Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 109

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

0

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ।

महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै राजमार्गको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र रहेका घरटहराहरू डोजर प्रयोग गरी हटाइँदा पूर्ण रूपमा भूमीहिन बन्न पुगेका नागरिकहरूलाई आवश्यक विवरण पेश गर्न आह्वान गरेको हो।

सडक क्षेत्रमा संरचना निर्माण गरी बसोबास गर्दै आएका नागरिकहरू सडक विस्तारका कारण विस्थापित हुन पुगेकाले देशका अन्य स्थानमा समेत कुनै जग्गा नभई पूर्ण रूपमा भूमीहिन भएका व्यक्तिहरूलाई राहत उपलब्ध गराउन आवश्यक लगत संकलन गर्ने लक्ष्य महानगरले लिएको जनाएको छ।

महानगरपालिकाले प्रभावित सबैलाई ३० दिनभित्र आवश्यक प्रमाणसहित आफ्नो विवरण पेश गर्न अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावितहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत संकलन प्रक्रिया सुरु गर्न लागिएको हो।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार महानगरपालिकामा प्राप्त विवरणको यथार्थ छानबिन गरी पूर्ण रूपमा प्रभावित नागरिकहरूलाई राहत उपलब्ध गराउन संघीय सरकारसमक्ष सिफारिस गरिनेछ।

थप जानकारीका लागि महानगरपालिकाको भूमि व्यवस्थापन तथा शहरी विकास महाशाखाका प्रमुख गौरव कुमार झासँग सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ।

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

0

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ।

महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते निधन भएको थियो। उनी २०६४ साल पुस ९ गतेदेखि महानगरपालिकामा स्थायी रूपमा कार्यरत रहँदै आएका थिए।

महानगरपालिकाले दिवंगत मेस्तर्नीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

उनको सम्झनामा शुक्रबार बिहान १०:३० बजे महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। महानगर प्रमुख राजेशमान सिंहकाे उपस्थितिमा भएकाे कार्यक्रममा प्रशासन प्रमुख शुनिल कुमार कर्णसहित अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रशासन प्रमुख कर्णका अनुसार शुक्रबार महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाबाहेक सबै सेवाहरू बन्द रहनेछन्।

विवाहका लागि विपन्न परिवारलाई खाद्य सामग्री सहयोग

0

कलैया । कानु युथ वीरगंजले बारा जिल्लाको कलैया उपमहानगरपालिका–३ भवानीपुर निवासी एक आर्थिक रूपमा कमजोर कुर्मी परिवारलाई विवाहका लागि आवश्यक खाद्य सामग्री सहयोग गरेको छ।

उक्त परिवारकी छोरीको वैशाख १२ गते हिन्दु परम्परा अनुसार विवाह हुने तयारी भइरहेका बेला आर्थिक अभावका कारण समस्या उत्पन्न भएपछि संस्थाले करिब २५ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको हो।

कानु युथका सचिव श्रवण साहले समाजमा रहेका विपन्न तथा असहाय परिवारलाई सहयोग गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।

सहयोग सामग्री अन्तर्गत चामल २ बोरा, मसुरो २० किलो, चिनी २० किलो, आलु १ बोरा, प्याज २० किलो, रिफाइन तेल १ जार, तोरी (सरसो) तेल १ टिन, मैदा २० किलो, बेसन १० किलो, ग्यास २ सिलिन्डर तथा हरियो तरकारी लगायतका सामग्री प्रदान गरिएको उनले जानकारी दिए।

कानु युथका अध्यक्ष मनोज साहको नेतृत्वम उनकाे घरमै पुगी संस्थाकाे एक समुहले सहयाेग सामग्री हस्तान्तरण गरेकाे हाे । साे टाेलीमा संस्थाका सदस्य देवेन्द्र साह कानु, कानु समाज बाराका रमेश साह कानु, अजय साह लगायतको सहभागिता रहेको थियो।

पर्सामा २२ थान अवैध ईलेक्ट्रिक स्कुटर बरामद, मूल्य १७ लाख ३० हजार बराबर

0

वीरगंज । पर्सा जिल्लामा सशस्त्र प्रहरी बल नेपालले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएका २२ थान ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

बिहिबार सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको टोलीले जिल्लाका विभिन्न नाकाबाट ती स्कुटरहरू बरामद गरेको हो।

बरामद गरिएका स्कुटरमध्ये वीरगंज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगंज महानगरपालिका–२५ स्थित सिर्सिया नाकाबाट ७ थान तथा बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठा नाकाबाट १ थान स्कुटर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त स्कुटरहरू भन्सार छली गरी नेपाल भित्र्याउने क्रममा रहेका व्यक्तिहरू प्रहरीलाई देख्नासाथ फरार भएका थिए। उनीहरूलाई खोजी कार्य जारी रहेको जनाइएको छ।

