वीरगंज । पर्सा ट्राफिक प्रहरीले चेकजाँचको नाममा ‘अवैध असुली’ गरिरहेको समाचार प्राप्त भएकाे छ । मुलुकको मुख्य प्रवेशद्वार वीरगंजको विभिन्न ठाउँमा सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीहरुले अवैध असुली गरिरहेकाे तथ्य प्राप्त भएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत अस्थायी ट्राफिक पोष्ट ड्राईपोर्ट बहुवरी, परवानीपुर, बसपार्क, पावरहाउचौक र पर्साको ग्रामिण क्षेत्रमा पर्ने बहुअर्वाभाठाबाट सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै अवैध असुली धन्दा चलाइरहेका छन् ।
त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजका ड्राईपोर्ट, परवानीपुर, पावरहाउस, लगायतका सडकमा चल्ने भारतीय सवारीसाधनसँग ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतबाट खटिने प्रहरीले चेकजाँचका नाममा अवैध रकम असुल्ने गरेको गुनासो छ । वीरगंज भन्सार कार्यालय, आईसीपी र सुख्खा बन्दरगाहबाट निस्कने मालवाहक सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले अवैध असुली गर्दै आएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी निरिक्षक लोकराज भट्ट छन तर असुली धन्दाका सम्पुर्ण हार्ताकर्ता भने प्रहरी वरिष्ठ नायव निरीक्षक गुणनिधि खकुरल छन् । ट्राफिक प्रमुख भट्टले उठ्तीपुठ्ती गर्न देखि कसलाई कहाँ खटाउने लगायत तमाम जिम्मा वरिष्ठ सई खकुरेललाई नै दिएका छन ।
प्रहरी निरिक्षक भट्टले पोष्टहरुमा सरुवा गर्न आफ्नै प्रहरीसँग मासिक पैसा उठाउने गरेको स्रोत बताउँछ । ट्राफिक पोष्टमा सरुवा हुन मासिक १० हजारदेखि २ लाख रुपैयाँसम्म पोष्ट अनुसार लिने गरेका छन् । वरिष्ठ सई खकुरेलमार्फत यसरी पैसा असुली हुने गरेको छ । इन्चार्जलाई मात्र हैन सिपाही हवल्दारलाई पनि पोष्टहरुमा खटाउदा वरिष्ठ सई खकुरेलले असुली गर्ने गरेका छन ।
पैसा बुझाएकै दिन पोष्टमा सरुवा हुने र नबुझाए तत्काल नै हटाउने गरिएको छ । महिनौंदेखि ट्राफिकमा यस्तो संगठित रुपमा अवैध असुली हुँदै आएको हो ।
साथै, लाइसेन्सको ट्रायल परीक्षामा पनि प्रहरी निरिक्षक भट्टले सेटिङभित्रका आफ्ना बिश्वासपात्र वरिष्ठ सई खकुरेललाई मात्र पठाउने गरेका छन् । सेटिङमा फेल हुनेलाई समेत पास गराउने र भत्ता समेत दुरुपयोग हुने गरेको छ । जून सेटिङमा वरिष्ठ सई कखुरेल छन् । पैसा नबुझाउने ट्राफिक प्रहरीहरुलाई कखुरेलले कठिन हुने ठाउँमा डिउटीमा खटाउने गरेका छन् ।
यस्तै, बसपार्क इन्चार्ज सइ गोविन्द थापा रहेको बिटबाट खटिएका ट्राफिक प्रहरीले बसपार्क बाइपास र लिंक रोडमा सञ्चालन हुने बस, सुमो लगायतका सवारीसाधनका चालक तथा व्यवसायीहरूबाट र सानो ठुलो सम्पुर्ण पसलहरुबाट साप्ताहिक र मासिक घुस असुली गर्दै आएको समाचार प्राप्त भएको छ ।
समाचार स्रोतका अनुसार, बाइपास र लिंक रोडका पसलहरूमा सामान झार्न आएका तथा खरिद गर्न आउने सवारीसाधनलाई पसल अगाडि पार्किङ गर्न दिएबापत पसल मालिकसँग ट्राफिक प्रहरीले नियमित रूपमा घुस उठाउने गरेका छन् ।
त्यसैगरी, घुस नबुझाउने पसल अगाडि पार्क गरिएका गाडीहरूमा अनावश्यक रूपमा ह्विल लक लगाउने, जरिवाना गर्ने तथा अनावश्यक दु:ख दिने गरेको आरोप छ।
यस्तै ग्रामीण क्षेत्रबाट धान लोड भई आउने ट्याक्टरका चालकहरुसँग प्रतिगाडी १ सयदेखि २ सय रुपैयाँसम्म घुस लिने गरिएको छ । ट्याक्टरमा धान लोड भएर आउने ट्याक्टरसँग पोखरिया, बहुअर्वाभाठा तिलावे पुल र बहुवरी चोकमा रोकेर अनावश्यक झन्झट दिई घुस असुली गर्ने गरिएको चालकहरुको गुनासो छ ।
बहुअर्वाभाठामा खटिने ट्राफिक प्रहरीले आफ्नो बिटमा नबसी पुर्बपटी रहेको पान गुम्टीमा बसेर ग्रामीणबाट आउने लोड सवारीसाधन र भारतीय गाडीबाट अबैध असुली गर्ने गरेको स्रोतको दाबी छ । घुस लिएको कसैले नदेखोस त्यसैले ट्राफिक प्रहरीले पान गुम्टि र पान गुम्टि पछाडी रहेको सानो टहरामा लगेर घुस लिने गरेका छन ।
यतिमात्र हैन, भारतीय नम्बर प्लेटका निजी सवारी कार, पिकअप, मोटरसाइकल चालकबाट लाइसेन्स, ब्लु बुक लगायतका कगजात माग्ने र घुस दिए कर नतिरेको वा कागजपत्र नभए पनि रसिद नै नकाटी छोड्ने गरेका छन् ।
सरकारी तलब खाएर, कानुनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको ट्राफिक प्रहरीले पर्सामा सवारी चालकहरुलाई आतंकित पारेको छ । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर ट्राफिक प्रहरीहरुले अबैध रकम उठाइरहेको सवारी चालकहरु बताउँछन् ।
सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत् ड्राईपोर्टस्थित बहुवरी ट्राफिकका इन्चार्ज असई बिरबहादुर यादव र परवानीपुरका इन्चार्ज सई भिम बहादुर बोहराको कमाण्डमा खटिने प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ ।
परवानिपुर बिटका सई बोहराको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सि.आर.भी. सरुवामा भइसकेको छ तर यहि मोटो घुस कमाइ हुने भएकोले अडा जमाएर बसेका छन । सरुवा भएका सइ बोहरालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी निरीक्षक भट्टले नै सरुवा न गरि काखी च्यापेका छन ।
प्रत्येक २ महिनामा परवानीपुर र बहुवरी युनिटका ट्राफिक प्रहरी परिवर्तन हुने खबर पनि छ । दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त ठाँउहरुमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको पर्साका गाउँबाट धान ढुवानी गर्ने एक पीडित बताउँछन् । ड्राइपोर्ट बहुअरी चोक सडक भएर आउजाउ गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेक बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।
त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभरलोड नै आउने गर्छन् र ट्राफिकसँग समन्वय गरी एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरिवाना तिराउन सक्छ । जरिवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।
बीरगंज भन्सार कार्यालय आईसीपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको छ ।
त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरी सवारी छुटाउने दलालहरुले पनि प्रतिगाडी १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफूखुसी आउने गाडीका चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए । अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण ड्राइपोर्ट बहुअरी, पावरहाउस चोक, गण्डक र परवानीपुर सडकखण्डमा सवारी जामसमेत हुने गरेको छ ।
बहुवरी चौकमा ट्राफिक प्रहरीले अबैध रकम उठाएको फोटो, भिडियो तथा चोकमा बस्ने स्थानीयले नजर राख्न थालेपछि उनीहरुले पहिला उठाउने ठाउँबाट २ बिघा पश्चिम एकान्त ठाउमा सारेर असुली गरिरहेका छन् ।
ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको ड्राईपोर्ट बहुवरी, परवानीपुर , बसपार्क र बहुअर्वाभाठा लगायतका युनिट इन्चार्जहरूले अबैध असुली गरेको रकमबाट कमाई हुने ठाउँ अनुसार माथि हिस्सा बुझाउने गरेका छन् । उल्लेखित पोष्टका इन्चार्जहरुले जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टलाई तोकेको दररेट अनुसार मासिक रकम बुझाउने गरेका छन् । यतिमात्र हैन उक्त असुली हुने रकमको हिस्सा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपीसम्म पुग्ने गरेको स्रोतको दाबी छ ।
पर्सा जिल्लाभित्र ड्राइपोर्ट बहुअरी चोक , परवानीपुर, बसपार्क, पावरहाउस चोक र बहुअर्वाभाठा लगायत ५–६ वटा ट्राफिक पोष्ट रहेका छन् । ती पोस्टहरुमा रहेका ट्राफिक प्रहरीबाट मासिक किस्ता असुल्ने गरिएको सूचना समेत प्राप्त भएकाे छ । स्रोतका अनुसार ती पोष्टमध्ये जिल्ला प्रवेशको पहिलो र मुख्य ठाउँ ड्राइपोर्ट बहुअरी चोक ट्राफिक पोष्टको किस्ता मासिक २ लाख र दोस्रो ट्राफिक पोस्ट परवानीपुरको किस्ता मासिक २ लाख रहेको बताइएको छ । यी दुबै पोष्टबाट बढी घुस असुली हुने भएको र जिल्ला ट्राफिकका प्रमुख र प्रदेश ट्राफिकका प्रमुख एसपीलाई बढी बुझाउनुपर्ने भएकाले महँगा मानिन्छन् । तेर्सोमा बसपार्क ट्राफिक पोष्ट रहेको छ । त्यहाँबाट मासिक ५० हजार जिल्ला इञ्जार्चलाई किस्ता बुझाउनुपर्छ । यस्तै बहुअर्वाभाठा पोष्टले पनि १० हजार मासिक बुझाउनुपर्ने स्रोतले दावी गरेको छ ।
यस्तै हरेक उद्योग करखानाहरुबाट दररेट तोकेर उठाउने गरेको स्रोतले जनाएको छ । मासिक दररेट तोकेर रकम बुझाउनुपर्ने उर्दी नै जारी भएको छ । ५–६ वटा ट्राफिक पोष्ट र उद्योग र कारखानाहरुबाट मासिक ८ लाख रुपैयाँ असुल गर्ने गरेको गन्ध आएको छ । हावा नचली पात हल्लिंदैन भन्ने उखान यसै चलेको हैन । तालुक निकायले विशेष संयन्त्र प्रयोग गरेर सुक्ष्म छानबिन गर्ने हो भने केही दिनमै असुली काण्डको गुह्य भेद पर्दाफास हुने अपेक्षा गरिएको छ ।