मलंगवा । सिमावर्ती भारतीय सहरमा बन्धक बनाएर राखिएका सर्लाहीका १८ वर्षीय युवकलाई सर्लाही प्रहरीले ४ घण्टा नवित्दै सकुशल उद्दार गर्न सफल भएको छ । सर्लाही प्रहरीले भारतीय प्रहरीको समन्वयमा ति युवकलाई बन्धक बनाएर राखिएको स्थान भारत स्थितबाट सकुशल उद्दार गर्न सफल भएको हो ।
सर्लाहीको बागमती नगरपालिका वडा नं. १० बस्ने शेख उजैरको अन्दाजी १८ वर्षीय छोरा शेख जैयस भारत तर्फ घुम्न गएको अवस्थामा कात्तिक ७ गते भारतको बिहार राज्य, जिल्ला सितामढी, सोनबर्षा थाना हनुमान मन्दिरबाट दुई जना अपरिचित व्यक्तिले केही कुरा बुझ्नु पर्नेछ भनेर मोटरसाइकलमा बसाई लगेर बन्धक बनाएका थिए ।
नेपाली युवकलाई भारतमा बन्धक बनाएको सूचना प्राप्त साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको प्रहरी टाेलीले भारतीय सुरक्षाकर्मी सितामढी र सोनबर्षा प्रहरीसँग समनवय गरि शेख जैयसलाई भारत विहार राज्य सितामढी, सोनबर्षा थाना बसतपुरस्थित भारतीय नागरिक मनिष कुमार रायको घरबाट सकुशल उद्दार गरेको हो ।
जैयसलाई दुईजना अपरिचित व्यक्तिले सोधपुछको बहानामा भारतमै लगी बन्धक बनाएको र जैयसकै मोबाइलबाट नेपाल स्थित आफन्तलाई फोन गरि फिरौती वापत १२ लाख भारतीय रुपैयाँ मागे पश्चात आफन्तले तत्काल सर्लाही प्रहरीलाई खबर गरेको थियो ।
नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीहरुको पहलमा जैयसको सकुशल उद्दार भएको छ भने बन्धक बनाउने मनिष कुमार रायलाई सोनबर्षा थानामा मुद्दा दर्ता भई भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।