Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026
Home Blog Page 127

जगरनाथपुर गाउँपालिकाद्वारा एसईई विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मानपूर्वक विदाई

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहेका आफ्ना पालिकाका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहित विदाई गरेको छ ।

आइतबार जगरनाथपुर गाउँपालिका–४ सण्ठीस्थित एक विद्यालयमा शिक्षा शाखाले आयोजना गरेको विदाई कार्यक्रममा गाउँपालिकाभित्रका तीन वटा माध्यमिक विद्यालयका एसईई दिन लागेका १ सय २० जना छात्र–छात्रालाई टि–सर्ट, डायरी र कलम वितरण गरिएको शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विद्यार्थीहरुलाई गाउँपालिकाको लोगो अंकित टी–सर्ट, डायरी र कलम प्रदान गरे । चैत १९ गतेदेखि सुरु हुन लागेको यस वर्षको एसईई परीक्षामा सफलता प्राप्त गर्न शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले एसईईपछि उच्च शिक्षा अध्ययनका क्रममा कुनै समस्या आएमा आफू वा प्रमुख प्रशासकीय अधिकृतसँग सिधै सम्पर्क गर्न आग्रह गरे ।

विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव, उपाध्यक्ष बबीता सिंह क्षेत्री तथा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलगायतले विद्यार्थीहरुलाई खादा लगाएर सम्मानसहित विदाई गरेका थिए ।

गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा समितिका सदस्य, वडा सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

नक्कली प्रमाणपत्र मुद्दामा शिक्षक चन्देश चौहानलाई विशेष अदालतबाट सफाइ

0

वीरगंज । विशेष अदालतले शिक्षक चन्देश कुमार चौहानलाई नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा सफाइ दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा आइतबार सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले चौहानलाई आरोपित कसुरबाट मुक्त गर्ने फैसला गरेको हो।

पर्साको पकहाँ मैनपुर गाउँपालिका–३ निवासी ५१ वर्षीय चौहानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियारले जेठ २६ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा आइतबार सुनुवाइ हुँदा अदालतले आरोप प्रमाणित हुन नसकेको ठहर गर्दै सफाइ दिएको जनाएको छ ।

वीरगंज १ छपकैयास्थित श्री पंडित रामदेनि तिवारी आधारभूत विद्यालयकाे प्रधानाध्यापक रहेका चौहानविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कैद तथा जरिवाना मागदाबीसहित आरोपपत्र दायर गरेको थियो। तर कसुर प्रमाणित हुन सकेन ।

उक्त फैसलाको जानकारी अदालतले शिक्षा विकास तथा समन्वय इकाई, वीरगंज महानगरपालिकाकाे शिक्षा महाशाखा तथा सम्बन्धित विद्यालयलाई समेत गराइसकेको जनाएको छ।

वीरगंजस्थित नवदुर्गा लजमा भारतीय दम्पती मृत फेला

0

वीरगंज । वीरगंजस्थित बसपार्कको भानुचोकमा रहेको एक लजमा आइतबार बिहान एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नवदुर्गा लजमा विगत तीन दिनदेखि बस्दै आएका भारतीय दम्पती आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएका हुन्।

प्रहरीले दिएको जानकारीअनुसार करिब ४० वर्षीय पुरुष र ३५ वर्षीया महिला कोठामा झुण्डिएको अवस्थामा देखेपछि लज सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । सूचनापछि पुगेको प्रहरी टोलीले शव बरामद गरेको हो ।

हालसम्म मृतक दम्पतीको पहिचान खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।

घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

रिमा यादवले बुझाइन् निर्वाचन खर्च विवरण, ९ लाख १४ हजार मात्र खर्च

0

वीरगंज । पर्सा क्षेत्र नं. २ की रिमा कुमारी यादवले आफ्नाे निर्वाचन खर्च विवरण आइतबार निर्वाचन आयोगमा बुझाएकी छन्। उनले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ९ लाख १४ हजार ८३४ रुपैयाँ खर्च भएको विवरण पेश गरेकी हुन्।

आयोगमा बुझाइएको विवरण अनुसार सवारी साधन भाडामा १ लाख ८० हजार, इन्धन खर्च २ लाख ४० हजार ८६२, गोष्ठी, अन्तरक्रिया तथा घरदैलो कार्यक्रममा खाना–खाजा खर्च ३ लाख ९९ हजार ४००, प्रचारप्रसार सामग्रीमा ७० हजार ९२, मनोनयन दर्ता खर्च ५ हजार र फोटोकपीसहित विविध खर्च १९ हजार ४८० रुपैयाँ उल्लेख गरिएको छ।

