वीरगंज । राजावादीहरूले शुक्रवार काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा एउटा घरमा लगाइएको आगलागीमा परेर ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको विरोधमा पर्सा सहित देशभरका सञ्चारकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपाल पत्रकार महासङ्घले घोषणा गरेको विरोध कार्यक्रमअन्तर्गत आइतबार पर्साका अधिकांश सञ्चारकर्मीहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा र वीरगंजकाे घण्टाघरमा जम्मा भएका संचारकर्मीहरुले हातमा कालो पट्टी बाँधेर आफ्नो नियमित कामकाे लागि कार्यक्षेत्रमा प्रस्थान गरेका थिए । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा लगायतले पत्रकारका नेताहरुले पत्रकारहरुकाे हातमा कालाे पट्टी बाँधी दिएका दिएका थिए ।
पत्रकार रजकका हत्याराहरूलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न र सञ्चार गृह तथा सञ्चारकर्मीहरूको सुरक्षाको ग्यारेन्टी गर्न हाम्राे माग रहेकाे महासंघ मधेश प्रदेशका अध्यक्ष बन्जाराले वताए ।
“पत्रकार सुरेश रजकले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्ने क्रममा ज्यान गुमाउनुपरेको छ । घटनाले सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,” अध्यक्ष बन्जाराले भने, “हामी हातमा कालो पट्टी बाँधेर विरोध जनाइरहेका छौँ र दोषीमाथि कडा कारबाही नभएसम्म आन्दोलन जारी रहनेछ ।”
नेपाल पत्रकार महासङ्घले देशभरका सञ्चारकर्मीहरूलाई विरोधमा सहभागी हुन आह्वान गरेको छ । पर्साका सञ्चारकर्मीहरूले पनि सोही आह्वानलाई समर्थन गर्दै दिनभर कालो पट्टी बाँधेर आफ्नो विराेध जनाएका हुन् ।