारेका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ संकेत गर्दै पाण्डेले पर्याप्त विद्यालय र स्वास्थ्य संस्था भए पनि सेवाको गुणस्तर कमजोर रहेको बताए। निर्वाचित भए सांसदका रूपमा नीतिगत भूमिकासँगै विद्यालय र स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

खानेपानी, सडक र सिँचाइजस्ता पूर्वाधार निर्माणमा देखिएको ढिलाइ नेतृत्वको इच्छाशक्तिको अभावका कारण भएको उनको दाबी छ। पाण्डेले आफू विकास र परिणाममुखी राजनीतिका लागि उम्मेदवार बनेको भन्दै पर्सा–३ को समग्र रूपान्तरण आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।

पर्सा–४ मा कांग्रेसको क्षेत्रीय बैठक सम्पन्न, उम्मेदवार रिजालले भने– “हाम्राे जित सुनिश्चित छ”

0

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–४ को क्षेत्रीय कार्य समितिको बैठक मंगलबार जगरनाथपुर गाउँपालिका वडा नम्बर–५ झखरा मसिहानीमा सम्पन्न भएको छ। बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित निश्चित रहेको दाबी गर्नुभएको छ।

पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका रिजालले कार्यकर्ता तथा नेताहरूलाई उच्च मनोबलका साथ आ–आफ्नो टोल र बस्तीमा निर्वाचन आचारसंहिता पालना गर्दै प्रचार–प्रसारमा जुट्न आग्रह गर्नुभयो । उहाँले कांग्रेसलाई कुनै शक्तिले हराउन नसक्ने उल्लेख गर्दै पार्टीले विगतमा गरेका काम र योगदानबारे स्थानीय तहमा जनतालाई स्पष्ट रूपमा बुझाउन आवश्यक रहेको बताउनुभयो।

उम्मेदवार रिजालले यसपालि हुने निर्वाचनलाई आफ्नो अन्तिम राजनीतिक लडाइँको रूपमा लिएको उल्लेख गर्दै आगामी निर्वाचनका लागि युवा तथा नयाँ नेतृत्वलाई संसद् चुनावका लागि तयारी गर्न समेत आह्वान गर्नुभयो।

सम्पन्न बैठकले क्षेत्रिय सभापति श्रीकान्त प्रसाद यादवकाे संयाेजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति पनि गठन गरेकाे छ ।

क्षेत्रीय सभापति यादवको अध्यक्षतामा सम्पन्न बैठकमा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी, पार्टीका मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सह–सचिव नविन सिंह, नेता बशिष्ठ नारायण कुर्मीलगायतका वक्ताहरूले कांग्रेसलाई विजयी बनाउन आ–आफ्नो ठाउँबाट सक्रिय रूपमा लाग्न आग्रह गरेका थिए।

बैठकमा आगामी निर्वाचनको रणनीति, संगठन सुदृढीकरण र स्थानीय स्तरमा पार्टीको जनाधार विस्तार गर्ने विषयमा समेत छलफल भएको क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

वीरगंजमा माघ १५–१७ गतेसम्म मधेश साहित्य महोत्सव, तयारी अन्तिम चरणमा

0

वीरगंज । मधेश साहित्य महोत्सवको दोस्रो संस्करण यस वर्ष पनि वीरगंजमा आयोजना हुने भएको छ। यही माघ १५, १६ र १७ गते वीरगंजस्थित मधेश विश्वविद्यालय परिसरमा आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था उत्कर्ष नेपालले जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै उत्कर्ष नेपालका अध्यक्ष रितु राज पटेलले मधेश साहित्य महोत्सव केवल उत्सव मात्र नभई साझा सांस्कृतिक आन्दोलनका रूपमा स्थापित हुँदै गएको बताए । उनले पहिलो संस्करणले अभूतपूर्व सहभागिता, सकारात्मक ऊर्जा र सार्वजनिक स्वामित्व देखाएको उल्लेख गर्दै मधेश र समग्र नेपालका विविध भाषा, पहिचान र संस्कृतिलाई जोड्ने मञ्चका रूपमा महोत्सव विकसित हुँदै गएको धारणा राखे।

