Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 118

काङ्ग्रेस नेता बासुदेव तिवारीको श्रद्धाञ्जली सभा सम्पन्न

0

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुर निवासी नेपाली काङ्ग्रेसका वडा सभापति स्वर्गीय बासुदेव तिवारीको श्रद्धाञ्जली सभा मंगलबार सम्पन्न भएको छ ।

६२ वर्षीय तिवारीको निधन भएको १३औँ दिनको पुण्यतिथिको अवसरमा नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं. ४ समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा काङ्ग्रेस नेता रमेश रिजालले तिवारीको निधनले नेपाली काङ्ग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् । उनले तिवारीको निधनले पार्टीसँगै स्थानीय समाजमा समेत अपूरणीय क्षति पुगेको उल्लेख गरे ।

क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, काङ्ग्रेस पर्साका सह–सचिव नवीन सिंह, नेता बशिष्ठ नारायण कुर्मी, श्याम पटेल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

स्वर्गीय तिवारीको गत चैत १२ गते राति उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा असामयिक निधन भएको थियो ।

वीरगंजमा ‘ऋण व्यवस्थापनमा क्षमता विकास’ तालिम सुरु

0

वीरगंज । राष्ट्रिय सहकारी बैंक लिमिटेड वीरगञ्ज शाखाको आयोजना तथा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्साको व्यवस्थापनमा “ऋण व्यवस्थापनमा क्षमता विकास” सम्बन्धी तालिम सोमबारदेखि सुरु भएको छ ।

सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला–३ अन्तर्गत सदस्य शिक्षा कार्यक्रम ०८२/०८३ मा सञ्चालन भइरहेको उक्त तालिममा पर्सा र बारा जिल्लाका विभिन्न सहकारी संघ–संस्थाका व्यवस्थापक तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन सत्रमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्साका संस्थापक अध्यक्ष जिष्णु बराल, पूर्व अध्यक्ष रवि भूषण श्रीवास्तव, राष्ट्रिय सहकारी बैंक वीरगञ्ज शाखाका प्रमुख समीर मानन्धर तथा क्लबका वर्तमान अध्यक्ष चन्देश्वर चौरासियाको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा ऋण लगानी व्यवस्थापन, ऋणसम्बन्धी नीतिगत व्यवस्था, ऋण विश्लेषण, ऋण सदुपयोगिता निरीक्षण अभ्यास, ऋण सेवा निर्माण अभ्यास, ऋण असुलीमा देखिने समस्या, सहभागी संस्थाहरूको आधारभूत स्तरीकरणबाट प्राप्त ऋण सूचकहरूको विश्लेषण तथा बैंकका कर्जासम्बन्धी विभिन्न प्रोडक्टका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

तालिममा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत मनोज लामिछानेले सहजिकरण गरिरहेका छन् ।

सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान घोषणा

0

काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णयविरुद्ध पहिलो चरणको दबाब अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहहरूलाई जारी गरिएको परिपत्र तत्काल फिर्ता गर्न सकारात्मक पहल नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको हो।

महासंघका अनुसार उक्त निर्णय निजी सञ्चारमाध्यम तथा स्वतन्त्र पत्रकारिताको हितविपरीत रहेको ठहर गर्दै चैत २५ गतेदेखि चरणबद्ध दबाब कार्यक्रम सुरु गरिनेछ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासँग भेट गरी निर्णय खारेज गर्न माग गरिएको भए पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिनुपरेको महासंघले जनाएको छ।

घोषित कार्यक्रमअनुसार चैत २५ गते महासंघका पूर्वअध्यक्षहरूसँग छलफल गरिनेछ भने चैत २६ गते राष्ट्रिय दैनिक, साप्ताहिक तथा अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग बैठक बस्नेछ। त्यस्तै चैत २७ गते विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूसँग अन्तरक्रिया गरिनेछ।

चैत २८ र २९ गते महासंघ केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम तय गरिएको छ । यस अवधिमा माग पूरा नभए थप दबाब कार्यक्रम सार्वजनिक गरिने महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।

महासंघले केन्द्रीय समितिले तय गरेका कार्यक्रम प्रदेश समिति तथा शाखाहरूले समेत सञ्चालन गर्ने जनाएको छ। साथै सञ्चारगृहहरूलाई श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक र सेवा–सुविधा उपलब्ध गराउन अनुरोधसमेत गरेको छ।

बालेन सरकारमा पनि वीरगंजमा ‘कबाडी कर’को नाममा रंगदारी असुली रोकिएन

0

वीरगंज । वीरगंजमा ‘कबाडी कर’को नाममा अवैध रकम असुली भइरहेको आरोप पुनः सतहमा आएको छ। स्थानीयवासी तथा सवारी चालकहरूले अमित ठेक्का पट्टाका कर्मचारीहरूले विभिन्न स्थानमा रंगदारी शैलीमा कर उठाइरहेको गुनासो गरेका छन्।