यादवले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम आफूले गरेको सम्पूर्ण खर्च विवरण पेश गरेको बताएकी छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल कुमार कानुसँग पराजित भएकी थिइन्। निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले आफ्नो खर्च विवरण आयोगमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ।

परीक्षा स्थगित भएपछि हरि खेतान क्याम्पसमा तोडफोड, चक्काजाम र प्रदर्शन

0

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पस, वीरगंजमा कक्षा ११ र १२ को परीक्षा अन्तिम समयमा स्थगित भएपछि आक्रोशित विद्यार्थीहरूले तोडफोड र प्रदर्शन गरेका छन्। शिक्षक आन्दोलन र क्याम्पस व्यवस्थापनबीचको विवादका कारण परीक्षा दिनबाट वञ्चित भएपछि विद्यार्थीहरू क्याम्पसभित्रै आक्रोश पोख्दै सडकमा उत्रिएका हुन्।

क्याम्पस प्रशासनले आइतबारदेखि परीक्षा सञ्चालन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर बिहान परीक्षा दिन पुगेका विद्यार्थीहरूलाई मूल गेटमै रोकिएको थियो। आन्दोलनरत शिक्षकहरूले परीक्षा रद्द गरिएको भन्दै क्याम्पसभित्र प्रवेश गर्न नदिएपछि विद्यार्थीहरूले क्याम्पस अगाडि प्रदर्शन सुरु गरेका थिए।

प्रदर्शनका क्रममा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। त्यसपछि झन् आक्रोशित बनेका विद्यार्थीहरूले नाराबाजी गर्दै घण्टाघर चोकसम्म र्‍याली निकालेका थिए । त्यहाँ पुगेर उनीहरूले चक्काजाम गर्नुका साथै सडकमै धर्ना बसेर टायर बालेर विरोध जनाएका थिए, जसका कारण मुख्य सडक केही समय अवरुद्ध भएको थियो।

आन्दोलनका क्रममा केही विद्यार्थीहरूले क्याम्पसको ना १ क २८८७ नम्बरको बसमा तोडफोड गर्दा ठूलो क्षति पुगेको बताइएको छ।

प्रदर्शनमा सहभागी कक्षा १२ का एक विद्यार्थीले क्याम्पसभित्र विगत एक वर्षदेखि व्यवस्थापन र शिक्षकबीचको विवादका कारण नियमित पठनपाठन र परीक्षा प्रभावित हुँदै आएको गुनासो गरे। “हाम्रो भविष्य अन्योलमा परेको छ, एक वर्षदेखि आन्तरिक परीक्षा पनि हुन सकेको छैन,” उनले भने।

विद्यार्थीहरूले नियमित कक्षा सञ्चालन, समयमै परीक्षा र शैक्षिक वातावरण सुधारको माग गर्दै क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्षको राजीनामा समेत माग गरेका छन्। ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु सभापति राजकुमार यादवले सामुदायिक क्याम्पसलाई निजीकरणतर्फ धकेलिएको आरोप लगाउँदै व्यवस्थापन पक्षको आलोचना गरेका छन्।

वित्तीय साक्षरता बढाउँदै राष्ट्र बैंक: वीरगंजमा खुला कार्यक्रम सम्पन्न

0

वीरगंज । नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयको आयोजनामा ग्लोबल मनी विक २०२६ अन्तर्गत शनिबार वीरगंजको घण्टाघर चौकमा खुला जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पैसा ठगी, नक्कली नोट पहिचान तथा बढ्दो डिजिटल ठगीका जोखिमबारे सर्वसाधारणलाई जानकारी दिइएको थियो।

कार्यक्रममा बोल्दै राष्ट्र बैंक वीरगंज शाखाका निर्देशक सुशील पौडेलले वित्तीय साक्षरता आजको आवश्यकता भएको उल्लेख गर्दै नागरिकलाई सजग र सचेत हुन आग्रह गर्नुभयो । उहाँले नक्कली नोट चिन्ने तरिका, डिजिटल भुक्तानी गर्दा अपनाउनुपर्ने सावधानी तथा अनलाइन ठगीबाट जोगिने उपायहरूबारे विस्तृत जानकारी दिनुभएको थियो।

उहाँका अनुसार पछिल्लो समय डिजिटल माध्यममार्फत हुने ठगीका घटनाहरू बढ्दो क्रममा रहेकाले नागरिकले अपरिचित लिंक, फोन कल वा सन्देशमा विश्वास नगर्नुपर्नेमा जोड दिइएको थियो । साथै, बैंकिङ सेवा प्रयोग गर्दा आफ्नो गोप्य विवरण कसैसँग पनि साझेदारी नगर्न सुझाव दिइएको छ।

