Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 138

पर्सा–४ मा कांग्रेसकाे युवा भेलाः रमेश रिजाललाई जिताउने प्रतिवद्धता

0

वीरगंज । पर्सा क्षेत्र नं. ४ को मसिहानीमा नेपाली कांग्रेसका निकट युवाहरूको भव्य भेला सम्पन्न भएको छ। भेलामा सहभागी युवाहरूले कांग्रेसका उम्मेदवार रमेश रिजाललाई जिताउन दृढ प्रतिवद्धता जनाएका छन् ।

उम्मेदवार रिजालले भेला समपर्ण गर्दै युवाको उत्साह, ऊर्जा र प्रतिबद्धताले आफूलाई निकै उत्साहित बनाएको बताएका छन्। उनले देश र क्षेत्रको समृद्धिका लागि नेतृत्व अब युवाको हातमा सुदृढ बनाउनु आवश्यक रहेको बताए ।

रिजालले भने, “हामीले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छौँ। युवाशक्तिलाई उद्यम, सीप विकास र राजनीतिक नेतृत्वमा अगाडि ल्याउन विशेष योजना ल्याउने प्रतिबद्धता पनि दोहोर्याएको छु।”

भेलामा कांग्रेसका नेता सहरुम राउत गद्दी, राकेश यादव, नेवि संघ पर्साका अध्यक्ष रमेश यादव, क्षेत्रीय सचिव बलिष्ट अहमद, धर्मेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो।

यो भेला पर्सा–४ मा कांग्रेसका युवा नेतृत्वलाई सक्रिय बनाउने र आगामी निर्वाचनमा रमेश रिजालको विजय सुनिश्चित गर्ने एक महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरिएको छ।

श्रीपुरदेखि नगवासम्म हरि पन्तको घरदैलो: क्षेत्र नम्बर–१ मा रास्वपाको अभियान तीव्र

0

वीरगंज । वीरगंज महानगरपालिका–११ श्रीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन परिचालन समिति अध्यक्ष त्रिनेत्र गिरिको अध्यक्षतामा सम्पन्न घरदैलो कार्यक्रमले क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप तातेको छ। घरदैलो अभियानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्त स्वयं सहभागी भई मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।

श्रीपुर क्षेत्रमा आयोजित कार्यक्रमलाई स्थानीयबासीले उत्साहजनक रूपमा स्वागत गरेका थिए। घरदैलोका क्रममा उम्मेदवार पन्तले घर–घर पुगेर जनताका समस्या, अपेक्षा र सुझावहरू सुने। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता दोहोर्‍याए। “राजनीति परिवर्तनका लागि हो, अवसरका लागि होइन,” भन्दै उनले पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी वीरगंज महानगरपालिका–१६ अन्तर्गत नगवा, इनर्वा र फुलवारी टोल लगायतका क्षेत्रमा पनि व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ। वार्ड नम्बर–१६ का बासी चन्दन पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो। टोल–टोलमा पुगेका पन्तलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले साथ र समर्थन व्यक्त गरेका थिए।

घरदैलोका क्रममा स्थानीयले खानेपानी, सडक स्तरोन्नति, नाला व्यवस्थापन, युवाका लागि रोजगारी सिर्जना तथा सुशासनका विषयमा चासो व्यक्त गरेका थिए। पन्तले ती सबै विषयलाई आफ्नो कार्ययोजनामा समेट्ने आश्वासन दिँदै विगतका प्रतिनिधिहरूले पूरा गर्न नसकेका कामहरू परिणामसहित सम्पन्न गर्ने दाबी गरे।

रास्वपाको अभियानमा देखिएको जनसमर्थनले क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा थप रोचक बन्दै गएको संकेत दिएको छ। अभियानमा सहभागी कार्यकर्ताहरूका अनुसार हालसम्म विभिन्न टोलहरूमा पुगेको घरदैलो कार्यक्रममा जनताको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। विशेषगरी युवा पुस्ता परिवर्तनको पक्षमा उभिएको उनीहरूको भनाइ छ।

श्रीपुरदेखि नगवासम्म फैलिएको घरदैलो कार्यक्रममा महिलाहरूको पनि सक्रिय उपस्थिति देखिएको थियो। उनीहरूले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य सेवामा सुधारको अपेक्षा व्यक्त गरेका थिए। पन्तले महिलाको सशक्तीकरण र सहभागितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

