काठमाडौं । राजावादीहरूको आन्दोलनका क्रममा शुक्रवार हिंसात्मक घटना घटेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिकामा देखिएको भन्दै सरकारले ज्ञानेन्द्रको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।
घटनाको अनुसन्धान सुरु भएपछि उनी भागेर जानसक्ने आशंका भएपछि कानुनी दायरामा ल्याउनका लागि राहदानी रद्द गर्न निर्देशन दिइएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।
‘हिंसात्मक घटना घट्नुअघि त्यसका कमान्डरहरूलाई निर्मल निवासमा बोलाएर पूर्वराजा ज्ञानेन्द्रले उकासेको स्पष्ट देखिएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ, ‘उनले केही समयअघि दिएका अभिव्यक्ति र हिजोको घटनामा तादम्यता मिलेको देखिन्छ । अनुसन्धान भइरहेको छ । यस्तोबेलामा उनी बाहिर नजाउन र अनुसन्धानलाई सघाउन भन्ने सरकारको उदेश्य हो ।’
दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि बढेसँगै देशबाट भाग्न नदिन राहदानी रद्द गर्न लागिएको सरकारको भनाइ छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलन हिंसामा परिणत भएको थियो ।