ओमप्रकाश चाैधरी /
सेढवा । पर्साको ग्रामीण भेगका किसानहरुले चैते धान बाली (हर्दिनाथ – १) को बीऊ राख्न शुरु गरेका छन । यस क्षेत्रका खास गरि जिल्लाको उतरी तथा पश्चिमी भेगमा पर्ने ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिका तथा बीरगंज महानगरपालिकाका उतरी वडाका किसानहरुले चैते धान बालीको बीऊ राख्न शुरु गरेका हुन ।
किसानहरुले बीऊ छर्नका लागि आवश्यक ब्याडका लागि सिचाई गर्ने, झारपातको गोडमेल गर्ने तथा बीऊ छर्ने कार्य शुरु गरेका छन । बिगत ४/५ बर्षदेखि यस धानबालीबाट किसानहरुले राम्रो उत्पादन गर्दै आएका कारण अन्य किसानहरुले यो बालीको रोपाईको शुरुवात गर्न थालेका छन ।
जिराभवानी गाँउपालिका वडा नं १ शान्तिनगरका किसान रविमोहन सापकोटाका अनुसार आफूले डेढ बिघा चैते धान बाली रोपाईका लागि ब्याडमा बीऊ राखेको बताए । यो बाली लगाउदा एउटै जमिनबाट किसानहरुले दुई बाली धान र अर्को तोरी, सुर्ती या राजमाको खेती गरी तीन बाली उत्पादन गर्न सकिने किसान सापकोटाका भनाई रहेको छ ।
किसानहरुले खेतीबाटै आफ्ना खाद्यान्न, लताकपडा, शिक्षा, औषधी उपचार तथा अन्य खर्च धाउनु परेका हुँदा किसानहरुले बिभिन्न किसिम्मका उत्पादन तिर उन्मुख हुनु परेको किसान सापकोटाले बताए ।
त्यस्तै ठोरी गाउँपालिका वडा नं ५ गडुवालाईनका किसान देवीप्रसाद दहालले अहिले खेतमा सिचाईका लागि भूमिगत सिचाई अन्तर्गत बोरिंगबाट दमकल तथा वाटर पम्पबाट सहज हुने हुँदा किसानहरुले बिभिन्न बाली उत्पादन गर्न अग्रसर भएको बताए । तोरी उखेलेका, सुर्ती बाली भित्रियाउदै गरेका जमिनहरु एक महिना भित्र खाली हुने हुदा सोको सदुपयोग गर्दै चैते धानबालीका लागि बीऊ राख्न शुरु गरेका दहालको भनाई रहेकाे छ ।
यता सखुवाप्रसौनी गाउँपालिका वडा नं १ का सुरेन्द्र महतो थारूले आफ्नो क्षेत्रमा रहेका खेतीयोग्य जमिनको ३० प्रतिशत भन्दा बढि चैते धानबालीको खेती हुने गरेको बताए । यो धानको चामलको भात खानाका लागि स्वादिलो तथा उत्पादन पनि राम्रो हुने हुँदा यो बाली प्रति किसानहरुको आकर्षण बढेका थारुले बताए ।
चैते धानबालीको उन्नत जातका बीऊ पालिका तथा कृषि सम्बन्धि बिभिन्न कार्यालयहरुले पनि पचास प्रतिशत आनुदानमा पनि किसानहरुलाई बीऊ उपलब्ध गराउने गरेका छन । पटेर्वासुगौली गाउँपालिकाका कृषि शाखाका ना. प्रा. स मोहन दास थारुका अनुसार अहिलेसम्म पचास प्रतिशत आनुदानमा २ सय पचास बोरा (३५ के. जी. को बोरा) बितरण भइसकेको बताए । अझै दुई सय बोराको माग रहि रहेको थारुको भनाई रहेकाे छ ।
उता ठोरी गाउँपालिकामा रहेका कृषि सहकारी संस्थाहरुले किसानलाई आधा मूल्यमा बीऊ बितरण गरिरहेको जानकारी प्राप्त भएकाे छ । यी संस्थाहरुले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बारा पर्साको कार्यालय कलैयाबाट हर्दिनाथ – १ को बीऊ ल्याई किसानहरुलाई बितरण भइरहेको ठोरी गापाका प्रमुख चन्दन भैया थारुले बताए ।
यता जगरनाथपुर र सखुवाप्रसौनी गाँउपालिकामा चैते धानबालीको बीऊ मागका लागि फारम भर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो बालीको बीऊ फागुन महिनाको पहिलो सातादेखि बीऊ राख्ने तथा चैत्र महिनाको पहिलो सातादेखि रोपाई शुरु गर्ने गरिन्छ ।
९० दिनमा पाकी सक्ने यो बाली जेठ महिनाको अन्तिम सातासम्म भित्रियाउन सकिने किसानहरुले जनाएका छन । सोही खेतमा पुनः यही धानबालीको रोपाई गर्न सकिने किसानहरुले जनाएका छन । गत बर्षसम्म यो बाली पाच मनदेखि आठ मन (२ क्वीन्टल देखि साढे तीन क्वीन्टल) प्रति कटठाको दरमा उत्पादन हुने गरेका छन । अहिले यो बाली भारत बिहारको पश्चिमी चम्पारण जिल्लाको केही स्थानमा समेत खेती हुन थालेका छन ।