बरामद गरिएका करिब १७ लाख ३० हजार रुपैयाँ बराबरका ईलेक्ट्रिक स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।

वीरगंजमा डाेजरले भत्काइएकाे घर–टहरामा व्यापार नगर्न प्रशासनको चेतावनी

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जोखिमपूर्ण अवस्थामा रहेका घर तथा टहरामा व्यापार व्यवसाय सञ्चालन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सडक डिभिजन, हेटौंडाको सडक विस्तार कार्यक्रम अनुसार यही वैशाख ६ गते आइतबार वीरगंजकाे मितेरी पुलदेखि गणडक चौकसम्मको निर्धारित सीमाभित्र पर्ने घर–टहराहरू भत्काइएको थियो । अधिकांश घरधनीहरूले स्वस्फूर्त रूपमा आफ्ना संरचना हटाई व्यवस्थापन गरिरहेको भए पनि केही स्थानमा भत्किएका तथा जोखिमयुक्त संरचनामा पुनः व्यापार सञ्चालन भइरहेको पाइएको प्रशासनले जनाएको छ ।

यस्ता जोखिमपूर्ण संरचनामा व्यापार सञ्चालन गर्दा घरधनी, व्यवसायी तथा सर्वसाधारण सबैको ज्यान जोखिममा पर्ने भएकाले तत्काल त्यस्ता गतिविधि बन्द गर्न प्रशासनले चेतावनी दिएको छ । साथै, सम्भावित दुर्घटनाबाट हुने क्षतिको जिम्मेवारी स्वयम् घरधनीले वहन गर्नुपर्ने र प्रचलित कानूनअनुसार कारबाही हुने स्पष्ट पारिएको छ ।

जोखिमयुक्त संरचनाको व्यवस्थापन गर्ने क्रममा कामदारको सुरक्षालाई उच्च प्राथमिकता दिन पनि प्रशासनले अनुरोध गरेको छ। उक्त सूचना जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिएका छन्।

परवानीपुर गोल्डकपको फाइनलमा शक्ति युवा क्लब र निजगढ फुटबल क्लब भिड्ने

0

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक शक्ति युवा क्लब र निजगढ फुटबल क्लब निजगढबीच प्रतिस्पर्धा हुने भएको छ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा निजगढ फुटबल क्लबले रिगल हेटौंडा एन्फा मकवानपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। परवानीपुर खेल मैदानमा भएको खेलको पहिलो हाफसम्म दुवै टिम १–१ गोलको बराबरीमा रहेका थिए।

खेलको १४औं मिनेटमा रिगल हेटौंडाका अभिषेक कुमारले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ३९औं मिनेटमा निजगढका सन्तबहादुर गुरुङले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा झनै आक्रामक बनेको निजगढका लागि ६५औं मिनेटमा पुनः सन्तबहादुर गुरुङले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

उत्कृष्ट प्रदर्शन गरेका निजगढका सन्तबहादुर गुरुङ म्यान अफ दि म्याच घोषित हुँदै २१०० रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। उक्त पुरस्कार समाजसेवी जतन राउत कुर्मीले प्रदान गरेका थिए।

यसअघि पहिलो सेमिफाइनलमा आयोजक शक्ति युवा क्लबले सडेन डेथमा ९–८ गोल अन्तरले वीरगंज युनाइटेड क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

प्रतियोगिताअन्तर्गत शुक्रबार वीरगंज युथ क्लबको महिला टोली र निजगढ फुटबल क्लबको महिला टोलीबीच मैत्रीपूर्ण खेल आयोजना गरिने छ।

प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षतामा सञ्चालित कार्यक्रमको उद्घाटन हिमालय डिस्टिलरी लिमिटेडका प्रबन्धक कृष्णहरि अधिकारीले गरेका थिए। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता करिब १७ लाख रुपैयाँ लागतमा आयोजना गरिएको सह–संयोजक दीपक यादवले जानकारी दिए।

आयोजक शक्ति युवा क्लबका अध्यक्ष सुबोध श्रीवास्तवका अनुसार प्रतियोगिताको विजेतालाई २ लाख रुपैयाँ र उपविजेतालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट डिफेन्डर, फरवार्ड, दैनिक उत्कृष्ट खेलाडी तथा समग्र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ, जसमा उत्कृष्ट खेलाडीलाई ५१०० रुपैयाँ प्रदान गरिनेछ।

जयमंगलापुर प्रिमियर लिग सुरु, क्षेत्रिय सभापति मिश्रद्वारा उद्घाटन

0

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ स्थित जयमंगलापुरमा “जयमंगलापुर प्रिमियर लिग (JPL)” क्रिकेट प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रले गरेका हुन् ।

