वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका कार्यालयमा लगाईएकाे ताला शुक्रबार खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्सामा शुक्रबार नै भएकाे छलफलपछि ताला खुलेकाे गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले वताए ।
प्रहरी उपरिक्षक कुमाेद ढुंगेलकाे उपस्थितीमा गाउँपालिकाका जनप्रतिनिधिहरु बिच भएको छलफलमा भादौ १९ गते गाउँ सभा गर्ने सहमती भएपनि १४ महिना पहिला हटाईएका करारका कर्मचारीहरुकाे म्याद थप्ने कुनै किसिमकाे सहमती नभएकाे गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार यस अघि जिल्ला प्रशासन कार्यालय पर्सामा पनि भएकाे छलफलमा एक बर्ष पहिला नै हटाइएका कर्मचारीकाे म्याद थप्न नसकिने निष्कर्ष निस्केकाे थियाे । तर पनि केही बिकास विराेधी स्थानिय नेताहरुकाे उस्काहटमा केही जनप्रतिनिधिहरुले ताला खाेल्न मानेका थिएन ।
गाउँ कार्यपालिकाकाे बैठककाे निर्णय अनुसार नै हटाईएका करारका कर्मचारीहरुकाे म्याद थपकाे माग गर्दै केही दिन पहिला मात्र केही जनप्रतिनिधिहरुले नै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । साे तालाबन्दीमा केही राजनीतिक दलका स्थानिय नेताहरु सहमती समेत जनाएका थिए ।
जनप्रतिनिधिहरुले नै गाउँपालिकाकाे कार्यालयमा गरेकाे तालाबन्दीका कारण गाउँपालिकाबाट हुने सेवा प्रभावित हुँदै आएकाे थियाे । असार १० गते भित्र नै सम्पन्न गरि सक्नु पर्ने गाउँ सभा जनप्रतिनिधिहरु बिच नै बजेट भागभाँडाकाे बिषयमा सहमती नहुँदा अहिले सम्म हुन सकेकाे छैन् । त्यस कारण गाउँपालिकाकाे बिकास निर्माणकाे काम पनि प्रभावित हुँदै आएकाे छ ।