वीरगंज । दलित महिला संघको आयोजनामा बुधबारदेखि वीरगंजमा दुई दिने प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल कार्यक्रम सुरु भएकाे छ ।
वीरगंजस्थित होटेल वीरगंज गेटवेमा सुरु भएकाे कार्यक्रमकाे उदघाटन प्रदेश सभा सदस्य बिना शर्माले गरेकी हुन् । कार्यक्रमकाे उद्घाटन गर्दै प्रदेश सांसद शर्माले महिलाहरुको बिकासको बाधक महिलानै भएकोले महिलाहरुलाई सचेतिकणकाे आवश्यकता रहेको बताइन ।
कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी सांसद शर्माले खासमा दलित महिलाहरुको सशक्तीकरण अति आवश्यक रहेकोले दलित महिला संघले आयोजना गरेको छलफल कार्यक्रम सराहनीय रहेकोमा खुशी ब्यक्त गरिन ।
कार्यक्रमका बिशिष्ट अतिथी दलित अगुवा एवं संचारकर्मी बृजलाल पासवानले राज्यको कुदृष्टिका कारण मधेस प्रदेश दलितहरुको लागि रेड जोन भएको बताए ।
दलित महिला संघ, पर्साको कोषाध्यक्ष संगीता दासको अध्यक्षतामा भएकाे कार्यक्रममा कपडा बैंक अध्यक्ष लालबाबु सिंह, भिम आर्मिका अध्यक्ष सुनिल राम, महिला नेत्री इन्दु घिमिरे लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।
मधेश प्रदेशका आठवटै जिल्लाबाट दलित महिलाहरूको सक्रिय सहभागितामा सुरु भएको दुई दिवसिय छलफल कार्यक्रममा मधेश प्रदेशका पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, धनुषा र सप्तरी जिल्लाबाट २–२ जना गरी १६ जना दलित महिला कार्यपालिका सदस्यहरू र २७ जना समान्य दलित महिला गरी कुल ३५ जना सहभागी रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमका सहभागी महिलाहरूलाई भोला पासवानले प्रशिक्षण दिइरहेका छन् । छलफल कार्यक्रम बिहीबार सम्पन्न हुने दलित महिला संघ पर्साकी संस्थापक तथा अध्यक्ष निला कुमारी रामले जानकारी दिइन ।