चुनावी प्रचारप्रसार तीव्र बन्दै जाँदा हरि पन्तको घरदैलो अभियानले क्षेत्र नम्बर–१ मा रास्वपाको संगठनात्मक मजबुती र जनआधार विस्तार भएको संकेत गरेको छ। घरदैलो अभियानलाई निरन्तरता दिने तयारीमा रहेको रास्वपाले आगामी दिनमा थप सघन कार्यक्रमहरू गर्ने जनाएको छ। मतदातालाई सचेत निर्णय लिन आग्रह गर्दै पन्तले व्यवस्था सुधारका लागि परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे।

छपकैयामा रिमा यादवको घरदैलो: संघीयता र स्थायित्वका लागि सुर्यमा मतदान गर्न अपिल

0

वीरगंज । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादवले शनिबार वीरगंज महानगरपालिका–३ अन्तर्गत छपकैयामा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। उम्मेदवार यादवलाई मतदाताले फूलमाला तथा गम्छा ओढाएर स्वागत गरेका थिए भने केहीले मिठाई खुवाउँदै जितको शुभकामना व्यक्त गरेका थिए।

उक्त अवसरमा रिमा यादवले जनताको सुख–दुःखमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्दै मधेश आन्दोलनको बलबाट स्थापित संघीयता जोगाउन एमालेलाई मतदान गर्न आग्रह गरिन्। वर्तमान समयमा मुलुक जोगाउने र अस्थिरता निम्त्याउने शक्तिबीच ध्रुवीकरण भइरहेको उल्लेख गर्दै उनले देशको स्थायित्व, विकास र समृद्धिका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न अपिल गरिन्।

एमालेले अघि सारेको राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि तथा समाजवाद उन्मुख विकासको मार्गलाई आत्मसात् गर्दै अघि बढेको बताउँदै उनले चुनावी समयमा मात्र सक्रिय हुने नेतृत्वबाट सचेत रहन मतदातालाई आग्रह गरिन्।

गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, कृषि तथा पर्यटन प्रवर्द्धन, स्थानीय उद्योग विस्तार, महिला सशक्तीकरण तथा युवालाई अवसर सिर्जना आफ्ना प्रमुख प्राथमिकता रहने उनको प्रतिबद्धता थियो। साथै सडक, विद्यालय, अस्पताल, धार्मिक संरचना, मसानघाट, खानेपानी, सिँचाइ तथा विद्युत् विस्तारलगायतका क्षेत्रमा काम गरेको दाबी गर्दै संसद्मा पर्साका मुद्दाहरू निरन्तर उठाउँदै आएको उनले स्मरण गराइन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयले उठाएका विभिन्न समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय अखण्डता, संविधान तथा संघीय संरचना सुदृढ गर्न एमाले नेतृत्वको भूमिका महत्वपूर्ण रहने उनको धारणा थियो।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष विचारी यादव, जिल्ला सचिव महेश दास, वीरगंज महानगरका लेखा समिति संयोजक अजय साह, प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्र लगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

रुपेश पाण्डेयविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ का नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयविरुद्ध दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पर्सा क्षेत्र नं. ३ कै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार छोटेलाल प्रसाद यादवले दायर गरेको उत्प्रेषण मुद्दामा सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।

नेकपाका उम्मेदवार यादवले पाण्डेय र निर्वाचन आयोग, कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै उम्मेदवारी खारेज गर्न माग गरी रिट दायर गरेका थिए । रिटमा बैंक ऋण नतिरेको विषय उठाउँदै कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी प्रसंग उल्लेख गरिएको थियो।

यसअघि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेयसँग स्पष्टीकरण मागेको थियो । उजुरी परेपछि आयोगले कानुनी प्रक्रिया अघि बढाएको र सोही सन्दर्भमा मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेसँगै पाण्डेयको उम्मेदवारी यथावत रहने भएको छ । अदालतको आदेशपछि उनको विरुद्ध परेको मुद्दा प्रभावहीन बनेको छ ।

यस विषयमा एमालेका नेताहरूले पाण्डेयको लोकप्रियताबाट आत्तिएर विपक्षीले अनावश्यक दुःख दिन अदालतसम्म पुगेको आरोप लगाएका छन् । सर्वोच्च अदालतको आदेशपछि मतदातामा देखिएको अन्योल पनि हटेको एमालेले जनाएकाे छ।

नगवामा घरदैलो गर्दै प्रदीप यादवले भने– ‘संकटबाट देश निकाल्न एमाले नै एकमात्र विकल्प’

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आइतबार वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

