29.7 C
Birgunj
16 October 2024
KALIKATIMES.COM

खानेपानी मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के अनुगमन

बिना सूचना अनुपस्थित कर्मचारीलाई कारबाही गरिने

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले दसैँ बिदापछि सरकारी कार्यालय खुलेको दोस्रो दिन आकस्मिक रूपमा खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागमा छड्के अनुगमन गर्नुभएको छ ।

दसैँपछि पनि कर्मचारीहरूको कार्यालय उपस्थितिमा समस्या देखिएको गुनासो आएपछि मन्त्री यादवले कार्यालय अनुशासन र कार्यसम्पादन सुधार्न एकै चोटि मन्त्रालयका सबै शाखासहित खानेपानी तथा ढल व्यवस्थापन विभागको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल व्यवस्थापन विभागमा २ जना गरी जम्मा १३ जना कर्मचारी बिना सूचना अनुपस्थित भेटिएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूले आज आकस्मिक छड्के जाँच गर्नुभएको थियो । सो क्रममा मन्त्रालय र विभागका १३ जना कर्मचारी अनुपस्थित देखिए, उनीहरूको अनुपस्थितिको कारण बुझेर आवश्यक कारबाही अगाडि बढाइनेछ ।”

अनुगमनपछि मन्त्री यादवले कर्मचारीहरूसँग व्यक्तिगत रूपमा भेटेर उपस्थितिको नियमितता र जिम्मेवारीप्रतिको प्रतिबद्धता कडाइका साथ पालना गर्न निर्देशन पनि दिनुभयो । “कार्यालयको प्रभावकारिता कर्मचारीहरूको समयमै उपस्थिति र इमानदार सेवा भावमा भर पर्छ । सरकारी सेवामा अनुशासन कायम गर्न सबैले समय र जिम्मेवारीप्रति गम्भीर बन्नु जरुरी छ,” उहाँले भन्नुभयो ।

कार्यालयमा अनुपस्थित कर्मचारीहरूमाथि कारण देखाऊ पत्र जारी गर्दै आवश्यक स्पष्टीकरण मागिने भएको छ । अनुपस्थितिको ठोस कारण बिना पुनः गैर हाजिर हुनेहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनी समेत मन्त्रीले दिनुभएको छ ।

मन्त्री यादवले अनुगमनका क्रममा कार्यालयमा उपस्थित कर्मचारीहरूसँग कामको प्रकृति, कठिनाइ, र सेवा प्रवाहमा भोग्नुपर्ने समस्या बारे विस्तृत छलफल पनि गर्नुभएको थियो । उहाँले भन्नुभयो, “यदि कामको क्रममा कुनै अवरोध वा समस्या देखिएमा तत्काल मलाई जानकारी दिनुहोस् ।” कर्मचारीहरूलाई खुला संवाद र समन्वयको वातावरण बनाउन आग्रह गर्दै समस्या समाधानका लागि मन्त्रालय तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री यादवका अनुसार, छड्के अनुगमनको उद्देश्य कार्यालयमा अनुशासन कायम राख्दै सेवा प्रवाह सुधार गर्नु हो । उहाँले यस्ता निरीक्षणलाई नियमित रूपले अघि बढाउने र कार्यालयहरूको कार्यसम्पादनमा शिथिलता आउन नदिन थप कडाइ गरिने बताउनुभयो । “सरकारी कार्यालयको ढिलासुस्ती अन्त्य गर्दै जनताप्रति जबाफदेहिता अभिवृद्धि गर्न निरन्तर निगरानी राख्नेछौँ,” उहाँले थप्नुभयो ।

मन्त्री यादवको छड्के अनुगमनले सरकारी कार्यालयमा अनुशासन र जिम्मेवारी बोध बढाउने विश्वास गरिएको छ । मन्त्रीको निर्देशनअनुसार सेवा प्रवाहमा व्यवधान पुर्‍याउने वा नियमित उपस्थितिमा लापरबाही गर्ने कर्मचारीमाथि कारबाही गर्ने तयारी समेत भइरहेको छ । आगामी दिनमा यस्ता निरीक्षणले सरकारी कार्यालयहरूको कार्यसम्पादनमा सुधार ल्याउनुका साथै जनताको विश्वास बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगंजमा हुँदै

कालिका टाईम्स

माेटरसाइकल चाेरीकाे अभियोगमा ३ जना पक्राउ

कालिका टाईम्स

वीरगंज स्थित दशगज्जा क्षेत्रमा एसएसबीले गाेली चलायाे

कालिका टाईम्स
SQL requests:214. Generation time:3.100 sec. Memory consumption:81.39 mb