कार्यक्रममा स्थानीय व्यवसायी, बैंकका कर्मचारी, सर्वसाधारण तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले वित्तीय ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।

नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विकको अवसरमा देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

गहवामाई मन्दिरमा राम नवमीको अवसरमा भव्य महाआरती हुने

0

वीरगंज । वीरगंजस्थित गहवा माई मन्दिर परिसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको भव्य महाआरती यस वर्ष पनि विशेष उत्साहका साथ निरन्तरता दिइने भएको छ। मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जन्मोत्सव राम नवमीको अवसर पारेर महाआरतीलाई अझ भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरिएको हो।

गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम कुमार पोखरेल को अध्यक्षतामा शनिबार बसेको बैठकले आगामी चैत्र १३ गते शुक्रबार साँझ ६ बजेदेखि मन्दिरअगाडि भव्य महाआरती आयोजना गर्ने निर्णय गरेको छ।

विगतका वर्षहरूझैँ यस वर्ष पनि श्रद्धापूर्वक कार्यक्रम सम्पन्न गर्न कार्यसमिति सदस्य मुकेश कुमार साह को संयोजकत्वमा विशेष उपसमिति गठन गरिएको छ।

बैठकमा उपाध्यक्ष देवानन्द प्रसाद कलवार, सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता), कोषाध्यक्ष रविशंकर अग्रवाल तथा अन्य कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो। साथै, विभिन्न आमन्त्रित व्यक्तित्वहरूको उपस्थितिमा राम नवमीका आध्यात्मिक पक्ष तथा मन्दिरको समग्र विकासका विषयमा समेत रचनात्मक छलफल गरिएको जनाइएको छ।

समितिका सचिव लक्ष्मी नारायण गुप्ताले राम नवमीको पावन अवसरमा आयोजना हुने महाआरतीमा सहभागी भई पुण्य आर्जन गर्न सम्पूर्ण वीरगंजवासी तथा श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ।

आजपा केन्द्रीय समिति बैठक सम्पन्न: निर्वाचनको समिक्षा, संगठन पुनर्गठनको निर्णय

0

वीरगंज । “दलाल दलतन्त्रको भण्डाफोर गरौँ ! सिस्टम सुधारको दिशामा अघि बढौँ !!” भन्ने नारासहित आम जनता पार्टी (आजपा) को केन्द्रीय समितिको बैठक शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ।

पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय कार्यालय सदस्य, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकले हालै सम्पन्न निर्वाचन बाहिरबाट शान्तिपूर्ण देखिए पनि यसको स्वच्छता र पारदर्शितामाथि विभिन्न प्रश्नहरू उठेको भन्दै गम्भीर समिक्षा गरेको जनाएको छ। साथै, आम निर्वाचन सम्पन्न भए पनि देशमा राजनीतिक अन्यौलता अझै कायम रहेको निष्कर्ष निकालिएको छ।

बैठकमा जनताको अपेक्षाअनुसार सुशासन, पारदर्शिता र जनपक्षीय नीति सुनिश्चित गर्न आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

आगामी कार्ययोजनाअन्तर्गत निर्वाचनको विस्तृत समिक्षा गर्ने, सम्पूर्ण पार्टी कमिटिहरूको पुनर्गठन गर्ने, नयाँ सरकारलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने तथा पार्टीले अघि सारेका संघर्ष र आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले जानकारी दिए।

पार्टीले देशमा सुशासन, न्याय र जनताको अधिकार स्थापित गर्न आफू सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गरेको छ।

