वीरगंज । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा वीरगंजमा ‘न्यु इयर इभ कन्सर्ट’को आयाेजना हुने भएकाे छ । ब्लेन्डिङ इभेन्ट्स नेपाल र परिवर्तन इभेन्ट हाउसको सहकार्यमा २०८१ साल चैत्र ३१ गते कन्सर्टकाे आयाेजना हुन लागेकाे हाे ।
वीरगंजस्थित होटल भिस्वामा आयाेजना हुने कन्सर्टकाे प्रमुख आकर्षणमा चर्चित गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्याण्ड’को रहेकाे छ, जसकाे बीरगंजमा पहिलो पटक प्रस्तुत हुन लागेकाे आयाेजकले जनाएकाे छ । आयाेजकले शुक्रबार वीरगंजमा पत्रकार सम्मेलनकाे आयाेजना गरि कन्सर्टकाे सम्पूर्ण तयारी अन्तिम चरणमा रहेकाे जनाएकाे छ ।
यसका अतिरिक्त थारु गायिका अनु चौधरी, मैथिली र्यापर मनिया, काठमाडौंकी चर्चित महिला डिजे नाना र वीरगंजका स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा चार हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
आयाेजक संस्थाका अभय कर्णका अनुसार कार्यक्रमको लागि विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ । कार्यक्रमको कुल खर्च अनुमानित ३८ लाख ४० हजार रुपैयाँ रहेको छ । मुख्य प्रायोजकको रूपमा प्लाटिनम, सिल्भर र सपोर्टेड बाइका अवसरहरू खुला रहेका छन् । प्रायोजकहरूले मञ्च, स्क्रीन, होर्डिङ बोर्ड र डिजिटल मिडियामा ब्रान्ड प्रदर्शनीको फाइदा उठाउन सक्नेछन्।
कार्यक्रमका टिकटहरू विद्यार्थीहरूको लागि ५०० रुपैयाँ, साधारण टिकट १००० रुपैयाँ र प्रिमियम टिकट २५०० रुपैयाँमा उपलब्ध हुनेछ । नयाँ वर्षको अवसरमा आकर्षक छुटको व्यवस्था पनि गरिएको छ । टिकटहरू अनलाइन वालेटमार्फत खरिद गर्न सकिनेछ, साथै वीरगंजका विभिन्न स्थानहरूमा टिकट काउन्टरहरू खोलिनेछन्।
ब्लेन्डिङ इभेन्ट्स नेपालले सम्पूर्ण दर्शक, मिडिया र प्रायोजकहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै कार्यक्रमको सफलता र समर्थनको लागि सबैको साथको अपेक्षा गरेको छ ।