वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले सोमबार साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेका हुन् ।
वीरगंजकाे सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमाेजिम अर्काे सूचना नहुनजेल सम्मकाे लागि कर्फ्यू आदेश जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए ।
उनका अनुसार वीरगंज महानगरपालिकाको सीमा क्षेत्र पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा तथा दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) मा कर्फ्यू आदेश जारी गरिएको छ ।
कर्फ्यू आदेश जारी गरिएको क्षेत्रभित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्याली गर्न एवं अन्य कुनै प्रकारको उच्श्रृङ्खल गतिविधि गर्न नपाउनेगरि सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको सहायक प्रजिअ लम्सालले बताए ।
किन जारी भयाे कर्फु आदेश ?
गत फागुन ३ गते विहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वतीकाे मुर्ती सेलाउन जाने क्रममा दुई पक्षबीच झडप भएको थियाे । सोही घटनाकाे विराेधमा एक समुहले वीरगंजमा विराेध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेकाे थियाे ।
साेही क्रममा अर्काे समुहले छपकैयाबाट विराेध प्रदर्शन गर्दै आदर्शनगर सम्म पुगेपछि प्रहरीले उनीहरुलाई त्यही राेकन खाेजेकाे थियाे । त्यसै क्रममा प्रहरी र प्रदर्शनमा उत्रेकाहरु बिच झडप समेत भएकाे थियाे । प्रहरीले भिड तितरवितर पार्न केही राउन्ड आश्रु ग्यास समेत प्रहार गरेकाे थियाे ।
त्यसपछि पनि अवस्था साम्य नभएपछि हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले कर्फु आदेश जारी गरेकाे वताइन्छ ।