इरान–इजरायल–अमेरिका युद्ध: शान्ति अब विकल्प होइन, अपरिहार्य आवश्यकता

0

Nelson Mandela ने कहा था, “शांति कोई सपना नही, बल्कि उसे हासिल करना पडता है। लेकिन जब ताकतवर देश जंग को चुनते है, तो शांति सिर्फ एक अधूरा ख्वाब बनकर रह जाती है।“ आजको विश्व परिदृश्यले यही कठोर यथार्थलाई पुनः उजागर गरिरहेको छ, जहाँ शक्ति, प्रभुत्व र रणनीतिक स्वार्थले मानवता, नैतिकता र अन्तर्राष्ट्रिय कानुनलाई पछाडि पारिरहेको अवस्था देखिरहेका छौ। Iran, Israel र United States बीचको टकराव अहिले खुला युद्धको स्वरूपमा बदलिएको छ। भईरहेको युद्ध केवल भूराजनीतिक मात्र होइन, यो विश्व शान्तिको आधारलाई चुनौती दिने गम्भीर संकेत देखिरहेको छ।जब शक्तिशाली देशहरू आफ्ना स्वार्थ पुरा गर्न युद्धलाई वैधता दिन थाल्छन्, तब साना राष्ट्रहरू, कमजोर समुदायहरू र निर्दोष नागरिकहरू यसको सबैभन्दा ठुलो मुल्य चुकाउन बाध्य हुन्छन। यसै स्वरुपमा आजको विश्व फेरि एउटा गम्भीर संकटको मोडमा पुगेको छ।मध्यपूर्वमा फैलिएको युद्धले केवल क्षेत्रीय स्थिरतालाई मात्र होइन, सम्पुर्ण विश्व राजनीतिलाई नै अस्थिर बनाइरहेको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वको राजनीतिक नक्सा नै हल्लिएको छ।आक्रमणको पहिलो लहरमा इरानका मिसाइल संरचना, सैन्य आधार, आणविक कार्यक्रमसँग जोडिएका केन्द्रहरू र राजधानी Tehran सहित विभिन्न स्थानहरूलाई लक्ष्य बनाइएको थियो।जुन आक्रमणको सबैभन्दा ठुलो घटना भनेको इरानका सर्वोच्च नेता Ali Khamenei मारिए। सन १९८९ देखि इरानको नेतृत्व गर्दै आएका खामेनेई आक्रमणको पहिलो चरणमै मारिएका थिए। यसै क्रममा इजरायलको सैन्य दाबी अनुसार सो आक्रमणमा इरानको शक्तिशाली सैन्य संस्था Islamic Revolutionary Guard Corps (IRGC) का धेरै वरिष्ठ कमाण्डरहरू पनि मारिएका थिए। खामेनेईको मृत्युले इरानको राजनीतिक संरचनामा ठूलो झट्का दिएको छ भने मार्च ८ मा उनका छोरा Mojtaba Khamenei लाई नयाँ सर्वोच्च नेता घोषणा गरियो। तर युद्धका क्रममा उनी पनि घाइते भएको दाबी अमेरिकाले गरे तापनि इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ।

इरानले त्यस आक्रमणलाई अवैध, उक्साहटपूर्ण र अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै कडा जवाफ दिरहेको छ। इरानले मिसाइल र ड्रोन आक्रमण गरेर इजरायलका सरकारी तथा सैन्य लक्ष्यहरूमा प्रहार गरिरहेको छ। साथै अमेरिकासँग गठबन्धन रहेका खाडी क्षेत्रका देशहरूमा रहेका सैन्य आधारहरूलाई पनि लक्ष्य बनाउदै मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। कतार, बहराइन, जोर्डन, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरबजस्ता देशहरूमा रहेका अमेरिकी सैन्य संरचनाहरू समेत सो आक्रमणको दायरामा आएका छन।

युद्ध सुरु भएको केही दिनमै यसको असर केवल इरान र इजरायलमा सीमित रहेको छैन। युद्धले क्षेत्रीय स्वरूप लिन थालेको छ। Lebanon मा इरान समर्थित समुह Hezbollah ले इजरायलमाथि रकेट आक्रमण गरेपछि नयाँ मोर्चा खुलेको छ। त्यसपछि इजरायलले बेरुत र दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ।

यसैबीच अर्को नाटकीय घटना पनि भएको छ। मार्च ४ मा हिन्द महासागर क्षेत्रमा श्रीलंकाको नजिक इरानको एउटा युद्धपोत अमेरिकी पनडुब्बीले डुबाएको रिपोर्ट आएको छ, जसमा कम्तीमा ८७ जना सैनिक मारिएका छन। यो घटनाले युद्ध केवल मध्यपूर्वमा सीमित नरही अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा पनि फैलिसकेको छ भन्ने संकेत दिएको छ।

यो युद्धलाई इतिहासको दृष्टिकोणबाट हेर्दा यो युद्ध अचानक सुरु भएको पनि होइन। यसको जरा धेरै गहिरो ऐतिहासिक, राजनीतिक, आर्थिक र भू-राजनीतिक कारणहरूमा गाडिएको छ। दशकौँदेखि बढ्दै आएको अविश्वास, प्रतिस्पर्धा, क्षेत्रीय प्रभुत्वको होड र ऊर्जा स्रोतको नियन्त्रणको संघर्षले अन्ततः यो युद्धलाई जन्म दिएको हो। मध्यपूर्व लामो समयदेखि विश्व शक्तिहरूको रणनीतिक केन्द्र रहदै आएको छ, किनभने त्यहाँको भूगोल, धार्मिक राजनीति र ऊर्जा स्रोतहरूले विश्व अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ।