“पहिलो संस्करणको सफलताले हामीलाई स्पष्ट सन्देश दियो—मधेश साहित्य महोत्सव केवल कार्यक्रम होइन, यो आवश्यकता थियो,” उनले भने, “त्यही विश्वासका साथ दोस्रो संस्करण (एमएलएफ २०२६) लाई अझ गहिरो, समावेशी र समुदाय–आधारित बनाउँदै अघि बढिरहेका छौं।”

मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले विविध चुनौती र विषम परिस्थितिका बाबजुद पनि वीरगंज साहित्य र संस्कृतिको उत्सव मनाउन तयार रहेको बताए । उनले वीरगंज बिस्तारै मधेश र समग्र नेपाललाई जोड्ने ‘कनेक्टिङ पोइन्ट’ बन्दै गएको उल्लेख गर्दै देशभरिका स्रष्टा, कलाकार, चिन्तक र युवाहरूको साझा भेटस्थलका रूपमा विकसित हुँदै गएको धारणा व्यक्त गरे ।

आयोजक संस्थाका जय साहले यस संस्करणमा विद्यालय–कलेजका विद्यार्थी, युवा, महिला, दलित तथा सीमान्तकृत समुदाय, नागरिक समाज र स्थानीय संस्थाहरूलाई केन्द्रमा राखिएको जानकारी दिए । उनका अनुसार महोत्सवपूर्व आयोजना हुने ‘एमएलएफ ट्यालेन्ट हन्ट’ मार्फत नयाँ पुस्ताका सिर्जनशील आवाजलाई सार्वजनिक मञ्च प्रदान गरिनेछ।

महोत्सव सफल बनाउन वीरगंज महानगरपालिका, मधेश विश्वविद्यालय, मधेश प्रदेश सरकारसहित निजी तथा गैर–निजी संघसंस्था र नागरिक समाजको महत्वपूर्ण सहयोग रहने आयोजकको भनाइ छ। उत्कर्ष नेपालले सम्पूर्ण सञ्चारमाध्यम, साहित्यप्रेमी, युवा, कलाकार तथा नागरिक समाजलाई महोत्सवमा सहभागी भई मधेशको कथा, स्वर र सपनालाई एकै मञ्चमा जोड्न आग्रह गरेको छ।

आयोजक संस्थाकी सलमा खातुनका अनुसार महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन सत्र महोत्सवका संरक्षक तथा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न हुनेछ ।

महोत्सवका सल्लाहकार गणेश लाठका अनुसार कार्यक्रम ‘बीज पत्र–गाउँ: स्मृति, मिथक र यथार्थ’ विषयक सत्रबाट डा. भास्कर गौतमद्वारा सुरुवात गरिने छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा १६ सत्र रहनेछन्, जहाँ यस वर्ष विशेष रूपमा गाउँघरका समस्या र स्थानीय कलाकारलाई प्राथमिकता दिइएको छ।

महोत्सवको मुख्य आकर्षणका रूपमा यस वर्ष विशेष सांगीतिक साँझ आयोजना गरिनेछ, जसमा भारतकी प्रख्यात भोजपुरी गायिका कल्पना पटवारीसहित स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। दर्शकको सम्भावित भीडलाई ध्यानमा राख्दै उक्त सांस्कृतिक साँझ वीरगंजको आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजना गरिने आयोजकले जनाएको छ।

आयाेजक संस्थाका अध्यक्ष रितु राज पटेलकाे अध्यक्षतामा मधेश विश्वविद्यालयको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष गणेश लाठ, भोजपुरी प्रतिष्ठानका श्याम सर्राफलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्याब्सन मेडिसिटी टी–२० क्रिकेटमा जीवनज्योति, मनकामना र वीरगंज स्कूल विजयी

0

वीरगंज । प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत पाँचौँ दिन तीन खेल सम्पन्न भएका छन्। सम्पन्न खेलहरूमा जीवनज्योति मावि, मनकामना एकेडेमी र वीरगंज स्कूलले प्रभावशाली जित हात पारेका छन्।