वीरगंज–२२ जगरनाथपुर चोक लगायतका स्थानमा खटिएका कर्मचारीहरूले आइसिपीबाट निस्किने भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनबाट मनपरी ढंगले रकम असुल्ने गरेको आरोप छ । स्थानीय प्रहरीको मिलेमतोमा यस्तो गतिविधि भइरहेको चालकहरूको दाबी छ।

जगरनाथपुर चोकसहित विभिन्न ढाटहरूमा ‘कबाडी कर’को नाममा खाली गाडीहरूबाट समेत गैरकानुनी रूपमा रकम उठाइँदै आएको बताइएको छ। ठेकेदार कम्पनीले “जडीबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने अधिकार पाए पनि सोही नाममा दिनदहाडै रंगदारीजस्तै असुली भइरहेको चालकहरूले बताएका छन्।

स्थानीयका अनुसार वीरगंज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सालाई पटक–पटक जानकारी गराउँदा पनि ठोस कारबाही हुन सकेको छैन।

कानुनअनुसार राजमार्गमा स्थानीय तहले ठेक्का लगाई कर असुल्न नपाउने व्यवस्था भए पनि महानगरपालिकासँगको सम्झौताविपरीत कर्मचारीहरूले प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुल गरिरहेका छन् । भारतीय गाडीहरूबाट २८० भारतीय रुपैयाँसम्म लिने गरिएको र त्यसको नेपाली मूल्य करिब ४४८ रुपैयाँ पर्ने चालकहरूले बताएका छन्।

चालकहरूले रकम नदिएमा दुव्र्यवहार, कुटपिट तथा झगडासमेत हुने गरेको गुनासो गरेका छन् । कतिपय अवस्थामा रसिद नदिने तथा माग्दा आनाकानी गर्ने गरिएको उनीहरूको भनाइ छ।

वीरगंज महानगरपालिकाले चालू आर्थिक वर्षका लागि जडीबुटी, कबाडी तथा जीवजन्तु कर सङ्कलनको ठेक्का ५ करोड ४ लाख ६७ हजार ४४६ रुपैयाँमा स्वीकृत गरेको स्रोतले जनाएको छ । उक्त ठेक्का अमित ठेक्कापट्टामार्फत वीरगंज–२१ का वडाध्यक्ष हबीब मियाँ नेटुवाका छोरा रेयाज आलमसँग असार ३० गते सम्झौता गरिएको थियो।

तर सम्झौताअनुसार करको दररेट स्पष्ट उल्लेख गरी सार्वजनिक स्थानमा सूचना बोर्ड राख्नुपर्ने व्यवस्था भए पनि हालसम्म त्यस्तो बोर्ड कतै नराखिएको स्थानीयहरूले बताएका छन्।

वडा प्रहरी कार्यालय श्रीपुर, प्रहरी चौकी सुगौली, अलौ र परवानीपुर क्षेत्रका सुरक्षाकर्मीलाई प्रभावमा पारेर अवैध असुली भइरहेको आरोपसमेत लगाइएको छ।

कुटपिट र दुर्व्यवहारका घटनामा दर्जनौँ उजुरी दर्ता भए पनि सुनुवाइ नभएको चालकहरूको भनाइ छ । लामो दूरी तय गरेर आएका चालकहरू थकित हुने, गाडी छाड्दा सामान चोरी हुने डर र कुटपिटको त्रासका कारण मागिएको रकम तिर्न बाध्य हुने अवस्था रहेको उनीहरूले बताएका छन्।

यसैगरी सवारी करकाे नाम पनि वीरगंजमा अवैध असुली भइरहेकाे स्थानियहरुले वताएका छन् । बालेन नेतृत्वमा सरकार गठनपछि सुधारको अपेक्षा गरेका स्थानीयले वीरगंजमा भइरहेकाे अवैध असुली नराेकिएकाे भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वीरगंजमा ‘नमस्ते एजुकेसन फाउन्डेसन’ सञ्चालनमा, भारत अध्ययनका लागि परामर्श सेवा सुरु

0

वीरगंज । वीरगंजकाे लिंकरोडस्थित नमस्ते एजुकेसन फाउन्डेसन प्रा.लि. मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। एक कार्यक्रमकाे बिच संस्थाका अध्यक्ष अजित चाैरसिया र एक छात्राले संयुक्त रुपमा रिबन काटेर संस्थाकाे उद्घाटन गरेका थिए ।

