Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 152

पर्सा–२ अलौमा एमाले उम्मेदवार रिमा यादवको घरदैलो, स्थानीयको उत्साहजनक समर्थन

0

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा शनिबार वीरगंज महानगरपालिका–१७ अलौमा आयोजित घरदैलो कार्यक्रम केवल राजनीतिक अभियान मात्र नभई उम्मेदवार र जनताबीचको आत्मीय मिलनको उत्सव जस्तै बन्यो ।

घरदैलोका क्रममा टोल–टोलमा पुगेकी रिमा कुमारी यादवलाई स्थानीय आमा–दिदीबहिनी र वृद्धवृद्धाहरूले “लक्ष्मीको स्वरूप” भन्दै खुलेर समर्थन जनाए । मतदाताहरूले उनलाई फूलमाला र अबिर मात्र होइन, जितको शुभकामना स्वरूप दही र मिठाई (सगुन) खुवाएर सम्मान पनि प्रकट गरे।

यादवले भाषणमा व्यस्त नेताहरूको विपरीत स्थानीयका समस्या र गुनासो ध्यानपूर्वक सुन्दै भनिन्, “म भाषणमा होइन, काममा विश्वास गर्छु। तपाईँहरूले दिनुभएको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।” उनले महिलाको आवाज सदनसम्म पुर्‍याउने र शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीमा ठोस परिवर्तन ल्याउन फागुन २१ गते ‘सूर्य’ चिह्नमा मतदान गर्न आग्रह गरिन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा नम्बर–१७ का वडा अध्यक्ष संजु छत्कुली, युवा नेताहरू मुकेश द्विवेदी, अजय साह, पिन्टु उपाध्याय, अमल यादव, प्रधुमन यादव र विकी सिंह सहित समर्थकहरूको ठूलो उपस्थिति रहेकाे थियाे ।

पर्सा–४ को कालिकामाईमा कांग्रेस उम्मेदवार रमेश रिजालको घरदैलो, उत्साहजनक सहभागिता

0

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत कालिकामाई गाउँपालिकाका वडा नं. १ मुडली र वडा नं. ५ बिरन्चीबार्वामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्र नम्बर–४ को विकास अझ तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै उज्ज्वल भविष्यका लागि नेपाली कांग्रेसलाई विकासको सम्वाहकका रूपमा विश्वास गर्न आग्रह गरे।

रिजालले स्थानीयवासीसँग मत माग्दै लोकतान्त्रिक मूल्य र स्थायित्वका लागि कांग्रेसलाई समर्थन गर्नुपर्ने धारणा राखेका छन्। कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

घरदैलो अभियानलाई निरन्तरता दिँदै रिजालले आगामी दिनमा पनि विभिन्न गाउँ–टोलमा मतदाता भेटघाट गर्ने योजना रहेको बताए। कार्यक्रममा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्धन सिंह क्षेत्री, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्सा प्रवक्ता रमेश पाण्डे, जिल्ला सह सचिव नविन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव लगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

पर्सा–२ मा जसपा उम्मेदवार अशोक टेमानीको घरदैलो, ग्रामीण विकास र युवालाई प्राथमिकता

0

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले घरदैलो अभियान तीव्र पार्दै वीरगंज महानगरपालिका वडा नम्बर–२५ का मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोका क्रममा टेमानीले स्थानीयवासीको समस्या, आवश्यकता र अपेक्षाबारे विस्तृत जानकारी लिएका थिए। उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत सेवामा पहुँच अभावले ग्रामीण क्षेत्रका बासिन्दा अझै समस्या भोग्न बाध्य भएको भन्दै ती समस्याको समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय कृषकहरूले मल, बीउ र सिँचाइ सुविधा नपाउँदा उत्पादन घटेको, स्वास्थ्य सेवा पहुँच कमजोर रहेको र विद्यालयमा पूर्वाधारको कमी भएको गुनासो गरेका थिए। टेमानीले यी समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम गर्ने बताए।

