Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 88

वीरगंजकाे मेनरोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै काठमाडाैंमा प्रदर्शन

0

वीरगंज । वीरगंजकाे मुख्य सडक (मेनरोड) विस्तार कार्य रोक्न माग गर्दै स्थानीयवासी तथा प्रभावित पक्षले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

‘विकासको नाममा विनाश गर्न पाइँदैन’ भन्ने नारासहित आयोजित प्रदर्शनमा सहभागीहरूले सडक विस्तारका क्रममा घर तथा व्यावसायिक संरचना भत्काउने कार्य तत्काल रोक्न र तथाकथित ‘डोजर आतंक’ अन्त्य गर्न सरकारसँग माग गरेका हुन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले वीरगंजको मेनरोडलाई सहरी मार्गका रूपमा कायम गर्नुपर्ने, सडक विस्तारका नाममा नागरिकको उठीबास लगाउन नहुने तथा पीडित पक्षले सर्वोच्च अदालतबाट न्याय पाउनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।

वीरगंज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले कानुनी प्रक्रिया पूरा गरी दशकौंअघि निर्माण गरिएका घर तथा व्यावसायिक संरचनाहरू भत्काउने तयारीले हजारौं परिवारको जीवनयापन संकटमा पर्ने दाबी गरे ।

उनले प्रभावित पक्षले उचित मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको लामो समय बितिसक्दा पनि सुनुवाइ हुन नसकेको गुनासो गरे । साथै, वीरगंजकाे मेनरोडलाई सहरी मार्गकै रूपमा कायम राखी स्थानीयवासीको सम्पत्ति, अधिकार र जीविकोपार्जनको संरक्षण गर्न सरकारसँग आग्रह गरे ।

सडक विस्तार योजनालाई लिएर प्रभावित स्थानीयवासी र सम्बन्धित निकायबीच विवाद बढिरहेका बेला संघर्ष समितिले आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त र चरणबद्ध रूपमा अघि बढाउने चेतावनी दिएको छ ।

माइतीघर मण्डलामा भएको प्रदर्शनमा वीरगंजका विभिन्न क्षेत्रका प्रभावित घरधनी, व्यवसायी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।

रौतहटमा भारत सरकारको सहयोगमा बन्न लागेको विद्यालय भवनको शिलान्यास

0

जोतीलाल पंडित /
वीरगंज । भारत सरकारको सहयोगमा रौतहट जिल्लाको राजदेवी नगरपालिका -४ मा रहेको श्री प्राथमिक विद्यालयको विद्यालय तथा पुस्तकालय भवन निर्माणको शिलान्यास भएको छ । मंगलबार वीरगंजस्थित भारतको महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना र राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल – भारत विकास सहयोग अन्तर्गत’ भारत सरकारको अनुदान सहयोगमा ने.रु. २८.४ मिलियन (२ करोड ८४ लाख) परियोजना लागतमा निर्माण हुने दूतावासले जानकारी दिएको छ ।

नयाँ निर्माण हुन लागेको पूर्वाधारमा भर्‍याङ सहितको दुई तल्ले भवनमा कुल आठ वटा कक्षा कोठा (प्रत्येक तलामा चार वटा) रहनेछन् । यसका साथै छात्र र छात्राहरूका लागि छुट्टाछुट्टै शौचालय, सेप्टिक ट्याङ्की, सोक पिट, ट्युबवेल, सरसफाइ कार्य, विद्युतीय कार्य र अन्य सम्बद्ध सुविधाहरू समावेश हुनेछन् ।

यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र राजदेवी नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।

शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता तथा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेकाे थियो ।

शिलान्यास कार्यक्रममा राजदेवी नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गरिरहेको यस विकासात्मक सहयोगको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।

नजिकको छिमेकी र विकास साझेदारको रूपमा भारत र नेपाल बीच विभिन्न क्षेत्रहरूमा व्यापक र बहु-क्षेत्रीय सहयोग रहँदै आएको छ । यस्ता (एचआइसीडीपी) परियोजनाहरूको कार्यान्वयनले प्रगति र विकास हासिल गर्न नेपाल सरकारले गरिरहेको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने विश्वास लिइएको छ ।

मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहलाई ४ वर्ष १ महिना कैद

0

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गर्दै उक्त फैसला सुनाएको हो ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सिंहले विभिन्न उपभोक्ता समितिबाट घुसस्वरूप रकम लिएको पुष्टि भएपछि अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषी ठहर गरेको हो ।

अदालतले भ्रष्टाचार निवारण ऐनको दफा ३(१) तथा सोही दफाको खण्ड (छ) बमोजिम कसुरको गम्भीरता हेर्दै ४ वर्ष कैद र बिगो बराबर ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना हुने ठहर गरेको छ ।

त्यसैगरी, सार्वजनिक पदमा बहाल रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय सुनाइएको छ । यससँगै सिंहले कुल ४ वर्ष १ महिना कैद भुक्तान गर्नुपर्ने भएको छ ।

फैसलाअनुसार सिंहले गैरकानुनी रूपमा आर्जन गरेको ३८ लाख ५० हजार १३९ रुपैयाँ जफत हुनेछ। साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) अनुसार उनीबाट १ लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गरिने अदालतले जनाएको छ ।

यसअघि विशेष अदालतले जेठ ४ गते सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो भने मंगलबार सजाय निर्धारण गरेको हो । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध नेता सिंह हाल उक्त मुद्दाका कारण निलम्बित अवस्थामा छन् ।

वीरगंजका मेयर सिंह धरौटीमा रिहा, समर्थकद्वारा भव्य स्वागत र नाराबाजी

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिकता तथा लिखत किर्तेसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा ४ लाख १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ तथा झुट्टा विवरण पेश गरी नागरिकता बनाएको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जानकारी दिए ।

अदालतको आदेशअनुसार धरौटी रकम बुझाएपछि मेयर सिंह मंगलबार साँझ अदालत परिसरबाटै रिहा भएका हुन् । रिहाइलगत्तै अदालत परिसरमा पुगेका सयौं समर्थकहरूले उनको स्वागत गर्दै नाराबाजीसमेत गरेका थिए ।

नागरिकता लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले जेठ १२ गते मेयर सिंह, उनकी पत्नी रिता भट्टराई तथा वीरगंज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही आदेशका आधारमा प्रहरीले मंगलबार बिहान पर्साको ठोरी गाउँपालिका–२ स्थित ठोरी जंगल रिसोर्टबाट मेयर सिंहलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो ।

अदालतमा मेयर सिंहको बयानपछि थुनछेक बहस भएको थियो । मेयर सिंहको तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाई, कमलमोहन पोखरेल, प्रमोद साहलगायतले बहस गरेका थिए भने जाहेरवालाको तर्फबाट चन्द्रिका पटेलसहितका कानुन व्यवसायी तथा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोज कुमार गुप्ताले बहस गरेका थिए ।

वीरगंज–३ निवासी लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको उक्त मुद्दामा मेयर सिंहमाथि झुट्टा विवरण पेश गरी नागरिकता बनाएको तथा लिखत किर्ते गरेको आरोप छ । सरकारी वकिलको कार्यालयका अनुसार २०८० साल माघमा परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

उक्त मुद्दामा मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी देखाई फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोप लगाइएको छ । यद्यपि, मेयर सिंहले रिता भट्टराई आफ्नो दोस्रो पत्नी रहेको दाबी गर्दै आएका छन् ।

अदालतको आदेशसँगै मेयर सिंह धरौटीमा रिहा भए पनि उनीविरुद्धको मुद्दाको अन्तिम फैसला भने हुन बाँकी रहेको छ ।

वीरगंजका मेयर राजेशमान सिंहलाई ४ लाख १५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला धराैटी छाड्न आदेश दिएको छ । पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाे हाे ।

अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार लिखतसम्बन्धी कसुर मुद्दामा ४ लाख रुपैयाँ तथा झुट्टा विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा १५ हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

मेयर सिंहको पक्षबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाई, अधिवक्ता कमल मोहन पोखरेल र प्रमोद साहले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट अधिवक्ता चन्द्रिका पटेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए भने नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोज कुमार गुप्ताले बहस गरेका थिए ।

