Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 153

पर्सा–४ मा एमालेका पटेलसहित १०० भन्दा बढी कांग्रेसमा प्रवेश

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत जिराभवानी गाउँपालिकाका मुकेश पटेल नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पटेलसहित एक सयभन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा समाहित भएको क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवले जानकारी दिए । नवप्रवेशीहरूलाई कांग्रेसका उम्मेदवार रमेश रिजालले पार्टीमा स्वागत गरेका थिए।

यसैगरी कांग्रेस प्रवेश गर्नेमा जगरनाथपुर गाउँपालिका वडा नं. ५ का धर्मेन्दर यादव, शम्भु यादवलगायतका रहेका छन् । स्थानीय तहमा विभिन्न दलका नेता–कार्यकर्ताको कांग्रेसप्रति आकर्षण बढ्दै गएको दाबी कांग्रेसले गरेको छ ।

यसअघि शुक्रबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका जिल्ला अध्यक्ष रामचन्द्र पंडित तथा नेता चन्द्रिका सोनार पनि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनीहरूलाई कांग्रेस नेता एवं पर्सा–४ का उम्मेदवार रमेश रिजालले आफ्नै निवासमा टीका तथा अबीर लगाएर स्वागत गरेका हुन्।

पंडित र सोनारसहित करिब १५० भन्दा बढी समर्थक तथा लोसपाका नेता–कार्यकर्ताहरू कांग्रेसमा समाहित भएको बताइएको छ। यस प्रवेशसँगै पर्सा निर्वाचन क्षेत्र नं. ४ मा पार्टी थप बलियो बनेको उम्मेदवार रिजालले दाबी गरे।

आदर्शनगर घटनामा दुई भारतीयसहित ६ जनाविरुद्ध ज्यान मार्ने र आपराधिक उपद्रव मुद्दा

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा छापामारीका क्रममा प्रहरी टोलीमाथि आक्रमण भएको घटनामा संलग्न दुई भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव आरोपमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगंज–१० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, वीरगंज–१ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, भारत मोतीहारी रक्सौलका ४० वर्षीय प्रभु महतो, भारत भागलपुरका ३५ वर्षीय पृतम कुमार चौधरी तथा पर्सा विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भन्सार छली गरी भित्र्याइएका सामानहरू अनाधिकृत रूपमा भण्डारण गरिएको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल र वीरगंज भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोली उक्त गोदाममा पुगेको थियो । सो क्रममा टोलीमाथि ढुंगा–मुडा प्रहार हुनुका साथै सवारी साधन तोडफोड गरिएको प्रहरीले जनाएको छ।

घटनामा ३ जना सशस्त्र प्रहरी घाइते भएका थिए । आक्रमणका क्रममा सशस्त्र प्रहरीका दुई वटा गाडीमा तोडफोडसमेत भएको थियाे ।

घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

“म झुठो भाषण र आश्वासन दिन्न, यहाँको जीवनस्तर उकास्ने काम गर्छु” : उम्मेदवार रुपेश पाण्डेय

0

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–१ सिधपुर अकवनियामा नेकपा एमालेको कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलालाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रुपेश कुमार पाण्डेयले आफू निर्वाचित भए जनताको जीवनस्तर उकास्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवार पाण्डेयले “ठूला–ठूला भाषणभन्दा काममा विश्वास गर्ने” बताउँदै कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने धारणा राखे। उनले आगामी दिनमा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको समग्र सुधारका लागि एमालेको जित आवश्यक रहेको उल्लेख गरे।

“स्थानीय तहदेखि केन्द्रसम्म विकासको गति बढाउन नेकपा एमालेको नेतृत्व अपरिहार्य छ,” उनले भने, “त्यसैले आगामी निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न आग्रह गर्दछु।”

कार्यक्रममा पूर्व मन्त्री तथा एमाले नेता प्रमोद जैसवाल, सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जसवाललगायत स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीयले उम्मेदवार पाण्डेयलाई स्वागत गर्दै क्षेत्र विकासप्रति सकारात्मक अपेक्षा व्यक्त गरेका छन्।