आइतबार बिहान चुनावी घरदैलोका क्रममा नगवा पुगेका यादवलाई स्थानीयवासीले भव्य स्वागतसहित समर्थन जनाएका थिए। घरघरबाट स्वस्फूर्त रूपमा निस्किएका महिला मतदाताले यादवलाई टीका लगाउँदै जीतको आशीर्वाद दिएका थिए।

घरदैलोका क्रममा स्थानीयले चुनावका बेला मात्रै भोट माग्न आउने नेता आफूहरूलाई नचाहिएको स्पष्ट पार्दै जनताको हरेक दुःख–सुखमा साथ दिने नेतृत्वलाई नै यसपटक पनि रोज्ने आश्वासन दिएका थिए।

मतदातासँगको संवादमा पूर्वमन्त्री समेत रहेका यादवले फागुन २१ गते हुने निर्वाचनले देशको भविष्य निर्धारण गर्ने भएकाले सही नेतृत्वलाई जनताले आफ्नो अमूल्य मत दिनुपर्नेमा जोड दिए। उनले अघिल्ला दुई कार्यकालमा आफूले क्षेत्रको विकास र जनसेवामा खेलेको भूमिकाको मूल्यांकन गरिदिन मतदातासँग आग्रह गरे।

“म चुनावका बेला मात्र देखिने मौसमी नेता होइन,” यादवले भने, “व्यापारीले आफ्नो नाफा–घाटा मात्र हेर्छ। चुनावलाई पनि व्यापारझैं हिसाब गर्ने प्रवृत्तिबाट जनता सचेत हुनुपर्छ।”

मुलुक स्टण्टले नचल्ने उल्लेख गर्दै उनले वर्तमान संकटबाट देशलाई निकास दिन सक्ने एकमात्र राजनीतिक शक्ति नेकपा एमाले नै भएको दाबी गरे। विकास र समृद्धिको स्पष्ट खाका एमालेसँग मात्र रहेको बताउँदै उनले भने, “स्टण्ट गर्नेहरूले भोटका लागि जे पनि बोल्न सक्छन्, तर चुनावपछि कहाँ गायब हुन्छन् भन्ने पत्तो हुँदैन। त्यसैले देशलाई संकटबाट निकालेर समृद्धिको दिशामा अघि बढाउन सक्ने पार्टी एमालेलाई नै मत दिनुहोस्।”

घरदैलो कार्यक्रमका क्रममा नगवाका विभिन्न टोलमा पुगेर यादवले मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा आशीर्वाद ग्रहण गरेका थिए।

‘जेनजी शहीदको सपना कांग्रेसले हार्न दिदैन’ : गगन थापा

0

वीरगंज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी आन्दोलनका शहीदहरूको बलिदानी खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वीरगंजमा नेपाली कांग्रेस पर्साले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सपना पूरा गर्न कांग्रेस दृढ संकल्पका साथ अघि बढेको बताएका हुन्।

थापाले जेनजी आन्दोलनमा दर्जनौँ युवाले जीवन गुमाएको उल्लेख गर्दै शोकमा रहेका परिवारका लागि चुनावमा कसले जित्छ वा हार्छ भन्ने विषय गौण भएको बताए । “उहाँहरूका लागि मुख्य कुरा भनेको आफ्ना सन्तानले देखेको सपना पूरा हुन्छ कि हुँदैन भन्ने हो,” उनले भने, “त्यो सपना हामीले हार्न दिन्नौँ, कांग्रेसले हार्न दिन्न।”

देश हाँक्ने नेतृत्वमा गति मात्र होइन, सोच र विवेक पनि सही हुनुपर्ने उनको भनाइ थियो । विगतका गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै उनले भने, “तीव्रता आवश्यक छ, तर गाडी चलाउने चालकको सोच पनि ठीक हुनुपर्छ। केवल उत्ताउलो भएर हुँदैन, सुझबुझ पनि चाहिन्छ। कांग्रेसको प्रतिबद्धता छ—अबको पाँच वर्ष देशलाई तीव्र गतिमा अघि बढाउँछौँ, तर दुर्घटनामा पर्न दिँदैनौँ।”

आर्थिक वृद्धि नभएसम्म रोजगारी सिर्जना हुन नसक्ने उल्लेख गर्दै उनले निजी क्षेत्रको मनोबल उकास्न कांग्रेससँग स्पष्ट योजना रहेको बताए।