उद्घाटन समारोहमा रास्वपाका युवा नेता प्रदीप पटेल लगायत स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रिय सभापति मिश्रले खेलकुदले समाजमा एकता, अनुशासन र सकारात्मक ऊर्जा फैलाउने बताउँदै यस्ता प्रतियोगिताले ग्रामीण स्तरका प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले भने, “गाउँमै रहेका युवाहरूलाई खेलकुदमार्फत अघि बढाउने उद्देश्यले गरिएको यस्तो प्रयास अत्यन्त सराहनीय छ। यसले लुकेका प्रतिभाहरूलाई उजागर गर्न मद्दत पुर्‍याउँछ।”

आजको उद्घाटन खेलमा दुई टिमबीच प्रतिस्पर्धा भएको थियो । बुढगाउँ गाउँको टिम र लाइन पर्सा गाउँको टिमबीच रोमाञ्चक खेल सम्पन्न भएको आयोजकले जनाएको छ।

यस प्रिमियर लिगको विशेषता भनेको प्रतियोगितामा सहभागी हुने प्रत्येक टिममा एउटै गाउँका खेलाडी मात्र समावेश हुनुपर्ने नियम रहेको छ । यसले स्थानीय स्तरमै खेलाडीको विकास, गाउँ–गाउँबीच प्रतिस्पर्धा र आपसी भाइचारा मजबुत बनाउने अपेक्षा गरिएको छ।

सरकारी विज्ञापन सीमित गर्ने निर्णयविरुद्ध पत्रकार महासंघको विरोध, परिपत्र खारेजीको माग

0

वीरगंज । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्साले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयको कडा विरोध गर्दै उक्त परिपत्र तत्काल खारेज गर्न माग गरेको छ।

महासंघले प्रधानमन्त्रीसमक्ष आफ्नो माग राख्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत ज्ञापनपत्र बुझाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ साल चैत १८ गते जारी गरिएको परिपत्रप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै महासंघले यसले निजी तथा सामुदायिक सञ्चारमाध्यमको आर्थिक आधार कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने जनाएको छ।

महासंघका अनुसार देशभर सञ्चालनमा रहेका सयौं रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरू मुख्यतः विज्ञापन आम्दानीमै निर्भर छन्। यस्तो अवस्थामा सरकारी विज्ञापन सीमित गर्दा सञ्चार संस्थाहरू बन्द हुने जोखिम बढ्नुका साथै हजारौं पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष रूपमा प्रभावित हुने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ।

त्यसैगरी, सरकारी सञ्चारमाध्यममा मात्र सूचना सीमित हुँदा नागरिकको सूचनामा पहुँचमा असमानता बढ्ने र सूचना प्रवाह कमजोर हुने महासंघको ठहर छ। उक्त निर्णय खुला बजार अर्थतन्त्र र प्रतिस्पर्धात्मक प्रणालीको मर्मविपरीत रहेको भन्दै राज्य नियन्त्रित सूचना प्रणालीलाई प्राथमिकता दिने संकेत भएको महासंघले जनाएको छ।

महासंघले ज्ञापनपत्रमार्फत चार बुँदे माग अघि सारेको छ। जसमा चैत १८ गतेको परिपत्र तत्काल खारेज गर्न, सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न, संकटग्रस्त सञ्चार क्षेत्रको संरक्षणका लागि दीर्घकालीन नीति ल्याउन तथा सञ्चारसम्बन्धी निर्णय गर्दा सरोकारवालासँग अनिवार्य परामर्श गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रस्तुत गरेको ज्ञापनपत्र यथाशीघ्र प्रधानमन्त्रीसमक्ष पुर्‍याइदिन प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका छन्। ज्ञापनपत्र बुझाउने टाेली पत्रकार महासंघका लेखा समिति संयाेजक केसि लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा लगायतका महासंघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

यसैबीच, नेपाल पत्रकार महासंघ बारा शाखाले पनि सोही निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बारा पुगेको टोलीले उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष हस्तक्षेपको संज्ञा दिँदै तत्काल सच्याउन माग गरेको हो।

ज्ञापनपत्रमा निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गरिएको छ। साथै यसले मोफसलका साना तथा मध्यम सञ्चारमाध्यमहरू आर्थिक संकटमा पर्ने, पत्रकारहरूको रोजगारीमा असर पर्ने र सूचना प्रवाहमा असन्तुलन आउने खतरा औंल्याइएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, प्रदेश सदस्य साजिर मन्सुर, महिला उपाध्यक्ष प्रियंका दास, सचिव पुष्पराज खतिवडा तथा वरिष्ठ पत्रकारहरू सत्यप्रकाश श्रेष्ठ र भोजराज भट्टराईलगायतको उल्लेख्य सहभागिता रहेको थियो।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले पत्रकार महासंघको माग र चिन्तालाई सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। महासंघले आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संकेत समेत दिएको छ।

