वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँपालिकाले बुधबार बिहान एक सूचना जारी गर्दै गाउँभरि शोक बिदा रहने जानकारी गराएको हो ।
गाउँपालिकाको वडा नम्बर १ फुलबारी टोलस्थित श्री रेडक्रस आधारभूत विद्यालयका शिक्षक शम्भु प्रसाद चौरसियाको मंगलबार असामयिक निधन भएपछि बुधबार पालिकामा शोक बिदा दिइएकाे प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले जानकारी दिए ।
पालिकाका अध्यक्ष बशिष्ट कुमारले चौरसियाको निधनले सम्पूर्ण गाउँपालिका स्तब्ध भएको बताए । पालिकाको कार्यालयले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
शोक प्रकट गर्दै गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय तथा शैक्षिक संस्था बन्द रहने जनाएको छ । पालिका अन्तर्गतका सबै विद्यालय, सरकारी तथा स्थानीय निकायका कार्यालयहरू आज एक दिनका लागि बन्द रहने गाउँपालिकाले एक सूचना जारी गर्दै जनाएकाे छ ।