वीरगंज । राजावादीहरुले शुक्रबार राजतन्त्रकाे माग गर्दै गरेकाे प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको र राजावादीबाट भएकाे आगजनीमा पत्रकार सुरेश रजकको मृत्यु भएकाे छ ।
दुर्गा प्रसाईको मुख्य नेतृत्वमा भएकाे राजवादीकाे प्रदर्शनकाे क्रममा प्रहरीकाे गाेली लागेर २९ वर्षीय महर्जनकाे मृत्यु भएकाे गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।
यसैगरी राजवादीहरुले लगाएकाे आगाे लगाएकाे एक घरमा भेटिएकाे शव पत्रकार रजकको रहेकाे पुष्टि भएको उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ । मृत भेटिएका रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए ।
राजावादीको नाममा भएको हिंसात्मक गतिविधिको निसानामा निजी सम्पत्ति र व्यवसायहरू परेका छन् ।
हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी मात्रै गरेका छैनन्, भाटभटेनी सुपर स्टोरमा लुटपाट पनि मच्चाएका छन् ।
हिंस्रक समूहको आक्रमणबाट करोडौं रुपैयाँको क्षति भएको सरकारी अधिकारीहरूको अनुमान छ । त्यतिमात्र होइन, अन्नपूर्ण पोस्ट तथा कान्तिपुर टेलिभिजन जस्ता निजी सञ्चारमाध्यममा पनि तोडफोड लगत्तै आगजनी प्रयास भएका छन् ।
दुर्गा प्रसाईं, धवलसमशेर राणा तथा रविन्द्र मिश्रजस्ता राजावादीहरूको नेतृत्वमा कोटेश्वर–तीनकुने क्षेत्रमा जम्मा भएको हिंसात्मक समूहले सबैभन्दा पहिलो तीनकुनेमा रहेको मार्बल हाउसमा तोडफोडबाट आफ्नो अराजक गतिविधि सुरु गरेका थिए । उनीहरूले त्यो भवनमा आगजनी मात्रै गरेनन्, तीनकुने क्षेत्रका अन्य भवनमा पनि अन्धाधुन्द तोडफोड गरे ।
यसैगरी प्रदर्शनकारीले एकीकृत समाजवादीको कार्यालयका साथै केही घरमा आगजनी र तोडफोड गरेका छन् । स्थिति नियन्त्रणबाहिर गएसँगै तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो । शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो ।