Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 110

पर्सामा ३० हजार ट्रामाडोल ट्याब्लेटसहित भारतीय युवक पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वैशाख ६ गते राति करिब ९:५५ बजे वीरगंज महानगरपालिका–८ लिंक रोडस्थित समर होटल एण्ड लजमा खानतलासी गर्दा भारत बिहार, मोतीहारी जिल्ला भेलाहीका २० वर्षीय सागर कुमार पटेललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले होटलको कोठा नं. १०५ बाट ट्रामाडोल हाइड्रोक्लोराइड (Tramadol Hydrochloride IP-50) नामक प्रतिबन्धित लागूऔषध बरामद गरेको जनाएको छ । बरामद लागूऔषध १ पत्तामा १० ट्याब्लेटका दरले ३ हजार पत्ता अर्थात् कुल ३० हजार ट्याब्लेट रहेको छ ।

पक्राउ परेका पटेलमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

वीरगंजमा ‘श्रीराम महायज्ञ’ सुरु, कलश यात्रामा श्रद्धालुको उल्लेख्य सहभागिता

0

वीरगंज । वीरगंज महानगरपालिका–७ अन्तर्गत रेलबे रोड कुम्हालटोलस्थित पंचमुखी हनुमान मन्दिर परिसरमा बुधबारदेखि ‘श्री श्री १०८ श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ विधिवत् रूपमा सुरु भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त महायज्ञ वैशाख ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

महायज्ञको उद्घाटनसँगै पहिलो दिन श्रद्धालुहरूको व्यापक सहभागितामा भव्य कलश यात्रा निकालिएको थियो । यज्ञ स्थलबाट सुरु भएको यात्रा नगरका विभिन्न भागहरूको परिक्रमा गर्दै घडिअर्वा पोखरी पुगेर जल भरिएको थियो । त्यसपछि पुनः नगर परिक्रमा गर्दै कलशहरू यज्ञ स्थलमा ल्याई कार्यक्रम समापन गरिएको थियो।

कलश यात्रामा महिलाहरूले टाउकोमा कलश बोकेर भजन–कीर्तन गर्दै उत्साहपूर्वक सहभागिता जनाएका थिए । स्थानीय बासिन्दा, श्रद्धालु तथा धर्मप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो।

आयोजकका अनुसार महायज्ञ अवधिभर दैनिक रूपमा पूजा, हवन, श्रीराम कथा वाचन तथा विभिन्न धार्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। देशका विभिन्न स्थानबाट आएका पण्डित तथा वाचकहरूले कथा प्रवचन गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। साथै, श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आह्वान गरिएको छ।

तब्लिगी इज्तिमालाई लिएर बारामा उच्च सतर्कता, विदेशी सहभागितामाथि निगरानी

0

वीरगंज। भारत–नेपाल सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको नेपालमा तब्लिगी जमातका गतिविधि तीव्र रूपमा बढ्न थालेपछि सुरक्षा सम्बन्धी चिन्ता बढेको छ। विशेषगरी मधेस प्रदेशका विभिन्न जिल्लामा धार्मिक गतिविधि विस्तार हुँदै जाँदा सुरक्षा निकाय सतर्क बनेका छन्।

आगामी अप्रिल २०२६ मा बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–२४ हरपुर बलुवामा तीन दिने ठूलो इस्लामिक सम्मेलन (इज्तिमा) आयोजना गर्ने तयारी भइरहेको छ। उक्त कार्यक्रममा नेपाल र भारतका साथै पाकिस्तान र बंगलादेशबाट समेत सहभागी आउने सम्भावना रहेको बताइएको छ।

सुरक्षा विज्ञहरूका अनुसार यस्ता कार्यक्रममा तेस्रो मुलुकका नागरिकको सहभागिता संवेदनशील विषय भएकाले उनीहरूको आगमनबारे अग्रिम सूचना र कडाइ आवश्यक हुन्छ। खुला सीमा प्रणालीका कारण अवैध आवतजावतको जोखिम बढ्ने गएकाले नेपाल–भारत सीमामा निगरानी बढाउनुपर्ने सुझाव दिइएको छ।

यसअघि सन् २०१९ मा सप्तरीको बोदेबरसैनमा आयोजित ‘आलामी तब्लिगी इज्तिमा’ पछि तराई–मधेस क्षेत्रमा साम्प्रदायिक तनाव बढेको विश्लेषण पनि सार्वजनिक हुँदै आएको छ। सो कार्यक्रममा करिब तीन लाखभन्दा बढी मुस्लिम समुदायको सहभागिता रहेको थियो भने विदेशी नागरिकको सहभागिता रोक्न विशेष सुरक्षा व्यवस्था गरिएको थियो।