उम्मेदवार पाण्डेयले चुनावी अभियानलाई थप तीव्र बनाउँदै जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता पनि जनाएका छन्।

कालिकामाईका विभिन्न वडामा रमेश रिजालको घरदैलो, विकास एजेन्डामा जोड

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले आफ्नो चुनावी प्रचार अभियानलाई निरन्तरता दिँदै आज कालिकामाई गाउँपालिका वडा नम्बर–४ कट्टी बालुवा तथा वडा नम्बर–३ हरिहरपुर बिर्ता क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। उनले विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतिबद्धता व्यक्त गरे।

स्थानीय बासिन्दाले आफ्नो टोलमा उम्मेदवार रिजाललाई स्वागत गर्दै आगामी निर्वाचनमा सहयोग गर्ने विश्वास दिलाएका छन्। रिजालले जनताको साथ र समर्थनले आफूलाई थप उत्साहित बनाएको बताउँदै परिवर्तन र विकासका लागि मतदान गर्न आग्रह गरे।

उनको घरदैलो अभियान आगामी दिनहरूमा क्षेत्रका अन्य वडाहरूमा पनि निरन्तर जारी रहने जनाइएको छ।

कार्यक्रममा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दी, अजय पटेल, राधाकिशुन चौधरी लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेताहरूले गाउँ–गाउँमा बढ्दो सहभागिताले कांग्रेसको अभियान थप बलियो बन्दै गएको दाबी गरेका छन्।

वीरगंज–२४ बहुअरीमा एमालेको घरदैलो, उम्मेदवार रिमालाई उत्साहजनक स्वागत

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगंज महानगरपालिका–२४ बहुअरीमा आज नेकपा एमालेको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। घरदैलोका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार रिमा कुमारी यादवलाई फुलमाला र अबिर–टिका लगाएर स्वागत गर्दै सम्मान प्रकट गरेका थिए।

टोल–टोलमा पुगेकी यादवप्रति मतदाताले खुला समर्थन जनाउँदै “रिमा यादव लक्ष्मीको स्वरुप हुन्, उनको जित निश्चित छ” भन्ने नारासहित उत्साह देखाएका थिए। स्थानीयले उनलाई दही र मिठाई खुवाएर सगुनका रूपमा शुभकामना व्यक्त गरेका थिए।

घरदैलोका क्रममा यादवले स्थानीयका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुनेकी थिइन्। उनले भाषणभन्दा काममा विश्वास गर्ने नेतृ भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भनिन्। साथै, महिलाको आवाज सदनसम्म पुर्‍याउन फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरिन्।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा नम्बर–२४ का वडा अध्यक्ष विजय कुर्मी, वडा नम्बर–२३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहा, युवा नेता मुकेश द्विवेदी लगायत अजय साह, पिन्टु उपाध्याय, अमल यादव, प्रधुमन यादव, बिकी सिंह सहित स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

झिंगना टोलमा सुशील कुमार कानुको घरदैलो: स्थानीय समस्याको समाधानमा प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ५ झिंगना टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु को घरदैलो कार्यक्रम निरन्तरतासहित सम्पन्न भएको छ। कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको ठूलो संख्यामा सहभागिता र उत्साहजनक समर्थन देखिएको थियो।

घरदैलोमा स्थानीयवासीले यसपटकको निर्वाचनले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गर्दै उम्मेदवार कानुलाई समर्थन जनाए। उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवार कानुले पसरागढीमा अस्पताल र स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकहरूलाई समयमै मल र सिंचाइको सुविधा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने बताए। साथै बेरोजगार युवालाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारीको अवसर सिर्जना गरिने योजना अघि सार्दै उनले निर्वाचित भएसँगै यी समस्याहरू चरणबद्ध रूपमा समाधान गर्ने वचन दिएका छन्।

सेमरा टोलको विष्णु महायज्ञमा दलित सहभागिता विवाद, प्रशासनमा उजुरी

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

वीरगंज । पर्साको कलिकामाई गाउँपालिका वडा नम्बर ५ सेमरा टोलमा आउँदो फाल्गुन ६ गतेदेखि हुने विष्णु महायज्ञमा दलित समुदायलाई पूजा कार्यक्रममा सरिक नगराइएको आरोप लागेपछि स्थानीय दलितहरू आक्रोशित भएका छन्।