यसैक्रममा वडा नं. २५ का करिब १५० जना युवाहरू जनता समाजवादी पार्टी मा प्रवेश गरेका छन्। नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उम्मेदवारले युवाको सक्रिय सहभागिताले पार्टी र अभियानलाई ऊर्जा दिएको उल्लेख गरे।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले आफ्ना समस्या सुन्न उम्मेदवार आएकोमा सकारात्मक प्रतिक्रिया दिएका थिए। टेमानीले आगामी दिनमा पनि क्षेत्रका विभिन्न वडामा प्रत्यक्ष संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

पर्सा–२ मा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो, समावेशी विकास र रोजगारीमा प्रतिबद्धता

0

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–२७ उदयपुर घुर्मीस्थित कुहडी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।

कार्यक्रममा उम्मेदवार कानुले जेष्ठ नागरिक, युवा र स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै रास्वपा नेतृत्वमा मात्र क्षेत्रका पिछडिएका वर्ग, शिक्षक तथा आम नागरिकको पहुँच सुधार सम्भव हुने विश्वास व्यक्त गरे। उनले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर स्थायी तथा दिगो रोजगारीको व्यवस्था गर्ने प्राथमिकता रहेको बताए।

कानुले विकास, रोजगारी, शिक्षा र कृषिलाई मुख्य एजेन्डा बनाएर जनताको आवश्यकता र चाहनाअनुसार नीतिगत तथा व्यवहारिक रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनले समावेशी विकास, सुशासन र अवसर सिर्जनामा आधारित राजनीतिको पक्षमा रास्वपा दृढतापूर्वक उभिएको उल्लेख गरे।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले परिवर्तनमुखी एजेन्डा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजयी गराउन एकजुट भई समर्थन जनाएका थिए।

पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो, विकास र सुशासनमा प्रतिबद्धता

0

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १२ र १३ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव ले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा यादवले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै दैनिक जीवनसँग सम्बन्धित समस्या, सुझाव र अपेक्षाहरू सुने। उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सामाजिक पूर्वाधार र रोजगारी सिर्जनामा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

विगतमा निर्वाचित सांसद र मन्त्रीको रूपमा पर्सा जिल्लामा गरेको विकास कार्यको स्मरण गर्दै यादवले सडक सुधार, खानेपानीको सहज पहुँच, विद्यालय र स्वास्थ्य संस्थाको विकास तथा सामाजिक कल्याण योजनाहरू सफलतापूर्वक कार्यान्वयन भएको बताए। उनले आगामी दिनमा थप दिगो र समावेशी विकास कार्यको आधार तयार भएको दाबी गरे।

साथै उनले एमालेको चुनावी एजेन्डालाई स्पष्ट गर्दै विकास, सुशासन, स्वास्थ्य र शिक्षामा सुधार, स्थानीय रोजगार सिर्जना, आर्थिक समृद्धि र महिला तथा सामाजिक समूहहरूको संरक्षणमा जोड दिए।

“हामी विकास, सुशासन र समृद्धिको यात्रालाई निरन्तरता दिनेछौँ। सबैले सूर्य चिन्हमा मतदान गरेर एमालेलाई समर्थन गर्नुपर्छ,” यादवले भने।

घरदैलो कार्यक्रममा नेकपा (एमाले) का नेता, कार्यकर्ता र स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पहिलो ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ सुभाष कुमार बैठालाई प्रदान गरिने

0

वीरगंज। लेखक दिनेश गुप्ताद्वारा स्थापित ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ को पहिलो वर्षको सम्मान भोजपुरी साहित्यका उदीयमान स्रष्टा सुभाष कुमार बैठालाई प्रदान गरिने भएको छ।

