वीरगंज । नवौं संस्करणको प्याब्सन अन्तरविद्यालय टी–ट्वान्टी क्रिकेट तथा फुटबल प्रतियोगितामा मंगलबार विभिन्न विद्यालयबीच प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न भएका छन् । क्रिकेटतर्फ ३ खेलहरू सम्पन्न भए भने फुटबलतर्फ ४ खेल भएका हुन् ।
क्रिकेटतर्फको पहिलो खेलमा अल्पाईन स्कुलले वाकओभर पाउँदै सफल एकेडेमीलाई पराजित गरेको छ । सफल एकेडेमी निर्धारित समयमा उपस्थित नभएपछि अल्पाईन विजयी घोषित भएको हो । दोस्रो खेलमा ज्ञानदा एकेडेमी र वीरगंज स्कुलबीच भिडन्त भएको थियो ।
टस जितेर ब्याटिङ रोजेको ज्ञानदाले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १४९ रनको विशाल योगफल तयार गर्याे । ज्ञानदाका आदिल अन्सारीले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे भने प्रियान्शु सर्राफले ४८ रन जोडे ।
१५० रनको लक्ष्य पछ्याएको वीरगंज स्कुल १४ ओभरमा ७६ रनमै समेटियो । ज्ञानदाका प्रियान्शु सर्राफ बलिङमा पनि चम्किए, उनले तीन विकेट लिए भने खिलराज सर्राफ र यथार्थ कलवारले २/२ विकेट हात पारे । आदित्य महतोले पनि एक विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ ज्ञानदा एकेडेमीका प्रियान्शु सर्राफ घोषित भए ।
तेस्रो खेलमा मास्कट एकेडेमी र वीरगंज पब्लिक स्कुल भिडेका थिए । टस जितेर ब्याटिङ रोजेको मास्कटले १५ ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनायो । ८५ रनको लक्ष्य पछ्याएको वीरगंज पब्लिक स्कुल १५ ओभरमा ६ विकेट गुमाएर ६५ रनमै रोकियो । मास्कटका सलमान आलम र ईशान ठाकुरले २/२ विकेट लिए भने विश्वास पटेल र लकी शर्माले १/१ विकेट हात पारे ।
वीरगंज पब्लिक स्कुलका उज्जल कुमार र शिवम चौधरीले २/२ विकेट लिए भने आशिष साह, प्रथम चौधरी र आलोक कुमार चौधरीले १/१ विकेट लिए । ‘म्यान अफ दी म्याच’ वीरगञ्ज पब्लिक स्कुलका ईशान ठाकुर घोषित भए ।
फुटबलतर्फको प्याब्सन जुनियर नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएकाे पहिलो खेल एमईएस स्कुल र श्री आदर्श स्कुलबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एमईएस स्कुल १–० गोल अन्तरले विजयी भयो । ‘प्लेयर अफ दी म्याच’ आदर्श स्कुलका सर्वेस माझी घोषित भए ।
दोस्रो खेलमा लिटल फ्लावर र बिकन स्कुलबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा गएर खेल झनै रोमाञ्चक भएको थियो । ट्राई ब्रेकरमा पनि बराबरी भएपछि सडेन डेथमा लिटल फ्लावर १–० गोल अन्तरले विजयी बन्यो ।
तेस्रो खेल मुनलाईट र सफल एकेडेमीबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सफल एकेडेमीले ४–३ गोल अन्तरले जित हात पा-यो । सफलका जर्सी नम्बर १० का राजीव चौधरीले चार गोल गर्दै टिमलाई जित दिलाए । उनलाई ‘म्यान अफ दी म्याच’ घोषित गरियो ।
अन्तिम खेल मास्कट एकेडेमी र लिटिल एञ्जल्सबीच भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेनन् । टाइब्रेकरमा लिटिल एञ्जल्सले ३–२ गोल अन्तरले जित हासिल गरेको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।
उनकाअनुसार खेलको ‘प्लेयर अफ दी म्याच’ मास्कट एकेडेमीका रेहान पन्चे मगर घोषित भएका छन् । सबै खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको सचिव सङ्ग्रौलाले बताए ।