आफूलाई ‘नयाँ’ भन्दै प्रचार गर्ने शक्तिहरूको भ्रममा नपर्न मतदातालाई आग्रह गर्दै थापाले २०६४ सालको सन्दर्भ स्मरण गरे। उनले माओवादी केन्द्रलाई संकेत गर्दै त्यसबेला पनि नयाँ नेपालको नारा लगाइए पनि अपेक्षित परिवर्तन नआएको टिप्पणी गरे। “केवल नयाँ भन्ने शब्द उच्चारण गरेर मात्र परिवर्तन हुँदैन। नयाँका लागि सपना र दृढ संकल्प आवश्यक हुन्छ, त्यो कांग्रेससँग छ,” उनले बताए।

हिजो कांग्रेस, एमाले, माओवादी वा मधेसी दलमा रहेका व्यक्ति अहिले टिकट किनेर अन्य दलबाट उम्मेदवार बन्दैमा नयाँ नहुने उनको भनाइ थियो।

पर्सा कांग्रेसका सभापति जनार्दनसिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न आमसभामा पर्सा–१ का उम्मेदवार अनिल रुंगटा, पर्सा–२ का अजय चौरसिया, पर्सा–३ का सुरेन्द्र चौधरी, पर्सा–४ का रमेश रिजाल, संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, नेपाल विद्यार्थी संघ पर्साका सभापति रमेश यादव तथा नेपाल तरुण दल पर्साका सभापति विकास तिवारीलगायतले सम्बोधन गरेका थिए।

वीरगंज घण्टाघरस्थित पार्कमा भएकाे सभालाई सम्बाेधन गर्दै थापाले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी हुने दाबीसमेत गरे ।

“उद्योग, कृषि र पूर्वाधारमा क्रान्ति ल्याएर पर्सा–३ लाई समृद्ध बनाउँछु” : रुपेश पाण्डेय

0

वीरगंज । नेकपा एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेयले आफ्नो चुनावी एजेन्डाले पर्सा क्षेत्र नं. ३ का समग्र समस्यालाई सम्बोधन गर्ने दाबी गरेका छन् । उनले रोजगारी, उद्योग, कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि सारेको बताए ।

रोजगारी तथा उद्योग क्षेत्रतर्फ स्वदेशमै रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम सञ्चालन गरिने, साना तथा मझौला उद्योगलाई सहुलियत ऋणको व्यवस्था मिलाइने तथा स्टार्टअप र सूचना प्रविधि क्षेत्रमा युवालाई प्रोत्साहन गरिने उनको भनाइ छ। “युवालाई विदेशिन बाध्य हुने अवस्था अन्त्य गर्न स्थानीयस्तरमै अवसर सिर्जना गर्नुपर्छ,” उनले उल्लेख गरे ।

कृषि तथा पशुपालनतर्फ कृषिको आधुनिकीकरण र मेकानाइजेसन, मल र उन्नत बीउमा अनुदान, साथै युवालाई कृषि उद्यममा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने उनले बताए । यसले उत्पादन वृद्धि र किसानको आम्दानी बढाउने विश्वास उनले व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रमा जिल्ला अस्पताल सुदृढीकरण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा विस्तार र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना रहेको उनले जानकारी दिए । शिक्षा क्षेत्रतर्फ सार्वजनिक विद्यालय सुधार कार्यक्रम, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड र डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिइएको उनले स्पष्ट पारे ।

पूर्वाधार विकासतर्फ सडक र पुल निर्माणलाई तीव्रता दिने, जलविद्युत् आयोजना अघि बढाउने, सिँचाइ तथा खानेपानी परियोजना विस्तार गर्ने योजना रहेको पाण्डेयले बताए । सामाजिक सुरक्षातर्फ वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता निरन्तरता र गरिबी निवारण कार्यक्रमलाई थप सशक्त बनाइने उनको प्रतिबद्धता छ ।

उनले मतदातालाई विकास, सुशासन र समृद्धिका लागि आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

वीरगंजमा न्युरोसर्जरी सेवा र विकासबारे NESON सम्मेलन सम्पन्न

0

वीरगंज । नेपालका न्युरोसर्जनहरूको साझा संस्था नेपाली न्युरोसर्जन समाज (NESON) को सम्मेलन वीरगंजमा सम्पन्न भएकाे छ । क्लार्क रिसोर्ट्स वीरगंजमा सम्पन्न सम्मेलनको मुख्य विषय “मधेसी प्रदेशमा न्युरो सर्जरीका सेवाहरू” रहेको थियो। कार्यक्रम बाराको एल.एस. न्युरो एन्ड जेनरल अस्पतालको आयोजनामा सञ्चालन गरिएको थियो।

