29.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

जसपा नेपालका पाँच निर्वाचित वडा सदस्यले गरे जसपा प्रवेश

वीरगंज । पर्सा जिल्लामा जनता समाजवादी पार्टी नेपालको (जसपा नेपाल) नेतृत्वसँग असन्तुष्ट पाँच जना वडा सदस्यहरूले शनिबार औपचारिक रूपमा जनता समाजवादी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

पर्सागढी नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित राजकुमार गुरुङ, रुस्तम हवारी, लाल साह देवी र तेतरी देवीले जसपा नेपाल परित्याग गर्दै जसपामा प्रवेश गरेका हुन् । यस्तै, वीरगंज महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य जगन महतोले पनि पार्टी परित्याग गर्दै जसपामा सामेल भएका छन् ।

नवप्रवेशी जनप्रतिनिधिहरूले जसपा नेपालको नेतृत्वले बारम्बार जनआकाङ्क्षाको धोका गरेको, सत्ता स्वार्थका लागि अनैतिक सम्झौता गरेको र सङ्गठनलाई कमजोर बनाएको टिप्पणी गर्दै पार्टी परित्याग गरेको बताएका छन् ।

खानेपानी मन्त्री प्रदीप यादवले नवप्रवेशी वडा सदस्यहरूलाई स्वागत गर्दै पार्टीको निरन्तर विस्तार र बलियो सङ्गठन निर्माणप्रति प्रतिबद्धता व्यक्त गरे । उनले भने, “जसपा नेपालको नेतृत्वबाट निराश भएका नेताहरू र जनप्रतिनिधिहरू जसपामा प्रवेश गर्नु भइरहेको छ । यो केवल सुरुवात हो । पर्सा जिल्लाका अन्य नेताहरू र पदाधिकारीहरू पनि चाँडै नै हाम्रो पार्टीमा सामेल हुनुहुन्छ ।”

जसपाको उपमहासचिव समेत रहेका मन्त्री यादवले जसपा नै अबको राजनीतिक शक्ति केन्द्र भएको दाबी गर्दै भने, “देशलाई सही नेतृत्व दिन र जनताको हकहितका मुद्दामा इमानदार रूपमा काम गर्न चाहने सबैलाई म जसपामा प्रवेश गर्न आह्वान गर्दछु ।”

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवले जसपा नेपालका नेताहरूले सत्ता स्वार्थका लागि पटक-पटक सम्झौता गरेको र जनताको विश्वास गुमाएको आरोप पनि लगाए । “सत्ताको लागि नेतृत्वले अनैतिक सम्झौता गर्ने र आफ्ना सदस्यहरूको चासो बेवास्ता गर्ने प्रवृत्तिले नै हामीले नयाँ पार्टीको आवश्यकता महसुस गर्दै जसपा गठन गर्‍यौँ । अब जसपा नेपालका सबै इमानदार नेता तथा कार्यकर्ताहरूलाई हाम्रो साथमा आउन आह्वान गर्छु,” उनले भने ।

नवप्रवेशी सदस्यहरूलाई जिम्मेवारीका साथ अगाडि बढ्न प्रेरित गर्दै उनले भने, “अब हामी सबै मिलेर पार्टीको सिद्धान्त र उद्देश्यअनुरूप जनताको जीवनस्तर सुधार्न र देशको समृद्धिको यात्रा अगाडि बढाउन प्रतिबद्ध छौँ । यो बृहत् विस्तार हाम्रो सामूहिक प्रयास र जनताको चाहनाप्रति थप जिम्मेवारीको सङ्केत हो ।”

जनता समाजवादी नेपालको यस अभियानले पर्सा जिल्लामा पार्टीको जनधार विस्तारमा ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको छ । नवप्रवेशी वडा सदस्यहरूको सामूहिक सहभागिताले पार्टीभित्र सकारात्मक ऊर्जा भरेको भन्दै यादवले जसपाको भविष्य उज्ज्वल रहेको उल्लेख गरे ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष एवम् बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

लिटल बडी प्रिस्कुलमा अभिभावक रंगाेली प्रतियाेगिता सम्पन्न

कालिका टाईम्स

कृयाशिल यूवा पत्रकार मञ्चकाे कार्यक्रममा ५२ जनाद्वारा रक्तदान

कालिका टाईम्स

मन्त्री यादवद्वारा रेडियो सिमाञ्चलकाे उद्घाटन, रेडियाे अवाज विहिनकाे अवाज बनाेस् दिए शुभकामना

कालिका टाईम्स
SQL requests:215. Generation time:2.921 sec. Memory consumption:81.41 mb