वीरगंज । वीरगंज मंगलबार बेलुकी देखि फेर तनावग्रस्त बनेकाे छ । गत शनिबार हनुमान जन्माेत्सवकाे अवसरमा निकालिएको शाेभायात्राका क्रममा भएको झडपकाे घटनामा संलग्न रहेकाे आराेपमा मंगलबार प्रहरीले दुई हिन्दु युवाहरुलाई पक्राउ गरेपछि उनिहरुकाे रिहाइको माग गर्दै हिन्दुवादीहरु प्रदर्शनमा उत्रिएपछि तनाव भएको हाे ।
ड्रोन क्यामरा, सामाजिक सञ्जालमा देखिएको भिडियोको आधारमा पहिचान खुलेका ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । वीरगंज महानगरपालिका वडा नंं. २ छपकैया निवासी सलाउद्दीन मियाँ ठकुराई, सोही ठाउँ बस्ने शेख खुर्सेद, बलजित सिंह र वीरगंज कै वडा नं. १६ नगवा निवासी रवि सर्राफलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
छपकैयाका सलाउद्दीन मियाँ र शेख खुर्सेदले शोभायात्रामा सहभागीमाथि ढुंगा प्रहर गरेको र रवि सरार्फ तथा बलदेव सिंह कुशवाहा मोटरसाइकल तोडफोड र विरयानी हाउस तोडफोडमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रकाे भनाई छ ।
पक्राउ परेकाहरु मध्ये सिंह र सर्राफकाे रिहाईकाे माग गर्दै हिन्दुबादी संगठनका नेता र कार्यकर्ताहरु मंगलबार सांझ जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी धर्ना दिएका थिए । जिल्ला प्रशासन कार्यालयमा आइतबार भएकाे सहमती विपरित हिन्दु युवाहरुलाई प्रहरीले पक्राउ गरेपछि आफुहरु विराेधमा उत्रेकाे हिन्दुवासी संगठनका नेताहरुले जनाएका छन् । पक्राउ परेका हिन्दु युवाहरुलाई विना शर्ता रिहा गर्नु पर्ने उनीहरुकाे माग रहेकाे छ ।