फाउन्डेसनले विशेषगरी भारतमा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि शैक्षिक परामर्श सेवा उपलब्ध गराउने जनाएको छ। संस्थाका अध्यक्ष चौरसियाका अनुसार भारतका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरूमा भर्ना प्रक्रिया, विषय छनोट, कलेज चयन तथा आवश्यक कागजी प्रक्रियामा विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो।

उनले नेपालबाट भारत अध्ययनका लागि जाने विद्यार्थीहरूलाई सही मार्गदर्शनको अभाव हुने गरेको उल्लेख गर्दै नमस्ते एजुकेसन फाउन्डेसनले उक्त कमी पूर्ति गर्ने विश्वास व्यक्त गरे।

फाउन्डेसनले विद्यार्थीलाई निःशुल्क काउन्सेलिङ, कलेज तथा कोर्स छनोट, भर्ना प्रक्रिया तथा आवश्यक कागजात तयारीमा सहयोग गर्ने जनाएको छ। साथै, भारतमा अध्ययनका क्रममा आवश्यक पर्ने जानकारी तथा सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता जनाएको छ।

स्थानीय स्तरमै गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध भएपछि विद्यार्थी तथा अभिभावकलाई सहज हुने अपेक्षा गरिएको छ। फाउन्डेसनले भविष्यमा अन्य देशका लागि समेत सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ।

उद्घाटन कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

पर्सागढीबाट जुवातास खेल्दै गरेका ५ जना पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मंगलबार बेलुका करिब ८:२० बजे पर्सागढी नगरपालिका–३ बडनिहार विरुवागुठीस्थित दिलमाया तामाङले सञ्चालन गरेको गौरे कटेज खाजा पसलमा जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ का ५७ वर्षीय बिरेन्द्र साह, पर्सागढी–४ का ४० वर्षीय सुरेन्द्र चौधरी, वीरगंज महानगरपालिका–३१ का २७ वर्षीय अरबिन्द गौरो थारु, पर्सागढी–३ का ३१ वर्षीय शिशिर तामाङ तथा सोही स्थानकी ३८ वर्षीया दिलमाया तामाङ रहेका छन्।

प्रहरीले उनीहरूबाट तीन सेट तास र नगद १५ हजार ५५ रुपैयाँ बरामद गरेको जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसूरअन्तर्गत जुवा खेल्न नहुने सम्बन्धी दफा १२५ अनुसार आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

इप्रका पाेखरियाद्वारा लागु औषध गाँजासहित दुई जना पक्राउ

0

वीरगंज । इलाका प्रहरी कार्यालय पोखरिया पर्साले विशेष सूचनाको आधारमा लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार साेमबार विहान करिब ७ बजे पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवन बजारस्थित सडकखण्डमा चेकजाँचका क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–५ निवासी ३९ वर्षीय मोहिचन यादव र पर्सागढी नगरपालिका–९ निवासी ४० वर्षीय बैजनाथ यादव रहेका छन् । उनीहरूको शरीर खानतलासी गर्दा पेट र पिठ्यु भागमा सेतो टेपले टाँसी रातो प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा ५ किलो २०० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

बरामद लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

गैरकानुनी सम्पत्ति आर्जन आरोपमा लेखा अधिकृतविरुद्ध मुद्दा, मनी लाउन्डरिङ्गसमेत अनुसन्धान

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशका एक लेखा अधिकृतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।

आयोगका अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीमा कार्यरत लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलले पदीय मर्यादा दुरुपयोग गर्दै गैरकानुनी रुपमा ठूलो परिमाणमा सम्पत्ति आर्जन गरेको ठहर गरिएको छ । अनुसन्धानबाट पौडेलले गैरकानुनी स्रोतबाट आर्जित सम्पत्ति लुकाउन विभिन्न व्यक्तिहरूसँग ऋण सापटी लिएको झुटो विवरण तयार गरी बैंक तथा वित्तीय संस्थामार्फत कारोबार गरेको खुल्न आएको आयोगले जनाएको छ।

पौडेलविरुद्ध कुल रु. ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ ८२ पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै विशेष अदालतमा मुद्दा दायर भई सुनुवाइ भइरहेको छ । त्यसमध्ये रु. २ करोड ५१ लाख ३४ हजार ४६२ रुपैयाँ १४ पैसा बैंक तथा सहकारी खातामा गैरकानुनी रूपमा जम्मा गरेको देखिएको छ। आयोगले थप अनुसन्धानमा सो रकमको स्रोत लुकाउन करिब रु. २ करोड ५३ लाख बराबरको कारोबार ‘वेब अफ ट्रान्जेक्सन’ मार्फत गरिएको निष्कर्ष निकालेको छ।

