वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वीरगंज महानगर भेला शनिबार हुन सकेन । शनिबार वीरगंजस्थित होटेल क्लासिक ब्यांक्वेटमा राखिएको पार्टीको प्रथम वीरगंज भेला केन्द्रिय नेताकाे निर्देशनमा स्थगित गरिएको रास्वपा पर्साका संयाेजक दिलिप कुर्मीले जानकारी दिए । उनले शुक्रबार राति नै भेला स्थगित भएकाे वताए ।
उक्त भेलालाई पार्टीका अध्यक्ष रवि लामछिानेले उद्घाटन गर्ने कार्यक्रम थियाे । भेलाको सम्पूर्ण तयारी गरिएको भए पनि अन्तिम समयमा आएर विवादका कारण स्थगित भएकाे बुझिएकाे छ ।
पार्टीकाे वीरगंज महानगर समिति चयन गर्न भेला आयाेजना गरिएकाे थियाे । जस अन्तर्गत वीरगंज महानगरकाे सभापति पदका लागि ५ जना, उप सभापतिका लागि २ जना, सचिवका लागि ३ जना, काेषाध्यक्षका लागि २ जना र सदस्यहरुमा ८ जनाले उम्मेदवारी दिएका थिए ।
सभापति पदका लागि हरि पन्त भनिने बुद्धि प्रसाद पन्त, महादेव प्रसाद कुर्मी, आन्नद प्रसाद कानु, राज कुमार मिश्रा र दिपेन्द्र साह उम्मेदवार थिए । उम्मेदवार मध्येका हरि पन्त र महादेव कुर्मी पक्षकाे विवावदका कारण भेला हुन नसकेकाे बुझिएकाे छ ।
हरि पन्त हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हुन् । उनलाई नै वीरगंज महानगरकाे अध्यक्ष बनाउन पार्टीकाे संस्थापन पक्ष भनिनेहरुले पार्टीकाे विधि विधानलाई मिचेर धाधली गर्न खाेजेकाेले विवाद हुँदा भेला स्थगित भएकाे अर्का सभापतिका प्रतिस्पर्धी कुर्मी पक्षकाे भनाई छ । सभापतिका आकांक्षी कुर्मीले शुक्रबार राति पनि भेलाकाे एक भिडियाे मार्फत विराेध जनाएका थिए ।
महानगर उप सभापतिकाे लागि नारायण कुमार यादव, शाेभा गुप्ता, सचिवकाे लागि महमद महमुदिन आलम, राज नन्दन प्रसाद, काेषाध्यक्षकाे लागि आर्य शशिकला र प्रकाश कुमार साह उम्मेदवार थिए ।
यसैगरी सदस्यकाे लागि सरस्वती तामाङ, नन्दन साह राैनियार, आशिक थापा, मनिष कुमार व्याहुत, नविन कुमार शरण साेनार, चिन्ता देवी, दिपेन्द्र गिरी र राजेन्द्र महताेले उम्मेदवारी दिएका थिए ।
भेलामा सहभागि हुन रास्वपाका सह महामन्त्री बुढाथाेकी, मधेश प्रदेश अध्यक्ष तापेश्वर यादव, प्रदेश महाम्नत्री मनिष साह लगायतका नेताहरु वीरगंज पुगेका थिए ।