सुरक्षा निकायका अनुसार बंगलादेश र पाकिस्तानबाट प्रत्येक वर्ष साना समूहमा तब्लिगी जमात नेपाल आउने र विभिन्न मस्जिद तथा मदरसामा बस्दै धार्मिक प्रचार–प्रसार गर्ने गरेका छन् । यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै निगरानी बढाइएको जनाइएको छ।

हालै बंगलादेशबाट आएको आठ सदस्यीय टोली नेपालका विभिन्न जिल्लामा पुगेको र उनीहरू बारा इज्तिमामा सहभागी हुने तयारीमा रहेको स्रोतले जनाएको छ। यसैबीच भारतबाट मौलाना साद नेतृत्वको समूह पनि आउने तयारीमा रहेको बताइएको छ।

नेपालमा सन् १९८५ मा स्थापना भएको इस्लामी संघ (आईएसएन) अन्तर्गत विभिन्न समूह धार्मिक प्रचारमा सक्रिय छन्। यद्यपि, यस्ता गतिविधि शान्तिपूर्ण धार्मिक अभ्यास मात्र हो वा त्यसले सुरक्षा चुनौती निम्त्याउँछ भन्ने विषयमा बहस जारी छ।

सुरक्षा अधिकारीहरूका अनुसार कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक तयारी भइरहेको भए पनि विदेशी सहभागिता, खुला सीमा र विगतका घटनालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ।

इज्तिमामा विदेशी सहभागितामाथि कडाइ गर्न विश्व हिन्दू परिषद्को माग

0

वीरगंज । विश्व हिन्दू परिषद् नेपालले बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’ मा विदेशी नागरिकहरूको सहभागिताले राष्ट्रिय सुरक्षामा चुनौती थप्न सक्ने भन्दै त्यसमा कडाइ गर्न प्रशासनसँग माग गरेको छ।

परिषद्ले बुधबार जिल्ला प्रशासन कार्यालय बारा र पर्सामा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै विशेषगरी तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश र सहभागिता रोक्न प्रशासनको ध्यानाकर्षण गराएको हो। बारामा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पत्र बुझाइएको परिषद्ले जनाएको छ।

आगामी वैशाख ११ देखि १४ गतेसम्म बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. २४ हरपुरमा आयोजना हुने इज्तिमामा पाकिस्तान, बंगलादेश लगायतका इस्लामिक राष्ट्रहरूबाट सहभागीहरू आउने तयारी भइरहेको सूचनाका आधारमा परिषद्ले आपत्ति जनाएको हो।

ध्यानाकर्षण पत्रमा धार्मिक भेलाको आवरणमा छिमेकी तथा तेस्रो मुलुकबाट अवैध रूपमा विदेशीहरू नेपाल प्रवेश गरी लुकिछिपी बस्ने जोखिम रहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले देशको सुरक्षा संयन्त्र कमजोर पार्न सक्ने परिषद्को ठहर छ।

विगतका अनुभव उल्लेख गर्दै परिषद्ले इज्तिमामा आएका केही विदेशीहरू फर्केर नजाने र शरणार्थी वा अन्य बहानामा नेपालमै बस्ने सम्भावना रहेको आशंका व्यक्त गरेको छ। विशेषगरी बंगलादेश र म्यानमारबाट आएका रोहिङ्ग्याहरू यस्ता कार्यक्रमको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न सक्ने भएकाले प्रशासन सचेत हुनुपर्ने बताइएको छ।

नेपाल–भारत सीमा क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै परिषद्ले अवैध विदेशी घुसपैठ रोक्न र साम्प्रदायिक सद्भाव कायम राख्न कडाइ गर्न माग गरेको छ। साथै, कार्यक्रममा सुरक्षा निकाय र सञ्चारकर्मीको सहज पहुँच सुनिश्चित गर्दै गतिविधिहरूको पारदर्शी निगरानी गर्नुपर्ने सुझाव पनि दिइएको छ।

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

0

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन् ।

गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकै दिन गठन गरिएको मन्त्रिपरिषद्मा गुरुङ गृहमन्त्रीका रूपमा नियुक्त भएका थिए ।

पदभार सम्हालेको सुरुवाती चरणमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरी चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको केन्द्रमा पर्दै आएका थिए ।

उच्च स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय गरेका हुन् ।

पर्सामा डढेलो र धुलोका कारण वायु प्रदूषण बढ्दो, जनजीवन कष्टकर

0

सेढवा । पर्साको ग्रामीण क्षेत्रमा विगत एक सातादेखि वातावरणीय तथा वायु प्रदूषण अत्यधिक बढ्दै जाँदा स्थानीय जनजीवन कष्टकर बन्दै गएको छ। पर्सा तथा चितवन राष्ट्रिय निकुञ्ज आसपासका वन क्षेत्रमा लागेको डढेलोले वातावरणमा धुवाँ फैलिँदा प्रदूषण झन् तीव्र बनेको हो।

