वीरगंज । जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठन बौद्धिक पेसाकर्मीको राष्ट्रिय उपाध्यक्ष पर्साका डा. आमिर आलम नियुक्त भएका छन् । जसपाका संघीय परिषद् सदस्यसमेत रहेका वीरगंज १५ निवासी डा. आलम सफल युवा उद्यमी तथा स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्व हुन् ।
स्माइल डेन्टल क्लिनिक वीरगंजका प्रबन्ध निर्देशक समेत रहेका डा. आलमको नियुक्तिसँगै जसपाको बौद्धिक पेसाकर्मी संगठनमा नयाँ ऊर्जा थपिएको विश्वास गरिएको छ । उनको नेतृत्वमा संगठनले शैक्षिक तथा बौद्धिक क्षेत्रमा सुधार ल्याउने योजनासहित कार्य अघि बढाउने अपेक्षा गरिएको छ ।
डा. आलमलाई विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले बधाई तथा शुभकामना दिएका छन् । शुभेच्छुकहरूले आगामी दिनमा सफल कार्यकालको शुभकामना दिँदै उनको नेतृत्वमा संगठनले अझ प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
उनी लामो समयदेखि सामाजिक सेवा, स्वास्थ्य, तथा राजनीतिक क्षेत्रका गतिविधिमा सक्रिय रहँदै आएका छन् । जसपा स्रोतका अनुसार डा. आलमको नेतृत्वले संगठनलाई अझ मजबुत बनाउने र देशभरका बौद्धिक पेसाकर्मीलाई एकजुट गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।