हेटौँडा। झरना साहित्यिक संस्थाको दुई दिने कला साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सवमा झरनाले विभिन्न ८ जनालाई सम्मान समर्पण गरेको छ । नन्दादेवी गौतमले आफ्ना छोरा स्व.गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेका नगद ११ हजार १११ रुपैयाँ राशिसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८० पत्रकार रामकुमार एलनलाई प्रदान गरिएकाे छ ।
एलन समाजवादी प्रेस संगठन नेपालका महासचिव एवम् मधेशदृष्टिका सम्पादक हुन् ।
पुरस्कार समर्पण सत्र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख अतिथ्यतामा भएको थियो । सो सत्रमा साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका नगद २१ हजार १२१ रुपैयाँ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८० डा. गीता त्रिपाठीलाई प्रदान गरिएको थियाे ।
यस्तै, साहित्यसेवी विनोद सुवेदीले आफ्ना मातापिताको नाममा स्थापना गरेका नगद १५ हजार ५५५ रुपैयाँ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८० कवि साम्ब ढाकाललाई प्रदान गरिएको छ ।
यस्तै, साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको खडानन्द–मनमाया युवाप्रतिभा सम्मान–२०८० स्याङ्जाका मिलन समीर, साहित्यसेवी राजन दाहालले आफ्नी दिवंगत छोरीको स्मृतिमा स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको सुशीला दाहाल स्मृति सिर्जनशील नारी सम्मान–२०८० गजलकार बिमला कार्की “सुसं”, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको सञ्जीवनि बुटि साहित्य सेवा सम्मान–२०८० भरतप्रसाद सापकोटा, चन्द्रकुमार राईले स्थापना गरेका नगद ५ हजार ५५५ रुपैयाँ राशीसहितको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८० गजलकार अजर फुयाँल, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गरेका नगद ७ हजार ७७७ रुपैयाँ राशिसहितको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८० बाँसुरीबादक विष्णु घतानी सम्मानित भएका छन् ।