वीरगंज । गैर सरकारी संस्था महासंघ नेपाल पर्सा शाखाको बैठक शुक्रबार सम्पन्न भएकाे छ । महासंघ पर्साका अध्यक्ष छठु साहकाे अध्यक्षतामा बसेकाे बैठकले महासंघ पर्साकी पूर्व कार्य समिति सदस्य स्व. अर्चना गुप्ताकाे स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेकाे छ ।
वीरगंजकाे पानीटंकीस्थित महासंघकाे कार्यालयमा बसेकाे बैठकले स्व. अर्चना गुप्ताकाे स्मृतिमा पुरस्कार स्थापना गरि यसै बर्षदेखि वितरण गर्ने निर्णय गरेकाे महासंघ पर्साका अध्यक्ष साहले जानकारी दिए । महिला सशक्तिकरणमा योग्यदान पुर्याउने समाजिक कार्यमा सकृय एक जना महिलालाई वितरण गरिने पुरस्कारकाे लागि कोषको स्थापना गर्ने पनि निर्णय भएकाे उनले वताए ।
उनका अनुसार स्थापना भएकाे पुरस्कार महिला सशक्तिकरणमा योग्यदान पुर्याउदै समाज सेवामा अग्रगणी भुमिका निर्वाह गर्दै आएकी एक महिलालाई प्रत्येक बर्ष वितरण गरिने छ । पुरस्कार राशी पछि निर्धारण गरिने छ ।
बैठकले पुरस्कार वितरणकाे महासंघका उपाध्यक्ष सुरज पंडितको संयोजकत्वमा पांच सदस्यीय समिति समेत गठन गरेकाे । जुन समितिकाे सदस्यमा महासंघ पर्साका सचिव चन्देश चौहान, सल्लाहकार रामाकान्त पटेल, किरण गुप्ता र मन्तुरा चौधरी रहेका छन ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुअवन निवासी अर्चना कुमारी गुप्ताको २०८१ बैशाख ९ गते हृदयघातका कारण अल्पआयुमै निधन भएकाे थियो ।
गैसस महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवालकाे विशेष उपस्थितीमा भएकाे बैठकमा स्व. अर्चना गुप्ताका श्रीमान एवं समाजिक कार्यकर्ता शिवचरण राैनियार लगायत महासंघका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।