वीरगंज । पर्साकाे सखुवा प्रसाैनी र पटेर्वा सुगाैली गाउँपालिकामा आतंक मच्चाउँदै आएकाे मध्येका एउटा बाघलाई नियन्त्रणमा लिइएको छ । विगत एक महिनादेखि दुबै गाउँपालिका क्षेत्रकाे मानव बस्तीमा आतंक मच्चाउँदै आएका बाघ सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर २ स्थितबाट नियन्त्रणमा लिइएकाे हाे ।
३ वटा हात्ती सहित पर्सा र चितवन राष्ट्रिय निकुञ्जबाट खटिएकाे प्राविधिक टाेलीले बिहीबार दिउँसो भाले पाटे बाघलाई डार्ट हानेर नियन्त्रणमा लिएकाे सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिए ।
उनका अनुसार बाघ नियन्त्रणकाे लागि विगत १० दिनदेखि ३ वटा हातीसहितकाे प्राविधिक टाेली खटिएकाे थियाे । उक्त टाेलीले डार्ट हानेर बाघलाई बेहाेश पारी नियन्त्रणमा लिएको हाे । दुवै निकुञ्जका प्राविधिक र डिभिजन वन कार्यालय पर्साकाे संयुक्त टाेलीले उखुबारीबाट उक्त बाघलाई नियन्त्रणमा लिएको प्रमुख यादवले वताए ।
एउटा भाले र एउटा पाेथी बाघले पर्साकाे सखुवा प्रसाैनी र पटेर्वा सुगाैली गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाे थियाे । बाघकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे भइसकेकाे छ भने एक जना घाइतेपनि भएको थियाे । राष्ट्रिय वन क्षेत्र नजिकका ती गाँउमा उक्त बाघले दर्जनाैं चाैपायापनि मारेकाे थियाे ।
बुधबार राति सिसिटिभी क्यामेरामा रेकर्ड भएकाे फुटेजका आधारमा बिहीबार दिउँसो सखुवा प्रसाैनी २ काे उखुबारीमा दुईमध्ये एउटा बाघ लुकेर बसेकाे अवस्थामा फेलापरेपछि डाट हानेर नियन्त्रणमा लिइएकाे डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहले वताए र
दुई मध्ये एउटा १८ महिनाकाे भाले बाघलाई नियन्त्रणमा लिन सफल भएकाे र अर्को पाेथी बाघ भने अझै फेला पर्न नसकेको उनले बताए ।