बैठाका भोजपुरी भाषामा प्रकाशित कृतिहरू ‘गांव’ (उपन्यास) र ‘लडाई जिनगी के’ (कविता संग्रह)ले साहित्य क्षेत्रमा विशेष चर्चा कमाएका छन्। निर्णायक मण्डलले ग्रामीण परिवेशप्रतिको गहिरो बुझाइ र भोजपुरी भाषामा रहेको पकडलाई उच्च मूल्यांकन गर्दै उनलाई पुरस्कारका लागि योग्य ठहर गरेको जनाएको छ।

पुरस्कारको घोषणा गर्दै गुप्ताले बैठाको मातृभाषाप्रतिको समर्पणको प्रशंसा गरे । उनले बैठाका कृतिहरूले समाजको यथार्थ चित्रण गर्दै भोजपुरी साहित्यलाई समृद्ध बनाएको उल्लेख गरे।

पुरस्कारको राशी तथा सम्मान समारोहको मिति छिट्टै सार्वजनिक गरिने जानकारी आयोजकले दिएका छन् ।

पर्सा–१ मा जनमत उम्मेदवार ओमप्रकाश सरार्फको घरदैलो, कृषि र किसान अधिकार प्राथमिकतामा

0

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका वडा नम्बर–१४ पिप्रामा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गरेका छन्।

भेटघाटका क्रममा नेता सरार्फले तराई–मधेसको मुख्य आयस्रोत कृषि भए पनि राज्यले किसानसँग विभेद गर्दै आएको आरोप लगाए। उनले किसानको सम्मान र अधिकार सुनिश्चित गर्न जनमत पार्टी सदैव तत्पर रहेको बताए। “खेतीपातीलाई आधुनिकीकरण र व्यवसायिक बनाउँदै आम्दानीका नयाँ स्रोत सिर्जना गर्ने स्पष्ट योजना जनमत पार्टीसँग छ,” उनले जिकिर गरे।

सरार्फले वीरगंजस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध रहने उल्लेख गरे। साथै, देश र मधेसको निकासका लागि उत्कृष्ट भिजन जनमत पार्टी र पार्टीका अध्यक्ष डा. सीके राउत सँग मात्र रहेको दाबी गर्दै ‘हर्न’ चुनाव चिह्नमा मतदान गर्न मतदातासँग अपिल गरे।

कार्यक्रममा विद्यालया प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सी राम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान लगायतका नेताहरूको सहभागिता रहेको थियो।

‘बैंक कालोसूची हल्ला मात्र, अतालिएर विपक्षीले प्रचार गरे’ : रुपेश पाण्डे

0

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ यतिबेला चुनावी सरगर्मीको केन्द्र बनेको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुद्दा, नेतृत्व र जनविश्वासको प्रश्नले यहाँको राजनीतिक बहसलाई नयाँ रूप दिएको छ ।

यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का युवा उम्मेदवार रूपेश कुमार पाण्डे परिवर्तनमुखी एजेन्डासहित मैदानमा छन् । चुनावी प्रतिस्पर्धासँगै उनीविरुद्ध सामाजिक सञ्जाल र केही अनलाइन माध्यममार्फत “ग्रिन कार्ड” तथा “बैंक कालोसूची” सम्बन्धी आरोपहरू सार्वजनिक भइरहेका छन् ।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार पाण्डेले आफू कुनै पनि बैंकको कालोसूचीमा नरहेको स्पष्ट पारे । आर्थिक तथा व्यक्तिगत विषयलाई चुनावी हतियार बनाइएको आरोप लगाउँदै उनले मतदातालाई तथ्यमा आधारित निर्णय गर्न आग्रह गरे। “राजनीति आरोपको होइन, दृष्टिकोण र कार्यक्रमको प्रतिस्पर्धा हुनुपर्छ,” उनले भने।

पाण्डे समर्थकहरूका अनुसार पर्सा–३ मा देखिएको युवा लहर र परिवर्तनको मागले परम्परागत शक्ति संरचनामा दबाब सिर्जना गरेको छ । २०४७ सालदेखि प्रभावमा रहेका पुराना राजनीतिक अभ्यासलाई चुनौती दिने प्रयासका रूपमा यो उम्मेदवारीलाई हेरिएको छ।