दलित अगुवा कमलेश पासवान का अनुसार महायज्ञमा २५ जना पूजा बस्ने निर्णय भएपछि दलित समुदायबाट ५ जनाको नाम प्रस्ताव गरिएको थियो। तर, ती नाम समावेश नगरिएपछि विवाद सिर्जना भएको उनले बताए।

स्थानीय दलित समुदायले आफूहरू पनि हिन्दू धर्मावलम्बी भएको उल्लेख गर्दै नेपालका संविधानले जातीय विभेदलाई दण्डनीय व्यवस्था गरेको स्मरण गराएका छन्। यज्ञका सभापतिसहित आयोजक पक्षले पूजा बसाउन नमानेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरिएको जनाइएको छ।

दलित अगुवाहरूका अनुसार यज्ञका सभापति जयबालकसहित सम्बन्धित व्यक्तिविरुद्ध उजुरी परेको छ। यद्यपि, समस्या समाधानका लागि हालसम्म कुनै प्रभावकारी पहल नभएको र आफूहरू यज्ञबाट वञ्चित हुने अवस्था देखिएको उनीहरूको गुनासो छ।

स्थानीय बासिन्दाहरूले कानुन कार्यान्वयन र सामाजिक सद्भाव कायम गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने बताएका छन्। जातीय विभेदसम्बन्धी विषयमा प्रशासन मौन बस्नु दुःखद भएको उनीहरूको भनाइ छ।

डोकैला र बहुअरीमा नेकपाका मनोज चौधरीको जनता दर्शन कार्यक्रम

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी ले बहुरमाई नगरपालिका वडा नं. ४ अन्तर्गत डोकैला र बहुअरीमा घरदैलो एवं ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा गाउँ–वस्तीमा पुगेर चौधरीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या पहिचान गरी निर्वाचित भएलगत्तै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

डोकैलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार चौधरीले जनताको समर्थन र सहयोगले आफू उत्साहित भएको बताए। घरदैलो कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नगेन्द्र चौधरी, रामचन्द्र साह, किशोरी कुश्वाहा, बृजलाल पासवान,नेता विपिन यादव, बिरेन्द्र यादव, सोम लामा, रामेश्वर मण्डल, दीपेन्द्र सिंह पटेल तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

घरदैलोमा सहभागी नेताहरूले नेकपा समाजवादी आन्दोलनमा रहेको उल्लेख गर्दै अभियानमा डोकैला र बहुअरीवासीको साथ र सहयोग पाउनेमा आशावादी रहेको बताए। कार्यक्रममा विकास, रोजगारी र आधारभूत सेवासम्बन्धी विषयमा मतदातासँग छलफलसमेत गरिएको थियो।

एकटाँगामा अशाेक टेमानीको घरदैलो: मतदाताले खानेपानी, शिक्षा र स्वास्थ्यका समस्या सुनाए

0

वीरगंज । पर्सागढी नगरपालिकाको वडा नं. ९ एकटाँगा क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी ले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार टेमानी बुधबार एकटाँगा पुगेका हुन्।

घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै दैनिक जीवनसँग जोडिएका समस्या र अपेक्षाबारे जानकारी लिए। प्रत्यक्ष संवादमा स्थानीयले खानेपानी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका चुनौतीलाई प्रमुख रूपमा उठाएका थिए। ग्रामीण भेगमा पर्ने यस क्षेत्रमा आधारभूत सेवासमेत पर्याप्त रूपमा उपलब्ध नभएको उनीहरूको गुनासो थियो।

स्थानीयका अनुसार शुद्ध खानेपानीको समस्या अझै समाधान हुन सकेको छैन। कतिपय टोलमा धारा तथा पाइपलाइनको व्यवस्था कमजोर रहेको र गर्मी याममा पानीको अभाव झनै गम्भीर हुने गरेको बताइएको छ। दैनिक उपभोगका लागि समेत पानी जुटाउन कठिनाइ हुने अवस्था रहेको उनीहरूले बताएका छन्।