सो आधारमा रु. २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुनः आरोपपत्र दायर गरिएको हो । आयोगले सोही रकम बिगो कायम गर्दै कैद तथा जरिवाना सजाय माग गरेको छ भने पौडेलको खातामा रहेको रु. १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्न पनि अदालतसमक्ष मागदाबी गरिएको छ।

यस्तै, उक्त गैरकानुनी सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा उनकी श्रीमती हुमा कुमारी उपाध्यायसहित जमुना कुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत प्रतिवादी बनाइएको छ । उनीहरूलाई विभिन्न रकम बराबरको बिगो कायम गरी मुख्य कसुरदारको आधा सजाय माग गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

जेन जिकाे नाममा राजनीति नगर्न यूथ फोर्सकाे चेतावनी

0

वीरगंज । जेन जि यूथ फोर्स पर्साले आफ्नो नाममा भ्रामक रूपमा नयाँ जिल्ला समिति गठन गर्ने भन्दै फैलाइएका सूचनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

सोमबार जारी प्रेस विज्ञप्तिमार्फत संगठनले केही व्यक्तिहरूले राजनीतिक स्वार्थका लागि सामाजिक सञ्जालमा “जेन जि पर्सा गठन गर्दैछु” भन्ने गलत प्रचार गरिरहेको उल्लेख गर्दै उक्त दाबी पूर्णतः असत्य र भ्रम सिर्जना गर्ने खालको रहेको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा जेन जि यूथ फोर्स पर्साको जिल्ला समिति पहिले नै विधिवत् रूपमा गठन भइसकेको जनाउँदै पुनः नयाँ समिति गठन गर्ने प्रयास केवल राजनीतिक चलखेल र संगठनको नाम दुरुपयोग गर्ने कार्य भएको बताइएको छ ।

संगठनले आफूलाई जेन जि अभियानको अगुवा बताउने केही व्यक्तिहरू वास्तविक जेन जि उमेर समूहमै नपर्ने र भदौ २३ गते सम्पन्न आन्दोलनमा समेत सहभागी नभएको दाबी गरेको छ । आन्दोलनलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउने प्रयासप्रति संगठनले कडा आपत्ति जनाएको छ ।

त्यस्तै, भदौ २३ गतेको आन्दोलन आधिकारिक रूपमा फिर्ता भइसकेको अवस्थामा भदौ २४ गते भएका गतिविधिमा संलग्न व्यक्तिहरूको जेन जि यूथ फोर्स पर्सासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ । सो दिन सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने कार्यमा संलग्न व्यक्तिहरू स्वयं जिम्मेवार रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

जेन जि यूथ फोर्स पर्साले आफू सधैं शान्तिपूर्ण, जिम्मेवार र सकारात्मक सामाजिक परिवर्तनको पक्षमा रहेको जनाउँदै संगठनको नाम दुरुपयोग गर्ने, भ्रम फैलाउने तथा आन्दोलनलाई बदनाम गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ ।

यस्ता गतिविधि दोहोरिएमा कडा विरोधमा उत्रिने र आवश्यक कदम चाल्न बाध्य हुने संगठनले जनाएको छ । साथै, आन्दोलन कुनै व्यक्तिको निजी स्वार्थ पूरा गर्ने माध्यम नभएको पनि संगठनले स्पष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा अत्याधुनिक स्नान तथा शौचालय भवन उद्घाटन

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवनको उद्घाटन गरिएको छ । “स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक डिजिटल प्रविधियुक्त अत्याधुनिक शौचालयसहितको भवन सोमबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक सुदिप राज पाठकले यस्ता पूर्वाधारले प्रहरी कर्मचारीहरूको स्वास्थ्य, स्वच्छता र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले भवन निर्माणमा सहयोग पुर्‍याउने संस्थाहरूप्रति आभार समेत व्यक्त गरे ।

उक्त भवन निर्माणमा रुङ्गटा वेलफेयर सोसाइटी तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको महत्वपूर्ण सहयोग रहेको थियो ।

कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुङ्गटा, लायन्स क्लब आदर्शनगरका प्रकाश बाहेती, जिल्ला प्रहरी कार्यालय पर्साका हरि बहादुर र राजु कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युबराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख बिक्रम सुबेदी, छपकैया सामुदायिक प्रहरीका अध्यक्ष गयासुदिन ठकुराई, आमा नेपाल फाउन्डेसनकी अध्यक्ष प्रबिता मान्धर, युवा नेता सुधिर पटेल, लायन्स क्लबका प्रिया सिंह लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष खेतानले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अझ सुदृढ बनाउन यस्ता योजनाहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक कार्यमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।