वीरगंज । यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार बृजलाल पासवाने पाउने भएका छन् । नेपाल पत्रकार महासंघको सोमबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय सहारा दैनिकका सम्पादक पासवानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हाे ।
पासवान समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव एवम् राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् ।
महासंघ पर्साका अध्यक्ष अनुप तिवारीकाे अध्यक्षतामा पत्रकार महासंघको सभाकक्षमा बसेको बैठकमा उपाध्यक्ष सुष्मा शर्मा, सचिव भुषण यादव, कोषाध्यक्ष सञ्जिव मिश्रा लगायत कार्य समिति सदस्यहरुको उपस्थिती रहेको थियो ।
यो पुरस्कार आगामी माघ १ गते औपचारिक कार्यक्रमका बीच प्रदान गरिनेछ ।
गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगंज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको छ । गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापीत पुरस्कारको राशी अहिले २५ हजार रुपैयाँ छ ।
यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केशरी र गया यादव पुरस्कृत भइसकेका छन् ।