यस युद्धको ऐतिहासिक जरा विशेषगरी सन १९७९ मा भएको Iranian Revolution पछि सुरु भएको हो। उक्त क्रान्तिपछि इरानमा इस्लामिक गणतन्त्र स्थापना भएको थियो र नयाँ नेतृत्वले पश्चिमी शक्तिहरू, विशेषगरी अमेरिकासँगको सम्बन्ध तोड्दै स्वतन्त्र राजनीतिक मार्ग रोजेको थियो। त्यसपछि इरानले इजरायललाई वैध राष्ट्रको रूपमा स्वीकार गर्न अस्वीकार गर्‍यो र उसलाई मध्यपूर्वको अस्थिरताको मुख्य कारण भन्दै आलोचना गर्न थाल्यो। सोही समयदेखि दुबै देशबीचको सम्बन्ध शत्रुतापूर्ण बन्न थाल्यो। यद्यपि धेरै दशकसम्म उनीहरूबीच प्रत्यक्ष युद्ध नभएपनि छायाँ युद्ध, गुप्त अपरेशन, साइबर आक्रमण र विभिन्न क्षेत्रीय समूहहरूको माध्यमबाट अप्रत्यक्ष संघर्ष निरन्तर चलिरहेको थियो।

यस युद्धको अर्को महत्वपूर्ण पक्ष भनेको इरानको आणविक कार्यक्रम पनि हो। अमेरिका र इजरायलले लामो समयदेखि इरानले गुप्त रूपमा आणविक हतियार विकास गर्न खोजिरहेको आरोप लगाउँदै आएको थियो। उनीहरूको तर्क अनुसार यदि इरानले आणविक हतियार हासिल गर्‍यो भने मध्यपूर्वको शक्ति सन्तुलन पुर्ण रूपमा बदलिन सक्छ र इजरायलको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुन सक्छ। तर इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आएको थियो। सन् २०१५ मा इरान र विश्व शक्तिहरूबीच भएको Joint Comprehensive Plan of Action सम्झौताले केही समयका लागि तनाव कम गरेको थियो। यस सम्झौताअनुसार इरानले आफ्नो आणविक गतिविधि सीमित गर्ने सहमति जनाएको थियो र बदलामा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू हटाइने व्यवस्था गरिएको थियो। तर पछि सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट बाहिरिएपछि स्थिति फेरि तनावपुर्ण बन्न पुगेको थियो र आर्थिक प्रतिबन्ध तथा कुटनीतिक दबाब बढ्न थालेको थियो।

मध्यपूर्वको राजनीतिक संरचना वास्तवमा शक्ति सन्तुलनको जटिल खेल हो। इरान  क्षेत्रीय शक्तिको रूपमा आफ्नो प्रभाव विस्तार गर्न चाहन्छ भने इजरायल आफ्नो सुरक्षा र सैन्य प्रभुत्व कायम राख्न चाहन्छ। अर्कोतर्फ अमेरिका  लामो समयदेखि मध्यपूर्वमा आफ्नो रणनीतिक उपस्थितिलाई कायम राख्न चाहन्छ, किनभने यो क्षेत्र विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण छ। अमेरिका इजरायलको सबैभन्दा ठूलो सहयोगी मानिन्छ, जसका कारण इरान इजरायलको टकरावमा अमेरिका पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने परिस्थिति सिर्जना हुन्छ।

ऊर्जा राजनीति पनि यस युद्धको अत्यन्त महत्वपूर्ण पक्ष हो। मध्यपूर्व विश्वको सबैभन्दा ठूलो तेल भण्डार भएको क्षेत्र हो, र यहाँको ऊर्जा स्रोतले विश्व अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ। इरान विश्वका प्रमुख तेल उत्पादक राष्ट्रहरूमध्ये एक हो र यसको तेल निर्यातको मुख्य केन्द्र Kharg Island हो। यदि युद्धका कारण यस्तो ऊर्जा संरचना नष्ट भयो भने त्यसको प्रभाव केवल इरानमा मात्र होइन, सम्पूर्ण विश्व अर्थतन्त्रमा देखिन्छ। तेल उत्पादन र निर्यातमा अवरोध आएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्छ, जसले विश्वव्यापी महँगी र आर्थिक संकट उत्पन्न गराउन सक्छ।

