वीरगंज । नारायणी रङ्गशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) वीरगंज महानगरको आयोजनामा टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता साेमबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले क्रिकेट खेलेर संयुक्त रूपमा गरेका थिए ।
नेशनल प्याब्सन वीरगंज महानगरका अध्यक्ष जियालाल गुप्ताकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह, प्याब्स वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सेली डटकमका अध्यक्ष राजेन्द्र प्रसाद कोइराला लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरूले नृत्य र शुभकामना गीत प्रस्तुत गरेका थिए । जसले समारोहलाई अझ आकर्षक बनाएको थियो ।
आयाेजकका अनुसार प्रतियोगिताले वीरगंजमा खेलकुदको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । प्रतियोगितामा नेशनल प्याब्सन अन्तर्गतका १६ वडा विद्यालयले सहभागिता जनाएका छन् ।