शिक्षा क्षेत्रको अवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ। सामुदायिक विद्यालयमा शिक्षक अभाव, कमजोर भौतिक संरचना तथा आवश्यक शैक्षिक सामग्रीको कमीका कारण बालबालिकाको पढाइ प्रभावित भइरहेको स्थानीयको भनाइ छ। माध्यमिक तहपछि पढाइ जारी राख्न विद्यार्थीलाई टाढा जानुपर्ने बाध्यता रहेको उल्लेख गरिएको छ।

स्वास्थ्य सेवाको अवस्था पनि कमजोर रहेको भन्दै स्थानीयले सामान्य उपचारका लागि समेत टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको बताएका छन्। स्वास्थ्य चौकीमा आवश्यक औषधि, उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले समयमै सेवा पाउन नसकेको गुनासो गरिएको छ। आकस्मिक अवस्थामा एम्बुलेन्स र तत्काल उपचारको पर्याप्त व्यवस्था नहुँदा थप समस्या हुने गरेको उनीहरूको भनाइ छ।

कृषि क्षेत्रमा किसानहरूले समयमा मल र उन्नत बीउ नपाउने, सिँचाइको अभावले उत्पादन घट्ने तथा उत्पादित बालीले उचित मूल्य नपाउने समस्या रहेको बताएका छन्। कृषि मुख्य पेशा भए पनि आवश्यक पूर्वाधार र सहयोगको कमीले जीवनयापन कठिन हुँदै गएको गुनासो गरिएको छ।

स्थानीयको समस्या सुनेपछि उम्मेदवार टेमानीले आफू निर्वाचित भएमा खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ग्रामीण क्षेत्रको विकास बिना समग्र क्षेत्रको समृद्धि सम्भव नभएको उल्लेख गर्दै जनताका आधारभूत आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए।

घरदैलो कार्यक्रमका क्रममा बृद्धदेखि युवासम्मको उल्लेखनीय सहभागिता देखिएको थियो। चुनाव नजिकिँदै जाँदा गाउँ–गाउँमा राजनीतिक गतिविधि र मतदाताबीच चासो बढ्दै गएको स्थानीयले बताएका छन्।

पर्सा–४ मा लोसपा पर्साका अध्यक्ष पंडित र नेता सोनार कांग्रेसमा प्रवेश

0

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका जिल्ला अध्यक्ष रामचन्द्र पंडित तथा नेता चन्द्रिका सोनार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई नेपाली कांग्रेसका नेता एवं पर्सा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजाल ले आफ्नै निवासमा टीका तथा अबीर लगाएर स्वागत गरेका हुन्।

पंडित र सोनारसहित करिब १५० भन्दा बढी समर्थक तथा लोसपाका नेता–कार्यकर्ताहरू समेत नेपाली कांग्रेसमा समाहित भएका छन्। यस प्रवेशसँगै पर्सा निर्वाचन क्षेत्र नं. ४ मा पार्टी थप बलियो बनेको नेता रिजालले दाबी गरे।

पार्टी प्रवेश कार्यक्रमपछि आयोजित भेटघाट तथा छलफलमा नेता रिजालले क्षेत्र नं. ४ मा नेपाली कांग्रेस दिनप्रतिदिन मजबुत हुँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।

नवप्रवेशी नेताहरूले नेपाली कांग्रेसको विचार र सिद्धान्त जनमुखी रहेको बताउँदै मधेशवादी दलमा रहेर मधेशको हकहित र विकासका लागि प्रभावकारी रूपमा काम गर्न कठिन भएको अनुभवका आधारमा कांग्रेस रोजेको स्पष्ट पारे ।

उनीहरूले पर्सा निर्वाचन क्षेत्र नं. ४ मा नेता रिजालको विकल्पमा अन्य उम्मेदवार नरहेको उल्लेख गर्दै कांग्रेसको जित सुनिश्चित हुने विश्वाससमेत व्यक्त गरेका छन् । पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सह सचिव नविन सिंह, क्षेत्रिय सभापति श्रीकान्त यादव लगायतकाे समेत उपस्थिती रहेकाे थियाे ।