यसैगरी समुद्री मार्गहरूको नियन्त्रण पनि मध्यपूर्वको भू-राजनीतिक संघर्षको महत्वपूर्ण पक्ष हो। विशेषगरी Strait of Hormuz विश्वको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक हो। विश्वको २०% ठुलो हिस्सा तेल यही मार्गबाट अन्तर्राष्ट्रिय बजारमा पुग्छ। यदि युद्धका कारण यो समुद्री मार्ग पूर्ण रुपमा अवरुद्ध भयो भने विश्व व्यापार र ऊर्जा आपूर्तिमा गम्भीर संकट आउन सक्छ। यही कारणले अमेरिका र अन्य शक्तिशाली देशहरूले यस क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति बलियो बनाइरहेका छन।

यसरी यस युद्धलाई विश्व शक्ति प्रतिस्पर्धाको दृष्टिकोणबाट पनि हेर्न सकिन्छ। आजको विश्व बहुध्रुवीय शक्तितर्फ अघि बढिरहेको छ, जहाँ Russia र China जस्ता देशहरू पनि मध्यपूर्वको राजनीति र ऊर्जा रणनीतिमा सक्रिय रूपमा रुचि राखिरहेका छन। यदि मध्यपूर्वमा ठुलो युद्ध फैलियो भने त्यसले विश्व शक्ति सन्तुलनलाई नै प्रभावित गर्न सक्छ।

अर्को महत्वपूर्ण पक्ष भनेको “प्रोक्सी युद्ध” को अवधारणा हो। मध्यपूर्वका धेरै संघर्षहरू प्रत्यक्ष रूपमा नभई विभिन्न स्थानीय समूहहरूको माध्यमबाट सञ्चालन हुने गरेका छन्। उदाहरणका लागि Lebanon मा सक्रिय Hezbollah जस्ता समुहहरूलाई इरानसँग नजिक मानिन्छ, जबकि इजरायलले तिनीहरूलाई आफ्नो सुरक्षाका लागि गम्भीर खतरा मान्दै आएका छन। यस्तो प्रोक्सी युद्धले क्षेत्रीय संघर्षलाई अझ जटिल बनाइदिन्छ, किनभने यसमा धेरै देशहरू अप्रत्यक्ष रूपमा संलग्न हुन्छन।

जब हामी कुनै पनि युद्धको कुरा गर्छौ, त्यो केवल शक्ति, सीमा वा प्रभुत्वको प्रतिस्पर्धामा सीमित हुँदैन त्यसको सबैभन्दा भयावह रूप मानव जीवनमाथि पर्ने असर हो। Iran मा United States र Israel द्वारा गरिएको आक्रमणका विभिन्न स्रोतका तथ्यांक हेर्दा ती युद्धको क्रूरता नाङ्गो रूपमा देखिरहेको छ। विभिन्न स्रोतहरूअनुसार सयौँ महिला र बालबालिकाहरुको ज्यान गएको छ, जसले देखाउँछ कि युद्धको पहिलो र सबैभन्दा ठुलो शिकार निर्दोष नागरिक नै हुन्छन।अझ गम्भीर तथ्य के छ भने Human Rights Activists News Agency (HRANA) को पछिल्लो विवरणअनुसार ३,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमा कम्तीमा १,३१९ जना सर्वसाधारण नागरिकहरु छन र तीमध्ये २०६ बालबालिका नै रहेका छन। यसै तथ्यांकले १,१२२ सैनिकको मृत्यु भएको देखाएको छ भने ५९९ जनाको अवस्था (नागरिक वा सैनिक) स्पष्ट रूपमा छुट्याउन सकिएको छैन।

यसरी जब विद्यालय, घर, अस्पताल र आवासीय क्षेत्रहरूमा आक्रमण हुन्छ र सयौँ बालबालिकाहरूले ज्यान गुमाउँछन, तब “collateral damage” भन्ने शब्दले वास्तविक पीडालाई ढाक्न सक्छ? अन्तर्राष्ट्रिय मानवीय कानुन, विशेषगरी International Humanitarian Law, ले नागरिक र सैनिकबीच principle of distinction कायम गर्नुपर्ने साथै नागरिक संरचनाहरूलाई जोगाउनुपर्ने व्यवस्था गरेको छ। तर यस्ता घटनाहरूले देखाउँछ कि व्यवहारमा यी कानुनी सिद्धान्तहरू बारम्बार उल्लंघन भइरहेका अवस्था छ।