हरवा–चरवा निर्देशिका चाँडै पारित गरी लगत संकलन सुरु गरिने : मन्त्री श्याम पटेल

0

वीरगंज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले हरवा–चरवा सम्बन्धी निर्देशिका आफ्नै कार्यकालमा पारित गरी लगत संकलनका लागि स्थानीय तहमा परिपत्र गरिने बताएका छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित हरवा–चरवाको लगत संकलनसम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पटेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले मन्त्रालयमा लामो समयदेखि निर्देशिका किन रोकिएको भन्ने विषयमा आफूलाई जानकारी नभए पनि अब ढिलाइ नगरी पारित गरिने स्पष्ट पारे।

मन्त्री पटेलले हरवा–चरवा समुदायको जीवनस्तर सुधारका लागि आवश्यक कार्यक्रम ल्याइने उल्लेख गर्दै अघिल्लो बजेटमा विनियोजन गरिएको रकमको प्रभावकारी उपयोग सम्बन्धित समुदायले नै गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम सिआइसी जनकपुरधामको आयोजना, द फ्रीडम फन्डको सहयोग र आरडिएन नेपालको सहकार्यमा मन्त्रालयकै सभाहलमा सम्पन्न भएको थियो। हरवा–चरवा अधिकार मञ्चका अध्यक्ष दशन मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द फ्रीडम फन्डका कानुनी सल्लाहकार बालाराम भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा मन्त्रालयका कानुन अधिकृत श्रीजना यादव, बाली विकास अधिकृत रबिन बस्नेत, द फ्रीडम फन्डका कार्यक्रम सल्लाहकार ब्रह्मदेव राम, सिआइसीका सतिस ठाकुर तथा आरडिएन नेपालका बृजलाल पासवानलगायतले आ–आफ्ना धारणा राखेका थिए।

परवानीपुर गोल्डकप : आयोजक शक्ति युवा क्लब फाइनलमा

0

वीरगंज । पाचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक शक्ति युवा क्लब प्रवेश गरेको छ ।  बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक शक्ति युवा क्लबले सडेनडेथमा ९-८ गोल अन्तरले वीरगंज युनाइटेड क्लब वीरगंजलाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।

परवानीपुर खेल मैदानमा जारी प्रतियोगितामा खेलको निर्धारित समयमा दुबै टिम दुई -दुई गोलले बराबरी खेलेपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा सुरु देखि बलियो देखिएको शक्ति युवा क्लबले हाफ टाइमपछी कमजोर प्रस्तुत हुन थालेको थियो । खेलको ४ औं मिनेटमा शक्ति युवा क्लबका खेलाडी सुजन श्रेष्ठले गोल गरे ।

पहिलो गोलपछी झन आक्रमक देखिएको शक्ति युवा क्लबले खेलको १० औं मिनेटमा शक्ति युवा क्लबका खेलाडी श्रेष्ठले अर्को गोल गरे । त्यसपछि खेलको ३६ औं मिनेटमा वीरगन्ज युनाइटेड क्लबका खेलाडी युवराज खड्का गोल गरे ।

दोस्रो हाफमा कमजोर बन्दै गरेको शक्ति युवा क्लब खेलाडी माथि हाबी बनेको थियो । खेलको ५५ औं मिनेटमा वीरगंज युनाइटेड क्लबका खेलाडी सागर चौधरी गोल गरेर खेललाई बराबरीमा पुर्याएको थियो ।  आजको खेलमा आयोजक शक्ति युवा क्लबका गोलकिपर रबिन बस्नेत घोषित भए उनले २१ सय नगद प्राप्त गरे ।

उनलाई वीरगंज महानगरपालिका २१ का वडा अध्यक्ष राधाकृष्ण साह रौनियारले पुरस्कार प्रदान गरे । बिहिबार दोस्रो सेमिफाइनलमा निजगढ फुटबल क्लब निजगढ र रिगल हेटौंडा एन्फा मकवानपुर भिड्नेछन् ।

प्रतियोगिताका सहसंयोजक दिपक यादवको अध्यक्षता भएको आजको खेल वीरगंज महानगरपालिका २१ का वडा अध्यक्ष राधाकृष्ण साह रौनियारले उदघाटन गरेका थिए । बैशाख १२ सम्म संचालन हुने पाँचौं परवानीपुर गोल्डकपमा भारत एक वटा र नेपालको ७ वटा टिम गरि आठ वटा टिमले सहभागी भएको आयोजक क्लबका उपाध्यक्ष हुलास यादवले जानकारी दिए ।

राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा करिब १७ लाखको लागतमा भइरहेको यादवले बताए ।

प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सुबोध  श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।