वीरगञ्ज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धर्म र अध्यात्मका बारेमा बुझ्न सके जीवन सार्थक हुने बताएका छन् । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ पिपरामा आइतवारदेखि सुरु भएको श्री सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुंज एवम् ९ दिवसीय श्री विष्णु महायज्ञको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले महायज्ञले मानव–मानवबीचमा शान्ती, सुब्यवस्था, सहिष्णुता तथा आपसी भाइचारा जगाउने बताए ।
उनले भने, ‘महायज्ञले मानवमानव विच शान्ती, सुब्यवस्था, धार्मिक सहिष्णुता, भाइचारा र स्नेहको अतुलनीय सन्देश प्रवाह गर्ने विश्वास लिएको छु । सनातनी धर्म ग्रन्थमा भएका उपदेशहरु अध्ययनसँगै पालना गर्नुपर्ने आवश्यक्ता भएको छ । यसले परस्पर सहयोगी भावलाई सुदृढ र सबल बनाउनुका साथै सुख र खुशीको महसुस गराउँछ ।’
महायज्ञमा हुने विभिन्न क्रियाकलापले मानवलाई अध्यात्म बुझ्न मद्धत गर्ने बताउँदै उनले यसलाई मानवजीवनमा आत्मसाथ गर्न पनि आग्रह गरेका छन् । महायज्ञमा जानकी मन्दिरका १०८ श्री जगतनन्दन दास महाराज पगला बाबाले यज्ञ सञ्चालन गर्नेछन् ।
महायज्ञ शुभारम्भ समारोहमा उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
महायज्ञ व्यवस्थापन समितिका संयोजक अनिल कुमार रुंगटाको अध्यक्षतामा भएकाे कार्यक्रमको संचालन सञ्चारकर्मी उज्जवल घिमिरेले गरेका थिए ।