उता स्थानीय मतदाताहरूले चुनावी बहस व्यक्तिगत आरोपभन्दा पनि विकासका मुद्दामा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्। पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सुधारजस्ता विषयमा स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुपर्ने उनीहरूको अपेक्षा छ।

फागुन २१ गते हुने निर्वाचनले पर्सा–३ मा केवल प्रतिनिधि चयन गर्ने मात्र नभई नयाँ पुस्ताको नेतृत्वप्रति जनविश्वास कति मजबुत छ भन्ने संकेत पनि दिने देखिएको छ । चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा मतदाताको निर्णय नै अन्तिम निर्णायक बन्नेछ।

पर्सा–२ काे डकैलामा एमालेको सम्पर्क कार्यालय उद्घाटन, रिमालाई जिताउन प्रदिप यादवको आग्रह

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ४ डकैला बहुवारीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। एमाले बहुदरमाई नगरपालिकाका अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवले कार्यालयको उद्घाटन गरिन् ।

स्थानीय तहमा पार्टी संगठन सुदृढ गर्ने तथा जनतासँग प्रत्यक्ष समन्वय बढाउने उद्देश्यले कार्यालय स्थापना गरिएको उम्मेदवार यादवले जानकारी दिइन् । कार्यक्रममा बोल्दै उनले वडा तहसम्म संगठन बलियो बनाउँदै जनताको समस्या समाधानमा प्रत्यक्ष रूपमा काम गर्ने लक्ष्यका साथ सम्पर्क कार्यालय स्थापना गरिएको बताइन् । विकास, शिक्षा, रोजगारी तथा आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिने उनको भनाइ थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी पर्सा क्षेत्र नं. १ का उम्मेदवार एवं पूर्व मन्त्री प्रदिप यादवले आगामी निर्वाचनमा पर्सा २ की उम्मेदवार रिमालाई विजयी गराउन कार्यकर्ता र मतदातालाई एकजुट हुन आग्रह गरे । उनले क्षेत्रको समग्र विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावागी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह, युवा नेता मुकेश दुबेदी, लियाकत अली, अजय लगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

पर्सा–१ मा रास्वपाकाे चुनाव प्रचार तीव्र, बालेन साहको नामले मतदाताको आकर्षण

0

वीरगंज। पर्सा जिल्लामा टोलटोलका स्थानीयहरू स्वस्फूर्त रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरू खोज्दै पार्टी प्रवेश गर्न थालेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन साहको वीरगंज रोड शोपछि जिल्लामा रास्वपाप्रति आकर्षण ह्वात्तै बढेको बताइएको छ ।

यसैक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत शुक्रबार राति परवानीपुर र शनिबार बिहान भिस्वामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा ५०० भन्दा बढी पेशाकर्मी, अभियन्ता तथा समाजसेवी रास्वपामा प्रवेश गरेका छन् ।

परवानीपुरमा स्थानीय अभियन्ता प्रदीप साहको नेतृत्वमा शुक्रबार अबेर राति आयोजित कार्यक्रम तथा भिस्वामा कृष्ण श्रेष्ठ, सन्देश श्रेष्ठ र राजेश श्रेष्ठको नेतृत्वमा शनिबार बिहान सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई रास्वपा पर्सा जिल्ला सभापति एवं पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पन्तले पुराना दल र तिनका उम्मेदवारहरूलाई यसपालिको निर्वाचनमा बहिष्कार गर्न मतदातालाई आग्रह गरे।

त्यसैगरी, उम्मेदवार पन्तले गहवामा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग भेटघाट गरेका छन् । घरदैलोका क्रममा स्थानीयहरूले टीका, माला र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा उल्लेख्य स्थानीय सहभागिता रहेको जनाइएको छ।