यसका साथै किसानहरूले गहुँबाली भित्र्याउने क्रममा उड्ने धुलो, गहुँको छवाली जलाउँदा निस्किने धुवाँ तथा लामो समयदेखि वर्षा नहुँदा सडकबाट उड्ने धुलोले पनि प्रदूषण थप बढाएको स्थानीयले बताएका छन्। चौबिसै घण्टा धुलो र धुवाँ फैलिँदा दैनिक जीवन प्रभावित बनेको छ।

जगरनाथपुर गाउँपालिका–४ का स्थानीय दिनदयाल दास थारुका अनुसार बिहानैदेखि वातावरण धुम्म हुने, आँखा पोल्ने, आँसु आउने, आँखा रातो हुने तथा श्वास–प्रश्वासमा समस्या देखिन थालेको छ। अत्यधिक प्रदूषणका कारण घरभित्र बस्नसमेत असहज भएको र यात्रा गर्न समेत कठिनाइ भइरहेको उनले बताए।

वायु प्रदूषणको प्रभाव ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका तथा वीरगञ्ज महानगरपालिकाका केही वडामा देखिएको छ।

पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र यादवका अनुसार वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। विशेषगरी मुटु, फोक्सो तथा श्वास–प्रश्वाससम्बन्धी दीर्घरोगीहरूका लागि हालको अवस्था निकै जोखिमपूर्ण रहेको उनले बताए। साथै प्रदूषित वातावरणका कारण आँखामा संक्रमणको जोखिम पनि बढेको उनको भनाइ छ।

यस्तै, ठोरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेशराज थिङ्गले धुलो र धुवाबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन, बाहिर निस्किँदा मास्क र चस्मा प्रयोग गर्न तथा मोटरसाइकल चलाउँदा हेल्मेट प्रयोग गर्न उनले सुझाव दिएका छन्।

कुनै स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जाँच गराउन पनि उनले आग्रह गरेका छन्।
हाल देखिएको वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायले डढेलो नियन्त्रण, धुलो व्यवस्थापन तथा जनचेतना अभिवृद्धिमा तत्काल ध्यान दिनुपर्ने देखिएको छ।

रिगल हेटौंडा एन्फा मकवानपुर परवानीपुर गोल्डकपको सेमिफाइनलमा 

0

वीरगंज । रिगल हेटौंडा एन्फा मकवानपुरले पाँचौ परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रतियोगिताको चौथो दिनको खेलमा रिगल हेटौंडा एन्फा मकवानपुरले ३-० गोल अन्तरले नव जन जागृती युवा क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

परवानीपुर खेल मैदानमा जारी प्रतियोगितामा खेल सुरु भएको समय देखि मकवानपुर बलियो टिमको रूपमा देखापरेको थियो । खेलमा बलियो देखिएको मकवानपुरले लगातार गोल प्रहार गर्दै जित निकालेको थियो ।

आजको खेलमा म्यान अफ दी म्याच रिगल हेटौंडा एन्फा मकवानपुरका खेलाडी निमेष मोक्तान घोषित हुदै २१ सय नगद प्राप्त गरे ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नागमणी उपाध्यायले पुरस्कार प्रदान गरे । भोलिको पहिलो सेमिफाइनलमा आयोजक शक्ति युवा क्लब र वीरगन्ज युनाइटेड क्लब वीरगन्ज भिड्नेछन् ।

प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षता भएको आजको खेलमा समाजसेवी नागमणी उपाध्यायले उदघाटन गरेका थिए ।

बैशाख १२ सम्म संचालन हुने पाँचौं परवानीपुर गोल्डकपमा भारत एक वटा र नेपालको ७ वटा टिम गरि आठ वटा टिमले सहभागी भएको प्रतियोगिताका सहसंयोजक दीपक यादवले जानकारी दिए ।

राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा करिब १७ लाखको लागतमा भइरहेको यादवले बताए ।

प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सुबोध  श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन घोषणा

0

काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध देशव्यापी दबाबमूलक अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयलाई महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भन्दै आपत्ति जनाएको हो।

महासंघले उक्त निर्णय अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक व्यवस्था, खुला अर्थनीति तथा संघीयताको मर्मविपरीत रहेको ठहर गरेको छ। यसअघि २०८२ चैत २३ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष निर्णय फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाइए पनि सरकार उदासीन देखिएपछि आन्दोलनमा उत्रिन बाध्य भएको महासंघले जनाएको छ।

महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। जसअन्तर्गत वैशाख ९ गते सबै प्रदेश समितिले मुख्यमन्त्रीसँग छलफल गर्ने, वैशाख १० गते जिल्ला शाखामार्फत प्रमुख जिल्ला अधिकारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ। सोही दिन केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिनेछ।

यस्तै, वैशाख ११ गते देशभरका सञ्चारमाध्यमलाई सम्पादकीय ऐक्यवद्धतामार्फत विरोध जनाउन आह्वान गरिनेछ भने सामाजिक सञ्जालमार्फत पनि विरोधका सामग्री सार्वजनिक गरिने जनाइएको छ।

वैशाख १४ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्ने र वैशाख १५ गते स्थानीय तहलाई संघीय सरकारको निर्णय अवज्ञा गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार महासंघले आफ्ना माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

वीरगंज सडक विस्तार : २४ घण्टामै १२ सय संरचना भत्काइयो, निर्माण सम्पन्न हुन दुई वर्ष लाग्ने

0

वीरगंज । वीरगंज महानगरपालिका क्षेत्रमा मुख्य सडकको दायाँबायाँ २५ मिटरभित्र रहेका अतिक्रमित संरचना हटाउने कार्य सम्पन्न भएको छ।

आइतबार बिहानदेखि डोजर प्रयोग गरी सुरु गरिएको अभियान सोमबारसम्ममा सम्पन्न भएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ। त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि नेपाल–भारत मितेरी पुलसम्मको सडक खण्डमा रहेका करिब १ हजार २ सय घरटहरामा दुई दिनभित्रै डोजर चलाइएको कार्यालयले जानकारी दिएको छ।

कार्यालयकी इन्जिनियर दिलासा तिवारीका अनुसार भत्काइएका संरचनाबाट निस्किएको फोहोर छिट्टै व्यवस्थापन गर्ने तयारी भइरहेको छ । उनका अनुसार सडक निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न विभागअन्तर्गतकै उत्तर–दक्षिण आयोजना निर्देशनालयलाई आग्रह गरिएको छ।

उनले भनिन्, “हाल बजेट अभावका कारण डिपिआर तयारी प्रक्रियामा छौं । डिपिआर तयार भएपछि मात्रै केन्द्रबाट बजेट प्राप्त हुन्छ र त्यसपछि निर्माण कार्य अघि बढ्छ।”

केन्द्र सरकारबाट बजेट प्राप्त भएपछि गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डमा ६ लेनको सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने उनले बताइन् । सडक डिभिजन कार्यालयका अनुसार डिपिआर तयार हुन ३ देखि ४ महिना लाग्नेछ भने आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु हुने सम्भावना रहेको छ । निर्माण कार्य सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने अनुमान गरिएको छ।

कार्यालयका अनुसार भत्काइएका संरचनाको फोहोर व्यवस्थापन कार्य एक हप्ताभित्र सुरु गरिनेछ। सडक निर्माण कार्य सुरु अर्काे आर्थिक बर्षदेखि गरिने छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ सूचना जारी गर्दै त्रिभुवन राजपथअन्तर्गत नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक क्षेत्रभित्रका संरचना १२ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २४ घण्टामै अधिकांश संरचना हटाइएको जनाइएको छ ।

वीरगंज मुख्य सडककाे दायाँबायाँकाे संरचनामा डाेजर चलेपछि यहाँका मुख्य बजार नै प्रभावित भएका छन् । डाेजरबाट भत्काइएका संरचनाहरुकाे सरफाइ नहुँदा वीरगंज मुख्य बजार क्षेत्र खण्डरमा परिणत भएकाे देखिन्छ ।

वीरगंजमा ६ केजीभन्दा बढी गाँजा सहित ४ भारतीय नागरिक पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा सहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

साेमबार बिहान करिब ८:२० बजे वीरगंज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट स्थित क्षेत्रमा प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आवतजावत गर्ने पैदल यात्री तथा सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगंजबाट रक्सौलतर्फ पैदल जाँदै गरेका चार जनामाथि शंका लागेपछि खानतलासी गरिएको थियो । सो क्रममा उनीहरूले शरीरको पेट तथा छाती भागमा रातो प्लास्टिकमा खैरो डोरीले बेरी लुकाएर राखेको गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारत, बिहार पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय सफि अहम्द, ३३ वर्षीय विनय ठाकुर, ३० वर्षीय मुकिम मियाँ र २८ वर्षीय महम्द एकवाल रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

उनीहरूको साथबाट प्लास्टिक बाहेक करिब ६ केजी १८ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।