युद्धको नैतिक प्रश्न यहाँ अझ तीव्र रूपमा उठिरहेको छ की यदि कुनै युद्धले निर्दोष बालबालिकाको ज्यान लिन्छ भने, के त्यो युद्ध न्यायसंगत हुन सक्छ?  यदि शक्तिशाली राष्ट्रहरूले आफ्नो सुरक्षाको नाममा कमजोर नागरिकहरूको जीवनलाई जोखिममा पार्छन भने,  के त्यो अन्तर्राष्ट्रिय कानुनको सम्मान हो?  United Nations Charter र Geneva Convention ले यस्ता कार्यहरूलाई रोक्न स्पष्ट मापदण्ड तोकेको भए पनि  कार्यान्वयनको स्तरमा गम्भीर कमजोरी किन देखिएको छ?

अर्कोतर्फ, यस्ता आक्रमणहरूले केवल जीवन हानि मात्र होइन, सम्पुर्ण सामाजिक संरचना नै ध्वस्त पारिरहेका छन। स्वास्थ्य सेवा प्रणाली प्रभावित बनाईरहेका छन, मानिसहरू विस्थापित भैरहेका छन, बालबालिकाको भविष्य अन्धकारमय बन्दै गएको छ र समाज दीर्घकालीन मनोवैज्ञानिक आघातको सिकार बनिरहेका छन। यसरी हेर्दा मानव अधिकार केवल कानुनी अवधारणा मात्र नभई जीवनको आधारभुत आवश्यकता हो, जसलाई युद्धले निरन्तर चुनौती दिइरहेको छ।

यो युद्धले विश्व समुदायलाई एउटा गम्भीर प्रश्न पनि सोधिरहेको छ, के अन्तर्राष्ट्रिय कानुन वास्तवमै सबैका लागि समान रूपमा लागु भैरहेको छ वा शक्तिशाली राष्ट्रहरूका लागि मात्र एउटा औपचारिकता हो?  यदि ३,००० भन्दा बढी मानिसको ज्यान जाने घटनापछि पनि विश्व मौन रहन्छ भने, त्यो मौनता स्वयं अन्यायको सहमति भित्र पर्छ कि पर्दैन? आजको आवश्यकता केवल सहानुभुति व्यक्त गर्ने हो?

यो युद्धलाई नेपालको दृष्टिकोणबाट जोडेर हेर्दा यो युद्ध हाम्रो लागि टाढाको घटना जस्तो लाग्न सक्छ। तर विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धको युगमा कुनै पनि युद्ध वास्तवमा टाढा हुँदैन। यसै युद्धको कारणले नेपाल जस्तो आयातमा निर्भर देशका लागि तेल र ग्यासको मुल्य वृद्धि भएर ठुलो आर्थिक चुनौती बन्न पुगेको छ। पेट्रोलियम पदार्थ महँगो भएर यातायात, कृषि, उद्योग र दैनिक जीवनको लागत बढ्न थालेको छ। अर्को महत्वपूर्ण पक्ष भनेको मध्यपूर्वमा काम गर्ने लाखौँ नेपाली श्रमिकहरूको सुरक्षामा समस्या हुन गईरहेको छ। यसरी यदि क्षेत्रीय युद्ध फैलियो भने उनीहरूको रोजगारी र सुरक्षामा गम्भीर असर पर्न सक्ने सम्भावना बढेको छ। यसरी मधेश प्रदेशको दृष्टिकोणबाट हेर्दा यो युद्ध अझ संवेदनशील विषय बनेको छ। मधेशका धेरै युवाहरू रोजगारीका लागि खाडी मुलुकहरूमा काम गरिरहेका छन र उनीहरूको कमाइले हजारौँ परिवारको जीवन धानेको छ। जब मध्यपूर्व अस्थिर हुन्छ भने त्यसको असर मधेशका घरघरमा पर्ने रेमिट्यान्समा देखिन्छ। जब तेलको मूल्य बढ्छ भने त्यसको असर सीमावर्ती बजार र दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा देखिन्छ। त्यसैले मधेशका लागि यस्तो युद्ध केवल अन्तर्राष्ट्रिय समाचारको विषय होइन; यो हजारौँ परिवारको आर्थिक सुरक्षासँग जोडिएको यथार्थ हो।