पहिलो खेलमा जीवनज्योति माविले रोयल एकेडेमीलाई ६९ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको जीवनज्योतिले विकेट नखसाली १३० रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको रोयल एकेडेमी ६६ रनमै अलआउट भयो। जीवनज्योतिका सागर यादवले ७८ रनको उत्कृष्ट इनिङ खेलेर म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा मनकामना एकेडेमीले न्यु वेभलाई ११४ रनको फराकिलो अन्तरले हरायो। न्यु वेभले टस जितेर बलिङ रोजे पनि मनकामनाले १५ ओभरमा १ विकेटको क्षतिमा १५५ रन बनायो। जवाफमा न्यु वेभ ९ विकेट गुमाउँदै मात्र ४१ रनमा सीमित भयो। ६९ रनको योगदान दिएका रैहान आलम म्यान अफ द म्याच बने।

तेस्रो खेलमा बीरगन्ज स्कूलले सफ्फाह आइडियललाई ७७ रनले पराजित गर्‍यो। टस जितेर बलिङ रोजेको सफ्फाह आइडियलविरुद्ध बीरगन्ज स्कूलले १५ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनायो। जवाफमा सफ्फाह आइडियल ११.३ ओभरमै ४५ रनमा अलआउट भयो। बीरगन्ज स्कूलका अनिष कुमार पटेल ३९ रनसहित म्यान अफ द म्याच घोषित भए।

यसैबीच, प्याब्सन जुनियर फुटबल प्रतियोगिताको चौथो दिन पनि रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। पहिलो खेलमा नवदीप एकेडेमीले नेशनल मोडेल स्कूललाई ३–० गोलले पराजित गर्‍यो, जहाँ आशिष साह म्यान अफ द म्याच बने।

दोस्रो खेलमा साउथ जोन र लिटल फ्लावरबीचको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा साउथ जोनले ४–२ गोलले जित निकाल्यो। साउथ जोनका गोलकिपर नविन यादव म्यान अफ द म्याच घोषित भए।

तेस्रो खेलमा विकन माविले ज्ञानदा एकेडेमीलाई ४–० गोलले पराजित गर्‍यो। उक्त खेलमा सफ्रोज मियाँ म्यान अफ द म्याच बने। चौथो खेलमा सफल एकेडेमीले गौतम माविलाई १–० गोलले हराउँदै लक्की चौधरी म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताबारे जानकारी प्याब्सन जिल्ला वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सुशीला साहले दिनुभएको हो ।

युवालाई स्वरोजगार बनाउने प्रतिबद्धतासहित सरार्फको घरदैलो अभियान

0

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ स्थित चोर्नी टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगन्ज औद्योगिक नगरी भए पनि यहाँका युवाहरू बेरोजगारीको समस्याले ग्रसित भई रोजगारीका लागि बाहिर पलायन हुनुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। आफू निर्वाचित भए यस क्षेत्रका एक जना युवा पनि बेरोजगार नरहने गरी स्वरोजगार सिर्जनाका लागि विशेष पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

उहाँले निकास र विकासका लागि जनमत पार्टी र पार्टीको चुनाव चिन्ह ‘हर्न’ नै एकमात्र विकल्प रहेको उल्लेख गर्दै सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आग्रह गर्नुभयो।

कार्यक्रममा पार्टीका नेता बिध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सीए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, शिव यादवलगायतको उपस्थिति रहेको थियो। साथै स्थानीय युवाहरू दिलिप पासवान, दिनेश हजरा, सरोज पटेलसहित सयौंको संख्यामा कार्यकर्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार सरार्फले स्थानीयवासीका समस्या र सुझावहरू सुन्दै युवामैत्री, रोजगारीमुखी र विकासकेन्द्रित राजनीति आफ्नो प्राथमिकता रहने स्पष्ट पार्नुभएको थियो।

रास्वपाकाे पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ। उक्त भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक तथा चुनावी रणनीति, साथै क्षेत्रका विविध जनसमस्याका विषयमा व्यापक छलफल गरिएको पार्टी स्रोतले जनाएको छ।