वीरगंजका स्थानीय लियाकत अलीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दा अदालतमा दर्ता भएको हो । सिंहमाथि झुट्टा विवरण पेश गरी नागरिकता बनाएको तथा लिखत किर्ते गरेको आरोप लगाइएको छ ।

पर्सा प्रहरीले उनलाई मंगलबार बिहान पर्साकै ठोरीबाट नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो ।

उक्त मुद्दामा मेयर सिंहसँगै उनकी कान्छी श्रीमती रिता भट्टराई तथा वीरगञ्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई पनि प्रतिवादी बनाइएको छ ।

उदीयमान महिला क्रिकेटर मोनरमालाई गाउँपालिका अध्यक्ष यादवद्वारा क्रिकेट कीट सहयोग

0

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले प्रतिभावान युवा महिला क्रिकेट खेलाडी मोनरमा कुमारी पासवानलाई क्रिकेट कीट सहयोग प्रदान गर्नुभएको छ ।

जगरनाथपुर गाउँपालिका–२ निवासी सिकन्दर हजरा दुसादकी छोरी मोनरमा हाल वीरगंजस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, श्रीपुरमा कक्षा ८ मा अध्ययनरत छन् । अध्ययनसँगै क्रिकेट खेलमा सक्रिय मोनरमाले जिल्ला स्तरीय महिला क्रिकेट टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभा देखाउँदै आएकी छन् ।

युवा खेलाडीलाई थप हौसला र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष यादवले आवश्यक क्रिकेट सामग्री हस्तान्तरण गर्नुभएको स्थानिय विनय द्विवेदीले वताउनु भयाे । कीट हस्तान्तरण गर्दै अध्यक्ष यादवले गाउँपालिकाभित्र रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गरी उनीहरूको क्षमता विकासका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्दै जाने बताउनुभयो ।

उहाँले खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने भएकाले बालबालिका तथा युवाहरूलाई खेलकुद गतिविधिमा सहभागी हुन आग्रह गर्नुभयो ।

क्रिकेट कीट प्राप्त गरेपछि मोनरमाले आफूलाई थप मेहनत गरेर जिल्लासँगै प्रदेश तथा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा मिलेको बताइन् । स्थानीयवासी तथा अभिभावकहरूले पनि गाउँपालिका अध्यक्षबाट गरिएको सहयोगले युवा खेलाडीहरूलाई उत्साहित बनाउने विश्वास व्यक्त गरेका छन् ।

मेयर सिंहकाे मुद्दा पर्सा जिल्ला अदालतकाे एक नम्बर इजलासमा, बयान सुरु

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई लिखत किर्ते सम्बन्धी मुद्दामा प्रहरीले मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएको छ । पर्सा प्रहरीले उनलाई आजै बिहान पर्साकै ठोरीबाट नियन्त्रणमा लिएर अदालतमा पेश गरेको हो ।

अदालत स्रोतका अनुसार मेयर सिंहलाई बिहान करिब ९ बजे अदालतमा उपस्थित गराइएपछि उनको बयान सुरु भएको छ । पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा सिंहको बयान लिने कार्य जारी रहेको छ ।

अदालतले जनाए अनुसार बयान प्रक्रिया सम्पन्न भएपछि आजै थुनछेक बहस तथा मुद्दाको प्रारम्भिक सुनुवाइ हुने छ ।

वीरगंजका स्थानीय लियाकत अलीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दा अदालतमा दर्ता भएको हो । सिंहमाथि झुट्टा विवरण पेश गरी नागरिकता बनाएको तथा लिखत किर्ते गरेको आरोप लगाइएको छ ।

उक्त मुद्दामा मेयर सिंहसँगै उनकी कान्छी श्रीमती तथा इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगंज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई पनि प्रतिवादी बनाइएको छ ।

अभियोग अनुसार मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरीका रूपमा देखाई फर्जी जन्मदर्ता तयार गरी नागरिकता बनाएको आरोप छ । यद्यपि, सिंहले रिता भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन् ।

मुद्दाको सुनुवाइपछि अदालतले मेयर सिंहलाई थुनामा राख्ने वा धरौटी तथा तारेखमा छाड्ने विषयमा आदेश दिने सम्भावना रहेकाे छ ।