यस युद्धको सन्दर्भमा सम्भावित भविष्यको कुरा गर्दा यो युद्धको भविष्य तीन सम्भावित दिशामा जान सक्ने सम्भावना देखिएको छ। पहिलो सम्भावना, अन्तर्राष्ट्रिय कुटनीतिक दबाबका कारण युद्ध रोकिन सक्छ। संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र अन्य शक्तिशाली देशहरूले मध्यस्थता गरेर शान्ति वार्ता सुरु गराउन सक्छन। दोस्रो सम्भावना, यो युद्ध मध्यपूर्वका अन्य देशहरूमा फैलिन सक्छ। यदि लेबनान, सिरिया, इराक वा यमनका विभिन्न सशस्त्र समूहहरू सक्रिय भए भने यो क्षेत्रीय युद्धमा बदलिन सक्छ। तेस्रो सम्भावना, यदि अमेरिका, रुस, चीन जस्ता महाशक्तिहरू प्रत्यक्ष रूपमा संलग्न भए भने यो संघर्ष विश्वव्यापी युद्धको स्वरूप लिन सक्छ। यद्यपि अहिलेका अवस्थामा सबै शक्तिहरू यस्तो ठुलो युद्धबाट बच्न चाहेका छन।

अन्ततः, आजको विश्वले एउटा निर्णायक मोडमा उभिएको अनुभूति गरिरहेको छ।कुनै पनि युद्धले केवल सीमा र सत्ता परिवर्तनको कथा लेखिरहेको हुदैन, यसले मानवताको आधारभूत मूल्यहरूलाई नै चुनौती दिएको हुन्छ।हजारौँ निर्दोष नागरिक, बालबालिका र सर्वसाधारणको ज्यान गुमिरहेको वर्तमान अवस्थामा शान्ति केवल राजनीतिक एजेन्डा होइन, मानव अस्तित्वको अपरिहार्य आवश्यकता पनि हो। यस सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायको भुमिका झन महत्वपूर्ण देखिन्छ।यदि United Nations जस्ता संस्थाहरू प्रभावकारी रूपमा हस्तक्षेप गर्न असफल हुन्छन भने अन्तर्राष्ट्रिय कानुन र मानवीय मुल्यहरू केवल कागजी सिद्धान्तमा सीमित हुने खतरा बढ्दै जान्छ। शक्तिशाली राष्ट्रहरूले आफ्नो जिम्मेवारीबाट पन्छिनु होइन, बरु अझ बढी उत्तरदायी बन्नुपर्ने समय यही हो। नेपाल जस्तो सानो र विकासशील राष्ट्रका लागि पनि यो युद्ध एउटा चेतावनी हो कि विश्व अस्थिर हुँदा त्यसको प्रभाव हरेक कुनामा पुग्छ। आर्थिक संकट, श्रमिकहरूको असुरक्षा र सामाजिक प्रभावहरू हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिन्छन। त्यसैले शान्तिको पक्षमा आवाज उठाउनु केवल नैतिक कर्तव्य मात्र होइन, हाम्रो आफ्नै अस्तित्व र भविष्यसँग जोडिएको आवश्यकता पनि हो। अन्त्यमा, Nelson Mandela को विचारलाई पुनः स्मरण गर्नु सान्दर्भिक हुन्छ, शान्ति आफैंमा आउने वस्तु होइन, त्यसका लागि प्रयास गर्नुपर्छ। यदि विश्व समुदायले आज पनि युद्धभन्दा शान्तिलाई प्राथमिकता दिन सकेन भने, भोलिको पुस्ताले हामीलाई क्षमा गर्ने छैन। शान्ति केवल विकल्प होइन, अब अपरिहार्य आवश्यकता हो।

– कन्हैया चौरसिया (कानुन क्षेत्र)
                                                                                                            लेखक

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा भ्रामक उम्मेदवारी प्रचारप्रति चेतावनी

23

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले सामाजिक सञ्जालमा फैलिएको भ्रामक उम्मेदवारी प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका अनुसार, विगत केही दिनदेखि केही व्यक्ति तथा समूहहरूले आफूलाई रास्वपाको तर्फबाट वीरगंज महानगरपालिका लगायत अन्य स्थानीय तहका मेयर तथा वडाअध्यक्ष पदका उम्मेदवार भनेर फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन्।

यस विषयमा पार्टीले आधिकारिक विज्ञप्ति जारी गर्दै आजको मितिदेखि यस्ता गलत गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सचेत गराएको छ। रास्वपा पर्साले हालसम्म कुनै पनि पदका लागि कसैलाई उम्मेदवार नतोकिएको स्पष्ट पारेको छ।

जिल्ला सचिव सुदिश प्रजापतिले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले यस्ता भ्रामक, कपोलकल्पित र गलत सूचनामा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गर्दै त्यस्ता व्यक्ति तथा समूहबाट सतर्क रहन समेत अनुरोध गरेको छ।