भेलामा सहभागी अगुवा नेता तथा कार्यकर्ताहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी तथा उत्तरदायी राजनीतिक अभ्यासलाई पार्टीको मूल एजेन्डा बनाउँदै नागरिकको आवाज सशक्त रूपमा संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। वक्ताहरूले परम्परागत राजनीति नागरिकमैत्री हुन नसकेको टिप्पणी गर्दै अब नयाँ सोच र कार्यशैली आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनलाई अझ प्रभावकारी बनाउने, जनसम्पर्क विस्तार गर्ने, नयाँ कार्यकर्तालाई सक्रिय रूपमा समेट्ने तथा पुराना कार्यकर्तासँग समन्वय मजबुत बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै पार्टीको नीति, सिद्धान्त र कार्यदिशाबारे स्पष्ट धारणा राख्दै आगामी दिनमा जनतामाझ पुग्ने रणनीतिबारे समेत छलफल गरिएको थियो।

भेलामा पर्सा–२ क्षेत्रका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले नीतिगत, जवाफदेही र परिणाममुखी राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सोही दिशामा अघि बढिरहेको बताए।

त्यसैगरी, आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवार सुशिल साह कानुलाई विजय गराउने रणनीतिबारे गम्भीर छलफल भएको जनाइएको छ। निर्वाचनमा पार्टीको पकड मजबुत बनाउने, घरदैलो अभियानलाई प्रभावकारी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने विषयमा कार्ययोजना तयार गरिएको बताइएको छ।

भेलाको अवसरमा नयाँ तथा पुराना कार्यकर्ताबीच आपसी परिचय र समन्वय विस्तार हुनुका साथै संगठनात्मक एकता थप मजबुत भएको सहभागीहरूले बताएका छन्। पार्टीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै स्थानीय स्तरमै नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जनआधारित राजनीति अघि बढाउने जनाएको छ।

पर्सा–१ मा कांग्रेसका उम्मेदवार अनिल रुंगटालाई जिताउन मुस्लिम संघको भेला सम्पन्न

0

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल मुस्लिम संघ पर्साले पर्सा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटालाई विजयी गराउने उद्देश्यसहित चुनावी भेला सम्पन्न गरेको छ।

नेपाल मुस्लिम संघ पर्साको आयोजनामा सम्पन्न उक्त भेलामा अगामी निर्वाचनमा पर्सा क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवार रुंगटालाई अत्यधिक मतले विजयी गराउन मुस्लिम समुदाय एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलमले पर्सा क्षेत्र नं. १ बाट कांग्रेस उम्मेदवार अनिल कुमार रुंगटालाई जिताउनु सम्पूर्ण क्षेत्रवासीको हितमा हुने बताउनुभयो। “अनिल रुंगटा विकास पुरुषका रूपमा परिचित नेता हुनुहुन्छ। उहाँको जित पर्सा–१ का जनताको जित हो,” उहाँले भन्नुभयो। क्षेत्रको विकासका लागि आवश्यक सबै काम उहाँले गर्नेमा आफू विश्वस्त रहेको पनि आलमले उल्लेख गर्नुभयो।

त्यसैगरी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले हुन लागेको निर्वाचनमा मुस्लिम समुदायको भूमिका निर्णायक रहने बताउनुभयो। “अनिल रुंगटाको जीतले पर्सा क्षेत्र नं. १ का सम्पूर्ण बासिन्दाहरू लाभान्वित हुनेछन्,” उहाँले भन्नुभयो।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार रुंगटाले आफू निर्वाचित भएमा क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “यस क्षेत्रका समस्या मेरा आफ्नै समस्या हुन्। ती समस्याहरू समाधान गर्न म सम्बन्धित निकायसम्म आवाज बुलन्द गरेर बोल्नेछु,” उहाँले भन्नुभयो। विगतमा देखिएका कठिनाइहरू समयमै समाधान गर्ने, जनताको अधिकारका लागि संसद्मा आवाज उठाउने र आवश्यक परे जनतासँग काँधमा काँध मिलाएर अघि बढ्ने उहाँको प्रतिबद्धता थियो।

कार्यक्रममा उपस्थित जनसमुदायले एक स्वरमा अनिल कुमार रुंगटालाई विजयी बनाउने नारा लगाएका थिए। स्थानीय मुस्लिम समुदायले आफ्नो मत नेपाली कांग्रेसलाई दिने जनाएका थिए।