आयोजकका अनुसार सम्मेलनको उद्देश्य मधेस प्रदेश, बारा र पर्सा जिल्लामा मस्तिष्क तथा स्नायु सम्बन्धी उपचार सेवाको अवस्था, उपलब्ध सुविधा, चुनौती र आगामी सम्भावनाहरूको खुला छलफल गर्नु थियो । नेपालभरिका न्युरोसर्जन, चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिकल विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । एल.एस. न्युरो एन्ड जेनरल अस्पतालका संचालक रामप्रबेश प्रसाद कुर्मीका अनुसार यस्तो सम्मेलनले चिकित्सकहरूबीच अनुभव साटासाट गर्न सहयोग पुग्ने र बिरामीको उपचारमा प्रभावकारी सेवा दिन मद्दत गर्ने विश्वास गरिएको छ।

कार्यक्रममा विभिन्न विषयमा विशेषज्ञ चिकित्सकहरूले प्रस्तुति राखेका थिए । एल.एस. न्युरो एन्ड जेनरल अस्पतालका मेडिकल निर्देशक डा. अर्जुन पटेलले बारा–पर्सामा न्युरोसर्जरी सेवाको इतिहास र विकासक्रमबारे जानकारी दिएका थिए भने वरिष्ठ न्युरो सर्जन डा. सञ्जीव कुमार झाले अस्पतालका उपलब्धि, उपचार प्रक्रिया र प्रविधिबारे प्रस्तुति दिएका थिए।

त्यस्तै, डा. विपिन चौरसिया ले न्युरो सर्जरीमा जर्नल प्रकाशनका चुनौतीहरूबारे चर्चा गरे भने डा. अजय कुमार गुप्ताले आकस्मिक पक्षघात (एक्युट इस्केमिक स्ट्रोक) को उपचार अनुभव प्रस्तुत गरे । वरिष्ठ फिजियोथेरापिस्ट उदय मिश्रले न्युरो पुनर्स्थापना (स्नायु पुनर्स्थापना) का प्रोटोकलबारे जानकारी दिएका थिए ।

आयोजक संस्थाले मधेस प्रदेश, बारा र पर्सामा गुणस्तरीय न्युरोसर्जरी सेवा विस्तार गर्ने लक्ष्य राख्दै स्थानीय चिकित्सकलाई अद्यावधिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्य राखेको बताएकाे छ । सम्मेलनले चिकित्सकबीच सहकार्य बढाउने, स्थानीय स्तरमै जटिल उपचार सम्भव बनाउने र बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको छ ।

चिल्झपट्टीमा रमेश रिजालको घरदैलो, भव्य स्वागत र समर्थन

0

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले जगरनाथपुर गाउँपालिका–५ चिल्झपट्टीमा शनिबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा तथा विकास योजनाबारे जानकारी गराएका थिए। उनले क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, सिंचाइ तथा रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीयवासीले रिजाललाई स्वागत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थन रहने विश्वास दिलाएका थिए। क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवसहित पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कांग्रेसले पर्सा–४ मा संगठन सुदृढ बनाउँदै घरदैलो, टोलसभा र प्रत्यक्ष संवादमार्फत चुनावी अभियानलाई थप तीव्र बनाएको जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा चिल्झपट्टीमा रिजालको सक्रियताले कांग्रेस कार्यकर्तामा उत्साह थपिएको बताइएको छ।

कोनिहामा रिमा यादवको घरदैलो, उत्साहजनक सहभागिता

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७ कोनिहामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा कुमारी यादवको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आयोजित उक्त कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, युवासंघ, अनेमसंघ तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

घरदैलोका क्रममा उम्मेदवार यादवले कोनिहाका विभिन्न टोल–बस्तीमा पुगेर घरघरमै मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभयो। उहाँले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा तथा आधारभूत पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको बताउनुभयो।

स्थानीय बासिन्दासँगको संवादमा खानेपानी, सडक स्तरोन्नति, ढल निकास व्यवस्थापन तथा युवालाई रोजगारीको अवसर उपलब्ध गराउने विषयमा छलफल भएको थियो। उम्मेदवार यादवले जनताका सुझाव र गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

घरदैलाे कार्यक्रममा एमालेका केन्द्रिय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य प्रमाेद जयसवाल, वडाध्यक्ष संजु छतकुली लगायत स्थानिय नेता तथा कार्यकर्ताकाे उल्लेखनिय सहभागिता रहेकाे थियाे ।