वीरगंजका मेयर सिंह ठाेरीबाट पक्राउ, आजै अदालतमा उपस्थित गराइने

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई लिखत किर्ते सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

पर्सा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा मेयर सिंहलाई पर्साको ठोरी गाउँपालिकास्थित ठोरी भिलेज रिसोर्टबाट मंगलबार बिहान नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार पर्सा प्रहरीबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतले गत जेठ ८ गते लिखत किर्ते सम्बन्धी मुद्दामा मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी भोलिपल्ट स्वेच्छाले अदालतमा उपस्थित भएका थिए ।

त्यसबेला सञ्चारमाध्यममार्फत आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि न्यायिक प्रक्रियामा सहयोग गर्न अदालत पुगेको उनले बताएका थिए । तर मुद्दाको चापका कारण सो दिन सुनुवाइ हुन नसक्ने जानकारी अदालत प्रशासनले गराएपछि सार्वजनिक बिदापछि पुनः उपस्थित हुने जानकारी दिएर फर्किएको उनको भनाइ थियो ।

अदालतले मेयर सिंहसँगै उनकी कान्छी श्रीमती तथा इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरीका रूपमा देखाई फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोपमा लिखत किर्ते सम्बन्धी मुद्दा दायर भएको छ । यद्यपि, सिंहले रिता भट्टराईलाई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन् ।

सरकारी वकिल कार्यालयका अनुसार वीरगंज–३ निवासी लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात तथा नागरिकता किर्ते सम्बन्धी उजुरी दिएका थिए । सोही उजुरीका आधारमा चार वटा मुद्दा दायर गरिएकोमा अदालतले लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

यसअघि मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार अदालत नजिकै रहेको एक कानुन व्यवसायीको कार्यालयबाट नियन्त्रणमा लिएको थियो । तर उनीविरुद्ध नियन्त्रणमा राख्न पर्याप्त आधार र प्रमाण नदेखिएपछि सोही रात रिहा गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मेयर सिंहलाई आजै पर्सा जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय वीरगंजका एसएसपी कोईरालाको सरुवा, पल्ली मगर आउने

0

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोईरालाको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जेठ १८ गते गरेको सरुवा निर्णयअनुसार एसएसपी कोईरालालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सरुवा गरिएको हो ।

कोईरालाको स्थानमा नेपाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग, नक्सालमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरलाई प्रदेश प्रहरी कार्यालय वीरगंजकाे प्रमुखका रूपमा सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार गृह मन्त्रालयको निर्णयबमोजिम देशभरका ३३ जना वरिष्ठ प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको जनाएको छ ।

नयाँ प्रमुखका रूपमा वीरगन्ज आउन लागेका एसएसपी मगरले प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हाल्नेछन् भने एसएसपी कोईरालाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जिम्मेवारी सम्हाल्नेछन् ।

मधेशमै पहिलो जगरनाथपुर गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मधेश प्रदेशमै पहिलो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका वडा नं. ५ स्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रको सभा हलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले नीति तथा कार्यक्रम प्रस्तुतिकरण कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आगामी आर्थिक वर्षमा पनि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकताका साथ अघि बढाइने बताए । उनले सहुलियत दरमा पालिका औषधि पसल सञ्चालन, औराहा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार, खाल्डामुक्त पालिका अभियानअन्तर्गत सडक एम्बुलेन्स सञ्चालनलगायतका नयाँ कार्यक्रम समावेश गरिएको जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार सामुदायिक स्वास्थ्य सेवा सञ्चालन, गरिब तथा दलित बस्ती र टोलमा निःशुल्क ट्युसन कक्षा सञ्चालन, अनलाइन कोचिङ कार्यक्रम, सामुदायिक विद्यालयमा ई–हाजिरी प्रणालीको व्यवस्था तथा कृषकलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइका लागि मोटर वितरण कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ ।

गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि प्रयोगशाला सञ्चालन तथा गाउँपालिकाको आफ्नै भवनबाट एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने योजना समेटिएको बताइन् ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्षहरू लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभु प्रसाद नुनिया, विहारी महतो नुनिया, अयोध्या प्रसाद पटेललगायत गाउँसभा सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरुकाे उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक प्रभेन्द्र साहले गरेका थिए ।